पोखराबाट चीनको छेन्दुसम्म आजदेखि व्यावसायिक उडान

गण्डकी । पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट मङ्गलबार चीनको सिचुवान प्रान्तको छेन्दुमा पहिलो व्यावसायिक ‘चाटर्ड’ उडान हुने भएको छ । लामो समयदेखि पोखरेली जनसमुदायको माग तथा सरकारी र निजी क्षेत्रको संयुक्त प्रयासबाट सञ्चालनमा आएको पोखरा अन्तरराष्ट्रिय विमानस्थल उद्घाटन भएको दुई वर्षसम्म नियमित अन्तरराष्ट्रिय उडान हुन नसकेको अवस्थामा पहिलोपटक सिचुवान एअरलाइन्सको जहाजबाट १२६ यात्रु छेन्दु जाँदैछन् । उडान […]

Mar 18, 2025 - 00:59
 0
पोखराबाट चीनको छेन्दुसम्म आजदेखि व्यावसायिक उडान

गण्डकी । पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट मङ्गलबार चीनको सिचुवान प्रान्तको छेन्दुमा पहिलो व्यावसायिक ‘चाटर्ड’ उडान हुने भएको छ ।

लामो समयदेखि पोखरेली जनसमुदायको माग तथा सरकारी र निजी क्षेत्रको संयुक्त प्रयासबाट सञ्चालनमा आएको पोखरा अन्तरराष्ट्रिय विमानस्थल उद्घाटन भएको दुई वर्षसम्म नियमित अन्तरराष्ट्रिय उडान हुन नसकेको अवस्थामा पहिलोपटक सिचुवान एअरलाइन्सको जहाजबाट १२६ यात्रु छेन्दु जाँदैछन् ।

उडान नियमित गर्ने प्रयास स्वरुप सिचुवान एअरलाइन्सले छेन्दुबाट तीनवटा चाटर्ड उडान गर्ने सुनिश्चित गरिसकेको पोखरा पर्यटन परिषद्का महासचिव जीवनराज सापकोटाले जानकारी दिए । ‘पोखरा–छेन्दु उडानलाई नियमित गर्ने उद्देश्यका साथ सिचुवान एयरलाइन्सले चाटर्ड उडान सुरु गरेको हो,’ उनले भने, ‘तीनवटा चाटर्ड उडान पछि एअरलाइन्सले अन्य नियमित उडानको योजना बनाएको छ ।’

चाटर्ड उडानका लागि एअरलाइन्सले हाल भाडादर ६२ हजार रुपैयाँ तय गरेको छ । एअरलायन्सले तीनवटा चाटर्ड उडान पछि नियमित उडानको भाडादरसहित उडान तालिका ल्याउने जनाएको छ । सापकोटाले पोखरा–छेन्दुु उडान यहाँको पर्यटकीय विकासमा महत्त्वपूर्ण बन्ने विश्वास व्यक्त गरे ।

पोखराबाट अन्तरराष्ट्रिय उडानका लागि गरिएको निरन्तर प्रयास पछि निजी क्षेत्रका पर्यटन व्यवसायीहरूको विशेष पहल र पोखरा पर्यटन परिषद्को नेतृत्वमा पोखरा महानगरपालिका, नेपालस्थित चिनियाँ राजदूतावास, सिचुवान एअरलाइन्स र नेपालस्थित चाइनिज एशोसिएशनसँगको सहकार्यमा पहिलो पटक व्यावसायिक चाटर्ड उडान गर्न लागिएको पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले जानकारी दिए ।

चीनस्थित चाईना ट्राभल्स इन्टरनेशनल छेन्दुले सुरुवाती उडानमा सहकार्य गरिरहेको छ । यो उडानले पोखरा र समग्र गण्डकी प्रदेशकै पर्यटन चलायमान हुने विश्वास लिइएको उनको भनाइ छ । उनका अनुसार आगामी तीन महिनासम्ममा करिब एक हजार २५० चिनियाँ पर्यटक चीनको सिचुवान प्रदेशबाट सिधा पोखरा अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन् ।

