सन् २०२४ : विमान दुर्घटनाको दुःखद् वर्ष

काठमाडौँ । अङ्ग्रेजी वर्ष सन् २०२४ अन्तर्राष्ट्रिय रुपमा नागरिक उड्डयनको हिसाबले निकै दुःखद वर्षको रुपमा दर्ज भयो । ठूला-ठूला विमान दुर्घटना भए । ती दुर्घटनामा धेरै मानवीय क्षति बेहोर्नुपर्यो । सन् २०२४ समाप्ति हुनुभन्दा दुई दिनअघि अर्थात् डिसेम्बर २९ तारिखका दिन दक्षिण कोरियाको मुआनमा एक सय ८१ यात्रु बोकेको विमान दुर्घटनाग्रस्त हँुदा एक सय ७९ […]

Jan 2, 2025 - 02:41
 0
सन् २०२४ : विमान दुर्घटनाको दुःखद् वर्ष

काठमाडौँ । अङ्ग्रेजी वर्ष सन् २०२४ अन्तर्राष्ट्रिय रुपमा नागरिक उड्डयनको हिसाबले निकै दुःखद वर्षको रुपमा दर्ज भयो । ठूला-ठूला विमान दुर्घटना भए । ती दुर्घटनामा धेरै मानवीय क्षति बेहोर्नुपर्यो । सन् २०२४ समाप्ति हुनुभन्दा दुई दिनअघि अर्थात् डिसेम्बर २९ तारिखका दिन दक्षिण कोरियाको मुआनमा एक सय ८१ यात्रु बोकेको विमान दुर्घटनाग्रस्त हँुदा एक सय ७९ जनाले ज्यान गुमाए । दुईजनालाई सुरक्षाकर्मीले भग्नावशेषबाट जीवितै उद्धार गरेका थिए ।

बैंककबाट फर्कँदै गरेको उक्त विमानमा चालक दलका ६ सदस्यसहित एकसय ८१ जना सवार थिए । सियोलबाट करिब दुई सय ८८ किलोमिटर दक्षिणपश्चिममा रहेको दक्षिण जियोला प्रान्तको मुआन काउन्टीस्थित मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा जेजु एयरको विमान अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएर सिमेन्टको पर्खालमा ठोक्किँदा दुर्घटना भएको हो ।

यसअघि डिसेम्बर २५ मा अजरबैजान एयरलाइन्सको एम्ब्रेयर इआरजे १९० एआर विमान कजाकिस्तानको अक्ताउ विमानस्थल नजिकै दुर्घटनाग्रस्त भएको थियो । सो दुर्घटनामा ३८ जनाको मृत्यु भएको थियो । वर्षको उत्तरार्धमा भएका दुई ठूला विमान दुर्घटनामा दुई सय १७ जनाले ज्यान गुमाए ।

विमान दुर्घटनामा सन् २०२४ मा इरानी राष्ट्रपति इब्राहिम रइसी र अफ्रिकी देश मालीका उपराष्ट्रपति साउलोस क्लाउस चिलिम जस्ता विशिष्ठ व्यक्तिको मृत्यु भयो । मे २० तारिख (जेठ ७ गते) इरानी राष्ट्रपतिको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको थियो । यस्तै जुन ११ (जेठ २९ गते) मालीका उपराष्ट्रपति चिलिमिको सैन्य विमान दुर्घटनामा मृत्यु भएको थियो ।

नयाँवर्ष २०२५ को सुरुआत हुँदैगर्दा सन् २०२४ एयरलाइन्सका लागि दुःखद् सावित भयो । यस वर्षभित्र ठूला ठूलासहित धेरै सङ्ख्यामा विमानहरु दुर्घटनामा परेका थिए । डिसेम्बर महिनामा मात्रै ६ वटा ठूला विमान दुर्घटना भएका छन् । ती दुर्घटनामा दुई सय ३४ जनाको मृत्यु भएको छ । लगातारको विमान दुर्घटनाले हवाई क्षेत्रमा सुरक्षा प्रोटोकल र प्राविधिक समस्यामाथि प्रश्न उठ्न थालेको छ ।

त्यस्तै, गत डिसेम्बर २२ मा दक्षिणी ब्राजिलको ग्रामाडो सहरमा निजी विमान दुर्घटना हुँदा एकै परिवारका १० जनाको मृत्यु भएको थियो । उक्त विमानमा सवार ब्राजिलका व्यापारी लुइज क्लाउडियो गालेज्जीको श्रीमती, तीन छोरी र अन्य आफन्तसहितको दुर्घटनामा मृत्यु भएको हो । डिसेम्बर २४ मा एयर क्यानाडाको विमान अवतरण गर्ने क्रममा चिप्लिएर दुर्घटनामा परेको थियो । उक्त विमानमा आगो लागेको थियो ।

