नेपाललाई विश्वकपमा पुर्‍याउन नेतृत्व गरेकी पूजाको गृहनगरमा शोभायात्रा

नेपाली क्रिकेट महिला टोलीको यो सफलतामा आम रुपमा व्यक्त चासोले आफ्नी छोरीले देशका लागि केही गर्दैछन् भन्ने विश्वास जागेको उनका पिता रञ्जितले बताए । ‘पूजा अब देशकी छोरी हुन्, यिनलाई तपाईंहरूको आशीर्वाद र माया सधैँ आवश्यक पर्दछ,’ उनले भने, ‘यिनले देशको नाम विश्वसम्म परिचित गराउने विश्वास हामीले लिएका छौँ ।’

Nov 19, 2024 - 00:11
 0
नेपाललाई विश्वकपमा पुर्‍याउन नेतृत्व गरेकी पूजाको गृहनगरमा शोभायात्रा

महोत्तरी । यू–१९ नेपाली महिला क्रिकेट टोलीकी कप्तान पूजा महतोको सोमबार गृहनगरमा शोभायात्रा निकालिएको छ । हालै यू–१९ अन्तर्गत टी–२० एसिया कप छनोट प्रतियोगिता जितेर विश्वकपमा छनोट भएको उक्त टोलीकी कप्तान पूजाको सोमबार गृहजिल्ला महोत्तरीको गौशाला नगरपालिका तथा स्थानीयले शोभायात्रा गराएका हुन् ।

गौशाला–९ की कप्तान पूजा, उनका पिता रञ्जित महतो, बाजेबज्यै र परिवारका अन्यसदस्यलाई सजाइएको सवारीमा राखेर नगर परिक्रमा गराइएको थियो । पूजाको शोभायात्रामा गौशाला–२ घर भएका प्रतिनिधिसभाका सांसद लक्ष्मी महतो, नगरप्रमुख डा दीपेन्द्र महतो, स्थानीय जनप्रतिनिधि, स्थानीयबासिन्दालगायत सहभागी थिए ।

पूजाले आफ्नो ठाउँ, सिङ्गो मधेस मात्र नभई देशको पहिचान बढाएकाले शोभायात्रा गरिएको प्रतिनिधिसभाका सांसद महतोले बताए । सयौँ नगरबासीको सहभागिता रहेको उक्त शोभायात्रा गौशाला नगरपालिकाका १२ वटै वडाबस्तीमा घुमाएर गौशाला–११ इमलीबजारमा समापन गरिएको हो ।

यूएईमा सम्पन्न छनोट प्रतियोगिता जितेर शुक्रबार घर आइपुग्नुभएकी पूजालाई बधाई दिन र हौसला प्रदान गर्नेहरुको जमघटले हिजोआज उनको घर भरिभराउ हुन्छ । पूजालाई कुशवाहा कल्याण समाज महोत्तरीका प्रतिनिधिले घरमा पुगेर रु ५१ हजार नगदसहित कदरपत्र प्रदान गरेर सम्मान गरिसकेका छन् ।

यसैगरी प्रत्येक दिन राजनीतिक दल, सामाजिक सङ्घसंस्थाका प्रतिनिधिले पूजालाई उच्च मनोबलका साथ विश्वकप खेल्न हौसला दिने गरेका छन् । उनलाई सोमबार साँझ भेटेर पूर्वमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का उपमहासचिव गिरिराजमणि पोखरेलले सफलताप्रति बधाई ज्ञापन गरे ।

आफ्नो टिमको सफलताप्रति सबै क्षेत्रबाट प्राप्त हौसला र चासोले आगामी खेलमा उत्कृष्टता देखाउन प्रेरणा मिलेको पूजाले बताइन् । ‘यूएईमा छनोट प्रतिस्पर्धामा सहभागी भइरहँदा सम्पूर्ण नेपालीले हामीलाई हेर्दैहुनुहुन्छ भन्ने विश्वास थियो । यही विश्वास र हौसलाले हामीलाई उत्कृष्ट खेल प्रदर्शन गर्न उत्साहित बनाएको हो,’ उनले भनिन्, ‘विश्वकपको उपाधि जित्नु अबको हाम्रो लक्ष्य हो ।’

छनोट प्रतियोगिता जितेर गत बिहीबार टिमसहित स्वदेश फर्किएकी पूजा आफ्नो घर नपुग्दै मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आफ्ना प्रतिनिधि पठाइ नेपालको विश्वकप प्रवेश सुनिश्चित भएको खुसी उनका परिवारजनमा पुर्याइएको थियो । सो दिन नै उनको बस्ती डुमरवानामा साँझ दिपावली गरी खुसी मनाइएको थियो ।

शुक्रबार घर पुगेकी पूजालाई भेट्ने सबैले छनोट प्रतियोगिताको सफलताका लागि बधाई ज्ञापन गर्दै आगामी खेलयात्रा अझ सशक्त बन्ने हौसला दिँदै आएका छन् । ‘अहिले हामीप्रति आम रुपमा दर्शाइएको सकारात्मक चासोले अब झन् राम्रो गनैपर्ने दायित्वबोध भएको छ,’ पूजा न्छिन्, ‘सबैको प्रेम र हौसलाले ऊर्जा थपेको छ, हाम्रो टिमले एशिया कप र विश्वकपमा राम्रो प्रदर्शन गर्नेछ ।’

यूएईमा भएको यु–१९ अन्तर्गत टी–२० क्रिकेटको एसियाकप छनोट खेलमा कुवेत र युएईसँगको प्रतिस्पर्धामा नेपाली महिला टिमले उत्कृष्टता प्रदर्शन गर्दै छनोट खेलमा सफलता प्राप्त गरेको थियो ।

नेपाली क्रिकेट महिला टोलीको यो सफलतामा आम रुपमा व्यक्त चासोले आफ्नी छोरीले देशका लागि केही गर्दैछन् भन्ने विश्वास जागेको उनका पिता रञ्जितले बताए । ‘पूजा अब देशकी छोरी हुन्, यिनलाई तपाईंहरूको आशीर्वाद र माया सधैँ आवश्यक पर्दछ,’ उनले भने, ‘यिनले देशको नाम विश्वसम्म परिचित गराउने विश्वास हामीले लिएका छौँ ।’

रञ्जितका तीन छोरी र एक छोरासहित चार सन्तानमा जेठी छोरी अञ्जुबाहेक सबै क्रिकेट खेलाडी हुन् । माहिली छोरी पूजाको सफलताले कान्छी आरती र सबैभन्दा कान्छा छोरा कृष्ण पनि खेलप्रति थप उत्साहित र आशावादी भएका छन् । –रासस

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register