के वैकल्पिक राजनीतिको सम्भावना सकियो ?

बूढो, परित्यक्त र अर्थहीन राजनीतिमा आगो लगाउने र ताजा, ऊर्जाशील, नवीन राजनीतिको पुनर्जन्म गराउने । या त भएका पार्टीलाई बदल्ने या त नयाँ बनाउने । तर, आगो लगाउने कसले ? आफैँमाथि निर्मम अग्निदाह गर्ने हिम्मत नेपाली राजनीतिमा कोसँग छ ?

Dec 31, 2024 - 05:05
 0
के वैकल्पिक राजनीतिको सम्भावना सकियो ?

स्पष्टीकरण 

कतिपय मान्छे भन्छन् – वैकल्पिक (नयाँ, युग सापेक्ष) राजनीतिको अब कुनै सम्भावना छैन ? जसले त्यसो भन्छ मलाई लाग्छ, उनीहरू युग र राजनीतिको सम्बन्ध बुझ्दैनन् । या त उनीहरूको समय स्थिर हुन्छ, मुद्दाहरू स्थिर छन् र कुनै चिज पनि फेरिदैन भन्ने ठान्छन् । अन्यथा, गतिशील समाजमा वैकल्पिक राजनीतिको सम्भावना सकिएको ठान्नु सबैभन्दा मुर्खतापूर्ण कुरा हो ।

किनभने समय गतिशील हुन्छ र त्यसअनुसार राजनीति फेरिनु अनिवार्य छ । मात्र फेरिएको राजनीति कुन रुपमा प्रकट हुन्छ ? पुराना पार्टीहरूले आफूलाई नयाँ रूपमा ढाल्छन् कि नयाँ पार्टीको जन्म हुन्छ ? त्यो चाँहि समयले निर्धारण गर्ने कुरा हो ।

प्रश्न आउँछ, त्यसोभए नयाँ शक्ति किन असफल भयो ? विवेकशील साझा किन असफल भयो ? राष्ट्रिय स्वतन्त्र पार्टी किन असफलताउन्मुख छ ? यसका धेरै जवाफ हुनसक्छ । अहिलेलाई यति मात्र भनौँ, या त यी पार्टीहरू नयाँ नाममा पुरानैको निरन्तरता थिए या आफूलाई नयाँ भनेर प्रमाणित गर्न सकेनन् ।

अन्यथा सगरमाथा चढ्न जानेहरू एक वा दुईपटक असफल भए भन्दैमा चढ्न असम्भव छ भन्ने निष्कर्ष निस्कन्छ र ? सगरमाथा चढ्न सकिन्छ । मात्र केही मान्छेहरू असफल भएका हुनसक्छन् । कोही असफल हुँदैमा असफलताको सिद्धान्त बन्दैन । बरु त्यसले नयाँ सफलताको ढोका खोल्छ । 

केही व्याख्या

माथिको स्पष्टीकरणलाई अलिकति व्याख्या गरौँ । जस्तो कि समय र समाज दुबै गतिशील हुन्छ । अन्यथा समाज स्थिर हुन्थ्यो भने हामी ढुङ्गे युगमै हुने थियौँ  । विज्ञान र विकासले फड्को मार्ने थिएन । तर, समाज गतिमा हुन्छ । त्यसैले त आजभन्दा दश वर्ष अगाडि जे थियो, आज त्यो फेरिएको छ र भोलि अझ धेरै फेरिने छ । फेरिनु समाजको चरित्र हो ।

यो सत्य हो कि मानव सभ्यता अनेकौँ द्वन्द्व र एकताबाट अगाडि बढ्दै यहाँसम्म आइपुगेको हो । र, यो अझै अगाडि जानेछ । यसको अर्थ व्यक्ति, समाज, प्रकृति र राज्यको सम्बन्ध हिजो जस्तो थियो आज त्यस्तो छैन र भोलि अर्कै हुनेछ ।