यसैगरी गत डिसेम्बर २२ मा पपुवा न्यू गिनीमा विमान दुर्घटनाग्रस्त हुदाँ विमानमा सबार सबै पाँच जनाको मुत्यु भएको थियो । उत्तरी तटीय उड्डयनद्वारा सञ्चालित एक आइल्याण्डर २२ डिसेम्बरमा पपुवा न्यू गिनीमा दुर्घटनाग्रस्त भएको थियो ।

अर्जेन्टिनामा बम्बार्डियर च्यालेन्जर ३०० अर्जेन्टिनाको सान फर्नान्डो एयरपोर्ट नजिक दुर्घटनाग्रस्त हुँदा दुवै पाइलटको मृत्यु भएको थियो । अमेरिकन विमान कामाका एयर एलएलसीद्वारा सञ्चालित कामाका एयर होनोलुलुको ड्यानियलअन्तर्राष्ट्रिय विमानस्थल नजिकै दुर्घटनाग्रस्त हुँदा दुवै पाइलटको मृत्यु भएको हो । अगष्त नौ मा ब्राजिलको भिनहेडोको भिनहेडोमा विमान दुर्घटनाग्रस्त हुदा विमानमा सवार सबै ६२ जनाको मृत्यु भएको थियो ।

सन् २०२४ मा नेपाल पनि विमान दुर्घटनाबाट टाढा रहन सकेन । जुलाई २४ तारिख (साउन ९ गते) गते सौर्य एयरलाइन्सको विमान दुर्घटनाग्रस्त हुदाँ १८ जनाको मृत्यु भएको थियो । यस्तै अगष्त ७ (साउन २३ गते) काठमाडौँको शिवपुरी क्षेत्रमा एयर डाइनेस्टी हेलिकप्टर दुर्घटना हुदा पाँच जनाको मृत्यु भएको थियो । सन् २०२३ मा यती एयरलाइन्सको एटीआर–७२ विमान दुर्घटनाग्रस्त हुँदा विमानमा सवार ७२ जनाकै निधन भएको थियो । यो दुर्घटना आन्तरिक उडानमा हालसम्मकै ठूलो हो ।

बुद्ध एयरका अप्रेसनल डाइरेक्टर क्याप्टेन आरके शर्मा समग्रमा वर्ष २०२४ विश्वव्यापीरुपमा हवाई दुर्घटनाका हिसावले दुःखद् रहे पनि नेपालमा भने केही सुधार भएको बताउनुहुन्छ । “नेपालका लागि वर्ष २०२४ सुखद नै मान्नुपर्छ । तर, विश्वव्यापी रुपमा हेर्दा वर्षको समाप्ती हुनैलाग्दा निरन्तर ठूला घटना हुनुले समग्र वर्षलाई हवाई दुर्घटनाका हिसावले दुखःद् मानिन्छ”, उहाँले भन्नुभयो । नेपालको हकमा हवाई सुरक्षा अभिवृद्धि भएको मान्न सकिने उहाँको धारणा छ । यद्यपि, सौर्य एयर र एयरडाइनेस्टी हेलिकप्टर दुर्घटनाले पुनः एकपटक झस्काएको छ । यसबाट एभिएसन सेफ्टी र सेक्युरिटीका साथै व्यवस्थापकीय क्षमता अभिवृद्धि गर्नेतर्फ एयरलाइन्सहरुको ध्यान जान जरुरी रहेको क्याप्टेन शर्माको भनाइ छ ।

सन् २०२४ मा विश्वव्यापी रुपमा हवाई यात्रुको सङ्ख्या सकारात्मक बढोत्तरी भइरहेको छ । निरन्तर बढेको हवाई यात्रु चापले यस क्षेत्रको आकर्षणसँगै सेफ्टी र सेक्युरिटीलाई मजबुद बनाउनुपर्ने दबाव बढेको छ । हवाई क्षेत्रका जानकार अच्युत पहाडी पनि समगमा सन् २०२४ एभिएसनका हिसाबले दुःखद् वर्ष साबित भएको बताउँछन् ।

‘विश्वव्यापीरुपमा ठूला ठूला हवाई दुर्घटना भए । नेपालमा पनि सौर्य एयरलाइन्स र एयर डाइनेस्टी हेलिकप्टर दुर्घटना भए । यसरी हेर्दा एभिएसनलाई सन् २०२४ फापेन । दुर्घटना मात्रै हैन मानवीय क्षति पनि धेरै भएको छ । यसले हवाई सुरक्षामाथि प्रश्न खडा गरेको छ ।’, उनले भने ।

