‘डब्ल्यूएचओ’बाट बाहिरिने ट्रम्पको घोषणाले विश्व जनस्वास्थ्यमा पर्ने असर

स्वास्थ्य समस्या कुनै एक देशको मात्र नभएर विश्वव्यापी र अन्तर्सम्बन्धित हुँदै गएका छन् । अमेरिकाले डब्ल्यूएचओमाथिको वित्तीय व्ययभार कम गरेर आन्तरिक स्वास्थ्य लागत वृद्धि गर्न त सक्दछ तर, महाव्याधि र सङ्क्रामक प्रक्रियाबाट मुक्त वा ढुक्क हुन भने सक्दैन ।

Feb 3, 2025 - 06:48
 0
‘डब्ल्यूएचओ’बाट बाहिरिने ट्रम्पको घोषणाले विश्व जनस्वास्थ्यमा पर्ने असर

काठमाडौं जनवरी २० मा पदभार ग्रहण गरेसँगै राष्ट्रपति डोनाल्ड ट्रम्पले हस्ताक्षर गरेका कार्यकारी आदेशमध्ये एक महत्त्वपूर्ण हो – अमेरिका विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) बाट बाहिरिने घोषणा । 

यद्यपि, ट्रम्पको यो आदेश कुनै नयाँ विषय भने हैन । कोभिड–१९ विवादको अवधिमा सन् २०२० मा पनि उनले यस्तो निर्णय लिएका थिए । उनले कोभिड चीनको एक प्रयोगशालाबाट प्रायोजित रुपमा फैलाइएको दाबी गर्दै त्यसको विश्वव्यापी क्षति र खोप लागत पनि चीनले नै व्यहोर्नु पर्ने माग गरेका थिए ।

ट्रम्पले विश्व स्वास्थ्य सङ्गठनको कोभिड–१९ नियन्त्रण नीति राजनीतिक रुपमा पूर्वाग्रही रहेको आरोप समेत लगाएका थिए । विश्व स्वास्थ्य सङ्गठनको व्ययभारको ठूलो हिस्सा अमेरिकाले व्यहोर्नु पर्ने तर, सङ्गठनले भने चीनलगायतका अमेरिकाका प्रतिस्पर्धी देशको पक्षमा राजनीति गरेको उनको गुनासो थियो ।

कोभिड–१९ चीनको वुहान प्रदेशबाट फैलिएको हुँदा यसका लागि चीनलाई जिम्मेबार बनाउनु पर्ने ट्रम्पको तर्क थियो । डब्ल्यूएचओले यसबारे ध्यान नदिएको हुँदा उनी रुष्ट भएका थिए ।

यसपटक कार्यकारी आदेशमा हस्ताक्षर गर्दा ट्रम्पले त्यसको स्मरण गरेका छन् । डब्ल्यूएचओबाट अमेरिका बाहिरिनु पर्ने कारणमा उनले ‘कोभिड–१९ नियन्त्रण प्रक्रिया गलत कारबाही गरेको उल्लेख गरेका छन् ।

चीनले कोभिड–१९ सम्बन्धी प्रारम्भिक सूचना लुकाएको कारणले विश्वभरि धेरै क्षति पुगेको, यस गल्तीका लागि डब्ल्यूएचओले चीनलाई जवाफदेही नबनाएको ट्रम्पको तर्क छ ।

यहाँनेर ध्यान दिन योग्य कुरा के छ भने – विश्व स्वास्थ्य सङ्गठन कुनै अन्तर्राष्ट्रिय कानुन लागू गर्ने गराउने संस्था हैन । यसले चाहेर पनि चीनलाई कोभिड–१९ का लागि जिम्मेबार ठहर्‍याउन र क्षतिपूर्ति तिराउन सक्दैनथ्यो ।

विश्व स्वास्थ्य सङ्गठन विश्व स्वास्थ्य स्थिति, महाव्याधि, खोप आविष्कार र वितरण, स्वास्थ्य सेवामा जनताको पहुँच र औषधि विज्ञानलाई सहजीकरण गर्ने संस्था हो ।

ट्रम्प असन्तुष्टिको अर्को कारण विश्व स्वास्थ्य सङ्गठनको वित्तीय प्रबन्धनमा अमेरिकामाथिको अतिभार हो । अमेरिका डब्ल्यूएचओको सबैभन्दा ठूलो लगानीकर्ता राष्ट्र हो । अमेरिकाले प्रतिवर्ष यो सङ्गठनलाई १०० मिलियन डलर दिनु पर्ने हुन्छ । त्यसमध्येको तिर्न बाँकी रकम मात्र अहिले १३ अर्ब डलरभन्दा धेरै भइसकेको छ ।

