पीडित परिवारलाई तारन्तार धम्की, बलात्कार आरोपी र पञ्चायती खोज्दै प्रहरी

जनकपुरधाम । सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुर तामासुइया टोलकी १७ वर्षीया रिङ्कुकुमारी सदाय ३० माघ गते आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परिन् । सलले घाँटीमा पासो लगाएको अवस्थामा साँझ करिब साढे ६ बजेतिर उनको शव फेला परेको थियो । त्योभन्दा अघिका घटनाक्रमले उनको मृत्यु शङ्कास्पद रहेको बुझ्न कठिन भएन । आफन्त तथा स्थानीयमार्फत इलाका प्रहरी […]

Feb 23, 2025 - 06:39
 0
पीडित परिवारलाई तारन्तार धम्की, बलात्कार आरोपी र पञ्चायती खोज्दै प्रहरी

जनकपुरधाम । सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुर तामासुइया टोलकी १७ वर्षीया रिङ्कुकुमारी सदाय ३० माघ गते आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परिन् । सलले घाँटीमा पासो लगाएको अवस्थामा साँझ करिब साढे ६ बजेतिर उनको शव फेला परेको थियो । त्योभन्दा अघिका घटनाक्रमले उनको मृत्यु शङ्कास्पद रहेको बुझ्न कठिन भएन ।

आफन्त तथा स्थानीयमार्फत इलाका प्रहरी कार्यालय लहानलाई घटनाको जानकारी गराइयो । इलाका प्रहरी कार्यालयको टोली घटनास्थल पुगेर मुचुल्का तयार गरी पोस्टमार्टमका लागि शव उठाएर लग्यो ।
इलाका प्रहरी कार्यालय, लहानका प्रमुख डीएसपी विष्णुप्रसाद सोतीका अनुसार प्रहरी घटनास्थल पुग्दा रातिको ९ बजिसकेको थियो । रिङ्कुको मृत्यु भएको करिब एकसाता पुग्न लाग्दा घटना झनै रहस्यमय र विवादित बन्न पुग्यो ।  मृत्युअघि उनीमाथिको  सामूहिक बलात्कार घटना दबाउन पञ्चायती मिलापत्र गरेकोसम्म आरोप लागेको छ ।

आमा सीतादेवी र भाइ भुलासँग बस्दै आएकी रिङ्कु २६ माघ राति करिब ९ बजेतिर शौच गर्न भनेर बाहिर निस्केकी थिइन् । तर ६ घण्टासम्म घर फर्किनन् ।  माघ २७ को  बिहान ३ बजेतिर  उनी घरबाहिर रोइरहेकी थिइन् । करिब ६ घण्टा बेपत्ता भएर घर फर्किएकी रिङ्कुले परिवारलाई आफूमाथि सामूहिक बलात्कार भएको  सुनाइन् ।  पारिवारिक सदस्यका अनुसार  आफूलाई स्थानीय रुपेश मण्डल, टिङ्कु मण्डल र चन्दन साहेलाले बलात्कार गरेको उनले जानकारी दिइन् ।

‘शौच गर्न गएका बेला तीन जनाले उठाएर बाँसघारीमा लगेर सामूहिक बलात्कार गरे,’ रिङ्कुले त्यसबेला भनेको उनका परिवारका सदस्य बताउँछन् ।

त्यसको तीन दिनपछि उनी झुण्डिएको अवस्थामा भेटिएकी थिइन् । रिङ्कुले आफूमाथि सामूहिक बलात्कार भएको बताएपछि घटना सामसुम पार्न २९ माघमा गाउँमै पञ्चायती सभासमेत बसेको खुलेको छ । खासमा न्यायका लागि भन्दै रिङ्कुको परिवारले छलफलका लागि गाउँ–समाजका मानिसलाई डाकेका थिए ।

तर त्यसलाई सामान्य घटनाजस्तो गरेर मिलापत्रमा परिणत गराउन खोजियो । सोदिन हाल फरार रहेका रुपेश मण्डललाई १ लाख ५० हजार रुपैयाँ जरिवानाको निर्णय भयो। तर यो निर्णयलाई पीडित परिवारले स्वीकारेन ।  त्यतिबेला वादविवादसमेत भएको थियो । अर्कोतर्फ रुपेशका बुवा देवानाथ मण्डलले समेत १ लाख ५० हजार रुपैयाँ तिराउने निर्णयमा सहमति जनाएनन् ।