किनभने समाजको गतिसँगै समाजका आवश्यकता फेरिन्छन् । मुद्दा फेरिन्छन् । सपना फेरिन्छन् । आर्थिक तथा सामाजिक ढाँचा फेरिन्छन् । अन्तरविरोध र एकताका सम्बन्ध फेरिन्छन् । तसर्थ समाजको राजनीति पनि फेरिन्छ र फेरिनुपर्छ ।

यो सिद्धान्तलाई राजनीतिमा आत्मसात् गर्नु नै वैकल्पिक राजनीतिलाई बुझ्नु र आत्मसात् गर्नु हो ।

तर, अहिले हाम्रो समाजमा के भइरहेको छ ? भएको यो छ कि हाम्रोमा त्यही समाज र राजनीतिको लय बिग्रिएको छ । जस्तो हेरौँ त, नेपाली राजनीतिमा अहिले तीन पुस्तासँगै काम गरिरहेको छ । पहिलो पुस्ता, जसले ०१७–०४६ सालको सकस देख्यो र प्रजातन्त्रका लागि लड्यो । दोस्रो पुस्ता, जो ०४७–०६३ को उथलपुथलबाट जन्मियो । तेस्रो पुस्ता, जो ०७२ सालपछि राजनीतिमा उदायो ।

यी तीन कालखण्डले हाम्रा समाजका फरक चेतना र सपनाहरूको प्रतिनिधित्व गर्दछन् । तर, भइरहेको छ के ? हाम्रो समाज ०८१ सालमा छ, तर, नेतृत्व छ ०४६ सालको । हाम्रो सपना छ ०८१ सालको तर, हाम्रो राजनीति छ ०४६ सालको । हाम्रो सामाजिक चेतना छ ०८१ सालको, नेतृत्वको राजनीतिक चेतना छ ०४६ सालको ।

समय ०८१ सालमा आइपुग्नु तर, राजनीतिक नेतृत्व ०४६ सालकै वरिपरि घुमिबस्नु नै नेपाली राजनीतिको आजको सङ्कट हो । यसको अर्थ के भने हाम्रो राजनीति र युग चेतनाको ‘ग्याप’ ३० वर्षभन्दा धेरै छ ।

३० वर्षको यो ‘ग्याप’लाई कसरी घटाउने ? विचारमा कसरी घटाउने ? एजेण्डामा कसरी घटाउने ? सङ्गठन र नेतृत्वमा कसरी घटाउने ? यो अर्थमा पुरानो पुस्ताबाट नयाँ पुस्तामा राजनीतिलाई सिफ्ट गर्ने प्रयत्न नै वैकल्पिक (नयाँ) राजनीतिको मूल प्रयत्न हो ।

पुस्ता हस्तान्तरणको भाष्य

आजकल कतिपय मान्छेहरू वैकल्पिक राजनीतिको कुरा गर्नासाथ निकै जोडतोडले पुस्ता हस्तान्तरणको कुरा गर्दछन् । उनीहरू ठान्दछन् काङ्ग्रेसलाई बदल्न देउवाको ठाउँमा कुनै एक जना युवालाई स्थापित गरिदिए पुग्छ ।

यसैगरी, केही कमरेड सोच्छन्– ओली, दाहाल र नेपालका ठाउँमा अर्को कसैलाई राखिदिए पुस्तान्तरण हुन्छ । तर, त्यस्तो हुँदैन । कसैले त्यस्तो सोच्छ भने यो त राजनीतिको दुःख मान्छेको अनुहारमा लगेर केन्द्रित गर्नु मात्र हो ।

