राजदूत-बीएनसीसी पदाधिकारी भेट, व्यापार र लगानी प्रवर्द्धनका लागि सहकार्यमा चासो

लन्डन । बेलायतस्थित उद्यमीहरुको संस्था ब्रिटेन नेपाल च्याम्बर अफ कमर्स (बीएनसीसी) पदाधिकारीले बेलायतका लागि नवनियुक्त नेपाली राजदूत चन्द्र कुमार घिमिरेसंग भेट गरेको छ । बीएनसीसी बेलायतका लागि नेपाली राजदूतको संरक्षकत्वमा छ । प्रतिनिधिमण्डलको नेतृत्व उपाध्यक्ष बिराज भट्टले गरेका थिए । प्रतिनिधिमण्डलमा बीएनसीसीका प्रमुख कार्यकारी अधिकृत स्टिभ बक्ली, उपाध्यक्ष इन्द्र गिरी तथा कार्यकारी सदस्यहरु सन्तोष मण्डल, […]

Feb 9, 2025 - 20:23
 0
राजदूत-बीएनसीसी पदाधिकारी भेट, व्यापार र लगानी प्रवर्द्धनका लागि सहकार्यमा चासो

लन्डन । बेलायतस्थित उद्यमीहरुको संस्था ब्रिटेन नेपाल च्याम्बर अफ कमर्स (बीएनसीसी) पदाधिकारीले बेलायतका लागि नवनियुक्त नेपाली राजदूत चन्द्र कुमार घिमिरेसंग भेट गरेको छ । बीएनसीसी बेलायतका लागि नेपाली राजदूतको संरक्षकत्वमा छ ।

प्रतिनिधिमण्डलको नेतृत्व उपाध्यक्ष बिराज भट्टले गरेका थिए । प्रतिनिधिमण्डलमा बीएनसीसीका प्रमुख कार्यकारी अधिकृत स्टिभ बक्ली, उपाध्यक्ष इन्द्र गिरी तथा कार्यकारी सदस्यहरु सन्तोष मण्डल, कमल पौडेल, प्रभु न्यौपाने, नादिया विलियम्स, प्रकाश ढुंगाना र उद्यमी समीर खनालको सहभागिता थियो ।

उक्त भेटमा बीएनसीसीका उपाध्यक्ष विराज भट्टले दुई देशबीचको व्यापार र लगानी प्रवर्द्धनका लागि बीएनसीसीले विगत केही वर्षमा गरेका कामबारे संक्षिप्त जानकारी दिएका थिए ।

उनले यसै महिनाको अन्त्यतिर काठमाडौंस्थित बेलायती दूतावासले आयोजना गर्न लागेको यूके नेपाल बिजनेस फोरममा पनि बीएनसीसी सहभागी हुने अवगत गराए ।

आसन्न कार्यक्रमले दुई देशबीचको आर्थिक साझेदारीलाई मजबुत बनाउने लक्ष्य राखेको र बीएनसीसीले अर्को वर्षको सुरुमा बेलायती व्यापार प्रतिनिधिमण्डल समेत नेपाल लैजाने योजना बनाएको पनि जानकारी दिइयो ।

बीएनसीसीका प्रमुख कार्यकारी अधिकृत बक्लीले आफ्नो ब्रिटिश कूटनीतिक सेवाबारे अवगत गराएका थिए । बक्लीको कूटनीतिक करिअर सन् १९७० देखि शुरु भएको थियो । उनले थाइल्याण्ड र मलेसियास्थित ब्रिटिश उच्च आयोगहरूमा व्यापार र लगानी निर्देशकका रूपमा काम गरेका थिए ।

सो अवसरमा बक्लीले नेपाल र बेलायतबीचको व्यापार र लगानी प्रवर्द्धनमा आफ्नो ज्ञान, विशेषज्ञता प्रयोग गर्न इच्छुक रहेको धारणा व्यक्त गरे ।

बीएनसीसीका उपाध्यक्ष इन्द्र गिरीले बीएनसीसीले दुई देशबीचको लगानी र व्यापार प्रवर्द्धन गर्ने मात्र नभई नेपालमा बेलायती लगानीकर्ताले सामना गरिरहेका चुनौतीहरूको पहिचान गर्ने प्रयास गरेको बताए ।

बीएनसीसीले नेपाल र बेलायतबीच दोहोरो कर सम्बन्धी सम्झौता (डीटीए) का लागि निरन्तर लबिङ गर्दै आएको जनाउंदै यसले अन्तर्राष्ट्रिय व्यापारलाई प्रोत्साहन र दोहोरो करको जोखिम न्यूनीकरण गरी वैदेशिक व्यापार प्रवर्द्धन गर्ने अपेक्षा गरिएको बताए ।

राजदूत घिमिरेले आफ्नो स्वागतका लागि बीएनसीसीलाई धन्यवाद दिंदै संस्थाले नेपाल र बेलायतबीचको व्यापार र लगानी प्रवर्द्धनका लागि गरिरहेको प्रयासको प्रशंसा गरे ।

उनले दूतावासबाट निरन्तर सहयोग हुने आश्वासन दिँदै आपसी हितका लागि मिलेर काम गर्ने विश्वास समेत व्यक्त गरे ।

राजदूत घिमिरेले बीएनसीसीका सुझावहरु ग्रहण गरि कार्यान्वयन गर्न नेपालका सम्बन्धित सरकारी अधिकारीहरूलाई सुझाव दिने वाचा समेत व्यक्त गरेको उपाध्यक्ष गिरीले नेपालीलिंकलाई बताए ।

बीएनसीसीले यूके र नेपाल दुवैका उद्यमीहरूलाई व्यापार अवसरको सहजीकरण, उनीहरुका चासो प्रवर्द्धन र संस्थाहरूलाई तिनका लक्ष्य पूरा गर्न सहयोग पुर्‍याएर पारस्परिक फाइदा बढाउने लक्ष्य राखेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register