माघ ३० मा  फेरि पञ्चायती सभा डाकिएको थियो । त्यतिबेला नै रिङ्कुले रुपेशका साथै अन्य दुई जनाले आफूमाथि बलात्कार गरेको भन्दै बयान दिएको एक स्थानीय बताउँछन् । पीडितले अन्य व्यक्तिको पनि संलग्नता रहेको बताउँदा पनि आफ्नो छोरालाई मात्रै जरिवाना तिराउने निर्णयमा सहमति नरहेको देवानाथको भनाइ थियो ।

त्यसपछि गाउँमा झडपको स्थितिसमेत आएको थियो । पञ्चायती बसेर घटना सामसुम पार्न खोजिएको केही समयमै रिङ्कु आफ्नै घरमा मृत भेटिइन् ।

मिलापत्रबारे नवराजपुर–१ का वडाध्यक्ष नवीनकुमार यादवले अनविज्ञता व्यक्त गरे । घटना भएपछि मात्रै आफूलाई यस विषयमा थाहा भएको उनको भनाइ छ । ‘रिङ्कुले आत्महत्या गरिन् भन्ने खबर आयो । अनि मैले नै प्रहरी चौकी बसबरियालाई खबर गरेँ । घटनास्थलमा पुगेपछि मात्रै बलात्कार र पञ्चायती बसेको कुरा परिवारबाट जानकारी पाएँ,’ उनी भन्छन्, ‘त्यतिबेला के–के भयो मलाई जानकारी भएन । तर रिङ्कुको मृत्यु भएपछि उनीमाथि सामूहिक बलात्कार भएको परिवारले बताउँदै आएका छन् ।’

पैसा भागबण्डा गर्न धम्की

बलात्कारको घटना मिलाउन माघ २९ गतेको पञ्चायतीमा आरोपी रुपेश मण्डलका परिवारले १ लाख ५० हजार तिर्नुपर्ने पञ्चायतको कुरा थियो । । त्यसमा रुपेशका बुवाले धेरै भयो भनेपछि १० हजार रूपैयाँ घटाइएको रिङ्कुका ठूलो बुवा रामसेवक सदायले बताए । ‘माघ ३० गते पुनः रुपेशका बुवाले पञ्चायत बोलाएर आफू एक्लैले १ लाख ४० हजार नदिने भनेपछि विवाद भयो । एक्लै पैसा दिन नसक्ने बताएपछि पञ्चहरूबीच नै विवाद भयो,’ उनले भने । पीडितले पैसा पाउने भएपछि त्यही पैसा पनि भागबण्डा गर्न धम्की दिएको रामसेवकको आरोप छ ।

यस्तै, विवाद चलिरहँदा ३० गते रिङ्कुलाई घर कुर्न राखेर साँझ सीतादेवी बजार गएकी थिइन् । उनीहरूको घर अलि एकान्त ठाउँमा छ । मुसहर बस्तीबाट अलि कोल्टे परेको ठाउँमा परेकाले आमा सीता बजारबाट छिट्टै फर्किइन् ।

‘घरमा आइपुग्दा छोरी झुण्डिरहेको अवस्थामा देखेर उनले हामीलाई बोलाइन्,’ रामसेवकले भने, ’सुरुमा उनले नै देखेकी हुन्  पछि हामीलाई बोलाएकी हुन् ।’

उनका अनुसार रिङ्कुको शरीरभरि माटैमाटो लत्पतिएको थियो । कपाल असरल्ल थियो । झट्ट हेर्दा कसैले भुइँमा मारेर झुण्ड्याएजस्तो देखिएको रामसेवक बताउँछन् ।

‘छोरी झुण्डिएको देखेपछि बुहारी (सीता) बेहोस भइन् । त्यसैले मैले नै वडाध्यक्षलाई फोन गरेर प्रहरीलाई बोलाउन भनेको हुँ,’ उनी भन्छन् ।

वडाध्यक्ष नवीनकुमार यादवले पनि रामसेवकले फोन गरेर रिङ्कु झुण्डिएको अवस्थामा फेला परेको जानकारी पाएसँगै प्रहरीलाई खबर गरेको पुष्टि गरे ।

