अरविन्द केजरीवाल : वैकल्पिक राजनीतिका ‘सारथी’ कि ‘संहारक’ ?

एकपटकको नयाँ सधैँलाई नयाँ हुँदैन । सन् २०१४ का लागि उनी नयाँ थिए तर, सन् २०२४ मा चौथोपटक मुख्यमन्त्री दाबी गर्नलायक र नयाँ थिएनन् । उनी थोत्रा भइसकेका थिए । आफू पुरानिएको कुरा बुझेर नयाँ नेतृत्व अघि बढाएको भए पार्टीको यो स्तरको हार नहुन सक्थ्यो ।

Feb 9, 2025 - 07:06
 0
अरविन्द केजरीवाल : वैकल्पिक राजनीतिका ‘सारथी’ कि ‘संहारक’ ?

नयाँ दिल्ली विधानसभा निर्वाचनमा आम आदमी पार्टी (आप) नराम्रोसँग पराजित भएको छ । पार्टीका मुख्य नेता, राष्ट्रिय संयोजक तथा १० वर्षे मुख्यमन्त्री अरविन्द केजरीवालसमेत आफ्नो निर्वाचन क्षेत्रबाट हारेका छन् ।

सन् २०१९ मा आपले दिल्ली विधानसभाका ७० मध्ये ६२ सिट जितेको थियो । विपक्षी भारतीय जनता पार्टी (भाजपा) ८ सिटमा सीमित थियो । यसपटक नतिजा उल्टियो । भाजपाले ४० सिट बढाएर ४८ पुर्‍यायो । आप २२ सिटमा सीमित भयो ।

अन्य कुनै पनि दलले खाता खोल्न सकेनन् । यहाँसम्म कि सङ्घीय संसद्को प्रमुख विपक्षी दल भारतीय राष्ट्रिय काङ्ग्रेसले निराशाजनक शून्यता हात पार्‍यो ।

सरकार गठनका लागि ३६ सिट पर्याप्त हुन्छ । २७ वर्षको लामो धैर्यता र प्रतिपक्षीय भूमिकापछि भाजपाको सरकार बन्ने भएको छ भने आप कमजोर प्रतिपक्षमा धकेलिएको छ ।

दिल्ली आम आदमी पार्टीको आधार इलाकाजस्तो थियो । आधार प्रदेशमै पराजित भएपछि अन्यत्र यो पार्टीको राजनीतिक भविष्य कस्तो हुने हो भन्ने प्रश्न खडा भएको छ । आपको अर्को प्रादेशिक सरकार पञ्जाबमा छ । त्यसका अतिरिक्त गोवा, गुजरात र जम्मु कश्मीरको प्रदेश सभामा आपले प्रतिनिधित्व गरेको छ।

यसपटक नियमित विधानसभा चुनावभन्दा बढी केजरीवालको राजनीतिक भविष्यबारे जनमत सङ्ग्रहजस्तै मानिएको थियो । करिब ११ वर्ष लामो आप शासनकालमा निरन्तर १० वर्ष केजरीवाल ३ पटक मुख्यमन्त्री भएका थिए ।

मदिरा नीति घोटाला काण्डमा पक्राउ परेपछि गत सेप्टेम्बरमा उनले राजीनामा गरेका थिए । अतिशी मार्लेना सिंह मुख्यमन्त्री भएकी थिइन । तर, पार्टीले चुनावमा भावी मुख्यमन्त्रीका लागि फेरि केजरीवाललाई नै प्रस्तावित गरेको थियो । उनी चौथोपटकका लागि मुख्यमन्त्री पदको प्रत्यासी थिए ।

केजरीवालको दाबी थियो कि उनी जनतामाझ अझै लोकप्रिय छन् । उनले १० वर्षमा गरेका राम्रा कामका लागि मतदाताले उनको पार्टीलाई फेरि एकपटक बहुमत दिने छन् । उनीमाथिको भ्रष्टाचारको कारबाही प्रतिशोधपूर्ण हो, जनताले उनलाई न्याय दिनेछन् । तर, उनको दाबी कहिँ कतै सही सावित भएन । यसर्थ, चुनावमा भाजपाको जितभन्दा आपको हारलाई बढी महत्त्वपूर्ण विषय मानिएको छ ।

केजरीवाल आफ्नै निर्वाचन क्षेत्रमा भाजपाका प्रवेश वर्मासँग करिब ४ हजार मतान्तरले पराजित भए । केजरीवालसँगै आपका महत्त्वपूर्ण नेता मनिष सिसोदियासत्येन्द्र जैन पनि पराजित भएका छन् । केजरीवालकी ‘पपेट उत्तराधिकार’ मानिएकी वर्तमान मुख्यमन्त्री अतिशीले भने चुनाव जितेकी छन् ।

