मिथिलामा आज भ्रातृद्वितीया पर्व मनाइँदैः दाजुभाइले दिदीबहिनीसँग ‘न्यौत’ लिने परम्परा

जनकपुरधाम– जनकपुरधामसहित सम्पूर्ण मिथिलाञ्चलमा आज (आइतबार) भातृद्वितीया पर्व मनाइँदैछ । गोबद्र्धन पूजाको भोलिपल्ट कात्तिक शुक्ल द्वितीयाका दिन आज भ्रातृद्वितीया पर्व मनाउने गरिएको हो । मैथिलीभाषी क्षेत्रमा यसलाई ‘न्यौत लिने’ भनिन्छ । दाजुभाइले दिदीबहिनीसँग न्यौत (नाता) लिने गर्छन् । दिदीबहिनीहरूले आँगनीमा गाईको गोबर, पिठार र सिन्दुरले विशेष प्रकारको रंगोली (चौका) बनाउने गर्छन् । अनि दाजुभाइलाई पिँढीमा बसाली हातमा […]

Nov 3, 2024 - 03:45
 0
मिथिलामा आज भ्रातृद्वितीया पर्व मनाइँदैः दाजुभाइले दिदीबहिनीसँग ‘न्यौत’ लिने परम्परा

जनकपुरधाम– जनकपुरधामसहित सम्पूर्ण मिथिलाञ्चलमा आज (आइतबार) भातृद्वितीया पर्व मनाइँदैछ ।

गोबद्र्धन पूजाको भोलिपल्ट कात्तिक शुक्ल द्वितीयाका दिन आज भ्रातृद्वितीया पर्व मनाउने गरिएको हो ।

मैथिलीभाषी क्षेत्रमा यसलाई ‘न्यौत लिने’ भनिन्छ । दाजुभाइले दिदीबहिनीसँग न्यौत (नाता) लिने गर्छन् । दिदीबहिनीहरूले आँगनीमा गाईको गोबर, पिठार र सिन्दुरले विशेष प्रकारको रंगोली (चौका) बनाउने गर्छन् । अनि दाजुभाइलाई पिँढीमा बसाली हातमा पान–सुपारी र शिरमा गम्छा/तौलिया/रुमाल राखिदिएर न्यौत दिने गर्छन् । यसपछि सप्तरंगी टीका लगाइदिने प्रचलन छ ।

यस्तै पिँढीमाथि बसेका दाजुभाइको हात पखालिदिएर पान–सुपारी एवं मिठाई हातमा राखिदिने गरिन्छ । गम्छा टाउकोमा राखिदिने र मिठाई खुवाइने चलन छ ।

पण्डित इन्द्रकान्त झाका अनुसार न्यौत परम्पराका लागि पाँच रंगको फल अनिवार्य छ । पहिले–पहिले दाजुभाइले दिदीबहिनीका लागि खिर–पुरी वा चिउरा, दही तथा एक सेट साडी र ब्लाउजसहित काँधमा भार (खर्पन) लिएर जाने चलन थियो । पछिल्लो समय फलफूल, कपडा र पैसा दिने चलन छ ।

यो ‘भ्रातृद्वितीया’ पहाडी समुदायले मनाउने भाइटीका जस्तो नै हो । यस पर्वमा दिदीबहिनीले केराउको दानालाई केरामा खोपेर दाजुभाइलाई ‘बजरी’ खुवाउने चलन छ । ‘बजरी’ खुवाउनुको अर्थ आफ्ना दाजुभाइलाई रोगब्याधी नलागोस् भन्ने हो ।

पूजाका क्रममा दाजुभाइले दुवै हात अञ्जुली बनाएर बस्छन् । त्यसमा दिदीबहिनीले पाँचवटा पानको पात, सुपारी, द्रव्य र कुभिन्डोको फूल राख्छन् । अनि पवित्र जल हाल्दै धार्मिक विधिअनुरुप मन्त्रोच्चारणसहित दाजुभाइलाई तीनचोटी पूजा गर्छन् ।

पूजाका बेलामा दिदीबहिनीले यसरी मन्त्रोच्चारण गर्ने गर्छन्ः

यमुना नेओतैत छथि यम के,
हम नेओतैत छी भाइके,
हमर भाइ कुम्हरक फूल,
बजरी खाय बज्र भके जिवे,
जेना गङ्गा यमुना धार बढय,
तहिना हमर भाइके औरदा बढय ।

अर्थात्, जसरी यमुनाले आफ्ना दाजु यमराजलाई घर आउन निम्तो दिइन्, त्यसरी नै म पनि आफ्ना दाजुभाइलाई निम्तो दिन्छु । मेरा दाजुभाइ कुभिन्डोको फूलजस्तै होस्– जो छिटो ओइलाउँदैन । बजरी (एक प्रकारको कडा दाना) खाओस् र बज्र भएर बाँचोस् । जसरी गङ्गा–यमुनाको धार निरन्तर बगिरहन्छ, त्यसरी नै मेरा दाजुभाइको आयु निरन्तर बढिरहोस् भन्ने हो ।

पूजा सम्पन्न भएपछि दाजुभाइले आफ्नो हैसियतअनुसार दिदीबहिनीलाई विभिन्न उपहार, गरगहना, लत्ताकपडा वा पैसा दक्षिणास्वरुप दिने प्रचलन छ । त्यसपछि दाजुभाइले दिदीबहिनीले पकाएका मीठा–मीठा परिकार ग्रहण गर्ने गर्छन् । दाजुभाइलाई खुवाएपछि मात्र दिदीबहिनीले खाने गर्छन् ।

पौराणिक कथाअनुसार सत्ययुगमा बहिनी यमुनाले दाजु यमराजलाई आफ्नो घर आउन निम्ता गरिन् । आफ्नो घर आएका दाजु यमराजलाई बहिनी यमुनाले खुब सम्मान र सत्कार गरिन् । पूजाआजा गरी विभित्र प्रकारका मीठा–मीठा खानेकुरा खुवाइन् । बहिनीको सम्मान र सत्कारबाट खुसी भई यमराजले यमुनालाई बरदान माग्न भने । अन्य दिदीबहिनी तथा दाजुभाइले परस्परमा पूजाआजा गरी इच्छा सिद्धि गर्न पाउन् भनी यमुनाले बरदान मागिन् । यमुनालाई यमराजले बरदान दिएकाले त्यसैबेलादेखि कात्तिक शुक्ल द्वितीयाका दिन भ्रातृद्वितीया मनाउने परम्परा बसेको धार्मिक विश्वास छ ।

यमुनाले दाजु यमराजलाई भोजन गराएर यसै द्वितीयाका दिन बरदान प्राप्त गरेकीले यस पर्वलाई यमद्वितीया पनि भनिने गरिन्छ । भ्रातृद्वितीया दाजुभाइ–दिदीबहिनीका लागि विशेष उत्सवको दिन हो । घरबाट टाढिएर बसेका दिदीबहिनी तथा दाजुभाइबीचको आत्मीय र स्नेही सम्बन्ध कायम राख्न भ्रातृद्वितीयाले महत्वपूर्ण भूमिका निर्वाह गरेको संस्कृतिविदहरू बताउँछन् ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register