बाढी पहिरोले क्षतिग्रस्त बीपी राजमार्गको मर्मत तीव्र

काभ्रेपलाञ्चोक । गत असोज दोस्रो साताको बाढी पहिराेले क्षतिग्रस्त बीपी राजमार्गको मर्मतलाई तीव्रता दिइएको छ । डिभिजन सडक कार्यालय भक्तपुरले राजमार्गअन्तर्गत क्षति पुगेको नमोबुद्ध नगरपालिकाको चौकीडाँडादेखि काभ्रेपलाञ्चोक र सिन्धुलीको सीमास्थल नेपालथोकसम्मको अस्थायी मर्मतलाई तीव्र पारिएको जनाएको छ । आउँदो बर्खायाममा यातायात अवरोध नभई नियमित सञ्चालन हुनसक्ने गरी रोशी क्षेत्रमा मर्मत भइरहेको कार्यालयले जनाएको छ । […]

Mar 4, 2025 - 09:06
 0
बाढी पहिरोले क्षतिग्रस्त बीपी राजमार्गको मर्मत तीव्र

काभ्रेपलाञ्चोक । गत असोज दोस्रो साताको बाढी पहिराेले क्षतिग्रस्त बीपी राजमार्गको मर्मतलाई तीव्रता दिइएको छ ।

डिभिजन सडक कार्यालय भक्तपुरले राजमार्गअन्तर्गत क्षति पुगेको नमोबुद्ध नगरपालिकाको चौकीडाँडादेखि काभ्रेपलाञ्चोक र सिन्धुलीको सीमास्थल नेपालथोकसम्मको अस्थायी मर्मतलाई तीव्र पारिएको जनाएको छ ।

आउँदो बर्खायाममा यातायात अवरोध नभई नियमित सञ्चालन हुनसक्ने गरी रोशी क्षेत्रमा मर्मत भइरहेको कार्यालयले जनाएको छ । हाल लोडर र डोजर प्रयोग गरी सडक मर्मत गरिरहेको कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले जानकारी दिए ।

योगेशका अनुसार हाल बगरमा गरिएको डाइभर्सन तथा सडकको पुरानै स्थानलाई अवस्था हेरी दुईदेखि तीन मिटरसम्म ग्राभेल भरेर उचाइ बनाउने तथा अप्ठेरो भएको स्थानमा जाली भरेर उचाइ बनाउन थालिएको छ । क्षतिग्रस्त सडक चौडा पार्ने, सम्याउने तथा ग्राभेल भरेर खोलाको सतहभन्दा करिब तीन मिटर उचाइ बनाउने काम भइरहेको छ । कुल १३ किलोमिटर क्षतिग्रस्त सडकमध्ये पहिलो चरणमा आठ किलोमिटर मर्मत गरिनेछ भने बाँकीको थप मर्मतका लागि योजना बनाइने जनाइएको छ ।

राजमार्गको धुलिखेल–नेपालथोक र नेपालथोक–खुर्कोट सडकखण्ड अस्थायी रूपमा मर्मतका लागि सरकारले हालका लागि रू २१ करोड २५ लाख बजेट विनियोजन गरेको छ । सो बजेटबाट गर्ने कामको डिजाइन भइरहेको र डिजाइन सकिएपछि लागत स्टिमेट निकालेर ठेक्का प्रक्रियामा जाने योगेशले बताए । हाल काठमाडौंबाट रामेछाप, सिन्धुलीलगायत पूर्व जाने यातायातका साधन खोला बगरको कच्ची सडकमा कष्टकर एवं जोखिमपूर्ण यात्रा गरिरहेका छन् ।

डिभिजन सडक कार्यालयद्वारा गरिएको अध्ययनले भकुण्डेदेखि नेपालथोकसम्मको विभिन्न स्थानमा पुनर्निर्माण गर्न रू नौ अर्ब ६६ करोड लाग्ने अनुमान गरिएको छ । ‘अध्ययनबाट केही स्थानमा पहिला पुल बनाउनुपर्ने देखिए पनि पुल बनाउने कि, वाल लगाउने भन्नेबारे थप छलफलपछि निष्कर्ष निस्कनेछ’, योगेशले भने ।

पुनर्निर्मित सडकमा ‘आसफाल्ट कङ्क्रिट’सहित दुई लेनको सडक हुने योगेशले बताए । यसअघि ‘इन्टरमिडियट लेन’को सडक थियो । रासस

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register