ह्वाइट हाउसमा एउटी महिला, कस्तो देखिएलिन् कमला ह्यारिस ?

राष्ट्रपतिका रूपमा ह्यारिसले अमेरिकी महिला क्षेत्रका उपलब्धिलाई अझ व्यापक विस्तार गर्न सक्नेछिन् । ह्यारिसको विजयले महिला, अश्वेत र आप्रवासीको मात्र आत्मविश्वास बढाउने हैन, यहाँ सबैका लागि अवसर छ भन्ने बलियो सन्देशसमेत दिनेछ ।

Nov 3, 2024 - 11:39
 0
ह्वाइट हाउसमा एउटी महिला, कस्तो देखिएलिन् कमला ह्यारिस ?

अमेरिकाको राष्ट्रपतिमा एक महिला गुणात्मक हो र सायद रूपान्तरणकारी पनि । भलै कि उपराष्ट्रपति कमला ह्यारिसले चुनावी अभियान वा वास्तविक राजनीतिक करिअरमा आफ्नो लैङ्गिक तथा वंशीय पहिचानमा जोड दिएकी छैनन् ।

बितेका २ वर्षमा मैले डेनमार्कदेखि इस्टोनियासम्म, मलावीदेखि नाइजेरियासम्मका महिला नेतासँग अन्तर्वार्ता गरेँ । ती जस्तै ह्यारिस पनि आफूलाई महिला तर, एक सामान्य नेता ठान्दछिन् ।

अहिले ४० प्रतिशत देशमा महिलाको नेतृत्व छ । तर, विश्वको सबैभन्दा शक्तिशाली राज्यमध्ये एक अमेरिकाको प्रशासन कमला ह्यारिसको हातमा हुने हो भने विश्वभिर नै एक आँधीमय सन्देश जानेछ ।

एक सर्वेक्षणअनुसार अहिले पनि विश्वमा ४९ प्रतिशतले महिलाभन्दा पुरुष राम्रा नेता हुन्छन् भन्ने धारणा राख्दछन् ।

ह्यारिसले जित्ने हो भने यस्तो पुरानो र निरन्तर जारी पूर्वाग्रहले विश्राम लिन पाउनेछ । महिलाले पनि उच्च पदका लागि प्रतिस्पर्धा गर्न र जित्न सक्दछन् भन्ने आत्मविश्वास दिनेछ । यो अमेरिका र विश्व इतिहासकै लागि एक महत्त्वपूर्ण मोड हुनेछ ।

ह्यारिस एक पूर्वन्यायाधिवक्ता हुन्, जसले आफ्नो करिअर कानूनका लागि समर्पित गरेकी छन् । प्रतिद्वन्द्वी डोनाल्ड ट्रम्पले भने अमेरिकी लोकतन्त्रलाई परिभाषित गर्ने संविधान, कानून र सामाजिक मान्यतालाई लामो समयदेखि अवज्ञा गर्दै आएका छन् ।

अमेरिकाका धेरै जसो सहयोगी र साझेदार देश यतिखेर आन्तरिक तथा बाह्य अधिनायकवादी धम्कीको सामना गर्दै लोकतन्त्रको प्रतिरक्षा गरिरहेका छन् । निरङ्कुशहरूले गर्ने मानव अधिकार हनन् र विश्व व्यवस्थाप्रतिको बेवास्ता बढ्दो छ ।

ट्रम्पको विजय तिनका लागि बरदान साबित हुनेछ, जबकि ह्यारिस लोकतन्त्रको रक्षा गर्न उत्कृष्ट हुन सक्दछिन् । उनले अत्याचारविरुद्ध लडिरहेका लोकतान्त्रिक आन्दोलनहरूलाई बल दिन सक्नेछिन् । एक महाशक्तिको कार्यकारी प्रमुखका रूपमा ह्यारिसले महिलाले शान्ति र युद्धका निर्णय लिन सक्दैनन् भन्ने लामो शङ्कालाई समाप्त पार्नेछिन् ।

अर्को एक सर्वेक्षणले भन्छ— ३५ प्रतिशत अमेरिकी सुरक्षा र प्रतिरक्षाका लागि महिलाभन्दा पुरुष नै उपयुक्त हुने धारणा राख्दछन्, जबकी महिलाको पक्षमा यस्तो सोच ६ प्रतिशत मात्र छ । ह्यारिसले जितेमा यस्तो यौनिक दूराग्रहवादी सोचलाई प्रहार गर्नेछिन् ।

