मिथिलाञ्चल क्षेत्रमा आज अक्षय नवमी पर्व : अमलाको रुखको पूजा गरी मनाइँदै

जनकपुरधाम । जनकपुरधामसहितका सम्पूर्ण मिथिलाञ्चल क्षेत्रमा आज (आइतबार) अमलाको रुखको पूजा गरी अक्षय नवमी पर्व मनाइँदैछ । मिथिलामा धातृ नवमी र इच्छा नवमीसमेत भनिने अक्षय नवमी सामूहिक भोजन गरिने ‘रमाइलो चाड’ हो । कात्तिक शुक्ल नवमी तिथिमा मनाइने परम्पराअनुसार आज अक्षय नवमी परेको हो । यस पर्वअनुसार आज अमला (धातृ)को रुखको फेदमा खाना खाने मैथिल […]

Nov 10, 2024 - 05:15
 0
मिथिलाञ्चल क्षेत्रमा आज अक्षय नवमी पर्व : अमलाको रुखको पूजा गरी मनाइँदै

जनकपुरधाम । जनकपुरधामसहितका सम्पूर्ण मिथिलाञ्चल क्षेत्रमा आज (आइतबार) अमलाको रुखको पूजा गरी अक्षय नवमी पर्व मनाइँदैछ । मिथिलामा धातृ नवमी र इच्छा नवमीसमेत भनिने अक्षय नवमी सामूहिक भोजन गरिने ‘रमाइलो चाड’ हो ।

कात्तिक शुक्ल नवमी तिथिमा मनाइने परम्पराअनुसार आज अक्षय नवमी परेको हो । यस पर्वअनुसार आज अमला (धातृ)को रुखको फेदमा खाना खाने मैथिल परम्परा छ ।

अक्षय नवमीको अवसरमा आज प्रदेशको राजधानी जनकपुरधामसहित मधेसका सबैजसो जिल्लाका गाउँदेखि सहरसम्मका बस्तीका युवा बिहानैदेखि सामूहिक भोजनको तयारीमा जुटेका छन् । यो पर्वमा घर नजिकै, बगैँचा वा वन क्षेत्रमा रहेको अमलाको रुखका फेदमा खानेकुरा पकाएर त्यही खाने चलन छ ।

अमलाका विशेष परिकार (अचार, मुरब्बा र चटनी)सहित शाकाहारी खानेकुरा मात्र भोजमा पकाउने र खाने परम्परा छ ।

अब चिसो मौसम बढ्दै जाने भएकाले खानेकुरामा अमलाको प्रयोग बढाउने सन्देशसहित यो परम्पराको थालनी भएको पूर्वप्रमुख जिल्ला अधिकारीसमेत रहेका मैथिल संस्कृति परम्पराका जानकार राजेन्द्र झाले बताए ।

सांस्कृतिक पर्वमा किशोर र युवाको सहभागिता बढ्नु सकारात्मक भएको बूढापाकाहरू बताउँछन् । सांस्कृतिक पर्वमा किशोर र युवाको सहभागिताले संस्कृतिको जगेर्ना, विकास र निरन्तरता पाउनमा सहयोग पुग्ने नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्यसमेत रहेका स्थानीय वुद्धिजीवी शैलेन्द्र झाको भनाइ छ ।

खानेकुरामा अमलाको नियमित प्रयोगमा जोड दिने परम्पराले यो पर्व स्वास्थ्य सचेतनाका लागि सहयोगी भएको स्त्री रोग विशेषज्ञ डा मुरारी ठाकुरले बताए ।

यसैबीच आज धनुषासहित छिमेकी जिल्ला वरिपरिका वन क्षेत्रमा रहेका अमलाका रुखका फेदमा एकाबिहानै धेरैवटा वनभोज टोली पुगेका छन् ।

