शासक दल र नेता सबै ‘समाजवादी’, दोष ‘पुँजीवाद’लाई किन ?

अहिले ‘दलाल पुँजीवाद’ नै समस्या हो भने यतिका धेरै समाजवादी के गुच्चा खेलेर बसेका हुन् ? ‘दलाल पुँजीवाद’ नै समस्या हो भने यी कथित समाजवादीहरू एक से एक दलाल हुन किन राजी भएका ? जब यी आफैँ दलाल हुन राजी छन्, दोष ‘दलाल पुँजीवाद’को हुन्छ कि ‘दलाल समाजवाद’ को ?

Jan 23, 2025 - 08:49
 0
शासक दल र नेता सबै ‘समाजवादी’, दोष ‘पुँजीवाद’लाई किन ?

 डिस्क्लेइमर, 

सिनेमा सुरु हुनु अघि ‘डिस्क्लेइमर’ (अस्वीकरण) राखिन्छ र भनिन्छ – यो सिनेमा पूर्णतः काल्पनिक हो । सिनेमाको कथा, घटना वा पात्र जीवित वा मृत कुनै व्यक्तिसँग मेल खाएमा संयोग मात्र हुनेछ ।

तर, यो भन्नलाई भन्दिएको न हो । सिनेमा कुनै न कुनै सामाजिक परिवेश, घटना, पात्र वा ऐतिहासिकतालाई आधार मानेरै बनेका हुन्छन् । त्यसमा सत्यको, अझ वास्तविक घटनाको ठूलो अंश हुन सक्छ । कतिपय सिनेमा त ऐतिहासिक घटना, पात्र वा व्यक्तिका जीवनीमा आधारित हुन्छन् । तर, तिनमा पनि यस्तै बेहोराको ‘डिस्क्लेइमर’ राखिन्छ ।

यो प्रचलन आफैँमा अनौठो छ । एकातिर सिनेमाको विज्ञापन ‘सत्य घटनामा आधारित’ भनेर गरिदै हुन्छ, अर्कोतिर ‘कसैसँग मेल खाएमा संयोग मात्र हुने छ’ भनेर अगाडि नै हात उठाइन्छ ।
यस्तो किन गरिन्छ ? ‘डिस्क्लेइमर’ को अर्थ नै सम्भावित जोखिम वा जिम्मेबारीबाट ‘भाग्नु’ हुँदोरहेछ । ‘भगौडा चिन्तन’ को उपज रहेछ यो । उत्तरदायित्वको बोझ र झमेलाबाट भाग्ने सजिलो उपाय । आफ्ना दोष र कमजोरी ‘संयोग’ नामको कुनै ‘अमूर्त छाया’ माथि थोपर्ने र उम्किने बहानाबाजी ।

समाजवादी भगौडाहरूको ‘डिस्क्लेइमर’ : दलाल पुँजीवाद

यतिखेर नेपाली राजनीतिको सजिलो ‘डिस्क्लेइमर’ भने ‘दलाल पुँजीवाद’ हो । छन् यहाँ एक से एक समाजवादी । ‘समाजवाद उन्मुख’ लेखिएको संविधान छ । सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने सबैजसो दल र मुख्य नेता ‘समाजवादी’ छन् । ‘समाजवादी भनिने’ दल र नेताहरूको शासन चलेको ३ दशकभन्दा बढी भयो ।

एमाले – जबजवादी, मदन भण्डारीवाला समाजवादी । नेपाली काङ्ग्रेस – प्रजातान्त्रिक समाजवादी, बीपीवाला समाजवादी । नेकपा माओवादी केन्द्र मालेमावादी, प्रचण्डपथीय समाजवादी । नेकपा एकीकृत समाजवादीको नामै समाजवादी । काङ्ग्रेस – कम्युनिष्टका अन्य सबै गुट र घटक समाजवादी ।

नयाँ भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी – संवैधानिक समाजवादी । जसपा, लोसपा, नागरिक उन्मुक्ति – सङ्घीय समाजवादी । डा. बाबुराम भट्टराईको नेसपा (नयाँ शक्ति) – समुन्नत समाजवादी । लोसपाको चोइटो राजेन्द्र महतोको राष्ट्रिय मुक्ति पार्टी – सामुदायिक समाजवादी ।

संविधानमा ‘समाजवाद उन्मुख’ र पार्टीको नाम वा विधानमा ‘समाजवादी’ लेख्दैमा हुने त केही हैन रहेछ । समाजवाद नै यी सबैको साँचो लक्ष्य, उद्देश्य भए यतिका धेरै समाजवादी दोकान किन र कसलाई चाहिएको थियो ?