वैकल्पिक राजनीति, नेताको अनुहारमात्र बदल्ने प्रस्ताव होइन । न त यो एकथान नयाँ पार्टी खोल्ने प्रस्ताव हो, न त फगत चुनाव जित्ने जादुगरी । यो वस्तुतः राजनीतिको अनुहार बदल्ने प्रस्ताव हो । यो अर्थमा वैकल्पिक राजनीति भनेको समकालीन विचार, आन्दोलन र मुद्दाहरूको समष्टि हो । जसलाई विचारको पुस्तान्तरण, एजेण्डाको पुस्तान्तरण, नेतृत्वको पुस्तान्तरण र पार्टीको पुस्तान्तरण पनि भन्न सकिन्छ ।

अर्थात् थोत्रो र सन्दर्भ सकिएको विचार, मुद्दा, सङ्गठन, नेतृत्व, प्रवृत्ति र संस्कृति नफेरी नेतामात्र फेरेर राजनीति नयाँ बन्दैन । यो अर्थमा वैकल्पिक राजनीति भनेको पुरानो पुस्ताको वैचारिक, राजनीतिक र सङ्गठनात्मक जडताबाट राजनीतिलाई निकालेर नवीन विचार, मुद्दा, सङ्गठन र संस्कृति निर्माण गर्नु हो ।

विचार बदल्ने कुरा

वैकल्पिक राजनीतिको पहिलो र महत्वपूर्ण प्रस्ताव हो, विचारमा नवीनता । किनभने विचार र समयको सम्बन्ध अविभाज्य हुन्छ । कुनैपनि विचारले सयौँ वर्ष यसरी नै जस्ताको तस्तै राजनीतिको दिशानिर्देश गर्दैन । न त मार्क्सवाद वेद वा कुरान हो, न त समाजवाद वा लोकतन्त्रलाई लेनिन वा लिङ्कनको परिभाषाबाट हेरेर आज जस्ताको तस्तै कार्यान्वयन गर्न सकिन्छ ।

विचार एउटा खास समयको दृष्टि हो । जब समय र समाज फेरिन्छ, विचार फेरिन आवश्यक हुन्छ ।

हाम्रो सन्दर्भमा यो कुरा किन महत्वपूर्ण छ भने हाम्रा पुराना राजनीतिक दलहरू (काङ्ग्रेस वा कम्युनिष्ट) सामन्तवाद (अर्धसामन्ती) विरोधी आन्दोलनका उपज हुन् । यसको अर्थ के भने हामी आज काङ्ग्रेस र कम्युनिष्टको मुख्यालयबाट लोकतन्त्र र समाजवादको जुन वैचारिकी सुनिरहेका छौँ । यो सामन्तवाद विरोधी आन्दोलनताका बनेको लोकतन्त्र र समाजवादको वैचारिकी हो । जसमा निहित छ लगभग सय वर्ष पुरानो (वा, त्यो भन्दा पुरानो) बेलायत, भारत र सोभियत सङ्घको वर्चश्व ।

तर, ०६३ सालमा जब हामी राजनीतिक रुपमा अर्धसामन्ती बन्धनबाट मुक्त भयौँ, त्यो आन्दोलनमा बनेका लोकतन्त्र र समाजवादका वैचारिकीहरूको युग सकियो । अर्थात् आवश्यक भयो, उदार (दलाल) पुँजीवादी युगतिर सङ्क्रमण हुँदै गरेको समाजको नेतृत्व गर्ने वैचारिकी । सूचना, ज्ञान र विज्ञानले निर्माण गरेका नयाँ अवसरलाई हेर्ने वैचारिकी । त्यसले खडा गरेका चुनौतीसँग भिड्ने वैचारिकी । आजको आँखाबाट लोकतन्त्रलाई हेर्ने वैचारिकी । फेरिएका सपनाहरूलाई सम्बोधन गर्ने वैचारिकी

तर, जब पुराना दलहरू नयाँ विचार निर्माणमा सङ्कीर्ण देखिए, नयाँ वैचारिकीका लागि प्रयत्न गर्नु अनिवार्य भयो र त्यसैको परिपूरणको प्रयत्न हो वैकल्पिक राजनीति ।