उपराष्ट्रपतिको कार्यक्षेत्रमा आन्तरिक नीति, कृत्रिम बौद्धिकता, अफ्रिका, एसिया, ल्याटिन अमेरिका र युरोपका क्षेत्रीय चुनौती समावेश छन् । राष्ट्रपतिका रूपमा उनले राष्ट्रिय सुरक्षासँग जोडिएका निकाय, सुरक्षा संयन्त्र र शीर्ष गोप्य सूचना जानकारी पाउनेछन् ।

बितेका ४ वर्षमा उनले अर्को कुनै आउने राष्ट्रपतिले भन्दा बढी विश्वव्यापी चासो र चिन्ता बुझेकी छन् । सामान्यीकृत यथास्थितिवादी चिन्तनलाई चुनौती दिनु र नयाँ पुस्ताका महिला नेतालाई प्रेरित गर्नु ह्यारिसको अर्को महत्त्वपूर्ण उपलब्धि हुनेछ ।

ह्यारिस प्रशासनले अझ धेरै काम गर्न सक्नेछ । यो उथलपुथलकारी समयमा उनले आफ्नो अनुभव र पहिचानलाई शान्ति र समृद्धि अघि बढाउन, विश्व मामिलामा नयाँ दृष्टिकोणसहित गठबन्धन विस्तार गर्न, नयाँ स्वर र विचारअनुरूप विश्व व्यवस्था सुधार गर्न सक्नेछिन् । प्रजनन स्वास्थ्यदेखि आर्थिक सहभागिता र महिला हिंसासम्मका समस्या कम गर्न ह्यारिसले काम गर्ने छिन् ।

ह्यारिसले सुरुदेखि नै त्यस्ता तानाशाहको सामना गर्नु पर्नेछ, जो महिला नेतालाई ‘गाई बनाउन’ सकिन्छ भन्ने विश्वास गर्दछन् । कुख्यात यौनिक रुसी राष्ट्रपति ब्लादमिर पुटिन, जो महिलाका कमजोरीलाई हाँसीमजाक बनाउने गर्दछन्, तिनले एकपटक बैठकमै कुकुर भित्र ल्याएर जर्मन चान्सलर एङ्गेला मर्केललाई भयवित गर्न खोजेका थिए । तीनले पनि ह्यारिसको मानसिक शक्तिको इस्पात परीक्षण गर्ने निश्चित छ ।

चुनावी अभियानका क्रममा डोनाल्ड ट्रम्पले त्यही गरे । उनीले पुटिन र चिनियाँ राष्ट्रपति सी चिनफिङ ह्यारिसमाथि हाबी हुने र ह्यारिस खेलौनाजस्तो मात्र बन्ने दाबी गरे ।

तर, ह्यारिसले युक्रेन युद्धमा पुटिनको धम्कीबाट डराएर पछि हट्ने कुनै सङ्केत दिएकी छैनन् । बरु उनले सार्वजनिक भाषण, युक्रेनी तथा युरोपेली नेताहरूसँगको भेटघाटमा युक्रेन र युरोपको सुरक्षाको बाचा गरेकी छन् ।

युरोपमा अहिले सङ्घकी आयोग अध्यक्ष उर्सुला वोन डियर लिइन छन् डेनमार्क, इस्टोनिया, मोल्दोभा, बाल्कन र बाल्टिक क्षेत्रमा महिला नेता छन् । यी महिला नेताको समूहले ‘आइरन लेडी’ अवधारणालाई सधैँका लागि बिदा गरिदिन सक्दछ, जो आक्रामक र हस्तक्षेपकारी महिला नेताका लागि प्रयोग हुने गर्दछ ।

यो सामान्य सिद्धान्त हो कि जहाँ आक्रमण हुन्छ, त्यहाँ प्रतिरक्षा हुन्छ । पदमा को छ भन्ने कुराले खासै अर्थ राख्दैन । आफ्ना मित्र, साझेदार र छिमेकीको रक्षा गर्नुपर्ने कर्तव्य बन्छ । युक्रेनको पक्षमा ट्रम्पभन्दा ह्यारिस बलियो गरी उभिन सक्नेछिन् ।

ट्रम्प र जेडी भान्सले युद्ध रोक्ने नाममा युक्रेनलाई नेटो आकाङ्क्षा त्याग्न भनेका छन्, त्यो भनेको आत्मसमर्पण हो । रुसलाई आक्रमणबाट फिर्ता गराउनु अमेरिका सुरक्षा नीतिको अत्यावश्यक अवयव हो । यस नीतिमा ह्यारिस दृढ छन् ।