सुरुवाती क्रममा घटनास्थलको मुचुल्का गरेर प्रहरीले शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल लहान पठाएको थियो । तर रिङ्कुमाथि सामूहिक बलात्कार भएको दाबी परिवारले गरेपछि पोस्टमाटर्मका लागि शव धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो ।

जिल्ला प्रहरी कार्यालय सिरहाका डीएसपी वीरेन्द्रकुमार पासवानले धरानमा पोस्टमाटर्मको काम सकिएपछि फागुन ३ गते शनिबार शव परिवारको जिम्मा लगाइयो ।

त्यसपछि परिवारले रिङ्कुको शव सोहीदिन अन्तिम संस्कार गरेका थिए । यद्यपि, उनीहरूले रिङ्कुलाई बलात्कार गर्ने पीडकहरूलाई कारबाहीको जोडदार माग गरिरहेका छन् । रिङ्कुको पोस्टमार्टमको रिपोर्ट अझै आएको छैन ।  घटनाको संवेदनशीलतालाई ख्याल गर्दै प्रहरीले अनुसन्धान गरिरहेको मधेस प्रदेशका प्रहरी प्रमुख तथा डीआईजी लालमणि आचार्य बताउँछन् ।  ‘घटना गम्भीर प्रकृतिको देखिएकाले सोहीअनुसार अनुसन्धान गर्न भनेका छौं । सामूहिक बलात्कार हो वा होइन भन्ने यकिन हुन बाँकी नै छ,’ डीआईजी आचार्यले भने ।

बलात्कारकै कारण रिङ्कुले आत्महत्या गरेको पारिवारिक दाबीपछि संवेदनशीलतालाई ख्याल गर्दै शव पोस्टमार्टमका लागि धरान पठाइएको सिरहाका प्रहरी प्रवक्ता डीएसपी वीरेन्द्रकुमार पासवान बताउँछन् । ‘शव पोस्टमार्टम भएर धरानबाट ल्याइएपछि फागुन ३ गते दाहसंस्कार गरिएको हो,’ उनले भने ।

 आत्महत्या दुरुत्साहन मुद्दा

परिवारले रिङ्कुमाथि  सामुहिक बलात्कारको जिकिर गरिरहेका थिए । यता, प्रहरीमा उनका काका राम सदायले आत्महत्या दुरुत्साहनको जाहेरी दिए । जिल्ला प्रहरी कार्यालय सिरहाका डीएसपी वीरेन्द्र पासवानले १९ वर्षीय स्थानीय रुपेश मण्डलविरुद्ध रिङ्कुका काका राम सदायले आत्महत्या दुरुत्साहनको कसुरमा जाहेरी दिइएको बताए ।

‘बाहिर सामूहिक बलात्कार भन्ने हल्ला चले पनि हामीकहाँ दुरुत्साहनको जाहेरी आएको छ । सोहीअनुसार अनुसन्धान अघि बढाइरहेका थियौँ । अनुसन्धानका क्रममा बलात्कार खुलेमा त्यसमा पनि अनुसन्धान अघि बढाउँछौँ ।’ डीएसपी पासवानले भने ।

काका राम सदायले दिएको जोहरीमा रिङ्कु र रुतेशको पहिलेदेखि नै प्रेम रहेको उल्लेख छ । तर रुपेशका घरपरिवारले यसलाई अस्वीकार गरेपछि रिङ्कुले आत्महत्या गरेको काकाले दिएको निवेदनमा लेखिएको छ ।

घटनाको थप अनुसन्धान गर्न मधेस प्रदेश प्रहरी कार्यालयले फागुन ५ गते छानबिन समिति गठन गर्यो । कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक शान्तिराज कोइरालाको नेतृत्वमा छानबिन समिति गठन गरिएको हो । समितिमा प्रहरी निरीक्षक तथा मुद्दा शाखाका कर्मचारीसहित पाँच सदस्य  छन् ।

समितिले फागुन ५ र ६ गतेदेखि नै घटनास्थलमा पुगेर अनुसन्धान थालेको थियो ।

मृत्यु हुनुअघि माघ २९ गते रिङ्कुले आफूमाथि सामूहिक बलात्कार भएको बताएपछि घटना सामसुम पार्न गाउँमै पञ्चायती बसेको विषय पुष्टि भएको प्रहरीले जनाइसकेको छ । एसएसपी कोइरालाको नेतृत्वको छानबिन समितिले पनि  घटना दबाउन पञ्चायती बसेको र रकममा बार्गेनिङ भएको विषयलाई पुष्टि गरेको छ । यद्यपि रकमको लेनदेन भइनसकेको प्रहरीले बताएको छ ।