सन् २०१२ को अन्ना हजारे आन्दोलनबाट केजरीवाल र आम आदमी पार्टीको उदय भएको थियो । हजारे आन्दोलन जनलोकपाल बिलको माग र भ्रष्टाचारविरुद्ध थियो । विडम्बना के छ भने भ्रष्टाचार विरोधी आन्दोलनबाट उदाएको दल भ्रष्टाचारकै मुद्दामा घेराबन्दीमा परेर पराजित भएको छ । यसका ३ मुख्य नेता केजरीवाल, सिसोदियाजैनमाथि अदालतमा भ्रष्टाचारको मुद्दा छ ।

दिल्लीमा केजरीवालको उदयले दक्षिण एसियाकै राजनीतिलाई प्रभावित गरेको थियो । भारतमा आम आदमी पार्टी र पाकिस्तानमा इमरान खान नेतृत्वको पिटीआईको उदयलाई दक्षिण एसियामा ‘वैकल्पिक राजनीति’ को उत्प्रेरक घटनाका रुपमा स्वागत गरिएको थियो ।

तर, केही वर्षयता स्थिति उल्टो हुँदै गयो । पाकिस्तानका इमरान खान र दिल्लीका केजरीवाल दुवै भ्रष्टाचारका मुद्दामा जोडिए । उनीहरूले यी काण्डलाई सत्ता पक्षले आफूहरूलाई फसाएको भनेर टार्न खोजे पनि घटना संदिग्ध नै थिए ।

इमरान खान अहिले जेलमा छन् । केजरीवाल भ्रष्टाचारको मुद्दामा करिब ५ महिना जेल बसेर धरौटीमा छुटेका हुन् ।

आम आदमी पार्टीको अन्त्य भइसक्यो भन्न अहिले नै हतारो हुन्छ । तर, कम्तीमा यसलाई नयाँ र वैकल्पिक राजनीतिक धारको पार्टी मान्न भने छोडिएको छ । आप अब भारतीय राजनीतिमा अर्को एउटा पार्टीजस्तो मात्र भएको छ ।

यो सब किन र कसरी भयो ? घटनाक्रम विश्लेषण गर्नु अघि म ३ पूर्व आपनेता तथा सन् २०१२ को अन्ना हजारे आन्दोलन र आम आदमी पार्टी गठन ताकाका अरविन्द केजरीवालका घनिष्ठ सहकर्मीको भनाइ उल्लेख गर्न चाहन्छु । ती हुन्– आशुतोष, कुमार विश्वास र योगेन्द्र यादव । आप गठन हुँदा यी ३ जना निक्कै ठूलो सम्भावना बोकेका नेता तथा ‘वैकल्पिक राजनीति’का दृढ अभियन्ता मानिन्थे । केजरीवाल–सिसोदिया–जैन गुटसँगको मतभिन्नतापछि यी सबैले पार्टी परित्याग गरे ।

सत्यहिन्दी डटकमका संस्थापक आशुतोष अहिले यसकै सम्पादक छन् । सन् २०१९ को दिल्ली विधानसभा चुनाव अघि मैले आशुतोषलाई उनकै अनलाइन पोर्टलको कार्यालय नोयडामा भेटेको थिएँ । उनकै मुखबाट आप गठनका अनुभव, समस्या र पार्टी परित्यागबारे सुनेको थिएँ ।

त्यो भेटमा उनले केजरीवालबारे भनेका थिए, ‘हामी उनलाई सम्राट अकबर बनाउन चाहन्थ्यौँ, उनी बहादुर शाह जफ्फर बन्नतिर लागे । अहिले उनी जे गर्दै छन्, त्यो हामीले भनेको वैकल्पिक राजनीति हैन । त्यसले दिल्लीलाई थप एउटा पार्टी दिन्छ । त्यो अरु पार्टीभन्दा राम्रै पनि होला । दिल्लीमा अरु पार्टीको सरकारको तुलनामा यसले राम्रै काम गरेको छ । तर, यसले देशलाई राजनीतिक विकल्प दिन भने सक्दैन । जुन उद्देश्यले हामीले त्यो पार्टी बनाएका थियौँ, कर्तव्यच्युत भइसक्यो भने किन रहनु पर्यो ? ’

कवि डा. कुमार विश्वासले केजरीवालको हारपछि एक टिभी अन्तर्वार्तामा भनेको छन्, ‘देशका करोडौँ मानिसको वैकल्पिक राजनीतिको सपनालाई एक आत्ममुग्ध नीच मान्छेको धोकाले हत्या गरेको थियो । आज त्यो हत्याराले सानो दण्ड पाएको मात्र हो ।’