अझ विडम्बना त के छ भने– दशकौंदेखि देश बिगार्ने, भत्काउने, कुशासन, भ्रष्टाचार र लुटतन्त्र मच्चाउने, लोकतन्त्रको गुणस्तर क्षयीकृत गर्नेगराउने, चरम अस्थिरता, अवसरवाद र सत्तालिप्साको संस्कृति प्रर्वद्धन गर्ने, मान्छेलाई हैरान, निरास र वाक्कदिक्क पार्ने यिनै समाजवादी – अनि उत्तर चाहिँ सबैको रेडिमेड छ – दलाल पुँजीवाद । यो सबै नराम्रो दलाल पुँजीवादले गरेको रे !

दलाल पुँजीवादले गर्दा समाजवादी हामी अवसरवादी हुन बाध्य भयौँ । दलाल पुँजीवादले गर्दा हामी समाजवादीले भ्रष्टाचार गर्नै पर्ने भयो । दलाल पुँजीवादले गर्दा हामी समाजवादी पदलोलुप भयौँ – यस्तो स्पष्टिकरण कस्तो सुनिएला ?

बादल सिद्धान्तको सर्वव्यापकता

प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो सरकारका गृहमन्त्री, पूर्वमाओवादी नेता, जो नेकपा (नेकपा) विभाजित हुँदा एमालेतिरै बसे, जसका छोरा प्रतीक थापा नक्कली भुटानी शरणार्थी प्रकरणमा जेलमा छन्, धेरैको भनाइ छ कि यस प्रकरणमा यी कमरेड राम बहादुर थापा बादलमाथि समेत छानबिन र अभियोजन जरुरी थियो, शक्तिको आडमा उन्मुक्ति दिइयो, ले गृहमन्त्रीको कुर्सीबाटै घोषणा गर्दिएका थिए, ‘पुँजीवादमा बलात्कार हुन्छ, पुँजीवादमा बेलाबेला यस्तो भइरहन्छ, अमेरिकामा पनि बलात्कार हुन्छ ।’

बादलको बलात्कार सिद्धान्तलाई एक पटक विस्तार गरेर हेरौँ – पुँजीवादमा बलात्कार हुन्छ, पुँजीवादमा भ्रष्टाचार हुन्छ, पुँजीवादमा नक्कली भुटानी शरणार्थी प्रकरण गरिन्छ, पुँजीवादमा लुटतन्त्र हुन्छ, पुँजीवादमा दलाल र बिचौलियातन्त्र हुन्छ । पुँजीवादमा अस्थिरता, अवसरवाद हुन्छ । पुँजीवादमा अपराध हुन्छ । पुँजीवादमा यस्तो सबै हुन्छ ।

कस्तो बुझाइ होला यो ?

के यो कमरेड बादलको मात्र बुझाइस्तर हो ? कि कमरेड ओली, दाहाल, नेपाल, खनालको पनि हो ? कमरेड वैद्य, विप्लव र आहुतिको पनि हो ? दाइ देउवा, कोइराला, गगन–विश्वप्रकाशको पनि हो ? उपेन्द्र, राजेन्द्र, महन्थ, सिके राउत, रेशमको पनि हो ? लामिछाने–वाग्लेहरूको पनि हो ?

राजनीति हाँक्ने, शासनसत्ता चलाउने, अर्थतन्त्र प्रशासन, वित्तीय तथा मौद्रिक नीति सञ्चालन गर्ने सबै समाजवादी । सत्तापक्ष, वैधानिक प्रतिपक्ष, सडकको विपक्ष, विद्रोही क्रान्तिकारी सबै समाजवादी ।

बौद्धिक, प्राज्ञिक, सार्वजनिक विमर्शको मूलविषय सर्वत्र समाजवाद, अनि ‘दलाल पुँजीवाद’ बलात्कार गर्न, लुटतन्त्र चलाउन, भ्रष्टाचारका दर्जनौं काण्ड मच्चाउन, आफ्नै नागरिकलाई नक्कली शरणार्थी बनाएर बेच्न, सहकारी ठग्न, निरपेक्ष गरिबी र बेरोजगारी बढाउन कहाँबाट आउँछ ? पुँजीवादको गर्भबाट कि समाजवादीको ‘ओलीगार्की’ बाट ?