पोखराबाट पहिलोपटक हुन लागेको व्यवसायिक चाटर्ड उडानमा पोखरा महानगरपालिका प्रमुख (मेयर) धनराज आचार्य, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछाने, पोखरा भ्रमण वर्ष २०२५ कार्यसम्पादन समितिका संयोजक गोपिबहादुर भट्टराई, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी, पर्यटन व्यवसायी र सञ्चारकर्मी सहभागी हुँदै छन् ।

पहिलो व्यावसायिक उडानका क्रममा हुने सात रात आठ दिनसम्मको कार्यक्रममा विशेषतः सिचुवान प्रदेशको छेन्दु, लुझेउ, इमि, लिसन, छोङछिङ केन्द्रित रही त्यहाँका पर्यटन विकास, विस्तारका बारे जानकारी लिइने कार्यक्रम तय गरिएको छ ।

त्यसैगरी नेपाल पर्यटन बोर्डको आयोजना तथा नेपाली महावाणिज्य दूतावास छेन्दुको सहकार्यमा छेन्दु र छाउछिङमा क्रमशः १९ र २२ मार्चमा नेपाल इभिङ र सेल्स मिसन गर्न लागिएको नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका प्रमुख मणिराज लामिछानेले जानकारी दिए । पोखराबाट अन्तरराष्ट्रिय उडानका रुपमा गर्न लागिएको पहिलो व्यावसायिक चाटर्ड उडानसँगै गरिने ‘सेल्स मिसन’का कार्यक्रमले पोखरासहित समग्र नेपालको पर्यटन प्रवद्र्धनमा महत्त्वपूर्ण टेवा पुग्ने उनको भनाइ छ ।

पोखरा भ्रमण वर्षलाई सहयोग

पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट हुन लागेको पहिलो व्यावसायिक चाटर्ड उडान पोखरा भ्रमण वर्ष २०२५ लाई सफल बनाउन महत्त्वपूर्ण बन्ने विश्वास लिइएको छ ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले यस उडानको सुरुवातसँगै पोखरा भ्रमण वर्ष २०२५ लाई सफल बनाउनुका साथै समग्र पर्यटन राजधानी पोखराको पर्यटकीय विकासमा महत्त्वपूर्ण सहयोग पुग्ने बताए ।

सिचुवान प्रदेश चीनको पर्यटकीय क्षेत्र रहेको र त्यहाँको लुझेउ सिटीमा आफूहरू जाने बताउँदै उनले उक्त पोखराको सहर भगिनी सहर भएको बताए । त्यहाँ हुने कार्यक्रमले दुुई सहरबीचको आपसी सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास उनले व्यक्त गरे ।

पोखरा–छेन्दुु उडान सञ्चालन हुँदा पोखरामा चिनीयाँ पर्यटक लक्षित पूर्वाधारमा कुनै कमी नरहेको यहाँको पर्यटन व्यवसायी बताउँछन् । पोखरामा चिनियाँ पर्यटकलाई लक्षित गरेर निर्माण गरिएका होटेल तथा रेष्टुुरेण्टबाट पर्यटकलाई सेवा प्रवाह भइरहेको पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष एवम् पोखरा भ्रमण वर्ष २०२५ कार्यसम्पादन समितिका संयोजक गोपिबहादुर भट्टराईले बताए ।

‘पोखरामा पर्यटक लक्षित होटेल तथा रेष्टुरेन्ट थपिने क्रम बढ्दो छ,’ उनले भने, ‘कोरोना भाइरसपछि बन्द भएका होटेल तथा रेष्टुरेन्ट पुनः सञ्चालनमा आएका छन् ।’

चिनियाँ पर्यटकहरू केवल बस्ने खाने मात्र नभै बोटिङ, सपिङ, पदयात्रा, प्याराग्लाइडिङलगायत सबै किसिमका गतिविधिमा सहभागी हुने गरेको अनुभव उनले सुनाए । –रासस

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register