प्रश्न आउन सक्छ, त्यसोभए के हो त आजको वैचारिकी ? यसमा छलफल आवश्यक छ । तर, यो पक्का छ, परम्परागत लोकतन्त्र र समाजवादले अबको युगलाई नेतृत्व गर्न सक्दैन ।

नयाँ राजनीतिक वैचारिकीमाथि छलफल गरिरहँदा विचार गर्नुपर्ने तथ्य के भने, हिजो राजनीति अंश/अंशमा विभाजित थियो । हिजो न त राज्यलाई समग्रतामा हेरियो, न त लोकतन्त्रलाई । त्यसैले हिजो कम्युनिष्टले सर्वहारा सत्ता, सर्वहारा लोकतन्त्र र सर्वहारा वर्गको हितको कुरा गरे । उनीहरुलाई मान्छेको हितभन्दा प्यारो थियो सर्वहारा सत्ता । पुँजीवादी लोकतन्त्रको कुरा गर्नेहरू पनि पुँजीको वर्चस्वका लागि लोकतन्त्रको धज्जी उडाइरहँन्थे ।

हिजो कसैले जात भने, कसैले धर्म, कसैका लागि राजा महत्वपूर्ण थिए, कसैका लागि मार्क्स र माओ । तर, आजको राजनीति यसरी पूर्ण हुँदैन । विश्व अनुभवले भन्छ – वर्ग, जात र धर्मका सङ्कीर्णताले लोकतन्त्रलाई नै सङ्कीर्ण बनाउँछ र त्यस्तो राज्य मानवतावादी र न्यायपूर्ण हुन सक्दैन ।

अतः आजको राजनीतिको सर्वाधिक उच्च कुरा हो मान्छेको समग्र हित । अथवा मानव सर्वोच्चता । मानव सर्वोच्चताको अर्थ पृथ्वीमा मान्छेको वर्चश्व स्थापित गर्ने भनेको होइन । यो मानव सभ्यतालाई न्यायपूर्ण, नैतिक र समावेशी बनाउने भनेको हो ।

यो अर्थमा आजको विचारको जग हो, मानव सर्वोच्चता । वैकल्पिक राजनीतिले मान्छेको यही सम्पूर्ण सार्वभौमिकतालाई समृद्ध र उँचो बनाउनु पर्छ । आजको वैकल्पिक राजनीतिको वैचारिकीको मुख्य आधार यही हो ।

एजेण्डामा नवीकरण

वैकल्पिक राजनीतिको अर्को महत्वपूर्ण प्रस्ताव हो, एजेण्डाको नवीकरण । हाम्रो देशमा ०४६ सालसम्मको मुख्य राजनीतिक एजेण्डा थियो – प्रजातन्त्र स्थापना । ०६३ सालसम्म आइपुग्दा त्यो गणतन्त्रको एजेण्डामा गयो । अर्थात् ०६३ सालसम्म हामी सङ्घीय लोकतान्त्रिक गणतन्त्रका लागि लड्यौँ । हाम्रा पार्टी, नेता, कार्यकर्ता, मतदाता सबै त्यही एजेण्डाका लागि प्रशिक्षित भए ।

तर, जब सङ्घीय लोकतान्त्रिक गणतन्त्र आयो, स्वभावतः अब के भन्ने प्रश्नमा हाम्रो राजनीति आइपुग्यो । राजा फालियो । तर, सँगसँगै समाजवाद र उदारवादका द्विविधाहरू पनि देखिए । यसको अर्थ के भने आजका दिनमा न त राजा भन्नेहरू वैकल्पिक हुन् न त परम्परागत लोकतन्त्र र समाजवादको कुरा गर्ने वैकल्पिक । त्यसैले एजेण्डाको नवीकरण आजको महत्वपूर्ण प्रश्न हो ।

जगजाहेर छ, पुरानो राजनीतिले राज्यको शासकीय संरचना बदल्ने कुरा धेरै गर्‍यो । राजाका ठाउँमा राष्ट्रपति, एकात्मकताका ठाउँमा सङ्घीयता । तर, राज्यको चरित्र बदल्ने कुरा कतै भएन र भइरहेको छैन ।

