राजमान मानव भन्छन्- चुनाव जिते पनि कीर्तिपुर बढार्न छाड्दिन ! (भिडिओ)

कीर्तिपुरमा मेयर पदका स्वतन्त्र उम्मेदवार राजमान आफूलाई फरक ढङ्गले प्रस्तुत गर्दैछन् । १४ वर्षदेखि निरन्तर झाडु बोकेर सडक सफा गर्दै आएका उनको उद्देश्य केवल मेयरको पद जित्नु होइन, कीर्तिपुर र सम्पूर्ण देशलाई सफा बनाउनु हो । यद्यपि, उनका प्रतिस्पर्धी दलका उम्मेदवारलाई राजमान चुनौती बनेका छन् ।

Nov 27, 2024 - 13:11
 0
राजमान मानव भन्छन्- चुनाव जिते पनि कीर्तिपुर बढार्न छाड्दिन ! (भिडिओ)

काठमाडौं । कीर्तिपुरको साँगुरा गल्ली, त्यही शहरका एक व्यक्ति राजमान मानव ब्रुमर (झाडु) बोकेर फोहोर बढार्दै भोट मागिरहेका छन् ।

उनी मेयरमा स्वतन्त्र (निर्दलीय) उम्मेदवार हुन् । उनको प्रचार शैलीले पनि राजनीति भन्दा पर, समाजलाई छुने कथा बोल्छ ।

चुनाव आउँदा उम्मेदवारहरू घरघरमा गएर धान काट्नु, भारी बोक्नु, सरसफाइ गर्नु स्वाभाविक हो । फगत त्यो चुनाव आउँदा भोट माग्न मात्र हुन् ।

तर, राजमान मानव भने फरक छन्, उनले कीर्तिपुर बढारेको अहिले चुनावमा मात्र होइन, झन्डै डेढ दशकयता निरन्तर । सुत्ने बेला बाहेक, हरेक दिन उनी झाडु चलाउँदै शहरलाई सफा बनाउँदै हिँड्छन् ।

कीर्तिपुरमा राजमानलाई नचिन्ने कोही नहोलान् । किनकि हरियो ज्याकेट, सेतो सेतो पन्जा, टोपी र मास्क, हाफ पाइन्ट र जुक्ता लगाएर एकसुरले झाडु चलाईरहेका भेटिन थालेको धेरै यो उनलाई । सडक, पाटी–पौवा, मठमन्दिर सफा गरिरहेको धेरैपटक भेटेका छन् स्थानीयले ।

कीर्तिपुर मात्र होइन देशभर डुलेका छन् उनी कहिले कहाँ, कहिले कता । सरसफाईलाई जीवनको लक्ष्य बनाएका उनी देशैभरका धेरै ठाउँका सडक–गल्लीमा झाडु लगाइसकेका छन् ।

०००

‘म नेपाललाई मात्र होइन, विश्वलाई नै सफा बनाउन चाहन्छु । फोहोर बढार्दै गर्दा देह त्याग गर्न पाउँ भन्ने इच्छा राख्छु’ उनले भन्दै आएका छन् ।

राजमानको यो अभियान कुनै राजनीतिक गफ होइन । उनी कीर्तिपुरका गल्ली र बाटाहरू सफा गर्दै आएका १४ वर्षदेखि स्थानीयले देखेका छन् । त्यो पनि कुनै संस्था वा अनुदानको सहयोगमा होइन, आफ्नो व्यक्तिगत रुचीबाट ।

२०६७ देखि सरसफाइ अभियन्ताको पहिचान बनाएका राजमान महर्जन (मानव)को यात्रा राजनीतितर्फ पनि होमिएको हो ।

आफूलाई थर भन्दा पनि सिङ्गो मानव समुदायको मानक बनाएर उभ्याउने प्रयासमा रहेका उनै राजमानले महर्जन भन्दैनन् ‘मानव’ भन्न रुचाउँछन् ।

फोहोरको माझबाट राजमानको सपना उठेको छ । उनको अभियान केवल मेयरको चुनाव जित्नका लागि थिएन, समाजको हरेक कुनामा सफाइको संस्कार बसाल्ने अभियान थियो ।

तर, अहिले कीर्तिपुरका मेयर राजकुमार नकर्मीको साउन ११ गते निधन भएपछि त्यहाँ उपनिर्वाचन हुन लागेको हो ।

मेयरको निधनपछि उपचुनाव हुने भएपछि राजमान कीर्तिपुर नगरप्रमुख बन्न चुनावी मैदानमा दौडिएका हुन् ।

मंसिर १६ गते कीर्तिपुरको रिक्त रहेको नगरप्रमुख पदका लागि उपनिर्वाचन हुँदै छ । मानव पनि उपनिर्वाचनका लागि उम्मेदवार बनेर घरदैलो कार्यक्रममा व्यस्त छन् ।

एमालेको पुनरागमन कि कांग्रेसको निरन्तरता ? माओवादी आउला कि स्वतन्त्र उदाउला ?