योगेन्द्र यादवको प्रतिक्रिया यस्तो छ, ‘केजरीवाल र आम आदमी पार्टीले वैकल्पिक राजनीतिको सपनालाई सन् २०१५ मै छोडी सकेका थिए । त्यसपछि हामी अलग भएका थियौँ । त्यो कुरा छोडीदिउँ कि केजरीवालले हामीसँग कस्तो व्यवहार गरेका थिए । तर, आप दिल्लीमा राम्रो शासन र सेवा प्रदान गर्न प्रयत्न गर्ने पार्टी चाहिँ थियो, अब त्यो पनि रहेन ।’

आम आदमी पार्टीको निर्माण चरणमा महत्त्वपूर्ण भूमिका गरेका यी ३ वटै नेताका उपरोक्त भनाइमा ‘वैकल्पिक राजनीति’ शब्द प्रयोग भएको छ र त्यसलाई केजरीवालले धोका दिएको गुनासो छ । अझ डा. कुमार विश्वासले त केजरीवाललाई ‘वैकल्पिक राजनीतिको हत्यारा’ भन्ने कठोर आरोप लगाएका छन् ।

आम आदमी पार्टीबाट यी संस्थापक नेताको बहिर्गमनलाई केजरीवालको असहिष्णुता, गुटबन्दी, अन्तरपार्टी लोकतन्त्रको अभाव र देशकै लागि राजनीतिक विकल्प निर्माण गर्नेभन्दा दिल्लीको मुख्यमन्त्री पद र सत्ताका लागि मरिहत्ते गर्ने प्रवृत्तिप्रतिको विरोधका रुपमा हेरिन्छ ।

अर्थात् केजरीवाल उनकै सहकर्मी साथीहरूको नजरमा वैकल्पिक राजनीतिका संवाहक र सारथीको साटो धोखेबाज र हत्यारा सावित हुँदै गएका थिए ।

वैकल्पिक राजनीतिको एउटा शर्त हो कि यो कुनै प्रदेश वा क्षेत्रीयताकेन्द्रित हुँदैन । त्यसले सिङ्गो देशलाई नै लोकतान्त्रिक विकल्प दिनु पर्दछ । वैकल्पिक राजनीतिको मान्यताबाट हेर्दा केजरीवालले या त दिल्लीको मुख्यमन्त्री पदको लोभ गर्नु हुँदैनथ्यो या पार्टीको मूलनेता अरु कसैमा हस्तान्तरण गर्ने फराकिलो सोच राख्न जरुरी थियो ।

दुवै पद लामो समय हत्याएर उनले पार्टी विस्तारको सम्भावनालाई कमजोर पारे । आफूलाई प्रादेशिक नेताका रुपमा सीमित गरे ।

यसका अतिरिक्त केजरीवालमा वैकल्पिक राजनीतिका मापदण्डसँग नमिल्ने निम्न ७ वटा चरित्र देखिएका थिए ।

एक– उनले एक विवेकसम्मत नेता (र्‍यास्नल लिडर) भन्दा बढी भावनात्मक भयदोहक (इमोसनल ब्लाकमेलर ) को राजनीति गर्न थालेका थिए । उनले आफूले गरेको शिक्षा, स्वास्थ्य सुधार, निशुल्क बिजुली, पानी र महिलालाई निशुल्क नगर बस सेवा दिएको बारम्बार दोहोर्‍याउँथे । तर, बद्लिएको परिवेश, समय र नयाँ एजेण्डा केही पनि हुँदैनथे ।

एउटै कुरा दशकौंदेखि सुन्दासुन्दा मान्छेलाई दिक्क लाग्न थालेको थियो । तसर्थ मतदातामा सरकारविरोधी भावना पैदा हुनु स्वाभाविक थियो ।

दुई– उनी ‘नरम हिन्दुत्वको राजनीति’ तिर ढल्केका थिए, जो वैकल्पिक राजनीतिको मान्यताभित्र पर्दैन । आफूलाई ‘हनुमानभक्त’ भन्थे । पार्टीको अभिवादन र नारा ‘जय बजरङ्गबली’ हुन थालेको थियो ।

रामभक्त ( प्रधानमन्त्री मोदी ) हुँदाहुँदै हनुमानभक्त किन चाहियो ? ‘जय श्री राम’ भन्ने त्यति ठूलो भाजपा हुँदाहुँदै जय बजरङ्गबलीको नारा लगाउने नेता किन चाहियो ? यो प्रश्न उठ्नु स्वाभाविक थियो । धर्मकै राजनीति गर्ने हो भने हनुमानभक्तभन्दा रामभक्त नै मतदाताको छनोटमा पर्नु स्वाभाविक हो ।