त्यसैले हिजो सिंहदरबारमा बस्ने सूर्यबहादुर थापाभन्दा न त आजका शेरबहादुर फरक देखिन्छन्, न त ओली वा दाहाल । न त परम्परागत दलहरूले भन्ने गरेको समाजवादले गरिबका खुट्टामा जुत्ता लगाइदियो न त परम्परागत लोकतन्त्रले दलित, महिला र सीमान्तको जीवन फेर्‍यो ?

यस्तो किन भइरहेको छ ? किनभने शासकीय संरचनाहरू त फेरिए तर, चरित्र फेरिएन । व्यवस्था त फेरियो तर राज्य फेरिएन, यसको गुणवत्ता फेरिएन र यसले मान्छेको अवस्था फेर्न सकेन ।

त्यसैले वैकल्पिक राजनीतिको आजको एजेण्डा हो, शासकीय चरित्रमा बदलाव । शासकीय चरित्रलाई न्यायपूर्ण, सुशासित, समावेशी र लोकतान्त्रिक बनाउने एजेण्डा । सरकारलाई सेवामुखी बनाउने एजेण्डा । राज्यलाई कल्याणकारी बनाउने एजेण्डा । नागरिकलाई पहिलो बनाउने एजेण्डा ।

राज्यको चरित्रसँगै जोडिएर आउने अर्को विषय हो, राज्य शक्तिको नवीनतम् व्याख्या र त्यसको वितरणको कुरा । हिजो शक्तिमा राजाहरू थिए । आज शक्तिमा नेताहरू छन् । हिजो राज्यको ढुकुटीमा राजाहरूले ब्रम्हलुट गरे आज नेताहरूले गरिरहेका छन् । आफूलाई शासक र विशेष अधिकारप्राप्त ‘शक्तिकेन्द्र’ मान्ने प्रवृत्ति हिजो पनि थियो, आज पनि छ ।

नागरिक हिजो पनि शक्तिहीन थिए, आज पनि उस्तै छन् । किनभने समाजवादी र उदार पुँजीवादी व्यवस्थाहरू फरक नामका शक्ति केन्द्रिकरण गर्ने अभ्यासहरू नै हुन् । वैकल्पिक राजनीतिको बहस गर्दा यस्ता दोषहरू निराकरण गर्ने र सत्तालाई निर्मल बनाउने विषयमा विचार पुर्‍याउनै पर्छ । र, वैकल्पिक राजनीति ‘शक्तिको केन्द्रिकरणमा हैन, शक्तिको लोकतान्त्रिक वितरणमा’ प्रतिबद्ध हुनुपर्छ ।

यसैगरी राज्यको चरित्रसँगै जोडिएर आउने अर्को मुद्दा हो, ‘नेशन बिल्डिङ्ग’ । भनिन्छ, राजनीति मुख्यतः दुईटा कुरा हो – पहिलो नेशन बिल्डिङ्ग । दोस्रो स्टेट क्राफ्टिङ्ग । अतः यी दुईटा कामलाई प्रगतिशिल र लोकतान्त्रिक दृष्टिबाट हेर्नु, बुझ्नु र सम्पादन गर्नु आजको अर्को महत्वपूर्ण कार्यभार हो ।

यसका लागि राजनीतिले तीनवटा कुरा स्वीकार गर्नुपर्छ । पहिलो, समाजको बहुलवादी चरित्रलाई स्वीकार गर्नुपर्छ । दोस्रो, बहुलवादी समाजमा राष्ट्र स्वयं सप्तरङ्गी हुन्छ, यो कुरा स्वीकार गर्नुपर्छ । तेस्रो, सप्तरङ्गी राष्ट्रमा राज्यको रङ्ग पनि सप्तरङ्गी हुन्छ, यो सत्यलाई पनि स्वीकार गर्नुपर्छ । जब राजनीतिमा यति कुरा स्वीकार गरिन्छ, त्यसले धेरै कुरामा फरक पार्दछ ।

