सगरमाथा संवादका लागि आमन्त्रण सुची तयार, १६ विज्ञ खोज्दै सरकार

काठमाडौं । सरकारले सगरमाथा संवादको तयारीलाई तीव्रता दिएको छ । जलवायु परिवर्तन, पर्वतीय र मानव जीवनको भविष्य शीर्षकमा हुने संवादको तयारीलाई सरकारले तीव्रता दिएको हो । संवादका लागि आमन्त्रण सुची तयार भएको छ । आगामी जेठ २ देखि ४ गतेसम्म सगरमाथा संवाद हुन लागेको हो। पर्वतीय र तटीय क्षेत्रमा अवस्थित देशका  राष्ट्र तथा सरकार प्रमुख, […]

Mar 3, 2025 - 05:09
 0
सगरमाथा संवादका लागि आमन्त्रण सुची तयार, १६ विज्ञ खोज्दै सरकार

काठमाडौं । सरकारले सगरमाथा संवादको तयारीलाई तीव्रता दिएको छ । जलवायु परिवर्तन, पर्वतीय र मानव जीवनको भविष्य शीर्षकमा हुने संवादको तयारीलाई सरकारले तीव्रता दिएको हो । संवादका लागि आमन्त्रण सुची तयार भएको छ । आगामी जेठ २ देखि ४ गतेसम्म सगरमाथा संवाद हुन लागेको हो।

पर्वतीय र तटीय क्षेत्रमा अवस्थित देशका  राष्ट्र तथा सरकार प्रमुख, जलवायु अनुसन्धानको क्षेत्रमा काम गर्ने विज्ञ, राष्ट्रिय अन्तरराष्ट्रिय स्तरका निजी क्षेत्रका प्रतिनिधि, विषय विज्ञ तथा समाजमा प्रभाव पार्न सक्ने व्यक्तित्वलाई आमन्त्रण गर्न लागिएको छ ।

परराष्ट्रमन्त्री डा आरजु राणा देउवा संयोजकत्वको समितिले संवादका लागि पूर्वाधारको व्यवस्था तथा कार्यक्रमको प्रारूप तयार पारेको संवादका सम्पर्क व्यक्ति  वन मन्त्रालयका सहसचिव महेश्वर ढकालले बताए ।

समितिले विभिन्न क्षेत्रका १६ जना विज्ञ सम्मिलित विज्ञ समूह गठन गर्नेछ ।  परराष्ट्र मन्त्रालयका सहसचिवको संयोजकत्वमा प्रचार प्रसार तथा समन्वय समिति गठन गर्ने निर्णय गरेको छ । बैठकले जलवायु परिवर्तनका प्रभाव घटाउन भएका असल अभ्यासको प्रदर्शनका लागि साझेदार संस्थालाई आग्रह गरेको छ ।

सहसचिव ढकालका अनुसार प्रदेश स्तरमा पनि संवाद गर्ने, बालबालिका तथा युवाका विषयमा पूर्वतयारी संवाद हुनेछ । संवादका लागि आवश्यक कर्मचारी, परराष्ट्र र वन मन्त्रालय तथा मन्त्रिपरिषद्को कार्यालयबाट खटाइने छ ।

परराष्ट्रमन्त्री संयोजकत्वको समितिमा वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरी सहसंयोजक छन् ।  समितिमा सरकारका मुख्यसचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, परराष्ट्र, अर्थ, गृह, राष्ट्रिय योजना आयोग, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव तथा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक र राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव सदस्य छन् । समितिको सदस्य सचिव भने वन मन्त्रालयका सचिवलाई तोकिएको छ ।

जलवायु न्यायका लागि संवाद

सरकारले जलवायु परिवर्तनका विषयमा विश्वमै नेतृत्व हासिल गर्न तथा जलवायु न्यायका लागि पैरवी गर्न संवाद कार्यक्रम गर्न लागेको वन तथा वातावरण मन्त्रालयका सचिव  दीपककुमार खरालले बताए ।  प्रत्येक दुई वर्षमा संवाद आयोजना गर्ने सरकारको निर्णय छ ।

न्यून कार्बन उत्सर्जन गरेर पनि उच्च जोखिममा पर्नुपरेको अवस्थाका बारेमा अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउँदै त्यसबाट नेपालले लिनुपर्ने क्षतिपूर्ति र नेपालले उपलब्ध गराएका वातावरणीय सेवा बापतको भुक्तानीको सन्दर्भमा समेत संवादमा पैरवी गरिने उनले बताए ।

पेरिस सम्झौताअनुसार विश्व समुदायले यस शताब्दीको अन्त्यसम्ममा पृथ्वीको तापक्रम १.५ डिग्री सेल्सियसभन्दा बढ्न नदिने सहमति गरेता पनि सन् २०५० भन्दा पहिले नै हिमाली क्षेत्रको तापक्रम सरदर १.८ डिग्री सेल्सियसभन्दा बढी हुने अनुमान गरिएको छ ।

विभिन्न अध्ययनअनुसार उच्च तापक्रम वृद्धिले गर्दा यस क्षेत्रमा रहेका हिमालका दुई तिहाइ हिम भण्डारहरू पग्लिने अनुमान छ । जलवायु विज्ञान र प्रविधिको विकास विस्तारमा योगदान गर्ने, पर्वतीय देशका ‘एजेन्डा’लाई मुखरित गर्न तथा पर्वतीय मुलुकहरूसँग काम गर्न संवाद सहयोगी हुने सचिव खरालको विश्वास छ ।

परराष्ट्र मन्त्रालयका सहसचिव दधिराम भण्डारीले नेपाल सरकारले यो कार्यक्रम उच्च प्राथमिकता दिएर कार्यान्वयन गर्न लागेको बताए ।  संवादको मुख्य उद्देश्य जलवायु परिवर्तनले पर्वतीय क्षेत्रमा परेको असरबारे उजागर गर्दै पर्वतीय क्षेत्रका नागरिक र अन्तर्राष्ट्रिय समुदायको बुझाइमा एकरूपता ल्याउनु रहेको उनको भनाइ छ ।

रासस

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register