गैर जिम्मेवार त्रिवि : टुङ्गोमा छैन् परीक्षा र रिजल्ट, मन्त्रालय मूकदर्शक 

काठमाडौं । स्नातक प्रथम वर्षमा भर्ना भएको डेढ वर्ष बितिसक्न लाग्दा पनि परीक्षाको निश्चितता छैन । स्नातक प्रथम वर्षीय विद्यार्थी जोभिया केसी सुनाउँछिन्, ‘अब त कसैले सोध्दा पनि लाज लाग्न थालिसक्यो । पोहोरदेखि प्रथम वर्ष भनेको अहिले पनि प्रथम वर्षमा नै छौँ ।’ पुस १ गतेबाट हुने भनिएको परीक्षाको तयारीमा जुटिरहेकी उनी फेरी परीक्षा सर्याे […]

Dec 14, 2024 - 01:19
 0
गैर जिम्मेवार त्रिवि : टुङ्गोमा छैन् परीक्षा र रिजल्ट, मन्त्रालय मूकदर्शक 

काठमाडौं । स्नातक प्रथम वर्षमा भर्ना भएको डेढ वर्ष बितिसक्न लाग्दा पनि परीक्षाको निश्चितता छैन । स्नातक प्रथम वर्षीय विद्यार्थी जोभिया केसी सुनाउँछिन्, ‘अब त कसैले सोध्दा पनि लाज लाग्न थालिसक्यो । पोहोरदेखि प्रथम वर्ष भनेको अहिले पनि प्रथम वर्षमा नै छौँ ।’

पुस १ गतेबाट हुने भनिएको परीक्षाको तयारीमा जुटिरहेकी उनी फेरी परीक्षा सर्याे भन्दा पढ्ने जोस नै हराएको सुनाउँछिन् । उनी पश्चात्तापसहितको गुनासो पोख्छिन्, ‘बरु १२ सक्ने बित्तिकै बाहिर जानुपर्ने रहेछ । बेकारमा ब्याचलर जोइन गरेर समय बरबाद भयो ।’

उनका अनुसार उनी पढाई बिग्रिन्छ भनेर जागिर नगरी बसेकी थिइन् । तर, त्रिविले यता न उता पारिदिएको उनको दुखेसो छ ।

त्यस्तै, अर्का विद्यार्थी बाल कुमार राई त्रिविले काम गर्दै पढ्ने वातावरण बनाउन नसकेकोप्रति गुनासो पोख्छन् । बिहानी सत्रको पढाइपश्चात् राई भिडियोग्राफीमा समय बिताउँछन् ।

आफ्नो व्यस्त समयको बाबजुद पढाई र जागिरलाई ब्यालेन्स गर्दै आइरहेका राईलाई त्रिविले नमज्जाले झुक्काएको छ ।

महिला उद्यमी तथा प्रथम वर्षीय विद्यार्थी ममता माझी पुस १०मा परीक्षा सकिएपश्चात् आफ्नो व्यवसायलाई फरक ढङ्गले अगाडी बढाउने सोचमा थिइन् ।

उनी भन्छिन्, ‘१ गतेबाट इक्जाम भनेर अफिसलाई टाइम दिनै पाको छैन । पुरै फोकस परीक्षामा छ अहिले । तर परीक्षा सर्याे । के गर्ने–गर्ने, कति काम भताभुङ्ग भयो ।’

अर्का विद्यार्थी कृष्ण राज भट्ट त्रिविको चरण मनपरीको कारण आफूहरूको भविष्य नै अन्योलमा परेको बताउँछन् ।

उनी भन्छन्, ‘दलीय भागबन्डा र राजनीतिको कारण टीयुले गतिलो नेतृत्व पाउन सकेको छैन । त्यसैको परिणाम हो यो, समयमा परीक्षा गर्न नसक्नु, रिजल्ट नआउनु र उत्तर पुस्तिका हराउनु ।’

यी त सारिएको परीक्षाबाट प्रभावित केही विद्यार्थीहरूको गुनासा हुन् । उनीहरू जस्तै प्रथम वर्ष अध्ययनरत सबै विद्यार्थी टीयूको अनिश्चित निर्णयले प्रभावित छन् ।

चार वर्षे कोर्स सकिन ५ देखि ६ वर्ष लाग्छ

नेपालको शिक्षा प्रणालीमा फैलिएको वितृष्णा देख्न विद्यार्थीलाई देख्न पर्छ । तर टीयूले न विद्यार्थी देख्छ न उसको समय । मनमौजी रूपमा समय तालिका हेरफेर भइरहन्छ, परीक्षा र प्रतिफलको ।

हुन त, हरेक साल जसो नै टीयूको परीक्षा तालिकामा हेरफेर भइरहन्छ, उत्तर पुस्तिका हराइरहन्छ । त्यसैले, भर्खरै सरेको प्रथम वर्षीय परीक्षाले धेरैको ध्यान खिँचेन । किनकि मानिसहरूलाई टीयूको सो प्रवृत्ति पाच्य भइसक्यो ।