यहाँनेर राज्यको चरित्रसँगै जोडिएर आउने अर्को विषय हो, राज्यको नैतिकता, मूल्यमान्यता र प्रगतिशिल सांस्कृतिक वैभवका कुरा । यसरी हेर्दा हाम्रो लोकतन्त्र न त पूरै पश्चिमाजस्तो हुन्छ न त पूर्वीय शास्त्रवादमा आधारित नै ।

अहिले समाजमा जुन अराजकता देखिदैँछ, त्यो राज्य र राजनीतिले मलजल गरेका अराजकताको समष्टि हो । राज्य भ्रष्ट हुने र समाज नैतिक यो असम्भव छ । राज्य, राजनीति र दल अलोकतान्त्रिक हुने र समाज लोकतान्त्रिक हुने यो असम्भव हुन्छ । अतः वैकल्पिक राजनीतिको अर्को एजेण्डा हो – व्यक्ति, समाज, दल, सरकार र राज्यको लोकतान्त्रिकरण, नैतिक मूल्यको स्थापना र सामाजिक वैभवको जगेर्ना ।

यसैगरी एजेण्डाभित्र आउने महत्वपूर्ण कुरा हो – समृद्धि । तर, प्रश्न आउँछ, कस्तो समृद्धि ? कम्युनिष्टहरूले भनेजस्तो समाजवादी, कि काङ्ग्रेसहरूले भनेजस्तो पुँजीवादी ? चीन जस्तो कि बेलायत जस्तो ? भारत जस्तो कि रुस जस्तो ? समृद्धिलाई समाजवाद र पुँजीवादको आँखाबाट हेरेर हामी कता पुगौँला ? हाम्रो समृद्धिको मौलिक चिर र चरित्र कस्तो होला ?

संसारले मानेको आजको सत्य के हो भने राजनीतिमा सामाजवादी कि पुँजीवादी भन्ने कित्ताकाटको जमाना विस्तारै सकिँदै छ । अतः आज कसैले त्यो कुरा गर्छ भने त्यो थोत्रो र परम्परागत कुरा हुन्छ । त्यसरी आजको समृद्धिको व्याख्या पुग्दैन । त्यसोभए आजका लागि (हाम्रो सन्दर्भमा) समृद्धिको नवीन मार्गचित्र के हो ? यो प्रश्नको जवाफ खोज्ने राजनीति नै आजको वैकल्पिक राजनीति हो ।

समृद्धिसँग जोडिएर आउँछ, देशको सार्वभौमिकता र आत्मगौरवको कुरा । हामीले विगतमा सानो, कमजोर र गरिब देशको हिन भावनालाई मलजल गर्यौँ । परम्परागत राजनीतिले कहिले अन्धराष्ट्रवादलाई प्रवर्द्धन गर्‍यो, कहिले प्रगतिशील राष्ट्रवादको नाममा अर्कोखाले अतिहरूलाई संस्थागत गर्दै लग्यो । यी दुबै प्रयत्नहरूले नेपालको हित गरेनन् । परिणाम न त हाम्रो विश्व पहिचान प्रवर्द्धन भयो, न त छिमेक कूटनीति सफल भयो ।

अहिले हेर्दा लाग्छ, आर्थिक आत्मनिर्भरता र स्वाधीनता निर्माणमा हामी कहीँ कतै असफल हुँदै गयौँ । यसर्थ सार्वभौमिकता र आत्मगौरवसहितको मौलिक र जनमुखी राष्ट्रवाद आजको आवश्यकता हो । र, यो वैकल्पिक राजनीतिको महत्वपूर्ण ‘एजेण्डा’ हो ।