अहिले ‘दलाल पुँजीवाद’ नै समस्या हो भने यतिका धेरै समाजवादी के गुच्चा खेलेर बसेका हुन् ? ‘दलाल पुँजीवाद’ नै समस्या हो भने यी कथित समाजवादीहरू एक से एक दलाल हुन किन राजी भएका ? जब यी आफैँ दलाल हुन राजी छन्, दोष ‘दलाल पुँजीवाद’को हुन्छ कि ‘दलाल समाजवाद’ को ?

कन्फेसन

‘डिस्क्लेइमर’ को विपरित अर्थ दिने ल्याकत राख्न सक्ने शब्द ‘कन्फेसन’ (आत्मस्विकारोक्ति ) हुन सक्ने रहेछ । यो अवधारणामा भने आफ्ना गल्ती, कमजोरी मात्र हैन, नियति, परिबन्द यहाँसम्मकी अपराधसमेत स्वीकार गरिन्छ । यस्तो स्विकारोक्तिबाट दण्ड, सजाय पाउने सम्भावना हुन्छ । तर, पनि स्वीकार गरिन्छ । किनकि, कुनै खास व्यक्तिका नियति, परिबन्दको समाजका लागि खास ऐतिहासिक शिक्षा र पाठ हुन सक्दछ ।

कसैले कुनै अपराध नै गरेको रहेछ भनेपनि किन र कस्तो परिस्थितिमा गरेको रहेछ, भविष्यमा दोहोरिनबाट कसरी रोक्ने भन्ने ज्ञान भावी पुस्तालाई ‘कन्फेसन’ ले दिन्छ । व्यक्ति मरेर जाने क्षणिक देह हो । उसका अनुभव, ज्ञान र शिक्षा कालजयी हुन सक्दछन्

आज ‘समाजवादी भनिने’ सबैका सामु यो कठोर प्रश्न खडा छ, ‘दलाल पुँजीवाद’को ‘डिस्क्लेइमर’ राखेर नैतिक जिम्मेबारीबाट भाग्ने कि ‘दलाल समाजवादी’ बन्न राजी भएको अपराधमा ‘कन्फेसन’ गर्ने ?

समाजवादले गुमाएको अपील

‘समाजवाद’ को शाब्दिक अर्थसँग कुनै आपत्ति हैन, तर, अभ्यास र अनुभवले यो कति सार्थक, सान्दर्भिक, उपयोगी र परिणामदायी रह्यो भन्ने प्रश्न सर्वथा मुख्य हो । समाजवादी भनिने अर्थतन्त्र चाहे ती कम्युनिष्ट हुन् वा गैरकम्युनिष्ट – कहिँ कतै राम्रो गतिलो काम गरेको अनुभव त देखिन्न ।

कम्युनिष्टहरू नै आदर्श राज्यको चर्चा गर्दा सिङ्गापुर, स्विट्जरल्याण्ड, नर्वे, स्विडेन, फिनल्याण्डजस्ता देशको कुरा गर्दछन् । हिजोका सोभियत सङ्घ र पूर्वी युरोप, आजका क्युबा वा उत्तर कोरियाको नाम लिने आँटसमेत तिनमा हुँदैन भने ती कस्ता कम्युनिष्ट ?

चीनको आर्थिक विकासलाई देखाएर ‘कम्युनिष्ट–समाजवाद’ को भाष्य निम्न दुई कारणले पुष्टि हुँदैन ।

पहिलो कारण सन् १९७८ पछिको चीन ‘मार्क्सवादी–लेनिनवादी–माओवादी’ हैन । बजार अर्थतन्त्र, निजी स्वामित्व र सम्पत्तिको अधिकारमा फर्किएको, बहुराष्ट्रिय कम्पनी र वैदेशिक लगानीलाई उच्च महत्त्व दिएको, विश्व व्यापार सङ्गठनको सदस्य चीन हो । कम्युनिष्टहरूले भन्ने गरेको विश्व पुँजीवादको आपूर्ति शृङ्खला र मूल्य प्रणालीमा सबैभन्दा ठूलो उत्पादक, योगदानकर्ता र एक महत्त्वपूर्ण कडी हो । चीनको आर्थिक विकासको मूल रहस्य पनि यही हो ।

