वैकल्पिक राजनीति : चुनौती र सम्भावना 

मूलधारका शक्तिहरूमै पनि एकाएक चामत्कारिक परिवर्तन भई अर्को थान पार्टीको विकल्प नचाहिने अवस्था आउन सक्छ । वा ति भित्रको गुणात्मक हिस्सा विभाजित भएर वाञ्छित वैकल्पिक शक्ति निर्माण हुन पनि सक्छ ।

Jan 8, 2025 - 11:57
 0
वैकल्पिक राजनीति : चुनौती र सम्भावना 

खासमा राजनीति राम्रो नराम्रो जस्तो सुकै होस यो समाजको केन्द्रीय मामिला हो । अमुक पात्रगत अभिष्ट बेग्लै कुरा हो तर, राजनीति आफैँमा समाजको शक्ति र सम्पत्ति व्यवस्थापन तथा नियन्त्रण गर्ने प्रणाली हो । राजनीतिको लागि शक्ति र सम्पत्ति एउटै सिक्काका दुई पाटा अर्थात एकअर्काका परिपूरक हुन् । सामाजिक सुव्यवस्था, शान्ति सुरक्षा, धर्म, संस्कृति तथा आर्थिक सेवा, सुविधा, विकासको अवस्था राजनीति सापेक्ष रहन्छ । अनि राजनीति राजनीतिमा मात्र सीमित हुँदैन । समाजको आर्थिक तथा सांस्कृतिक चरित्र, ऐतिहासिक पृष्ठभूमि, बाह्य परिवेशमा निर्भर रहन्छ । कुनै वर्ग वा समूहले राजनीतिक शक्ति वा सत्ता हातमा लिनुको मुख्य अभिप्राय राज्यको अधिनस्थ स्रोत, सम्पत्ति र ऐश्वर्य भोगको लागि नै हो ।

मध्ययुगसम्म राजनीति सीमित कुलीन सम्भ्रान्त वर्गको एकलौटी खेलो थियो । त्यही उच्च वर्गकै विभिन्न समूह गुट उपगुटबीचको प्रतिस्पर्धा प्रतिद्वन्द्विताकै कारण सत्ता राजनीतिमा उथलपुथल भइरहन्थ्यो, राज्य विभाजन र एकीकरणका प्रक्रियाको ध्येय पनि आर्थिक स्रोत क्षेत्रहरूको नियन्त्रण, दोहन र भागबिलो निर्धारण नै थियो । सर्वसाधारणमा राजनीतिक अधिकार थिएन नै आर्थिक अधिकार पनि नगन्य थियो ।

आधुनिक युगमा आमनागरिकलाई आर्थिक र राजनीतिक अधिकार प्राप्त भयो, जसलाई लोकतन्त्र भनिन्छ । लोकतन्त्र लाखौं करोडौँ सर्वसाधारणको राजनीतिक अधिकारको प्रयोग दलगत प्रणाली र दल, सङ्गठन वा संस्थागत माध्यमबिना सम्भव हुँदैन । राजनीतिमा आधुनिकीकरणको प्रक्रिया ३-४ सय वर्ष अगाडि युरोपबाट सुरु भएको थियो, क्रमिक रुपमा । दोस्रो विश्वयुद्धसम्म पनि दुईचार देशबाहेक युरोपमै पनि बालिग मताधिकार थिएन ।

नेपालको सन्दर्भमा आधुनिक राजनीतिक प्रणाली प्रारम्भ भएको पनि पौने शताब्दी बितेको छ । तर, दलगत प्रणालीमा आधारित लोकतन्त्रको अभ्यास सहज ढङ्गले चलिरहेको छैन । वर्तमानमा बहाल संविधान लागू भएको समेत एक दशक व्यतीत भएको छ । दुईदुई पटक सबै तहका निर्वाचन सम्पन्न भइसकेका छन् । तै पनि मुलुकको आर्थिक विकास र व्यावसायिक वातावरणप्रति आम जनमानस अपेक्षाकृत सन्तुष्ट हुन सकिरहेको छैन । जसको अपजस विद्यमान राजनीतिक शक्ति र प्रणाली उपर जानु अस्वाभाविक होइन । यस्तै सन्दर्भ र पृष्ठभूमिमा वैकल्पिक राजनीतिको चर्चा हुँदै गएको छ । 