तीन– आपमा अन्तरपार्टी लोकतन्त्रको सर्वथा अभाव थियो । केजरीवाल पार्टी स्थापनायता निरन्तर संयोजक रहे । तर, विश्वसनीय, निष्पक्ष ढङ्गले पार्टी नेतृत्वको चुनाव र महाधिवेशन कहिल्यै गराएनन् । वैकल्पिक राजनीतिको अर्को एक महत्त्वपूर्ण शर्त लोकतान्त्रिक संस्कार, संस्कृति र अभ्यासको विस्तार हो । जुन पार्टीभित्र लोकतन्त्र छैन, त्यसले वैकल्पिक राजनीतिको दाबी गर्नु नमिल्दो कुरा थियो ।

चार– केजरीवाल डा. कुमार विश्वासको आरोपजस्तै व्यक्तिवादी आत्ममुग्धताबाट प्रेरित थिए । उनी अक्सर ‘वान मेन सो’ गर्थे । केजरीवाल नै पार्टी र पार्टी नै केजरीवालजस्तो भयो । फलतः विश्वसनीय वैकल्पिक नेतृत्वको सहज उत्तराधिकार विकास नै भएन ।

भ्रष्टाचार मुद्दामा जेल जानु पर्ने भएपछि उनले अतिशीलाई ‘पिक’ गरेर मुख्यमन्त्री बनाए । संसदीय दलको नेताका लागि चुनाव गराएनन् । उनका यस्ता कदमले पार्टीभित्रै असन्तुष्टि बढ्दै गएको थियो । कतिपय पूर्व विधायकले चुनावको मुखमा पार्टी परित्याग गरेका थिए ।

पाँच– भ्रष्टाचारको मुद्दामा केजरीवालसहित आपका मुख्य नेता नै मुछिनु पार्टीका लागि दुर्भाग्यपूर्ण थियो ।

छ– विवादित मुख्यमन्त्री निवास जसलाई ‘केजरीवालको शीश महल’ भनिन्छ, आपको चुनावी हारको अर्को ठूलो कारण बन्यो । आपको उदय हुँदा केजरीवालले जनतासामु सरकारी सेवा सुविधा धेरै नलिने सादगी नेतृत्व विकास गर्ने प्रतिबद्धता गरेका थिए । तर, सेभेन स्टार होटलस्तरको मुख्यमन्त्री निवास बनाएर उनले जनतासँगको प्रतिबद्धता बिर्सेका थिए ।

सात– केजरीवालको चौथोपटक मुख्यमन्त्रीको दाबी अस्वाभाविक थियो । उनले आफैँ मुख्यमन्त्री दाबी गर्नु वा भावी मुख्यमन्त्री प्रचारित गर्नुको साटो आतिशीलाई नै भावी मुख्यमन्त्री मान्न तयार भएको भए, स्थिति केही फरक हुन्थ्यो ।

यसपटक उनी विधानसभाको उम्मेदवार नै नबनेर पार्टी नेताका रुपमा राष्ट्रिय राजनीतिमा फैलिन सक्थे । तर, भावी मुख्यमन्त्रीको दाबी गरेर आरोप लाग्ने गरेजस्तै सत्तालिप्सा सिद्ध गरे ।

एकपटकको नयाँ सधैँलाई नयाँ हुँदैन । सन् २०१४ का लागि उनी नयाँ थिए तर, सन् २०२४ मा चौथोपटक मुख्यमन्त्री दाबी गर्नलायक र नयाँ थिएनन् । उनी थोत्रा भइसकेका थिए । आफू पुरानिएको कुरा बुझेर नयाँ नेतृत्व अघि बढाएको भए पार्टीको यो स्तरको हार नहुन सक्थ्यो ।

आपले प्राप्त गरेको भोट अनुपातले पनि त्यो सिद्ध गर्दछ । हारका बाबजुद पार्टीले ४० प्रतिशतभन्दा बढी लोकप्रिय मत पाएको छ ।

यी सन्दर्भले यो प्रश्नलाई अझ जीवन्त बनाउँछ की वास्तवमा केजरीवाल वैकल्पिक राजनीतिका सारथी थिए कि संहारकर्ता ? 

१० वर्षे शासनकालमा उनले गरेका सार्वजनिक विद्यालय सुधार लगायतका थुप्रै राम्रा काम त छँदैछन् । तर, वैकल्पिक राजनीतिको उद्देश्य र गन्तव्य छिचोल्न त्यति मात्रै पर्याप्त भने पक्कै थिएन ।  

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register