अहिले स्नातक तहलाई ३ वर्षबाट बढाएर चार वर्ष पुर्‍याइएको छ । २०८० साउनमा प्रथम वर्षमा भर्ना भएका विद्यार्थीको परीक्षा २०८१ मंसिर बितिसक्दा पनि निश्चित हुँदैन । जबकि २०८० मा प्रथम वर्षमा भर्ना भएका विद्यार्थीले २०८४ सम्म पनि आफ्नो स्नातक पढाई सकाउनुपर्ने हो ।

तर नेपाली युनिभर्सिटी चार वर्षे कोर्स सकिन ५ देखि ६ वर्षसम्म लाग्छ । कारण हो, पहिलो वर्षको परीक्षा डेढ वर्ष सकिँदा पनि टुङ्गो छैन ।

परीक्षाको पर्खाइमा रहेका अर्का प्रथम वर्षीय विद्यार्थी ललित श्रेष्ठ सुनाउँछन्, ‘हाम्रो कोर्स त ५/६ महिनामै सकिएको थियो । कम्पोल्सरी इङ्लिस मात्र रिभिजन भइरहेको थियो । इङ्लिस कोर्सको रिभिजन त दुई तीन पटकसम्म भइसक्यो तर इक्जाम फेरी सर्दियो ।’

उनका अनुसार यस वर्ष प्रथम वर्षमा नयाँ भर्ना भएका विद्यार्थीहरूको पढाई सुरु भइसक्यो । अहिले प्रथम वर्ष अध्ययनरत विद्यार्थी दुई ब्याजका छन्, परीक्षा दिनेवाला र नयाँ पढ्ने वाला ।

घट्दै छ त्रिभुवन विश्वविद्यालयको साख

हुन त, विगत पल्टाउने हो भने नेपालको शिक्षा प्रणालीमा राजनीति नमिसाउने धेरै प्रयासहरू भएका छन् ।

यद्यपि, प्रभावकारी कार्यान्वयन हालसम्म कुनै भएका छैनन् । विश्व विद्यालयको घट्दो साखको विषयमा धेरै लेख र आर्टिकलहरू पनि छापिइसकेका छन् ।

यसको कारण, प्रभाव र परिणामको विषयमा पनि धेरै कलमहरू चलिसकेका छन् । प्यानल डिस्कसनदेखि प्रदर्शनसम्मकै घटनाहरू ताजा छन् ।

यद्यपि, नेपाली विश्वविद्यालयको साख जोगाउन नेतृत्व तह तातिएको देखिँदैन । यसका अलावा अझ राजनीतिक भागबन्डा र बाँड्चुडमा विद्यार्थीको भविष्य छरपस्टिीएको छ ।

 

त्रिभुवन विश्वविद्यालय

यसै विषयमा आफ्नो भनाइ राख्दै शिक्षा विद् विद्यानाथ कोइराला टीयूमा दलीय भागबन्डाको फन्डालाई विद्यार्थीमाथिको शोषण बताउँछन् ।

उनी भन्छन्, ‘उहाँहरूले टीयूलाई जुन दलीय भागबन्डामा लगाउनुहुन्छ त्यो विद्यार्थीमाथिको शोषण हो । यो कुनै हालतमा राम्रो हैन । यो अन्त्य नभएसम्म विश्वविद्यालयप्रति विद्यार्थीको विकर्षण रोक्न सम्भव छैन ।’

शिक्षा मन्त्री विद्या भट्टराई भने मन्त्रालयले त्रिविको हरेक कामकारबाहीमा हस्तक्षेप गर्न नसकिने बताउँछिन् । त्रिविको आफ्नै नीति नियम हुने भएकाले मन्त्रालयले हरेक कामको लागि निर्देशन दिनु उचित नरहेको उनको भनाई छ । यद्यपि, चरम राजनीतिक दलदलमा भास्सिएको टीयूलाई उकास्न मन्त्रालयले आवश्यक पहल गरिरहेको उनको दाबी छ ।

विकल्प पनि छ !

नेपालको भद्रगोल शिक्षा प्रणालीलाई व्यवस्थित गर्ने उपायहरू पनि रहेको शिक्षा विद् कोइरालाको भनाइ छ । उनी परीक्षा सारिरहनुभन्दा नेतृत्व तहले विकल्प खोज्न सक्ने बताउँछन् ।

 

शिक्षाविद् विद्यानाथ कोइराला

उनी भन्छन्, ‘परीक्षा सारिरहनुभन्दा त्यसको विकल्प खोज्न पर्छ । अब हामी एआईको दुनियाँमा आइसकेका छौं । अब पनि पुरानै पद्धतिमा अल्झेर बस्न हुदैन् ।’ उनले थपे ‘परीक्षाको मोडालिटी परिवर्तन गर्न पनि सकिन्छ । जसको लागि अनलाइन माध्यम, प्रोजेक्ट वर्क, असाइन लगायतका विभिन्न मेथोडको प्रयोगबाट पनि विद्यार्थीलाई मुल्यांकन गर्न सकिन्छ ।’

उनका अनुसार परीक्षा विद्यार्थीको मूल्यांकन गर्ने माध्यम हो । जसको लागि अनिश्चित भौतिक परीक्षाको निर्णय गरिरहनुभन्दा यी विकल्पहरू रोज्न सके उत्तम हुन्छ । देशमा विद्यार्थीहरूले पढ्दै कमाउने वातावरण दिन सक्नुपर्ने उनको भनाइ छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register