लोकतन्त्रको लोकतान्त्रिकरण

वैकल्पिक राजनीतिको अर्को मुद्दा हो, लोकतन्त्रको लोकतान्त्रिकरण । आजको लोकतन्त्र फगत भोट हाल्ने र पार्टी खोल्ने लोकतन्त्र होइन । आजको लोकतन्त्र सहभागितामूलक हुनुपर्छ । यो समावेशी हुनुपर्छ । यो प्रत्यक्ष हुनुपर्छ । यो परिणाममुखी हुनुपर्छ ।

सहभागितामूलक लोकतन्त्रले केही खास मान्यता स्थापित गर्छ । जस्तो, पहिलो -जन्मले हरेक व्यक्ति बराबर हो । दोस्रो – कुनै पनि व्यक्तिमा विशेषाधिकार हुँदैन । तेस्रो – व्यक्तिको सार्वभौमिकता सर्वोपरि हुन्छ । चौथो – यो हस्तान्तरणीय हुँदैन ।

यसको अर्थ के भने, निर्वाचनमा छानिएको प्रतिनिधिले सदैव र सबै मुद्दाहरूमा भोट हाल्नेको सम्पूर्ण सार्वभौमिकताको प्रतिनिधित्व गर्दैन । अतः राज्यमाथि नागरिकको निरन्तर निगरानी सुनिश्चित हुनुपर्छ । किनभने आजको लोकतन्त्र आवधिक निर्वाचनको लोकतन्त्र हैन, निरन्तर निगरानीको लोकतन्त्र हो ।

अतः वैकल्पिक राजनीतिको महत्वपूर्ण एजेण्डा हो, लोकतन्त्रको लोकतान्त्रिकरण । यो राजनीतिक लोकतन्त्र मात्र होइन । बरु यो आर्थिक र सामाजिक लोकतन्त्र पनि हो । यो समावेशी लोकतन्त्र हो । र, यही लोकतन्त्रको आलोकमा पार्टीमा सदस्यहरू सार्वभौमिक हुन्छन् र राज्यमा नागरिक सार्वभौम हुन्छन् । यसैले नागरिक (पार्टीको हकमा सदस्य) सर्वोच्चता वैकल्पिक राजनीतिको केन्द्रीय विषय हो ।

नयाँ पार्टीको परिकल्पना

राजनीति बदल्नु र नयाँ पार्टी खोल्नु अलग कुरा हो । स्पष्ट छ, पुराना दलहरूले आफूलाई पुनर्गठन गर्दै जाने हो भने नयाँ दल खोल्नै पर्दैन । तर, राजनीति नबदल्ने हो भने हजारपल्ट नयाँ दल खोलेपनि त्यो वैकल्पिक हुँदैन । अतः वैकल्पिक राजनीतिको चुरो कुरा हो विचार र एजेण्डाको नवीकरण । दल त नयाँ विचार र एजेण्डालाई स्थापित गर्ने समाज रूपान्तरणका जीवन्त औजार मात्र हुन् ।

यो परिभाषामा तीनवटा कुरा छन् । पहिलो – राजनीतिक दल औजार मात्र हुन् । साध्य होइनन्, साधन हुन् । दोस्रो – यी जीवन्त हुनुपर्दछ । तेस्रो – दलहरूको मूल काम रूपान्तरण वा परिवर्तनलाई संस्थागत गर्नु हो ।

जहाँसम्म दलहरूको आन्तरिक लोकतन्त्रको कुरा छ, वैकल्पिक राजनीतिले भन्छ – यो सहभागितामूलक हुनपर्छ । समावेशी हुनुपर्छ । उदार हुनुपर्छ । र, ‘दलहरू कुवाजस्तो हैन नदीजस्तो हुनुपर्दछ’ । कुवामा पानी बासी हुन्छ । कुवामा भ्यागुताको राज हुन्छ । कुवा सङ्कुचित हुन्छ । कुवासँग सानो क्षितिज हुन्छ । तर, नदीमा जीवन हुन्छ । नदीमा गति हुन्छ । यो सदैव चलायमान देखिन्छ । यो सदैव अगाडि बढिरहन्छ । विशाल आकास र अनन्त सम्भावना नदीका मौलिकता हुन् ।

