सहकारी ठगी प्रकरण: रविसहित ५१ जना प्रतिवादी, १ अर्ब ५१ करोड बिगो मागदाबी

१ अर्ब ५१ करोड ४० लाख रकममध्ये गोर्खा मिडियामा आएको रकमलाई रविसहितको जिम्मेवारी भनिएको छ ।

Dec 16, 2024 - 11:51
 0
सहकारी ठगी प्रकरण: रविसहित ५१ जना प्रतिवादी, १ अर्ब ५१ करोड बिगो मागदाबी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित ५१ जनाविरुद्ध अनुसन्धान सकेर रायसहितको अनुसन्धान प्रतिवेदनमा १ अर्ब ५१ करोड बिगो मागदाबी गरिएको छ ।

५१ जनालाई प्रतिवादी बनाउन माग गरिएकाहरूमा रविसँगै, नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलगायत छन् ।

प्रहरीले लामिछानेविरुद्ध सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धिकरणको कसुरमा कारबाहीका लागि माग दाबी गर्दै प्रतिवेदन तयार गरेको कास्की प्रहरीले जनाएको छ ।

५१ जनालाई प्रतिवादी बनाए पनि ३७ जना प्रतिवादी फरार छन् । १४ जना मात्रै पक्राउ परेका छन् । बाँकी ३७ जना फरार रहेकाले उनीहरूको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

५१ जनाविरुद्ध १ अर्ब ५१ करोड ४० लाख १९ हजार १९४ रुपैयाँ बिगो मागदाबी गरिएको प्रहरीले जनाएको छ । सोमबार सरकारी वकिल कार्यालयमा पुगेको उक्त प्रतिवेदन अध्ययन पश्चात् जिल्ला अदालत कास्कीमा दर्ता हुनेछ ।

१ अर्ब ५१ करोड ४० लाख रकममध्ये गोर्खा मिडियामा आएको रकमलाई रविसहितको जिम्मेवारी भनिएको छ ।

कास्कीको सूर्यदर्शन सहकारी संस्थामा बचतकर्ताले राखेको रकम अनियमितता भएको प्रकरणमा संलग्न पुष्टि हुने निष्कर्षसहित प्रहरीले प्रतिवेदन बनाएको हो ।

सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा लगेर जथाभाबी खर्च गरेको देखिएको प्रहरीको दाबी छ । यस्तोमा उनी ठगीमा संलग्न रहेको पुष्टि हुने पर्याप्त आधारहरू भेटिएको भनिएको छ ।

प्रहरीले अनुसन्धानका क्रममा रविले विभिन्न सहकारीलाई ऋण तिर्न काटेको चेक पनि बरामद गरेको छ । यसलाई लामिछाने सहकारी ठगीमा संलग्न बलियो प्रमाणका मानिएको छ ।

प्रहरीका अनुसार, गोर्खा मिडिया र सुप्रिम सहकारीमाथि अनुसन्धानका क्रममा लामिछानेले काटेको चेक फेला परेपछि उनलाई चेकको प्रतिलिपि देखाएरै सोधपुछ गरिएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register