दोस्रो कारण– हामीलाई राजनीतिक स्वतन्त्रता र बहुदलीय लोकतन्त्रसहितको आर्थिक विकास र समृद्धि चाहिएको हो, कुनै एकदलीय प्रणाली वा राजनीतिक तानाशाहीभित्रको ‘अस्वतन्त्र – असार्वभौम अनागरिक’ को आर्थिक तथा भौतिक विकास मात्र हैन । यदि यो आधारभूत शर्त हैन भने कसैले खुलेर भन्न सकोस् ।

जहाँसम्म गैरकम्युनिष्ट समाजवादको कुरा हो– इथियोपियाली मङ्गेत्स्कुदेखि म्यानमारका जर्नेल ने बिनसम्मको तानाशाही वा छिमेकमा गान्धी–नेहरू मोडेलको समाजवाद प्रकारान्तले समाजवाद नभएर प्रजातान्त्रिक वा अप्रजातान्त्रिक ‘राज्यवाद’ नै थिए ।

भारतको आजको आर्थिक विकास गान्धी – नेहरू समाजवाद वा राज्यवादले भएको हैन, सन् १९८० पछिको नरसिंहराव – मनमोहन सिंह उदारीकरणको प्रतिफल हो । भियतनाम कुनैबेला अमेरिकाको शत्रु राष्ट्र थियो, आज त्यो अमेरिकाको आर्थिक साझेदार भएको छ ।

जसले विश्व वैचारिकी र अभ्यासमा आएका यी परिवर्तन बुझेको छ, उसले सँगसँगै समाजवादले आकर्षण क्षमता गुमाएको छ भनेर पनि बुझेको हुनु पर्ने हो । अब ‘समाजवाद’ शब्दको रट वा जपले कसैलाई भिन्न, मौलिक र सृजनशील बनाउँदैन, बरु झन बढी नैतिक सङ्कट र वैचारिक अन्योलमा फसाउँछ ।

नेपाली राजनीतिमा त यो कुनै मौलिक कुरै रहेन, एक ‘साझा रटान’ को विषयमा सीमित भइसक्यो । राजनीतिक, वैचारिक, दार्शनिक रूपमा समाजवादी हुनुस्, नहुनुस् तपाईंको खुशी, तर, व्यावहारिक सत्य के हो भने शास्त्रीय समाजवादी मोडेलको अर्थतन्त्र बनाउन, चलाउन र त्यसमार्फत आर्थिक विकास र समृद्ध हासिल गर्न भने अब सम्भव छैन । आफ्नो यही असफलता, बाध्यता र नियतिको बोझ सधैँ ‘दलाल पुँजीवाद’लाई बोकाएर तत्क्षण उम्किन त सकिएला, हुनेवाला केही पनि छैन ।

बजार र बजारवादको नयाँ रहस्य

हिजोका समाजवादीले ‘बजार’ भन्ने बित्तिकै ‘पुँजीवाद’ बुझ्थे । समाजवादीको मुख्य तारो बजार, मुनाफा र पूँजीकरण थिए । बजारको भूमिका ती राज्यलाई दिन चाहन्थे । भन्थे– समाजवाद, लागू गर्थे– राज्यवाद ।

राज्यलाई शक्ति, धन, स्रोतसाधन र व्यवसायको अतिशय अधिकार दिएर नागरिक कसरी धनी, खुशी र सुखी हुन्छन् ? यदि नागरिकलाई धनी, खुशी र सुखी बनाउने हो भने शक्ति, धन, स्रोतसाधन र अधिकार त नागरिकलाई पो दिनु पर्ने हो ।

‘बजार’ र ‘बजारवाद’ अब एउटै कुरा रहेन । बजार उत्पादन र वितरणको संयन्त्र हो । क्रेता र बिक्रेताको भेटघाट अर्को अर्थमा आवश्यकता र मागको अन्तरक्रिया हो । बजारको अपरिहार्यतालाई अब संसारको कुनै पनि दर्शन, सिद्धान्त र राजनीतिक पूर्वाग्रहले न्यूनीकरण गर्न सक्दैन । बजार आजको आर्थिक देवता हो– यो सर्वव्याप्‍त छ । बजार बिनाको समाज कसैले कल्पना गर्दछ भने आफैँ मूर्ख सावित हुन्छ, अरु केही हुँदैन ।

हो, ‘बजारवाद’ सँग तपाईंका बिमति हुन सक्दछन् । यसको अर्थ हुन्छ– बजारको भूमिकालाई कसरी नियमन गर्ने भन्ने दृष्टिकोणको भिन्नता । बजार आफैँले आफ्नो नियमन नगर भन्दैन । पुँजीवादी भनिने हुन् वा समाजवादी राज्य– बजार नियम र प्रक्रियासँग सम्बन्धित आर्थिक ऐन, नियम र प्रचलन जसरी भूमण्डलीकृत हुँदैछन्, त्यसले पुँजीवाद र समाजवादबीच हिजो जस्तो कुनै गहिरो भिन्नता बाँकी नै राख्दैन । यदि राख्छ भने कहाँनेर राख्छ ? भनोस् कसैले ?

