कर्तव्यनिष्ठ प्रशासकको प्रेरणादायी जीवनी

राजा महेन्द्रको राज्याभिषेकको अवसरमा विदेशबाट आएका पाहुनालाई राख्न उपयुक्त होटलहरुको अभाव भएको महसुस भयो। त्यसबेला होटल जस्ता संबेदनशिल र ठूलो लगानी हुने क्षेत्रमा नेपालका सीमित उद्यमीहरु लगानी गर्न त्यति प्रोत्साहित भइरहेका थिएनन् । विदेशी पाहुना तथा पर्यटकहरुका लागि स्तरीय होटल स्थापनाको आवश्यकता महसुस गरी राजा महेन्द्रले आफ्ना भाइहरु र नजिकका धनी नातेदारहरुलाई होटलमा लगानी गर्न […]

Mar 2, 2025 - 17:38
 0
कर्तव्यनिष्ठ प्रशासकको प्रेरणादायी जीवनी

राजा महेन्द्रको राज्याभिषेकको अवसरमा विदेशबाट आएका पाहुनालाई राख्न उपयुक्त होटलहरुको अभाव भएको महसुस भयो। त्यसबेला होटल जस्ता संबेदनशिल र ठूलो लगानी हुने क्षेत्रमा नेपालका सीमित उद्यमीहरु लगानी गर्न त्यति प्रोत्साहित भइरहेका थिएनन् । विदेशी पाहुना तथा पर्यटकहरुका लागि स्तरीय होटल स्थापनाको आवश्यकता महसुस गरी राजा महेन्द्रले आफ्ना भाइहरु र नजिकका धनी नातेदारहरुलाई होटलमा लगानी गर्न प्रोत्साहित गरेछन् । फलस्वरुप सोल्टी होटल, अन्नपूर्ण होटल आदि स्थापना भई सञ्चालनमा आए ।

पछि राजाका भाइहरुले अन्य व्यावसायमा पनि लगानी गर्न थाले । राजपरिवारले व्यावसायमा हात हालेकोमा सर्वसाधारणमा राम्रो सन्देश नगएको गुनासो राजा महेन्द्रकहाँ पुगेछ । त्यसपछि राजा महेन्द्रले प्रशासक परीक्षित नर्सिंह राणाको संयोजकत्वमा एउटा छानविन तथा सुझाव समिति गठन गरे ।
भाइहरुलाई लगानी गर्न राजाले नै लगाएका थिए र, त्यसबारे छानविन गरी सुझाव दिन पनि राजाले आफूले मन पराएका प्रशासकको संयोजकत्वमा समिति बनाएका थिए । त्यसकारण राजाले चाहेअनुसार सुझाव दिन्छन् भन्ने धेरैले अनुमान गरे । तर परीक्षित राणाले आम मानिसको अनुमान विपरित राजालाई सुझाव दिएछन् । ‘राजपरिवारले व्यावसायमा हात हाल्नु हुन्न र यदि उद्योगी व्यावसायी बन्ने इच्छा छ भने राजपरिवारको हैसियतबाट बाहिरिएर मात्र त्यस्तो इलम गर्नुपर्ने’ सुझाव दिएछन् । राजा महेन्द्रले पनि सो सुझाव मुताविक राजपरिवारले अव उप्रान्त नयाँ उद्यममा लगानी नगर्न आदेश दिएछन् ।

यस्तै अर्को एउटा रोचक घटना यस्तो छः

परीक्षित नर्सिंह राणा लोकसेवा आयोगको सचिव हुँदा एक पटक राजाका एकजना फिजिसियन लोकसेवा आयोगको परीक्षामा फेल भएछन् । राजदरबारबाट राणालाई ती चिकित्सकलाई किन फेल गरेको ? भनेर सोधनी भएछ । परीक्षित राणाले ‘महाराजले बक्सेको ऐनले नै ती डाक्टरलाई पास गर्न नमिलेको हो, सरकारबाट हुकुम भए पास गर्न लगाइदिन्छु, होइन भने भविष्यमा फेरी जाँच दिने मौका आइहाल्छ नि’ भनेर जवाफ दिएछन् । ती डाक्टरले अर्को वर्ष जाँच दिएपछि मात्र पास भएका रहेछन् ।