मिथिलामा आजको दिनलाई कुष्माण्डा नवमीसमेत भनिने गरिएको छ । द्वापर युगमा यसै तिथिका दिन श्रीकृष्णले कुष्माण्डक दैत्यलाई संहार गरेर कंशको वध गर्न पूर्व मथुरा, बृन्दावन र गोवद्र्धन पर्वत क्षेत्र परिक्रमा गरेको जनश्रुति रहेको मिथिला कला, साहित्य र परम्पराका ज्ञाता साहित्यकार तथा मधेस प्रज्ञा प्रतिष्ठानका अध्यक्ष रामभरोस कापडीले बताए ।

पण्डित इन्द्रकान्त झाका अनुसार कात्तिक शुक्ल नवमीदेखि पूर्णिमासम्म भगवान् विष्णु अमलाका रुखमा बस्ने जनविश्वास छ । अक्षय नवमीका दिन विष्णुको आराधनाले इच्छित कामना पूरा हुने र सन्तान सुख प्राप्त हुने मान्यता छ ।

इच्छित कामना पूरा हुने भएकाले यस पर्वलाई इच्छा नवमी र अमलाको प्रयोगमा जोड दिइने परम्पराले धातृ नवमीसमेत भन्ने गरिएको संस्कृतिविद भोगेन्द्र झाले बताए ।
अमला स्वस्थ्य खानाको वस्तु भएकाले यो पर्व स्वास्थ्य सचेतनाकै लागि पूर्वजले सुरु गरेका मैथिल युवाहरू बताउँछन् ।

यस्तो छ पौराणिक कथा

काशी नगरमा एक निःसन्तान धर्मात्मा वैश्य बस्थे । एकदिन वैश्यकी पत्नीलाई एक छिमेकीले भनिन् यदि कुनै अर्को महिलाको छोराको बली भैरवजीलाई चढायौं भने तिमीलाई पनि पुत्र प्राप्ति हुनेछ । यस बारेमा वैश्यलाई थाहा भएपछि उनलाई अस्वीकार गरिदिए । तर उनकी पत्नीले मानिनन् । एकदिन उनले एक बालिकालाई कुवाँमा धकेलेर भैरवजीलाई बली दिइन् । यस हत्याको परिणामविपरीत निस्कियो ।

बालिकाकी आत्माले वैश्यकी पत्नीलाई दुःख दिन थालिन् । उनको सारा शरीरमा कुष्ठरोग भयो । वैश्यले सोध्दा उनले पतिलाई सबै कुरा बेलिबिस्तार लगाइन् । वैश्यले पत्नीलाई भने– ब्राह्मण वध, बाल वध र गौ हत्या पाप हो, यस्तो गर्नेलाई यस धर्तीमा कुनै ठाउँ पाइँदैन ।

वैश्यकी पत्नी आफूले गरेको कार्यप्रति निकै पछुतो भयो । उनी लज्जित भइन् । अनि वैश्यले उनलाई ‘तिमी गंगाजीको शरणमा गएर भगवानको भजनकीर्तन र गंगा स्नान गर्नु अनि तिमीलाई यस रोगबाट मुक्ति मिल्ने छ’ भने ।

त्यसपछि वैश्यकी पत्नी गंगाजीको शरणमा गएर भगवानको भजनकीर्तन गर्न थालिन् । गंगाजीले उनलाई कार्तिक शुक्ल पक्षको नवमी तिथिमा अमलाको रुखको पूजा गर्ने सल्लाह दिएकी थिइन् । गंगाजीको सल्लाहअनुसार महिलाले यस तिथिमा अमलाको रुखको पूजा गरेर अमला पनि खाएकी खाएकी थिइन् । जसले गर्दा उनी रोगमुक्त भइन् ।

अक्षय नवमीका दिन अमलाको रुखको पूजा गरेका कारण उनलाई केही समयपश्चात् सन्तान पनि प्राप्त भयो । त्यस बेलादेखि हिन्दू धर्ममा यस व्रतको प्रचलन बढ्न थालेको मान्यता छ ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register