लन्डन न्यू इयर डे परेडमा पहिलोपटक प्रदर्शन हुंदै नेपाली कला, संस्कृति

लन्डन- अंग्रेजी नयाँ वर्षमा लन्डनमा आयोजना हुने विश्व प्रतिष्ठित परेडमा पहिलोपटक बेलायतस्थित नेपाली समुदायले पनि भाग लिने भएको छ । आगामी जनवरी १ तारिख नयाँ वर्षका दिन लन्डनमा आयोजना हुने ‘लन्डन न्यू इयर डे परेड’ मा नेपाली समुदाय पनि सहभागी हुने तयारीमा जुटेको छ । लन्डनको रोयल बरो अफ ग्रीनवीचका मेयर जीत रानाभाटको विशेष पहलमा […]

Dec 5, 2024 - 16:11
 0
लन्डन न्यू इयर डे परेडमा पहिलोपटक प्रदर्शन हुंदै नेपाली कला, संस्कृति

फाइल तस्विर: लन्डन न्यू इयर डे परेड २०२४ ।

लन्डन- अंग्रेजी नयाँ वर्षमा लन्डनमा आयोजना हुने विश्व प्रतिष्ठित परेडमा पहिलोपटक बेलायतस्थित नेपाली समुदायले पनि भाग लिने भएको छ ।

आगामी जनवरी १ तारिख नयाँ वर्षका दिन लन्डनमा आयोजना हुने ‘लन्डन न्यू इयर डे परेड’ मा नेपाली समुदाय पनि सहभागी हुने तयारीमा जुटेको छ ।

लन्डनको रोयल बरो अफ ग्रीनवीचका मेयर जीत रानाभाटको विशेष पहलमा बरोको प्रतिनिधित्व गर्दै स्थानीय नेपालीहरुले परेडमा भाग लिने भएका छन् ।

साउथ इष्ट लन्डनमा रहेका विभिन्न नेपाली संघसंस्थासमेतको सहभागितामा परेडमा नेपाली भेषभूषा, बाजागासहितका मौलिक कला, संस्कृति झल्काउने प्रस्तुति देखाउने तयारी गरिएको छ ।

परेडमा नेपाली समुदायको सहभागिताको संयोजन गरिरहेका स्थानीय समाजसेवी श्रीचन्द्र गुरुङले परेडमा नेपाली मौलिकता झल्काउने सांस्कृतिक प्रस्तुतिहरु प्रदर्शन गर्ने तयारी भइरहेको नेपालीलिंकलाई जानकारी दिए ।

मिडल्यान्डको कोभेन्ट्रीबाट आउने नौमती बाजादेखि पासा पुचः यूकेको धिमेबाजासम्मका मौलिक नेपाली कलात्मक प्रस्तुति परेडमा देखाइने उनले बताए ।

एक समूहबाट अधिकतम १ सय जनासम्म सहभागी बन्न पाइने परेडमा भाग लिने नेपालीहरु आ आफ्नो पहिचान झल्काउने मौलिक भेषभूषामा उपस्थित हुनेछन् ।

लन्डनको नयाँ वर्ष परेड अंग्रेजी नयाँ वर्षका दिन आयोजना हुने संसारकै सबैभन्दा ठूलो परेड मानिन्छ । सन् १९८७ यता हरेक वर्ष हुंदै आएको यो परेडलाई हेर्न लाखौं दर्शकको प्रत्यक्ष उपस्थिति हुने गरेको छ ।

बेलायतदेखि अमेरिकासम्मका प्रसिद्ध अन्तरराष्ट्रिय मिडियाबाट करोडौं दर्शकमाझ प्रत्यक्षप्रसारण समेत हुने परेडको यस वर्षको संस्करणमा ७५ समूहले भाग लिंदैछन् ।

लन्डनस्थित विभिन्न बरोहरुदेखि बेलायत र अमेरिकासेमतका विभिन्न समूह, संस्था र च्यारिटीहरु परेडमा सहभागी हुनेछन् ।परेडमा प्रस्तुतिका आधारमा उत्कृष्ट हुने समूहहरुलाई हजारौं पाउन्डनगदसहित पुरस्कृत पनि गर्ने गरिएको छ ।

नयाँ वर्षका दिन मध्यान्ह लन्डनको पिकाडेलीबाट सुरु हुने परेडले रिजेन्ट स्ट्रिट, सेन्ट जेम्स, पल मल, ट्राफल्गर स्क्वायर हुंदै ह्वाइट हलसम्मको दुई माइल दूरी पार गर्नेछ ।

लन्डनस्थित विभिन्न च्यारिटीका लागि कोष जुटाउने लक्ष्य परेडको हुने गरेको छ । यही परेडमार्फत् च्यारिटीलाई हालसम्म २ मिलियन पाउण्ड बढी सहयोग जुटाइसकिएको छ ।

 

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register