पीडित परिवारको पूरक जाहेरी

यसैबीच फागुन ८ गते रिङ्कुको मृत्यु प्रकरणमा पूरक जाहेरी परेको थियो । यसअघि स्थानीय  युवक रुपेश मण्डलविरुद्ध आत्महत्या दुरुत्साहनको जाहेरी दिएको परिवारले अहिले थप व्यक्तिलाई प्रतिवादी बनाउँदै बलात्कारको कसुरमा अनुसन्धान गर्नुपर्ने माग राखेर पूरक जाहेरी दिएको सिरहा प्रहरीले जनाएको छ ।

मृतककी आमा सीतादेवीले इलाका प्रहरी कार्यालय लहानमा कर्तव्य ज्यान, जबरजस्ती करणी, शरीर बन्धक र मिलापत्र लेनदेन कसुरमा पञ्चसहित आठ जनाविरुद्ध पूरक जाहेरी दिएकी छिन् ।

सामूहिक बलात्कारमा संलग्न तीनजना र गाउँमै मिलाउन खोज्ने पाँजना पञ्चमाथि जाहेरी दिएको पीडित परिवारले जनाएको छ । पूरक जाहेरी दर्ता भएर अनुसन्धान अघि बढेको सिरहाका प्रहरी उपरीक्षक रमेश पण्डितले जानकारी दिए ।

बलात्कार आरोपी र पञ्चायती  फरार

अहिले बलात्कारको आरोप लागेका र पञ्चायती बस्नेहरू फरार भएका छन् । आरोपी रुपेश मण्डल, टिङ्कु मण्डल र चन्दन साहेलाका साथै पञ्चायती सभामा बसेका वडासदस्य नथुनी साह र स्थानीय रामकृपाल मण्डल, रामप्रित साह र रामपुकार मण्डल फरार छन् ।

‘पीडित पक्षबाट पूरक जाहेरी फागुन ८ गते दर्ता भएको छ । जाहेरीको आधारमा हामीले अनुसन्धान प्रक्रिया अगाडि बढाएका छौँ । अहिलेसम्म कोही पक्राउ परेका छैनन्, फरार भएकाहरूको खोजी कार्य जारी छ,’ डीएसपी पासवानले भने । तर, इलाका प्रहरी कार्यालय लहानले भने आत्महत्या दुरुत्साहन कसुरमा रुपेश मण्डलमाथि मात्र अनुसन्धान गरिरहेको पाइएको छ ।

पीडकका आफन्तबाट पीडित परिवारलाई धम्की

घटनापछि रिङ्कुको परिवारलाई पीडक पक्षबाट धम्की आइरहेको हुँदा उनीहरू आफ्नो घर छोडेर अन्यत्र गएर बसेका छन् । रिङ्कुका बुवा बिजुल सदाय, आमा सीतादेवी, दाइ वीरेन्द्र र भाइ भुला नजिकै रामअशिष सदाका घरमा बसिरहेका छन् । ‘घटनापछि घरमा को–को मान्छे आइरहेका छन्, कोही धम्की दिन आउँछन्, कोही के गर्न आउँछन्, एकान्तमा घर छ, को आएर कतिबेला के गरिदिने हो ठेगान छैन, हामी निकै डराएका छौं,’ रिङ्कुका बुवा बिजुलले भने, ‘घरमा बस्न सक्ने अवस्था रहेन । जेठो दाइले हामीलाई शरण दिनुभएको छ ।’

पीडित परिवलाई धम्की आउन थालेपछि दलित महिला संघले परिवारको सुरक्षाको माग गरेको छ । मधेस प्रदेशका गृहमन्त्रीले परिवारको सुरक्षा र घटनामा संलग्नलाई कारबाहीको आश्वासन दिएका छन् । ‘स्थानीय रजानीतिकर्मीले घटना लुकाउन खोज्नु दु:खद हो । पीडित परिवारले दिएको पुरक जाहेरीपछि प्रहरीलाई अनुसन्धान तथा कारबाहीका लागि सहज भएको छ । दोषीले उन्मुक्ति पाउँदैन । परिवारको सुरक्षा पनि हुन्छ,’ उनले भनेका छन् ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register