ज्योति जनता बहुमुखी क्याम्पसलाई लायन्स क्लबको सहयोग 

उदयपुर।   लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ एफ नेपालले उदयपुरको चौदण्डीगढी नगरपालिकाको बेल्टारमा रहेको ज्योति जनता बहुमुखी क्याम्पसलाई भौतिक पूर्वाधार निर्माणमा एक लाख अमेरिकी डलर सहयोग गर्ने भएको छ । लायन्स अन्तर्राष्ट्रियद्वारा लायन्स क्लब अन्तर्राष्ट्रिय फाउन्डेशन (एल. सी. आइ. एफ.)ले स्वीकृत डिजाईन बमोजिमको क्यान्टिन भवन बनाउन ज्योति जनता बहुमुखी क्याम्पस बेल्टारमा नेपालको प्रचलित कानुन तथा लायन्स […]

Dec 24, 2024 - 08:46
 0
ज्योति जनता बहुमुखी क्याम्पसलाई लायन्स क्लबको सहयोग 

उदयपुर।  

लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ एफ नेपालले उदयपुरको चौदण्डीगढी नगरपालिकाको बेल्टारमा रहेको ज्योति जनता बहुमुखी क्याम्पसलाई भौतिक पूर्वाधार निर्माणमा एक लाख अमेरिकी डलर सहयोग गर्ने भएको छ ।

लायन्स अन्तर्राष्ट्रियद्वारा लायन्स क्लब अन्तर्राष्ट्रिय फाउन्डेशन (एल. सी. आइ. एफ.)ले स्वीकृत डिजाईन बमोजिमको क्यान्टिन भवन बनाउन ज्योति जनता बहुमुखी क्याम्पस बेल्टारमा नेपालको प्रचलित कानुन तथा लायन्स अन्तर्रा‍ष्ट्रियको कन्स्टिट्युशनबाइ ल बमोजिम निर्माण गर्ने गरी आइतबार सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ ।

लायन्स क्लबले एक लाख अमेरिकी डलर सहयोग गरेर क्याम्पस परिसरमा क्यान्टिन भवन निर्माण गर्ने भएपछि सोमबार चौदण्डीगढी नगरपालिकामा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर गरिएको हो । सम्झौतामा चौदण्डीगढी नगरपालिकाको तर्फबाट नगर प्रमुख कालुमान लामा, क्याम्पसको तर्फबाट क्याम्पस प्रमुख मनोज कुमार झा र क्लबको तर्फबाट लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ एफका गभर्नर शंकर कुमार शारदाले हस्ताक्षर गरेका हुन् ।

सोमबार भएको सम्झौता तत्काल लायन्स क्लबको केन्द्रीय कार्यालयमा पठाइने र लायन्स क्लब अन्तर्राष्ट्रिय फाउन्डेशन (एल. सी. आइ. एफ.)ले स्वीकृत क्यान्टिन भवन निर्माणको रकम एक लाख अमेरिकी डलर नेपाल पठाउने लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ एफका गभर्नर शारदाले बताए । सम्झौता अनुसार कुल रकमको २५ प्रतिशत रकम नगरपालिकाले उपलब्ध गराउनु पर्ने र ७५ प्रतिशत रकम लायन्स क्लबले उपलब्ध गराउने छ ।

सम्झौतामा भनिएको छ;  ज्योति जनता बहुमुखी क्याम्पसमा निर्माण गरिने परियोजनाको अनुमानित कुल लागत एककरोड एकचालीस लाख बयालीसहजार एकसय एकचालीस रुपैया रहेको छ । परियोजनाका लागि आवश्यक रकमको लागि एल. सी. आइ. एफ. मा परियोजना प्रस्ताव पेश गरी स्वीकृत गराउने, आवश्यक पत्राचार गर्ने तथा रकम निकासाको लागि आवश्यक सम्पूर्ण प्रकृया पुरा गर्ने दायित्व लायन्स अन्तर्राष्ट्रियको हुनेछ । परियोजना कार्यान्वयनको लागि परियोजनाको नामबाट राष्ट्रिय वाणिज्य बैक लि.मा नगरपालिकाको विविध खर्च खाताबाट सञ्चालन गरिनेछ । परियोजना स्वीकृत भए पश्चात् नगरपालिकाले सो खातामा २५% रकम जम्मा गर्नुपर्ने बताइएको छ । 

सम्झौता कार्यक्रममा बोल्दै चौदण्डीगढी नगरपालिकाका मेयर कालुमान लामाले आफूले नगरभित्र शिक्षामा आमूल परिवर्तन गर्ने सोच राखेका बेला लायन्स क्लबले गर्न लागेको महत्वपूर्ण सहयोग प्रति खुशी व्यक्त गर्दै यस परियोजनालाई समयमा सम्पन्न गर्ने र आगामी दिनमा थप सहयोगका लागि अपेक्षा गर्ने समेत बताए ।

लायन्स क्लब विशुद्ध मानवीय सेवा गर्ने संसारकै सबैभन्दा ठुलो अन्तर्राष्ट्रिय संस्थाको रुपमा परिचय बनाएको संस्था हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register