कर्णाली एकेडेमीका सञ्चालक शाही भन्छन् – विपिनको सफलताले अरु खेलाडीलाई पनि हौसला मिलेको छ

काठमाडौं । ३२ खेल भएको नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि जनकपुर बोल्ट्सले जित्यो । फाइनलमा सुदूरपश्चिम रोयल्स पराजित भयो । कर्णाली याक्स तेस्रो र चितवन राइनोज चौथो स्थानमा रह्यो । एनपीएलले नेपाली दर्शकलाई मनोरञ्जन मात्र गराएन, खेलाडीलाई प्रदर्शन गर्न एउटा अन्तर्राष्ट्रिय स्तरको मञ्च पनि तयार पार्‍यो । यही एनपीएलमा कर्णालीका १६ वर्षीय विपिन शर्माले धेरैको […]

Dec 28, 2024 - 08:15
 0
कर्णाली एकेडेमीका सञ्चालक शाही भन्छन् – विपिनको सफलताले अरु खेलाडीलाई पनि हौसला मिलेको छ

काठमाडौं ३२ खेल भएको नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि जनकपुर बोल्ट्सले जित्यो । फाइनलमा सुदूरपश्चिम रोयल्स पराजित भयो । कर्णाली याक्स तेस्रो र चितवन राइनोज चौथो स्थानमा रह्यो ।

एनपीएलले नेपाली दर्शकलाई मनोरञ्जन मात्र गराएन, खेलाडीलाई प्रदर्शन गर्न एउटा अन्तर्राष्ट्रिय स्तरको मञ्च पनि तयार पार्‍यो ।

यही एनपीएलमा कर्णालीका १६ वर्षीय विपिन शर्माले धेरैको ध्यान खिँचे । आइकोनिक प्लेयरका रुपमा कर्णाली याक्समा आबद्ध भएका लेफ्ट आर्म स्पीनर विपिनले ८ खेलमा १३ विकेट लिए ।

माइकल लेभिट, निकोल लफ्टी एटन, सोहेल तनवीर, मार्टिन गप्टिल, एन्ड्रिज गौस, बेन कटिङ, जेम्स निशम र मोहम्मद मोहसिनजस्ता विदेशी खेलाडीलाई विपिनले क्रिजमा टिक्न दिएनन् । 

विकेट लिने र धैर्यताका साथ कठिन अवस्थामा पनि सम्हालिएर खेल्ने उनको खुबी हो । जुन खुबीको पछाडि उनको कडा मेहनत र परिश्रम छ ।

बाल्यकालदेखि नै आफ्नो दाजुको क्रिकेटप्रतिको लगाव देखेर आकर्षित भएका विपिनले कर्णाली एकेडेमीमा प्रशिक्षण लिएर कर्णालीको यू–१६यू–१९ मा पनि खेलिसकेका छन् । 

विपिनको यो सफलता कर्णाली क्रिकेट एकेडेमीका लागि पनि गर्वको विषय बनेको छ । 

विपिनको सफलता आफूलाई सपनाजस्तो लागेको बताउँछन् – कर्णाली एकेडेमीका सञ्चालक जनक विक्रम शाही ।

‘शब्द नै छैन । सपना जस्तो लागि रहेको छ । उसको सफलता, उसको उचाइमा हाम्रो पनि केही योगदान छ जस्तो लाग्छ । त्यही भएर अलिक भावुक पनि छु । अझै धेरै प्रगति गर्छ भन्ने विश्वास राखेका छौँ,’ शाहीले नेपालभ्युजसँग भने ‘टिकटकमा मेरो भिडिओ राखेर भाइरल गराइदिनु भन्ने गर्थ्यो । कर्णाली एकेडेमीमा उसकै भिडिओ राख्ने गर्थेँ । यस्तो हुन लेखेको रैछ ।’ 