जब वैकल्पिक राजनीतिले सहभागितामूलक लोकतन्त्रको कुरा गर्छ, दलभित्रको सङ्गठनात्मक प्रणाली र अभ्यास पनि त्यस्तै हुनुपर्छ । अर्थात् वैकल्पिक राजनीति लोकतान्त्रिक, सुशासित र सुसंस्कृत हुनैपर्छ । अन्यथा, पुरानै राजनीति गर्न बनेका नयाँ दलहरू कसैगरी वैकल्पिक हुँदैनन् ।

मुर्दा चेतनाको कुरा

एउटा मुर्दा समाजमा मात्र वैकल्पिक राजनीतिको (दल) औचित्य सकिन्छ, जीवन्त र गतिशील समाजमा यसको अर्थ र औचित्य कहिल्यै सकिदैन । या त दलहरूको पुनर्गठनबाट यसले आफ्नो आवश्यकता पूरा गर्छ, अन्यथा नयाँ दलहरू बन्छन् । तर, गतिशील समाजमा वैकल्पिक राजनीति निर्माणको प्रक्रिया र प्रयत्न चलिरहन्छ र चलिरहनुपर्छ ।

फिनिक्स पक्षीको एउटा मिथक छ । अरेबियन मरूभूमिमा पाइने फिनिक्स पक्षीको आयु सयौँ वर्षको हुन्छ । आफ्नो लामो आयुसँगै प्रत्येक क्षण त्यो पक्षी मगनमस्त रहन्छ । ताजा हावामा लहराउँछ र पलपल रमाउँछ । जसैजसै त्यो बूढो हुन्छ, गल्न थाल्छ र उड्न सक्दैन तब उसले आफ्नै शरीरमा आगो लगाउँछ । उसको शरीर दनदनी बल्छ र त्यो खरानीको थुप्रोमा फेरिन्छ ।

आखिर त्यही खरानीको थुप्रोबाट नयाँ, ताजा र सुन्दर फिनिक्स पक्षीको पुनर्जन्म हुन्छ । र, नयाँ फिनिक्स नयाँ ऊर्जासाथ फेरि आकाशमा कावा खाँदै उड्न थाल्छ । यो क्रम र कथा निरन्तर चलिरहन्छ ।

वैकल्पिक (नयाँ) राजनीतिको प्रयत्न (राजनीतिको पुनर्गठन) ठीक यही कथाजस्तै हो । बूढो, परित्यक्त र अर्थहीन राजनीतिमा आगो लगाउने र ताजा, ऊर्जाशील, नवीन राजनीतिको पुनर्जन्म गराउने । या त भएका पार्टीलाई बदल्ने या त नयाँ बनाउने । तर, आगो लगाउने कसले ? आफैँमाथि निर्मम अग्निदाह गर्ने हिम्मत नेपाली राजनीतिमा कोसँग छ ? किनभने दासताको राग गाएर स्वतन्त्रताको राजनीति किमार्थ हुँदैन ।

आजलाई अन्तिम प्रश्न के भने मौजुदा पार्टीको दोस्रो पुस्ताले के आफैँलाई आगो लगाउने हिम्मत गर्लान् ? अन्यथा, समाजले यो प्रयत्न गर्नुपर्छ र गर्छ । किनभने राजनीतिमा नयाँ प्रयत्न, स्वाभाविक हो । र, यो अवश्यम्भावी छ । तर कहिले ? त्यसको उत्तर भने समाजको आलोचनात्मक चेतनामा निर्भर गर्छ । वैकल्पिक राजनीतिले कहिले आकार लेला, तिथी मितिचैँ जोखना हेरेर भन्न सकिने विषय होइन ।

dahal.keshab@gmail.com

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register