नेपालमा वैकल्पिक राजनीतिको फेसन विश्व राजनीतिको पछिल्लो प्रभावको उपज पनि हो । विशेष गरेर भारतमा अन्ना हजारेको भ्रष्टाचारविरोधी आन्दोलन र त्यसको आधारमा निर्माण भएको आमआदमी पार्टी, त्यसका नेता अरविन्द केजरीवालको अनुकरण गर्ने चेष्टा रहेको पाइन्छ र बेला मौकामा माइतीघर मण्डलामा पनि धाइन्छ । तर पनि वैकल्पिक राजनीतिको ब्रान्ड त्यति धेरै बिकाउ र टिकाउ बन्न सकिरहेको छैन, नेपाली राजनीतिक बजारमा ।

वैकल्पिक धारको पार्टी निर्माणको सुरुवात झण्डै तीन दशक पहिला देवेन्द्रराज पाण्डेको नेतृत्वमा भएको थियो । त्यसको पछिल्लो संस्करण रास्वपालाई मानिएको छ । बाबुराम भट्टराईदेखि रवीन्द्र मिश्रको नाम पनि त्यस शृङ्खलामा जोडिएको छ । हाल गठन भएको छोटो समयमा नै आम निर्वाचनमा अप्रत्याशित सफलता हासिल गरेर तरङ्ग ल्याउन सफल रवि लामिछाने र उनको पार्टी पनि अनेक काण्ड र फण्डाको भुमरीमा फसेको छ ।

विद्यमान मूलधारका पार्टी र राजनीति नेपालको वाञ्छित आर्थिक सामाजिक रूपान्तरणको नेतृत्वको लागि सक्षम छैनन् भन्ने बुझाई प्राय: शिक्षित युवा, बौद्विक – प्राज्ञिक तहमा रहेको छ । यसैकारण वैकल्पिक पार्टी वा राजनीतिको आवश्यकता बोध भएको छ । त्यसमा केही प्रयास भए तर, सफल हुन नसकेको मात्र होइन तत्काल कोही सफल हुने आशा समेत मर्दै गएको छ । 

नेपालमा वैकल्पिक राजनीति बिक्न र टिक्न नसक्नुका केही कारण यहाँ केलाउने प्रयास गरिएको छ ।

पहिलो, समाजमा शक्ति र प्रतिष्ठा आर्जन गर्ने महत्वाकाङ्क्षा प्राय: सबैलाई हुन्छ । लोकप्रिय राजनीतिक प्रणालीमा सामान्य मान्छेले पनि राजनीतिक माध्यमबाट असाधारण शक्ति र प्रतिष्ठा हासिल गरेको देखिन्छ पनि । संयोगवश सामान्य मेहनतबाट पनि कतिले त्यो स्थान प्राप्त गरेका हुन्छन् । वास्तविक आवश्यकताभन्दा आत्मगत लहडले कति दुस्साहसी तथा अति महत्वाकाङ्क्षी मान्छेबाट त्यस्ता दृष्टान्तहरूको नक्कल वा अनुकरण गर्ने चेष्टा हुने गर्दछ । एक हदसम्म आम ध्यानाकर्षण, चर्चा र सफलता हासिल गर्न पनि सक्छन् । जब तिनीहरूमा विभिन्न शक्ति तथा स्वार्थ समूहहरूको नजर पर्न थाल्छ, अनि अनेक खेल र झेलको फन्दामा पर्दछन् । स्पष्ट वर्गाधार र नीतिगत दृष्टिकोण निर्माण नभएको कोरा आदर्श, भावुकता र देखासिकीबाट आकर्षित झुण्डले त्यस्ता खेल, झेल अनि आफ्नै बेमेलको भुमरी छिचोल्न सक्दैनन् । नेपालको सन्दर्भमा तिनको उदाहरण उल्लेख गरिरहनु पर्छ जस्तो लाग्दैन ।

दोस्रो, वैकल्पिक राजनीतिबारे सत्ता, शक्ति केन्द्रित हो वा नागरिक दबाबमूलक आन्दोलनको रुपमा सीमित रहने हो भन्ने प्रयोजनको अन्योलता पनि हो । सुशासन, भ्रष्टाचार निवारण लगायत विविध सार्वजनिक हितहरूको सवालमा आवाज बुलन्द गर्नु, ध्यानाकर्षण गराउनु , शान्तिपूर्ण दबाब सृजना गर्नु पनि राजनीतिक सरोकार हो, एक खालको राजनीति नै हो । खासमा वैकल्पिक राजनीति त्यही नै हो जो सत्ताको लागि हुँदैन तर, आम सार्वजनिक हितमा प्रभावकारी भूमिका खेल्न सक्दछ ।

