रामकोटमा बन्यो ४० करोडको बद्रीनारायण धाम 

काठमाडौं । नागार्जुन नगरपालिका–७ रामकोटमा धार्मिक पर्यटन प्रवर्द्धनका लागि ४० करोड रुपैयाँ लगानीमा ‘बद्रीनारायण धाम’ निर्माण गरिएको छ । पण्डित स्व नारायण पोखरेलको स्मृतिमा स्थापित नारायण पोखरेल प्रतिष्ठानले उक्त धाम निर्माण गरेको हो । धाम आगामी वैशाख १९ गतेदेखि २७ गतेसम्म  मूर्तिको प्राणप्रतिष्ठा गरी नित्य पूजाको व्यवस्थापन तथा उद्घाटन गरिने र यसका लागि निर्माण व्यवसायी […]

Dec 22, 2024 - 09:08
 0
रामकोटमा बन्यो ४० करोडको बद्रीनारायण धाम 

काठमाडौं । नागार्जुन नगरपालिका–७ रामकोटमा धार्मिक पर्यटन प्रवर्द्धनका लागि ४० करोड रुपैयाँ लगानीमा ‘बद्रीनारायण धाम’ निर्माण गरिएको छ । पण्डित स्व नारायण पोखरेलको स्मृतिमा स्थापित नारायण पोखरेल प्रतिष्ठानले उक्त धाम निर्माण गरेको हो ।

धाम आगामी वैशाख १९ गतेदेखि २७ गतेसम्म  मूर्तिको प्राणप्रतिष्ठा गरी नित्य पूजाको व्यवस्थापन तथा उद्घाटन गरिने र यसका लागि निर्माण व्यवसायी जयराम लामिछानेको संयोजकत्वमा तीन हजार एक सदस्यीय मूल समारोह समिति गठन गरिएको प्रतिष्ठानका संरक्षक एवं अध्यक्ष वाचन प्रवीण पण्डित दिनबन्धु पोखरेलले जानकारी दिए ।

रामकोटमा २२ रोपनी क्षेत्रफलमा निर्माण भइरहेको उक्त धाममा सात करोड लगानीमा प्यागोडा र शिखर शैलीमा मन्दिर निर्माण सम्पन्न भइसकेको छ भने आध्यात्मिक केन्द्र, साधना केन्द्र, अत्याधुनिक गुरुकुल, भक्तजनलाई वासस्थानको व्यवस्थालगायतका संरचना निर्माण भइरहेको छ ।

केन्द्र, प्रदेश र स्थानीय सरकारसँगको सहकार्यमा लागत जुटाउने काम भइरहेको अध्यक्ष पोखरेलले बताए । धाम निर्माणका सरकारले जग्गा उपलब्ध गराएको थियो । चार धाममध्ये विशेष एक धाम रामकोटमा छ भन्ने सन्देश दिनका लागि बद्रीनारायणधाम निर्माण गर्न लागिएको प्रतिष्ठानले जनाएको छ ।

स्व पोखरेल आध्यात्मिक क्षेत्रबाट मुलुकको विकासमा सक्रिय थिए । उनले भौतिक विकास नभएसम्म समुन्नत मुलुक निर्माण हुन सक्दैन भन्ने मान्यता राख्दै आएका थिए । विसं २०११ जेठ ३२ गते गोरखाको बगुवामा जन्मिएका पोखरेलको २०६२ वैशाख २३ गते रुपन्देहीको रामापुरमा हत्या गरिएको थियो । उनी नेपालको पहिलो धार्मिक सहिदसमेत हुन् । स्व पोखरेललाई जनस्तरबाट वाचन शिरोमणिको उपाधि दिइएको थियो ।

स्व पोखरेलले देशभरका ६५ भन्दा बढी जिल्लामा एक हजार एक सय ३६ पुराण वाचन गरेका थिए । पोखरेलको निधन भएसँगै २०६४ असोज २३ मा स्थापना भएको नारायण पोखरेल प्रतिष्ठानले उनको व्यक्तित्व र कृतित्वलाई जीवन्त राख्ने काम गर्दै आएको छ ।

प्रतिष्ठानका संरक्षक एवं अध्यक्ष दिनबन्धु पोखरेलले स्व नारायण पोखरेललाई जीवन्त राख्नका लागि बृहत् बद्रीनारायण धामसहितको नारायण आध्यात्मिक केन्द्र स्थापना गरिएको बताए । “नेपालमै ठुलो आध्यात्मिक थलो निर्माण गर्ने प्रतिष्ठानको मुख्य उद्देश्य हो, उक्त उद्देश्य पूरा हुँदै गएको छ”, उनले भने ।

उक्त धाममा बद्रीनारायण मन्दिरबाहेक धामको प्रशासनिक भवन, नारायण पोखरेल प्रतिष्ठानको कार्यालय, योग ध्यान केन्द्र, हवन कुण्ड, गणेश, सूर्य, देवी र शिवसहितको पाञ्चायन मन्दिर निर्माण हुनेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register