विपिनको सफलता पछाडि एकाग्रता र कडा परिश्रम रहेको शाही बताउँछन् । विपिनको सुरुवाती दिन सम्झिँदै शाहीले भने, ‘हाम्रो एकेडेमीमा यति बजे यो क्लास भन्ने हुँदैन । समयअनुकूल विभिन्न विद्यार्थी आएर अभ्यास गर्छन् । विपिन पनि दिउँसो १२ बजे आएर ५ बजेतिर फर्कन्थ्यो । हरेक कुरामा ट्यालेन्ट छ । खेलमा पनि बोल्नुमा पनि । खेलाडीमा हुनु पर्ने सबै गुण छ ।’

चर्चामा आएर हराउने खेलाडी बन्न नचाहेको कथनबारे उनले भने, ‘विपिनलाई मात्र नभई सबै खेलाडीलाई आफ्नो धरातल नबिर्सन सिकाइ रहेका हुन्छौँ । विपिनलाई पनि जाने बेला सम्झाएका थियौँ । एकैचोटी टपमा खेल्ने होइन प्रेसर हुन्छ भनेर । सोहीअनुरुप सिकेको कुरालाई राम्रो तरिकाले प्रयोग गर्न सक्यो ।’

उनले विपिनको सफलताले कर्णाली एकेडेमीका अन्य खेलाडी पनि प्रेरित भएको बताए । ‘मेहनत गर्‍यो भने सफल हुन सकिन्छ भनेर विपिनले देखाएको छ,’ उनले भने, ‘अब अरु भाइहरूले पनि गर्न सकिन्छ भन्ने प्रेरणा पाएका छन् । हामीले टिभीमा हेर्दा पनि उसले न्यूजिल्याण्डको प्लेयरको विकेट लिइरहेको छ । यो देख्दा पनि उनीहरुले थप हौसला पाएका छन् ।’

यद्यपि, कर्णालीमा क्रिकेट खेलाडीको तालिम गराउन भने निकै सकस रहेको शाही बताउँछन् । उनले भने, ‘कर्णालीमा एकेडेमी भनेकै हाम्रो मात्र हो । म आफैँ पनि र भाइ पनि क्रिकेट खेलाडी भएकोले कर्णालीका लागि केही गर्नु पर्छ भनेर सुरुवात गरेका थियौं ।’

विपिनले पनि नेटमा नै अभ्यास गरेर आफूलाई तयार पारेको शाहीले बताए । ‘तालिमका लागि प्रशिक्षक छैनन् । तैपनि स्तरोन्नतिका लागि महिनामा एक जना प्रशिक्षक बोलाएर तालिम प्रदान गर्ने सोचिरहेका छौँ ।’

कर्णालीमा क्रिकेटको पूर्वाधार अभाव छ । जसका कारण चुनौती थपिएको छ । ‘क्रिकेट ग्राउण्ड नै छैन । मैदान नै भर्खर भर्खर बन्दै छ । योभन्दा अगाडि त क्रिकेटरलाई गाह्रो थियो । अहिले अवस्थामा भने सुधार हुँदै छ । एक दुई महिना भयो मैदान बनेको पनि,’ उनले बताए ।

तालिमका लागि आधारभूत व्यवस्था नभएकाले पनि खेलाडी उत्पादनमा कठिनाइ आएको उनी बताउँछन् । ‘खेलाडीलाई नियमित हौसला प्रदान गरिराख्न गाह्रो छ । आर्थिक रुपमा पनि सम्पन्न परिवार छैनन् । क्षमता भएका खेलाडी भेट्दा परिवारलाई बुझाउने प्रयास गर्छु । हरेकका छोराछोरी डाक्टर पाइलट बन्छन् भन्ने हुँदैन । कन्भिन्स गर्न प्रयास गर्छु ।’ शाहीले बताए ।

यद्यपि, विपिनको सफलताले आगामी दिनमा कर्णालीका युवा खेलाडीलाई हौसला र उर्जा भने पक्कै थपेको छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register