आयात शुल्क बढाउने ट्रम्पको घोषणाले अमेरिकामा महङ्गीको चिन्ता

ट्रम्पको यस्तो घोषणाले सम्बन्धित देशको मुद्रा र विनियम दरमा समेत असर परेको छ । एकै दिनमा चिनियाँ मुद्रा युआन ०.३ प्रतिशत, क्यानडाली डलर १ प्रतिशत र मेक्सिकन पेसो १.१८ प्रतिशतले अमेरिकी डलरको तुलनामा कमजोर भएका छन् ।

Nov 26, 2024 - 12:05
 0
आयात शुल्क बढाउने ट्रम्पको घोषणाले अमेरिकामा महङ्गीको चिन्ता

काठमाडौं । डोनाल्ड ट्रम्पले मेक्सिको, क्यानडा र चीनबाट आयात हुने सामान तथा सेवामा शुल्क वृद्धि गर्ने घोषणासँगै अमेरिकी बजारमा उपभोग्य वस्तुको मूल्य बढ्ने चिन्ता उत्पन्न भएको छ ।

सोमबार ट्रम्पले मेक्सिको र क्यानडाबाट हुने आयातमा २५ प्रतिशत र चीनबाट हुने आयातमा थप १० प्रतिशत शुल्क लगाउने घोषणा गरेका थिए ।

साथै ट्रम्पले क्यानडा र मेक्सिकोबाट अमेरिकामाथि अवैध आप्रवासन र लागु पदार्थमार्फत् हस्तक्षेप भइरहेको आरोपसमेत लगाएका थिए । ट्रम्पले भनेका छन्–‘लामो समयदेखिका यी समस्या हल नगरे तिनले ठूलो मूल्य चुकाउनु पर्ने छ ।’

मेक्सिको, क्यानडा र चीन अमेरिकाका ३ सबैभन्दा ठूला व्यापार साझेदार देश हुन् । यी तीन देशबाट मात्र अमेरिकामा कुल आयातको करिब एकतिहाई सामान आउँछ । सन् २०२३ मा यी तीन देशले अमेरिकालाई करिब १.५ ट्रिलियन डलर बराबरका वस्तु तथा सेवा बेचेका थिए भने करिब १ ट्रिलियन डलर बराबर खरिद गरेका थिए ।

अमेरिकी अर्थशास्त्री पौल रोविन्सन क्रुगम्यानले ट्रम्पको यस्तो घोषणाले अमेरिकी बजारमा उपभोक्ता वस्तुको मूल्य बढ्ने तर, आय नबढ्ने हुँदा खर्च वृद्धि भई जनजीवन कष्टकर हुने प्रतिक्रिया दिएका छन् । केही वर्ष यता अमेरिकामा महङ्गी समस्याको रुपमा रहेको छ । श्रमिक वर्गको वास्तविक ज्याला नबढ्दा मानिस असन्तुष्ट हुँदै गएको बताइन्छ ।

हालै सम्पन्न निर्वाचनमा डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिसमाथि मूल्य नियन्त्रण सम्बन्धि कुनै सोच नभएको आरोप लागेको थियो । ट्रम्पले भने अमेरिकाभित्रै लगानी र उत्पादन बढाउने प्रतिवद्धता गर्दै आएका थिए ।

ट्रम्पको यस्तो घोषणाले सम्बन्धित देशको मुद्रा र विनियम दरमा समेत असर परेको छ । एकै दिनमा चिनियाँ मुद्रा युआन ०.३ प्रतिशत, क्यानडाली डलर १ प्रतिशत र मेक्सिकन पेसो १.१८ प्रतिशतले अमेरिकी डलरको तुलनामा कमजोर भएका छन् ।

यी ३ वटै देशले ट्रम्पको घोषणालाई गम्भीरतापूर्वक लिएका छन् । चीनले व्यापार ‘युद्धमा कसैको जित नहुने’ भन्दै आर्थिक अन्तनिर्भरतालाई कायम राख्ने मनसाय व्यक्त गरेको छ । क्यानडाली प्रधानमन्त्री जस्टिन ट्रुडोले ट्रम्प प्रशासन आएपछि आवश्यक विषयमा वार्ता गर्ने बताएको छ ।

मेक्सिकोले तत्काल कुनै प्रतिक्रिया नदिएको भए पनि ट्रम्पको घोषणालाई चर्को दबाबका रुपमा लिएको छ ।

अर्थशास्त्री क्रुगम्यानले आयातमा शुल्क बढाउँदैमा अमेरिकी अर्थतन्त्र सबै क्षेत्रमा एक साथ उत्पादनशील हुन नसक्ने, आयात नघट्ने र उपभोक्ता मूल्य मात्र बढ्ने बताएका छन् ।

द न्यूअर्को टाइम्समा एक लेख लेख्दै उनले भनेका छन्–‘ट्रम्प शासनकालमा अब अमेरिकामा क्रोनी क्यापिटलिपिज्म आउने छ ।’

ट्रम्पले चुनावका बेला कर घटाउने वाचा गरे पनि उल्टो बाटो रोजेको क्रुगम्यानको आरोप छ । आयात शूल्क वृद्धि पनि एक प्रकारले कर वृद्धिकै रुप हो भन्ने उनको धारणा छ ।

मूल्य बढ्दा माग संकुचन भई व्यापार घट्ने र रोजगारमा समेत असर पर्ने क्रुगम्यानको धारणा छ । यी तीन देशसँगको व्यापारको कारण अमेरिकी बजारमा १ करोडभन्दा बढी रोजगारी सृजना हुने गरेको छ ।

ट्रम्पले भने आयातमुखी सोचका कारण अमेरिकी अर्थतन्त्र उत्पादनशील हुन नसकेको, अमेरिकी पुँजी, प्रविधि र लागनी अन्य देशमा पलायन भएको, अमेरिकी उद्योगधन्दा धरासायी भएको भन्दै आयात शुल्क बढाउन परेको तर्क गर्ने गरेका छन् ।

ट्रम्पले यस अघि नै ८० लाखभन्दा बढी अवैध आप्रवासीलाई ‘मास डिपोर्टेसन’ गर्ने घोषणा गरिसकेका छन् । क्रुगम्यानले ट्रम्पका यी दुई नीति बीच सङ्गती भएको औंल्याएका छन् । मास डिर्पोटेसनले अमेरिकी बजारमा श्रमिकको अभाव हुने, श्रम लागत बढ्ने हुँदा शुल्क वृद्धिपछि पनि अमेरिकी उद्योग धन्दा संरक्षित हुन नसक्ने उनको राय छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register