मिथिलामा तिलासक्रायतको तयारी, ‘मिथिलानी’लाई भ्याइनभ्याइ 

महोत्तरी । मिथिला क्षेत्रमा पुसको छिप्पिँदो जाडोसँगै तिलासक्रायत पर्वको तयारी सुरु भएको छ । घरघरमा तिलासक्रायत पर्वका लागि सामग्रीको जोहो र पकाउने, तुल्याउने तयारीले अहिले चहलपहल बढेको हो । अहिले मिथिलावासीहरू पर्वको पूर्वतयारीमा जुटेका छन् । सौरमास गणनाले माघ लाग्ने सङ्क्रान्तिका दिन मनाइने यो पर्वका लागि आवश्यक सामग्री केही दिन पहिलेदेखि नै तयारी गर्नुपर्दा मिथिलानी […]

Jan 8, 2025 - 01:18
 0
मिथिलामा तिलासक्रायतको तयारी, ‘मिथिलानी’लाई भ्याइनभ्याइ 

महोत्तरी । मिथिला क्षेत्रमा पुसको छिप्पिँदो जाडोसँगै तिलासक्रायत पर्वको तयारी सुरु भएको छ । घरघरमा तिलासक्रायत पर्वका लागि सामग्रीको जोहो र पकाउने, तुल्याउने तयारीले अहिले चहलपहल बढेको हो ।

अहिले मिथिलावासीहरू पर्वको पूर्वतयारीमा जुटेका छन् । सौरमास गणनाले माघ लाग्ने सङ्क्रान्तिका दिन मनाइने यो पर्वका लागि आवश्यक सामग्री केही दिन पहिलेदेखि नै तयारी गर्नुपर्दा मिथिलानी (मिथिलाका नारी)लाई भ्याइनभ्याइ छ । यसपाली यो पर्व आगामी मङ्गलबार परेको छ ।

मुरीको धान निफन्नु, उसिन्नु, सुकाउनु, कुटेर चामल बनाउनु र मुरी भुट्नु अहिले गृहणीका काम हुन् । मुरीका लागि बनाइने चामलका लागि धान विशेष ढङ्गले उसिन्ने चलन छ । यसैगरी चिउराका लागि धान निफन्ने, भिजाउने र चिउरा कुट्ने कामको पनि चटारो छ । तिल निफन्ने, फल्ने (छाँट्ने, भिजाएर बाहिरी कत्ला फाल्ने), सुकाएर राख्ने, सक्खरको जोहो गर्ने र सङ्क्रान्तिअघि नै मुरी, चिउरा, जुनेलो बनाइसक्नुपर्ने चटारोले छोप्दा भ्याइनभ्याइ भएको भङ्गाहा–४ थारुटोल वनराकी ७५ वर्षीया रामसुनर देवी थारूले बताइन् ।

‘पवनीले छोपिसक्यो, काम असरल्ल नै छन्,’ उनले भनिन्, ‘चिउरा कुट्न र मुरी भुट्न बाँकी नै छ, शनिबारयता मौसम सफा हुँदा अब सबै काम छिनिन्छ भन्ने लागेको थियो, हिजोदेखि फेरि हुस्सु बढ्नाले पीर लागेको छ ।’ तिलासक्रायत मिथिलाका सबै जाति समुदायले उल्लासले मनाउने भए पनि थारूहरूको भने यो मुख्य पर्व नै हुँदा यहाँका थारु बस्तीमा विशेष चहलपहल देखिँदो छ । थारूहरू यस पर्वमा गच्छेअनुसार माछामासुका परिकार बनाउँछन् ।

मिथिलामा थारूबाहेक अन्य जाति समुदायमा पर्व मनाइसकेपछि छोरीचेली, मितमितिनी र नजिकी इष्टमित्रकहाँ सक्रायतको सनेस (कोसेली) लैजाने चलन छ । तर थारू समुदायमा यो पर्वमा छोरीचेली, ज्वाइँ, भाञ्जाभाञ्जी र नातिनातिना (छोरीका छोराछोरी)लाई पर्वअघि नै बोलाउने चलन छ ।

तिलासक्रायतमा घरकरेसामा लगाइएको तरुल, पिँडालु र सुठुनीलगायत कन्दमूलले राम्रो मूल्य पाउने आसमा किसान छन् । ‘यी उत्पादन सङ्क्रान्तिको दुई दिनअघिदेखि बिक्छन्, त्यसैले भोलिपछि खन्न थाल्दा हुन्छ,’ बर्दिवास–९ का किसान महेन्द्रसिंह महतोले भने । यसपाली बर्खाकालको अनुकूल वर्षाले माटोको चिस्यान नमर्दा कन्दमूल राम्रो उत्पादन भएको किसान बताउँछन् । यहाँ सिमल तरुलभन्दा लहरे तरुल अझ बढी लगाइन्छ । –रासस

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register