यी पाँच मुद्दा, जसले ट्रम्पलाई दोस्रो पटक ह्वाइट हाउस पुर्‍यायो

काठमाडौं । सन् २०२१ जनवरीमा जब डोनाल्ड ट्रम्पले ह्वाइट हाउस छोडे, अमेरिकी राजनीति बुझ्ने धेरै विश्लेषकहरू ट्रम्पको राजनीतिक करियर समाप्त भएको विश्लेषण गर्थे । उनको शासनकालमा ट्रम्पको औसत लोकप्रियता रेटिङ ४१ प्रतिशत मात्रै थियो । ग्यालप पोलिङ्ग फर्मका अनुसार दोस्रो विश्वयुद्धपछि कुनै पनि अमेरिकी राष्ट्रपतिको लोकप्रियता रेटिङ त्यति थिएन, अर्थात् त्योभन्दा बढी नै हुन्थ्यो । […]

Nov 7, 2024 - 07:45
 0
यी पाँच मुद्दा, जसले ट्रम्पलाई दोस्रो पटक ह्वाइट हाउस पुर्‍यायो

काठमाडौं । सन् २०२१ जनवरीमा जब डोनाल्ड ट्रम्पले ह्वाइट हाउस छोडे, अमेरिकी राजनीति बुझ्ने धेरै विश्लेषकहरू ट्रम्पको राजनीतिक करियर समाप्त भएको विश्लेषण गर्थे ।

उनको शासनकालमा ट्रम्पको औसत लोकप्रियता रेटिङ ४१ प्रतिशत मात्रै थियो । ग्यालप पोलिङ्ग फर्मका अनुसार दोस्रो विश्वयुद्धपछि कुनै पनि अमेरिकी राष्ट्रपतिको लोकप्रियता रेटिङ त्यति थिएन, अर्थात् त्योभन्दा बढी नै हुन्थ्यो ।

अझ उनको कार्यकालको अन्त्यमा यो खस्किएर ३४ प्रतिशतमा झरेको थियो । ट्रम्पलाई सन् २०२० को आफ्नो हार स्वीकार्न गाह्रो परेको थियो । त्यसबेला जो बाइडनले राष्ट्रपतीय चुनाव जितेका थिए ।

तर, सबै मूल्याङ्कनलाई बेवास्ता गर्दै ट्रम्पले चार वर्षपछि बलियो पुनरागमन गरेका छन् । उनले  डेमोक्रेटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसलाई हराउँदै पुन: ह्वाइट हाउसको यात्रा तय गरेका छन् ।

ट्रम्पले राष्ट्रपतिमा उम्मेदवारी दिँदै गर्दा कम आलोचितचाहिँ भएका थिएनन् । उनीविरुद्ध विभिन्न अदालतमा धेरै मुद्दा चलिरहेका थिए । तर, उनलाई जुलाई २०२४ मा सर्वोच्च अदालतले गरेको फैसलाले राहत दियो । सर्वोच्च अदालतले उनलाई दोषी ठहर गरिएको मुद्दामा सजायसमेत निलम्बन गरेको थियो ।

मे २०२४ मा म्यानहट्टन अदालतले ट्रम्पलाई ३४ ठूला अपराधमा दोषी ठहर गरेको थियो । जसमा पोर्नस्टार स्टर्मी डेनियललाई ‘थप नबोल्नु’ भनेर दिएको पैसाको मुद्दासमेत थियो ।

अब ट्रम्पलाई फेरि सत्तामा ल्याउने पाँच कारणबारे जानौँ-

अर्थव्यवस्था

कोरोना महामारीपछि अमेरिकी अर्थतन्त्र नराम्रोसँग बिग्रिएको थियो । जो बाइडनको कार्यकालको प्रारम्भिक वर्षहरूमा मुद्रास्फीतिले यस्तो कहर सिर्जना गर्‍यो, जसका प्रति अमेरिकी जनता चिन्तित थिए ।

जुन २०२२ मा मुद्रास्फीति दर ९.१ प्रतिशतको स्तरमा पुगेको थियो, जुन ४० वर्षयताकै उच्च थियो । मुद्रास्फीति नियन्त्रण गर्न अमेरिकी केन्द्रीय बैंक ‘फेडरल रिजर्भ’ले ब्याजदर बढाउन थालेको छ ।

सेप्टेम्बर २०२४ सम्म आउँदा यो दर २.४ प्रतिशतको हाराहारीमा आइपुग्यो । तर, ब्याजदर बढेपछि कर्जा महङ्गो हुनुका साथै अर्थतन्त्र सुस्त भएको थियो ।

सायद यही कारणले गर्दा चुनावपूर्व सर्वेक्षणमा जनताले मत हाल्दा अर्थतन्त्रको मुद्दा निकै महत्त्वपूर्ण हुने विश्वास गरे । जहाँ करिब ५४ प्रतिशतले ट्रम्पले कमला ह्यारिसभन्दा राम्रो तरिकाले यो समस्या समाधान गर्न सक्छन् भन्ने विश्वास गरेका थिए ।