ह्यारिसले बढ्दो शीतयुद्ध शिथिल गर्न र चीनसँग मिलेर काम गर्न सक्नेछिन् । चीन नीतिमा सन्तुलन कायम गर्न सक्ने क्षमता र सम्भावना ट्रपभन्दा बढी ह्यारिसमै छ ।

ह्यारिसले अमेरिकी सुरक्षा, प्रतिरक्षा र विदेश नीतिकै पूनर्परिभाषा गर्न सक्नेछिन् । मानवीय सुरक्षा, जलवायु परिवर्तन, विस्थापन, भोकमरी र युद्धकालीन आप्रवासन नीतिबीच अन्तर्सम्बन्ध र सन्तुलनको खोजी हुन सक्नेछ ।

ह्यारिसको भारत र जमैकाका दुई आप्रवासीकी छोरी र अश्वेत महिला पहिचानले विश्वव्यापी ध्यानाकर्षण गर्नेछ । उनको यस्तो स्वीकार्यता जलवायु परिवर्तन र विश्वव्यवस्था सुधारको नेतृत्व गर्ने आधारभूत अवसर बन्नेछ ।

विश्वमा आधाभन्दा बढी महिला जनसङ्ख्या छ । संयुक्त राष्ट्र सङ्घको भाषणमा उनले ‘महिलाको स्थिति लोकतन्त्रकै स्थिति हो’ भनेकी थिइन् । महिलाको औसत अवस्था राम्रो छैन । औसत महिला गरिब र कम स्वास्थ्य छन् । कम शिक्षित र राजनीतिक रूपमा कम सशक्त छन् । हिंसा र विस्थापनको सिकार हुने सम्भावना बढी छ ।

लैङ्गिक असमानता आयामको अध्ययन गर्ने एक संस्थाको प्रतिवेदनअनुसार यही दरको प्रगतिमा महिलालाई पुरुष समान पुग्न अझै १३४ वर्ष लाग्नेछ ।

विश्व बैंकको महिला, व्यवसाय र कानून मञ्चको प्रतिवेदनले महिला र युवतीका लागि समान अवसर सृजना गर्ने हो भने विश्वको जीडीपीमा २० प्रतिशतको बृद्धि हुने र आगामी दशकमा विश्वव्यापी आर्थिक वृद्धि दोब्बर हुने बताएको छ । महिला स्वास्थ्यमा गरिने १ डलर बराबरको लगानीले आर्थिक वृद्धिमा ३ डलर बराबरको प्रतिफल दिनेछ ।

राष्ट्रपतिका रूपमा ह्यारिसले अमेरिकी महिला क्षेत्रका उपलब्धिलाई अझ व्यापक विस्तार गर्न सक्नेछिन् । ह्यारिसको विजयले महिला, अश्वेत र आप्रवासीको मात्र आत्मविश्वास बढाउने हैन, यहाँ सबैका लागि अवसर छ भन्ने बलियो सन्देशसमेत दिनेछ ।

ह्यारिसले बारम्बार भन्ने गरेकी छन्— अमेरिकालाई आज विभाजनभन्दा बढी एकता चाहिएको छ ।

उनले ट्रम्पको नश्लवाद, जातिवाद र यौनिक दृष्टिकोणको कडा खण्डन गर्ने गरेकी छन् । उनले भन्ने गरेकी छन्— हाम्रा सपना र आकाङ्क्षा साझा छन्, हामीलाई त्यसमा मेहनत गर्ने राष्ट्रपति चाहिएको छ, घृणा र विभाजन बढाउने हैन ।

पक्कै पनि ह्यारिस कुनै गल्ती नै नगर्ने राष्ट्रपति हुने छैनन्, उनले पनि गल्ती गर्नेछिन् । गुणात्मक परिणाम अरु राष्ट्रपतिहरूले जस्तै नदिन सक्नेछिन् । तर, सामान्य नेताकै रूपमा उनले लैङ्गिक सोच आधारित नेतृत्व नियमलाई तोड्नेछिन् । उनको राष्ट्रपतित्वले राम्रो मनसाय र सक्षम नेताको गुण भने देखाउन सक्दछ ।

(द फोरेन अफेयर्सबाट सङ्क्षेपीकृत अनुदित)

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register