राजमानको अभियानमा चर्चा थपियो धरानका चर्चित मेयर हर्क साम्पाङको उपस्थितिले । साम्पाङ केही दिन कीर्तिपुर बसेर उनकै लागि भोट मागेर फर्किए ।

‘म सफा गर्छु, तपाईँ पनि फोहोर नगर्नुस्’ भन्ने नारा राजमानको प्रमुख एजेन्डा हो । त्यो नाराको साथमा उनी सधैँ ‘ब्रुमर’ झाडुमा बोकेर हिँड्छन् ।

‘मेरो अन्तिम इच्छा भनेकै यो ब्रुमर चलाइरहेका बेला यो संसार छोड्नु हो,’ उनी भन्छन् ‘चुनाव जिते पनि कीर्तिपुरै बढारेर बस्ने हो ।’

कीर्तिपुरलाई मात्र होइन, आफूले छोएका प्रत्येक ठाउँलाई सफा र सुन्दर बनाउने उनको दृढता छ । भन्छन्, ‘सफाइ त मेरो पेसा मात्र होइन, मेरो जीवन हो ।’

चुनावी एजेन्डा- निःशुल्क स्वास्थ्य र कर घटाउने

दलको जस्तो उनको बुँदागत रुपमा चुनावी घोषणापत्र पनि छैन उनको । अन्य नेताहरूझैँ चिल्ला भाषण वा वाचा पत्र होइन, आफ्नो ब्रुमर (झाडु) बोकेर समाज बदल्ने यात्रा थालेका छन् ।

उनका दुई एजेन्डा छन्, ‘नगरपालिकाले उठाउँदै आएको कर ३० देखि ५० प्रतिशत सम्म घटाउने र स्वास्थ्य सेवालाई निःशुल्क बनाउने ।’

यस्तै कीर्तिपुर नगरपालिकालाई नमुना सहरको रूपमा विकसित गर्ने तथा गराउने प्रतिबद्धता पनि उनको छ ।

नेवाः लहना विश्व सरसफाइ अभियानका अभियन्ता राजमानलाई धरान उपमहानगरपालिकामा स्वतन्त्र निर्वाचित मेयर हर्क साम्पाङले साथ दिइरहेका छन् ।

यसबाहेक स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित काठमाडौं महानगरका मेयर बालेन शाह, धनगढीका गोपी हमालको पनि साथको अपेक्षा गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पनि साथ दिउन् भन्ने अपेक्षा लिएका छन् । सुरुमा उनलाई रास्वपाले उम्मेदवार बनाउन खोजेको थियो । तर, मानेनन् । उनी भन्छन्, ‘म कुनै दलको होइन । स्वतन्त्र हुँ भन्नको लागि कुनै दलको प्रतिनिधि उम्मेदवार भन्न चाहिन ।’

उनी अभियन्ताबाट राजनीतिज्ञ बन्न खोजेको भन्ने विषय पनि स्वीकार गर्दैनन् । देशमा अभियानले बिन्ती गर्न पाइने भन्दै उनी समाज व्यवस्थापनका लागि अभियानले मात्र नपुग्ने तर्क गर्छन् ।

बालेन शाहको सहयोगको अपेक्षा

धरानका मेयर हर्क साम्पाङको समर्थन पाइसकेको स्वतन्त्र उम्मेदवार उनले अब काठमाडौंका मेयर बालेन शाहको सहयोगको अपेक्षा गरेका छन् ।

उनी भन्छन्, ‘अहिलेसम्म उहाँबाट सुनेको त छैन । तर उहाँ निकटकाबाट भने मलाई साथ दिने, समर्थन गर्ने भन्ने सुनेको छु । उहाँले जितेर काठमाडौंमा आम युवालाई खुसी दिनुभएको छ । कीर्तिपुरवासीले पनि त्यस्तै परिवर्तनको अपेक्षा राखेका छन् ।’

प्रतिस्पर्धी दलका उम्मेदवारलाई चुनौती

पछिल्लो चुनाव २०७९ मा कीर्तिपुरमा कांगेसले ३ हजार ५ सयभन्दा बढी मतले एमालेलाई जित्यो । २५ वर्षदेखि लगातार जित्दै आएको एमालेको किल्ला भत्कियो । मेयरमा कांग्रेसले ९ हजार ४३ मत ल्याएका थिए ।

एमाले पाँच हजार ५ सय ७ मत ल्याएर दोस्रो भयो । तेस्रो भएको माओवादी केन्द्रले ४ हजार ९० मत ल्यायो ।

अहिले तिन वटै दलका उम्मेदवार प्रतिस्पर्धामा छन् । अरू स्वतन्त्र र साना दलका उम्मेदवारसहित राजमान पनि प्रतिस्पर्धामा छन् ।

माहोल हेर्दा उनको प्रतिस्पर्धा अन्य ठुलादलहरू एमाले, कांग्रेस र माओवादीसँग देखिन्छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register