वफादार मतदाता

ट्रम्पको जितमा सबैभन्दा महत्त्वपूर्ण योगदान उनका वफादार मतदाताको थियो । विश्वभरका विश्लेषक तथा सञ्चारमाध्यमले जे भने पनि ट्रम्पले आफ्ना मतदातालाई रिझाउन छाडेनन् । उनीहरू ट्रम्पको ‘मेक अमेरिका ग्रेट अगेन’ नाराबाट प्रभावित थिए ।

यसबाहेक सन् २०१६ मा आफूबाट टाढा रहेका केही समुदायलाई पनि आकर्षित गर्न ट्रम्प सफल भएका थिए ।

ट्रम्पले अश्वेत युवाका साथसाथै मुस्लिम समुदायका मतदातालाई पनि आकर्षित गरेका छन् । तीमध्ये अधिकांश आर्थिक अवस्था राम्रो नभएका क्षेत्रका थिए ।

माइग्रेसन र सीमा

ग्यालपका अनुसार ट्रम्पले अध्यागमनको मुद्दालाई प्रमुख चुनावी हतियार बनाएका थिए र उनले जनताबाट पूर्ण समर्थन पाएका थिए ।

दक्षिणी सिमानाबाट अवैध रूपमा अमेरिका प्रवेश गर्नेको मुद्दा अमेरिकामा अझै चर्चामा छ । बाइडन प्रशासनको पहिलो तीन वर्षमा अवैध शरणार्थीको यो सङ्ख्या बढेर ६३ लाख पुगेको थियो ।

ट्रम्पले डेमोक्र्याट उम्मेदवारलाई कडा आलोचना गर्दै भनेका थिए- डेमोक्रेट सरकारको खुला सीमा नीतिका कारण यो समस्या विकराल भएको छ ।

आफ्नो चुनावी अभियानका क्रममा ट्रम्पले अमेरिका र मेक्सिकोबीच पर्खाल निर्माण सम्पन्न गर्ने बताएका थिए, जुन बाचा उनले अघिल्लो कार्यकालमा गरेका थिए । उनले अमेरिकामा कागजपत्र बिना बसेका आप्रवासीलाई पनि फिर्ता पठाउने बताएका छन् ।

युद्ध अन्त्यको बाचा

दोस्रो विश्वयुद्धपछि अमेरिकाले ‘अमेरिका फर्स्ट’ नीति अपनाएको छ । सन् २०१६ मा डोनाल्ड ट्रम्प पहिलो पटक अमेरिकाको राष्ट्रपति बनेपछि अधिकांश अमेरिकी जनता इराकमा जारी युद्धबाट दिक्क थिए ।

इराकपछि अमेरिकी सेनाले इस्लामिक स्टेटसँग लड्न थाल्यो र अमेरिका कहिल्यै अन्त्य नहुने युद्धमा फसेको विश्लेषण सुरु भयो । तर, चाखलाग्दो कुरा के भने इराक र अफगानिस्तानमा युद्ध रिपब्लिकन राष्ट्रपतिको कार्यकालमा सुरु भएको थियो ।

अर्को युद्ध सुरु नगर्ने बाचा लिएर ह्वाइट हाउस पुगेका ट्रम्पले यो बाचा पूरा पनि गरेका छन् । यसपछि उनले आफूलाई युद्धविरोधी उम्मेदवारको रूपमा प्रस्तुत गर्न सफल भए ।

रुसविरुद्धको युद्धमा अमेरिकाले युक्रेनलाई सहयोग गरिरहेको छ भन्ने विश्वास गर्ने अमेरिकी मतदाताको समर्थन पनि ट्रम्पले पाएका थिए । ट्रम्पले आफू फेरि राष्ट्रपति भए २४ घण्टाभित्र रुस-युक्रेन युद्ध अन्त्य गर्ने बाचा गरेका छन् ।

चुनावी अभियानका क्रममा ट्रम्पले गाजामा युद्ध अन्त्य गर्ने कुरा पनि भनेका थिए । यद्यपि, उनले ‘कसरी’ भन्नेबारे भने भनेका छैनन् । तर, मतदाताले उनको बाचामा विश्वास गरेको देखिन्छ ।

डेमोक्रेटिक उम्मेदवार परिवर्तन

डेमोक्र्याटिक पार्टीको उम्मेदवार परिवर्तनको फाइदा पनि ट्रम्पलाई पुग्यो ।

आफ्नो हरेकजसो चुनावी अभियानका क्रममा उनले जो बाइडनलाई निशाना बनाउँथे तर, पछि उम्मेदवार बनिन् कमला ह्यारिस ।

जुनमा भएको राष्ट्रपति पदका उम्मेदवारहरूबीचको बहसको क्रममा बाइडन अडान लिन नसक्ने र बृद्ध भएको कुरा झिकिएको थियो । यसपछि बाइडनको तीव्र आलोचना भयो र पछि उम्मेदवारी नै फिर्ता लिनुपरेको थियो ।

कमला ह्यारिसले चुनावी अभियानमा बाइडेनको नीतिबाट आफूलाई टाढा राख्न सकिनन्, विशेष गरी उनले मुद्रास्फीति र कमजोर अर्थव्यवस्थाको मुद्दामा मतदाताको चिढ्याइको सामना गर्नुपरेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register