सूर्य बहादुर थापा प्रधानमन्त्री भएका बेला तराईको कुनै सालको जंगलमा ठूलो मात्रामा बन फडानी गरेर त्यो काठ भारत निकासी गर्ने कुरा आएछ । त्यसबापत भारतबाट ठूलो रकम प्राप्त हुने कुरा भएको रहेछ । त्यसको कार्यान्वयनका लागि त्यस बेलाका बन सचिव परीक्षित नर्सिंह राणाकहाँ दवाव आएछ । राणाले ‘पैसा पायो भन्दैमा जंगल मास्न मिल्दैन’ भन्ने अड्डी कसेर काम गर्न मानेनछन् । त्यसपछि पैसाको प्रलोभन देखाएर सचिव राणालाई एक हप्ता विदा बस्न निर्देशन गरिएको रहेछ । तर त्यो कुरा पनि उनले अस्विकार गरेछन् । त्यसपछि बन सचिवबाट उनलाई रघुपति जुटमिल विराटनगरको अध्यक्ष पदमा काजमा पठाएछन् र बन मन्त्रालयमा उनी भन्दा कनिष्ठ पाण्डे थरका अधिकृतलाई कामु सचिव पदमा नियुक्ति दिएर त्यो राष्ट्र विरोधी कार्य सम्पन्न गरिएको रहेछ ।

परीक्षित राणा बन सचिव भएकै बेला सर्लाही र महोत्तरी जिल्लामा रहेको सारनाथ बन पैदावार विकास समितिको हाकिमसहित कर्मचारीहरुले बदासी गर्न थालेको थाहा पाएपछि कसैलाई खबर नगरी उनी त्यहाँ निरीक्षणका लागि गएछन् । २० जना भन्दा बढी कर्मचारी कार्यरत रहेको त्यस कार्यालयमा उनी निरीक्षणका लागि पुग्दा पालेबाहेक कोही कर्मचारी भेटेनछन् । यो देखेर पियनदेखि हाकिम सम्मका कर्मचारीलाई बर्खास्तको प्रकृया अघि बढाएर फर्किएका थिए रे ।

सरकारी काममा विभिन्न दवाव आउन थालेपछि उनले नोकरी अवधि बाँकी रहेकै अवस्थामा ५७ वर्षको उमेरमा २०३२ सालमा स्वेच्छिक अवकास लिएका थिए । सरकारी जागिरबाट स्वेच्छिक अवकाश लिएपछि प्रधानमन्त्रीको आर्थिक सल्लाहकार र कुनै देशको लागि राजदूत हुन प्रस्ताव आएको रहेछ । राजनीतिक प्रभावबाट अलग रहने मनसायले उनले आर्थिक सल्लाहकारको पद अस्वीकार गरे । राजदूतका लागि प्रस्ताव लिएर आउने व्यक्तिले रु ५० हजार घुस मागेपछि त्यो व्यक्तिलाई हकार्दै घरबाट धपाएका थिए रे ।

यस्ता अनेकौं रोचक घटना एवं विकृत बन्दै गरेको बर्तमान राजनीति र प्रशासनिक कार्यशैलीको सन्दर्भमा अनुकरणीय हुने ‘इमानदारीको यात्रामा अविश्रान्त यात्री परीक्षित नर्सिंह राणा’ नामक जीवनीमा आधारित पुस्तक हालै प्रकाशित भएको छ । करिव ४४ वर्ष अघि नै उहाँको निधन भइसकेता पनि उहाँका समकालिन प्रशासक, पत्रकार, कर्मचारीलगायत राणाका पारिवारिक सदस्यहरु तथा अन्य लेख्य सामग्रीहरुको समेत सहयोगमा लेखक विमल भौकाजी र कपिल लोहनीले उक्त पुस्तक लेख्नु भएको छ भने राणाका पारिवारिक सदस्य प्रा करन बहादुर शाहले उक्त पुस्तकको सम्पादन गर्नुभएको छ ।