विकसित लोकतान्त्रिक मुलुकहरूमा त्यसको लागि बलियो नागरिक समाज (सिभिल सोसाइटी) स्थापित हुन्छ । त्यहाँको सन्दर्भमा सिभिल सोसाइटी छुट्टै संस्था वा सङ्गठनको होइन । त्यो संस्कृतिको रुपमा विकसित हुन्छ । त्यसका संवाहक सार्वजनिक मिडिया, विभिन्न पेशागत तथा गैरसरकारी संस्था हुन्छन् । नेपाल जस्तो अल्पविकसित मुलुकमा औपचारिकतामा लोकतन्त्र बहाल रहे पनि त्यसको प्रयोगको निगरानी र खबरदारी गर्ने स्वतन्त्र नागरिक समाज निर्माण भएको हुँदैन । मिडिया, पेशागत तथा गैरसरकारी सामाजिक संस्थाहरू मात्र होइन नागरिक समाजकै नाममा पनि पार्टीगत ध्रुवीकरण हुन्छ र छ पनि । तसर्थ, वैकल्पिक राजनीति नयाँ मूल्य र चेतनाको रुपमा हुनु पर्ने हो न कि थप केही थान उस्तै चरित्रको सत्ता ढुकुवाको रुपमा । 

तेस्रो, स्थापित पार्टीहरूले अस्तित्व आधारप्रति नजरअन्दाज गरेको देखिन्छ । वैकल्पिक राजनीतिको नाममा नयाँ पार्टी खोल्ने लहडको अभिप्रेरणा स्थापित मूलधारका पार्टी प्रतिको सतही असन्तुष्टि र विद्यमान अवस्था प्रतिको वितृष्णा हो । नयाँ नारा र पुराना पार्टीको भण्डाफोर गरेपछि बोट हल्लाएर पाकेको आँपझैँ समर्थन आफूले थापेको टोकरीमा बर्सिन्छ भन्ने दिवास्वप्न पनि हो । यसो कचपच देखिँदैमा पुराना ठूला पार्टीमा तत्काल ठूलै पहिरो जान्छ कि भन्ने जोखाना फेल खानु खासै ठूलो आश्चर्य होइन । उनीहरूको प्रभाव गहिरो छ, किनभने ऐतिहासिक सङ्घर्ष, क्रान्ति, त्याग समर्पण र बलिदानको विरासत छ । समाजका विभिन्न तह र तप्काको गहिरो भावनात्मक प्रभाव समेत छ ।

उनीहरूको राजकीय कार्यसम्पादन अपेक्षाकृत सन्तोषजनक नभए पनि सम्पूर्ण रुपमा खत्तम पनि होइन । केही उल्लेख्य सुधार तथा परिवर्तन नभएको पनि होइन । आफ्ना कार्यकर्ता, समर्थक र मताधार संरक्षणमा सत्ताको लाभ एकहदसम्म दिलाएका छन् । सामुदायिक तहमा पार्टी भनेको औपचारिक मूर्त सङ्गठनभन्दा अनौपचारिक अन्तरसम्बन्ध, नेक्सस र आस्थागत सम्प्रदायको रुपमा गढेको छ । तसर्थ हङ्गा हल्लिए पनि जरा उखेलिन सहज छैन । त्यो कुरा निर्वाचनका मत परिणामहरूले देखाएका छन् । एक नव राजनीतिज्ञले मम चाउमिनलाई बिम्ब बनाएको चर्चामा आएको थियो । उनीहरू प्रति सम्पूर्ण सन्तुष्ट हुन नसके पनि चित्तबुझ्दो र भरपर्दो विकल्प स्थापित नभएसम्म कसैले आफ्नो थातथलो सहजै छाड्दैन ।