सन् २०२४ को अन्तिम महिनाका केही हवाई दुर्घटनाले हवाई क्षेत्रमा संशय पैदा गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक सञ्जिव गौतमले बताउनुभयो । समग्रमा सन् २०२४ लाई बिदाई गर्दैगर्दा एभिएसनले नराम्रो क्षति बेहोर्न पुगेको उनले उल्लेख गरेका छन् । ‘एभिएसनमा नेपालको सन्दर्भमा राम्रो रहेपनि विश्वव्यापी रुपमा हेर्दा दुःखद् वर्षको रुपमा रह्यो ।’, पूर्वमहानिर्देशक गौतमले भने, ‘दुर्घटनाबाट पाठ सिकेर हवाई सुरक्षालाई कसरी बलियो बनाउनेभन्नेतर्फ राज्य र सरोकारवाला निकायले ध्यान दिनुपर्छ ।’

अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ)ले सन् २०३० सम्म मानवजन्य मृत्यु हुने दुर्घटना शून्यमा झार्ने लक्ष्य लिएको छ । अहिले वार्षिक १० प्रतिशत हवाई यात्रु बृद्धि भइरहेको छ । अन्तर्राष्ट्रिय हवाई यातायात सङ्घको तथ्याङ्कलाई उधृत गर्दै पूर्वमहानिर्देशक गौतमले विश्वव्यापी रुपमा हवाई यात्रुको सङ्ख्या झण्डै पाँच अर्ब पुगेको बताए । सन् २०१९ मा चार अर्ब ५० करोड हवाई यात्रु पुगेका थिए ।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले हवाई यात्रु बढेका हिसावले सकारात्मक लिन सकिए पनि सन् २०२४ मा भएका केही हवाई दुर्घटनाले एभिएसन क्षेत्रलाई खिन्न बनाएको बताएका छन् । ‘नेपालको सन्दर्भमा सन् २०२३ को तुलनामा सन् २०२४ दुर्घटनाको सङ्ख्याको हिसावले सुधारात्मक रहे पनि विश्वव्यापी रुपमा हेर्दा वर्षको अन्तिम महिनामा धेरै सङ्ख्यामा भएका विमान दुर्घटनाले एभिएसन क्षेत्रलाई झस्क्काएको छ ।’, उनले भने ।

उडान सुरक्षा र यात्रु बढोत्तरीका हिसाबले सुधार हुँदै गएको सूचना अधिकारी भूलको भनाइ छ । नेपालमा पनि हवाई यात्रुको सङ्ख्या निरन्तर बढिरहेको छ । प्राधिकरणको तथ्याङ्कअनुसार सन् २०२४ मा अघिल्लो वर्षको तुलनामा आन्तरिकतर्फ १३ प्रतिशत र अन्तराष्ट्रिय हवाई यात्रुको सङ्ख्या ७.९ प्रतिशतले बृद्धि भएको छ । आन्तरिक उडानतर्फ सन् २०२४ को नोभेम्बरसम्म कुल ८७ लाख ६० हजार तीन सय दुई हवाई यात्रुले यात्रा गरेका छन् । सन् २०२३ को नोभेम्बरसम्म कुल ७७ लाख हवाई यात्रुले यात्रा गरेका थिए । त्यसैगरी सन् २०२४ को नोभेम्बरसम्म अन्तर्राष्ट्रिय हवाई यात्रुको सङ्ख्या ४४ लाख ४९ हजार एक सय ३३ पुगेको थियो ।

प्राधिकरणका अनुसार नेपालमा हालसम्म एक सय आठ हवाई दुर्घटनामा नौ सय ५९ जनाको मृत्यु भएको छ । विसं २०१२ वैशाखमा पहिलो पटक सिमरामा भारतको कलिङ्गा एयर दुर्घटना भएको थियो । वर्षको अन्त्यतिर दक्षिण कोरिया र कजाकिस्तानमा भएका दुई ठूला विमान दुर्घटनाले समग्रमा हवाई उड्डयनको क्षेत्रलाई निरास बनाएको छ । यो घटनाले विश्वव्यापी रुपमै हवाई उडान कति सुरक्षित छ भन्ने प्रश्न तेर्सिएको छ । यसरी सन् २०२४ मा ठूला विमान दुर्घटनामा चार सयभन्दा बढीको मृत्यु भएको बताइएको छ । अधिकांश दुर्घटना खराब मौसम र मानवीय कमजोरीले हुने गरेको विज्ञहरु बताउँछन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register