विसं १९७३ मा ठमेल नर्सिंह चोकमा जन्मिएका परीक्षित नर्सिंह राणा दरबार हाईस्कुलमा अध्ययनरत हुँदा गंगाला श्रेष्ठ (शहीद) सँगको संगतमा थिए । जसले गर्दा परीक्षित राणाको मनमा जहानियाँ शासनको अन्त र प्रजातन्त्र स्थापना गर्नुपर्ने आवश्यकता बारेमा विचारले ठाउँ पाइसकेको थियो । तर उनी सक्रिय रुपले राजनीतिमा भने त्यसबेला लागिसकेका थिएनन् । पछि वि सं १९९७ सालमा नेपाल प्रजारिषद्ले थालेको गोप्य आन्दोलनमा भने धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ, शुक्रराज शास्त्री, टंकप्रसाद आचार्यहरुसँग मिलेर लिथोग्राफ गरिएका पर्चाहरु ठाउँठाउँमा बाँड्नेलगायतका राणाविरोधी कार्यहरुमा सहभागी भएका थिए । यसै निहुँमा गंगालाल लगायत नेपाल प्रजापरिषद्का धेरै कार्यकर्ताहरु पक्राउ पर्दा परीक्षित राणाको हेलमेल गंगालाल र उनका सहयोद्धाहरुसँग भएको देख्नेहरुले उनको नाम पनि पोलिदिनाले उनलाई पनि पक्राउ गरिएको थियो । तर परीक्षित राणा सहगोत्रीको नाताले मृत्युदण्डबाट बच्न सफल भए पनि उनलाई गोरखा जिल्लामा नजरबन्दमा पठाइएको थियो । पछि मोरु ५० पैसा सरकारलाई बुझाएर नजदरबन्दबाट मुक्त गरिएको थियो ।

त्यसपछि उनले विसं २००३ सालमा लेफ्टिनेन्टको रुपमा नेपालको सैनिक सेवामा प्रवेश गरेका थिए भने विसं २००४ सालमा अर्थमन्त्रालयमा मुद्रा अधिकृतबाट नेपाल सरकारको निजामती सेवामा प्रवेस गरेका थिए ।

२०१९ मा कर्मचारी सञ्चय कोष ऐन पारित भएपति सोही साल कर्मचारी सञ्चायकोष स्थापना भएको थियो । राजा महेन्द्रले अर्थमन्त्रालयका सहसचिव परीक्षित राणालाई प्रथम प्रमुख प्रशासकमा नियुक्त गरेका थिए । कर्मचारी संचयकोषको आधारभूत संरचना विकास तथा सञ्चयकर्ता कर्मचारीहरुलाई दिइने सुविधाका विषयमा लागि परेर काम गरेका थिए । उनले कर्मचारी सञ्चयकोषको मातहतमा तथा यसैमा जम्मा भएको रकममार्फत एउटा बाणिज्य बैंक स्थापना गर्ने लक्ष्यका साथ काम अघि बढाएका थिए । सो बैंकको प्रशासनिक संरचना तथा आवश्यक फारम र चेकसमेत प्रिन्ट भइसकेका थिए । तर केही स्वार्थी समूहले उनको यो प्रयासलाई सफल हुन दिएन ।

परीक्षित राणा यति सरल थिए कि अर्थमन्त्रालयको सहसचिव र नेपाल बैंकको सञ्चालक सदस्य भएका बेला पनि उनी आफ्नो चेक साट्नका लागि आफैं लाइनमा आएर बस्ने गर्थे, जुन आजका प्रशासकहरुमा कल्पना पनि गर्न सकिन्न ।

बैगुनीलाई गुणले मार्ने उनको स्वभाव थियो । अदालतको आफ्नै झगडियालाई पनि आफ्नो निवासमा खान बस्न र खर्च दिएर मुद्दा लड्न सघाउन उनी पछि पर्दैनथे । सामाजिक व्यवहारमा सरल र नरम भए पनि अनुसासन र प्रशासनिक कार्यमा उनको कठोर स्वभाव थियो ।