चौथो, वैकल्पिक राजनीतिमा सबैभन्दा ठूला गन्जागोल खास वैचारिक पक्षमै देखिन्छ । तरकारी खाने मामिलामा खसीको विकल्प भैँसी पनि हुन सक्छ फर्सी पनि । कसैले मात्रात्मक विकल्पको कुरा गर्छन् कसैले गुणको । कोही संरचनागत आमूल परिवर्तन चाहन्छन् कोही सामान्य सुधार । कोही प्रणालीकै विकल्प खोज्छन् कोही कार्यकुशलताको, अति उग्रवामपन्थदेखि चरम दक्षिणपन्थसम्मका, तर्कसङ्गत प्रगतिशीलदेखि पुरातनपन्थी विकल्पहरू हाजिर छन् । कहिलेकाँही ति सबै नानाभाँतीका विकल्पधारीहरू एउटै ताँतीमा उभिएको पनि देखिन्छ । नयाँ भनेर लाग्दा झन् खराब विकल्प आईलाग्न पनि सक्छ । नयाँ नौलो भन्दैमा सबै राम्रो हुन्छ भन्न सकिन्न । तसर्थ, सभ्य र समुन्नत समाजसहितको राष्ट्र निर्माण गर्न सार्थक वैचारिक अवधारणा र यथोचित मार्गचित्र तर्जुमा हुन नसक्नु पनि एउटा प्रमुख कारण रहेको छ ।

पाचौँ, लोकतान्त्रिक व्यवस्थामा कस्तो चरित्रको राजनीतिक संस्था वा नेतृत्व स्थापित हुने समाजको चेतना स्तर र आम मनोविज्ञानमा पनि निर्भर हुन्छ । त्यसअनुसार सामाजिक मेकानिजम निर्माण भएको हुन्छ । राजनीति, राज्य , सरकार र त्यसप्रति आम नागरिकको सरोकार सम्बन्ध बारेको बुझाईमा एकरूपता र स्पष्टता छैन । राजनीतिक सङ्गठन वा व्यक्तिको चरित्र र क्षमताको मूल्याङ्कन, घोषित नीति, व्यवहार पृष्ठभूमिको आधारमा असलियतको जाँच पहिचान गर्ने कसी व्यक्ति नै पिच्छे बेग्ला बेग्लै छन् । नाप जोख गर्ने आधार र एकाइमा साझा मापदण्ड निर्माण हुन सकेको छैन ।

उही कसैको लागि देवता लाग्न सक्छ भने अर्कोलाई दानव । पात्र उही तर प्रभाव कसैका लागि ठगवान कसैका लागि भगवान । स्थापित पार्टीहरूले प्रशिक्षण र चेतनाको नाममा एक ढङ्गले ब्रेनवास गर्ने गरे । विश्लेषणात्मक चेतनाको शिक्षा दिएनन् । निरपेक्ष आस्था र अनास्था, अन्धसमर्थन र विरोध गर्ने पूर्वाग्रही स्कुलिङको दिक्षा दिए । त्यस कारण सही नीति र आदर्श नेतृत्व अगाडि आएपनि आम जनमानसलाई बुझाउन र विश्वास दिलाउन मुस्किल छ । धेरैपटक धोका र विश्वासघात भएकाले जो पनि उस्तै हुन् भन्ने नैराश्यता गहिरिएको छ ।

अन्तत: विशुद्ध वैकल्पिक राजनीति वा राजनीतिक शक्तिको उदय सहज देखिँदैन । सफलताका आधारभन्दा चुनौतीका पहाड अग्ला छन् । विकल्पको एउटा महत्त्वपूर्ण आधार प्रभावशाली नागरिक समाज अर्थात सिभिल सोसाइटीको निर्माण पनि हो । जो बिना गुणात्मक राजनीतिको विकल्प फस्टाउन सक्दैन । विकल्प केवल पात्र वा संस्थाको मात्र होइन चरित्र र गुणको पनि हो ।

मूलधारका शक्तिहरूमै पनि एकाएक चामत्कारिक परिवर्तन भई अर्को थान पार्टीको विकल्प नचाहिने अवस्था आउन सक्छ । वा ति भित्रको गुणात्मक हिस्सा विभाजित भएर वाञ्छित वैकल्पिक शक्ति निर्माण हुन पनि सक्छ । वा उपयुक्त वैचारिक प्रस्तावना तर्जुमा गरेर, पत्यारिलो ढङ्गले नेतृत्व तथा पहल गर्ने समूह निस्कियो भने पुराना पार्टीका असल मान्छे त्यसमा समाहित हुँदै विकल्पको अभ्युदय हुनसक्ने सम्भावना शून्य भइसकेको पनि होइन ।

-डेनमार्क

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register