चीनको जनसङ्ख्या अमेरिकाको भन्दा ४ गुणाभन्दा पनि ठूलो छ । चीन विश्वको दोस्रो ठूलो अर्थतन्त्र भइसकेको छ । तथापि डब्ल्यूएचओमा चीनको वित्तीय योगदान सीमित छ । चीनले सङ्गठनलाई अमेरिकाकोभन्दा करिब आधा ५८ मिलियन डलर बराबरको वार्षिक योगदान गर्दछ ।

अमेरिकाले अब यसरी बहुपक्षीय अन्तर्राष्ट्रिय संस्थाको वित्तीय भार एक्लै ठूलो मात्रामा बोक्न नसक्ने ट्रम्पको धारणा हो । ट्रम्पले सङ्गठनको वित्तीय व्ययभार वितरण अनुपात राष्ट्रहरूबीच पुनर्संरचना हुनुपर्ने आवाज उठाइरहेका छन् ।

विश्व स्वास्थ्य सङ्गठन सन् १९४८ अप्रिल ७ मा स्थापित संयुक्त राष्ट्र सङ्घीय एजेन्सी हो । यसका १९४ सदस्य राष्ट्र छन् । अनिवार्य योगदान र स्वेच्छिक योगदान दुवैलाई एकमुष्ठ गर्दा सङ्गठनमा अमेरिकाको वित्तीय योगदान एक्लै ४० प्रतिशतसम्म हुने गरेको छ ।

वित्तीय योगदान अनुपातअनुरूप डब्ल्यूएचओमा अमेरिकालाई भूमिका नदिइएकोमा समेत ट्रम्प असन्तुष्ट छन् । सङ्गठनको व्यवस्थापन सन्तोषजनक नभएको उनको अर्को आरोप छ । 

अमेरिका बाहिरिँदा विश्व स्वास्थ्य सङ्गठनको क्षमतामा ठूलो ह्रास आउने छ । सङ्गठनले खर्च, कर्मचारी, खोप आविष्कार र औषधि अनुसन्धान घटाउनु पर्नेछ । सङ्गठनबाट अमेरिका बाहिरिएको अवस्थामा यसको खर्च व्यहोर्न अरु कुनै राष्ट्र अघि सरेका छैनन् ।

सङ्गठनका कार्यकारी निर्देशक टेड्रोस अधानोम गेब्रेयससले यसबाट बाहिरिने ट्रम्पको घोषणाप्रति दुःख व्यक्त गरेका थिए । उनले भने – “बितेका ७ वर्षमा सङ्गठनमा इतिहासमै सबैभन्दा धेरै सुधार भएका छन् । रोगका मुख्य कारण पत्ता लगाउने, विश्व स्वास्थ्य प्रणालीलाई बलियो बनाउने, स्वास्थ्य आपत्‌कालको प्रतिक्रिया गर्ने काममा सङ्गठनले कुनै सम्झौता गरेको छैन ।”

साथै, व्यवस्थापन सुधार, लागत प्रभावकारिता र प्रभावस्तर सन्तोषजनक हुँदै गएको उनको दाबी छ । उनी सन् २०१७ को मेदेखि निरन्तर पदमा रहँदै आएका छन् ।

सङ्गठनबाट अमेरिका बाहिरिने र वित्तीय योगदान रोकिने स्थितिको सबैभन्दा नराम्रो प्रभाव गरिब राष्ट्रका बालबालिका, महिला, वृद्धवृद्धा, सीमान्तकृत समुदायमाथि पर्नेछ । बालबालिका केन्द्रित खोपहरूको विश्वव्यापी वितरणमा ठूलो असर पर्नेछ ।

विश्व स्वास्थ्य सेवा क्षेत्रका जानकारहरू ट्रम्पको निर्णयलाई ‘रणनीतिक महाभूल’ मान्दछन् । प्रारम्भमा यसको असर अल्पविकसित मुलुकको स्वास्थ्य क्षमतामाथि परे पनि दीर्घकालमा अमेरिकासमेत सुरक्षित रहन नसक्ने उनीहरूको भनाइ छ ।

स्वास्थ्य समस्या कुनै एक देशको मात्र नभएर विश्वव्यापी र अन्तर्सम्बन्धित हुँदै गएका छन् । अमेरिकाले डब्ल्यूएचओ माथिको वित्तीय व्ययभार कम गरेर आन्तरिक स्वास्थ्य लागत वृद्धि गर्न त सक्दछ तर, महाव्याधि र सङ्क्रामक प्रक्रियाबाट मुक्त वा ढुक्क हुन भने सक्दैन । विश्व जनस्वास्थ्यप्रति अमेरिकी भूमिका ‘नैतिक’ मात्र नभएर ‘रणनीतिक’ हुने ठानिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register