हास्य कलाकार तथा कर्मचारी सञ्चयकोषका पूर्व कर्मचारी मदनकृष्ण श्रेष्ठ भन्नुहुन्छ, जीवनमा धेरै आदर्शका पाठहरु पढिए । तर साँचो अर्थमा मैले सिकेको आदर्श भने परीक्षित नर्सिंह राणाबाट नै हो । इमानदारको सधैं कदर गर्ने र बेइमानको संगत गर्दै नगर्ने प्रेरणा मैले उहाँबाट नै पाएको हुँ । उहाँ कोमल हृदयको हुनुहुन्थ्यो तर कार्यालयमा कुनै कर्मचारीले एक पैसा मात्र भ्रष्टाचार गरेको थाहा पाएमा कडा कार्वाही गरिहाल्नु हुन्थ्यो । उहाँका पालमा भ्रष्टाचार शब्ददेखि नै कर्मचारीहरु डराउँथे । म जागिरे हुँदा उहाँका पालामा कसैले पनि भ्रष्टाचार गरेको थाहा पाइन ।

यस्ता अनेक रोचक घटना र जीवनोपयोगी तथ्यहरुले भरिएको राणाको जीवनीमा पूर्व कुटनितिज्ञ तथा योजनाविद् गोविन्द प्रसाद लोहनी, अर्थशास्त्री डा रत्नशमशेर राणा, डा गौरी शंकरलाल दास, वरिष्ठ सञ्चारकर्मी भैरव रिसाल, शहीद गंगालालका कान्छा भाई विजय लाल श्रेष्ठ, विमला याक्थुम्बा, पूर्व सचिव सुशील जंगबहादुर राणा, पूर्व नायव महालेखापरीक्षक रामबाबु नेपाल, बरिष्ठ गायक कुमार बस्नेत, बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, बरिष्ठ बन्य जन्तु विज्ञ प्रा करन बहादुर शाहलगायतका विभिन्न क्षेत्रका करिव ४० जना व्यक्तिहरुका स्मरणसमेत समेटिएको छ ।

उक्त पुस्तकका संपादक करन शाहको स्मरण अनुसार परीक्षित राणा आफू राजनीतिमा प्रत्यक्ष रुपमा सम्लग्न हुन नचाहे पनि राष्ट्रिय अन्र्राष्ट्रिय राजनीति र अन्य समसामयिक कुराहरुका पूरा जानकारी राख्नुहुन्थ्यो । नेपालमा पञ्चायती व्यवस्था पैसा मात्र बाँडेर टिकाएको तर जनताको सरोकारको कुरो कहिले पनि गरिएन भन्ने गर्नुहुन्थ्यो ।

उक्त पुस्तक परीक्षित नर्सिंह राणाकी धर्मपत्नी श्रीमती कोकिला राणाले काठमाडौमा एक विशेष कार्यक्रमका बिच गत हप्ता लोकार्पण गर्नु भयो भने छोरा प्रसन्न नर्सिंह राणाले सो पुस्तकक प्रकाशन गर्नु भएको हो ।

परीक्षित राणा जस्तो व्यक्तिको प्रेरणादायी कार्यहरुबाट आजको पुस्ताले मार्गदर्शन पाउन सकुन र उहाँजस्तो कर्तव्यनिष्ठ मानिस हुने प्रेरणा मिलोस् भन्ने उद्देश्यले पुस्तक प्रकाशन गरिएको उक्त अवसरमा पुस्तकका संपादक करन बहादुर शाहले बताउनु भयो । यदि मानिस इमानदार छ भने जुनसुकै पदमा भए पनि माथिल्लो ओहदाको व्यक्तिसँग अडान लिन सकिन्छ । साथै शिक्षा आर्जन गर्न कुनै उमेर हुँदैन भन्ने राणाको जीवनीबाट बुझ्न सकिन्छ । मृत्यु शाश्वत कुरा हो तर मृत्युपछि पनि समाजलाई केही कुरा छोडेर जान सकिदो रहेछ भन्ने कुरा राणाको जीवनीबाट बुझ्न सकिने सम्पादक शाहले बताउनु भयो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register