हिजोको भिन्नै युग 

कम्युनिष्ट हुन् वा गैरकम्युनिष्ट, वैज्ञानिक समाजवादी हुन् वा प्रजातान्त्रिक समाजवादी, ती हिजो किन समाजवादी थिए र मान्छेले विश्वास गर्थे, त्यसका कारण थिए । अब ती कारण कहिँकतै बाँकी छैनन् ।

एक– सोभियत सङ्घ र पूर्वी युरोपमा कथित समाजवादको पतन भइसकेको थिएन । चीनमा ‘माओविचार’ को युग कायमै थियो । सोभियत सङ्घ र चीनले विश्व कम्युनिष्ट साहित्यलाई अनुवाद गरेर विश्वभरि र नेपाल पनि पठाउने गर्दथे । 

सञ्चार माध्यम र ज्ञान सामग्रीको बहुआयामिक विकास र विस्तार नभएको युगमा अध्ययन र बौद्धिकता एकाङ्गी थियो । सोभियत प्रोपोगण्डाबाट धेरै चिज प्रभावित हुन्थे । समाजवाद विश्व पुँजीवादको एक वैकल्पिक व्यवस्था हो कि भन्ने भ्रम मान्छेमा कायमै थियो ।

दुई– जहानिया राणाशाही, निर्दलीय पञ्चायत र निरङ्कुश राजतन्त्र भत्काउन अत्यावश्यक थियो । त्यसका लागि विद्रोही र क्रान्तिकारीहरूले समाजवादी दललाई संवाहक बनाए । काङ्ग्रेस–कम्युनिष्ट पार्टी राणाशाही, पञ्चायत र राजतन्त्र विरुद्धको सङ्घर्षको मोर्चामा उभिए र क्रान्तिकारी पार्टीको छवि बनाए ।

तीन– समाज बन्द थियो । भूमण्डलीकरणको प्रभाव सुस्त र सीमित थियो । बन्द समाजमा विश्व ज्ञान, चेतना र अवधारणामाथि सबैको पहुँच हुन सम्भव थिएन । आज संसार खुला छ । इन्टरनेटले सबै प्रकारका ज्ञान सामग्री र तर्क प्रणालीमाथि सबैलाई पहुँच दिएको छ ।

पुँजीवादी जत्तिको त बन !

समाजवादीहरू आफूलाई पुँजीवादभन्दा उन्नत कोटीको विचारधारा भएको दाबी र गौरव गर्दछन् । यदि त्यसो हो भने– समाजवादी भनिएका देशहरूको आर्थिक विकास, लोकतन्त्रको गुणस्तर, सुशासन अवस्था, मानवीय विकास सूचक, समृद्धिस्तर, धनी–गरिबबीचको खाडल देखाउने ‘गिनी कोफिसियन्ट’ अनुपात, राजनीतिक संस्कृतिको सुसभ्यता पुँजीवादी भनिएका देशहरूको भन्दा उन्नत र राम्रो हुनु पर्ने हो ।

तर, यस्तो उदाहरण विश्व राजनीतिमै पनि दुर्लभ छ । अझ नेपालको कुरा गर्दा त दुर्भाग्यपूर्ण लाग्छ ।

समाजवादी भनिएका दल र नेताहरूले ३ दशकभन्दा बढी शासन गर्दा हुनु पर्ने यस्तै हो त ? अनि ‘दलाल पुँजीवाद’ को ‘डिस्क्लेइमर’ मा यिनलाई कहिलेसम्म उम्किन दिने ? ल्याकत र नैतिक जिम्मेबारीको भावना भए पहिले त्यही गाली गरेको पुँजीवाद जत्तिको त बन । बनेर, बनाएर देखाउ, अनि समाजवादको गफ कसैले पत्याउला !

बिगार्ने, भत्काउने, लथालिङ्ग, भताभुङ्ग पार्ने वा केही राम्रो गर्न, सपार्न नसक्ने सबै समाजवादी, दोष जति पुँजीवादलाई दिनु कति नैतिक र न्यायपूर्ण हो ?

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register