काङ्ग्रेस कार्यसम्पादन समिति बैठक : संकट समाधानमा प्रभावकारी नेतृत्व लिन सुझाव

काठमाडौं । नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा नेताहरूले वर्तमान संकट समाधानको नेतृत्व लिन सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन् । सरकारलाई जनताको भरोसा जित्नेगरी केन्द्रित गराउँदै  संकट समाधानको नेतृत्व लिन नेताहरूले सभापति देउवाको ध्यानाकर्षण गराएका हुन् । आइतबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका सदस्यहरूले  वर्तमान राजनीतिक घटनाक्रमलाई जनताको निरासाका रूपमा बुझ्दै […]

Mar 23, 2025 - 15:37
 0
काङ्ग्रेस कार्यसम्पादन समिति बैठक : संकट समाधानमा प्रभावकारी नेतृत्व लिन सुझाव

काठमाडौं । नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा नेताहरूले वर्तमान संकट समाधानको नेतृत्व लिन सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन् । सरकारलाई जनताको भरोसा जित्नेगरी केन्द्रित गराउँदै  संकट समाधानको नेतृत्व लिन नेताहरूले सभापति देउवाको ध्यानाकर्षण गराएका हुन् ।

आइतबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका सदस्यहरूले  वर्तमान राजनीतिक घटनाक्रमलाई जनताको निरासाका रूपमा बुझ्दै सरकारलाई निरासा चिर्नेतर्फ अग्रसर बनाउन सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका हुन् ।

कार्यसम्पादन समिति बैठकमा नेता शेखर कोइरालाले युवाहरूको निरासा र जनतामा बढ्दै गएको वितृष्णाले परिस्थितिलाई गम्भीर बनाएको भन्दै सरकारलाई जनताका समस्या सम्बोधनतर्फ अग्रसर गराउन ध्यानाकर्षण गराए । ‘युवाहरू फ्रस्टेट छन् । जनतामा वितृष्णा बढ्दै जाँदा परिस्थिति गम्भीर बनिरहेको छ । संविधान बमोजिम नै मुलुक अघि बढ्नुपर्छ । निरासा चिर्नका लागि सरकारले जनतालाई डेलिभरी दिनुपर्‍यो,’ बैठकमा उनले भनेका छन् ।

यस्तै, नेता अर्जुननरसिंह केसीले  कोलाहल, भ्रष्टाचार, कुशासन, आर्थिक अराजकता र दण्डहिनताको एकमुस्ट जनआक्रोश सडकमा पोखिएको भन्दै जनतालाई आकर्षित गर्ने काममा सरकारलाई केन्द्रित गराउन ध्यानाकर्षण गराए । ‘यो वर्तमान व्यवस्थाविरूद्ध भन्दा पनि अवस्था विरूद्धको आवाज हो । आक्रोशित जनतालाई आकर्षित गर्न अब भाषण र प्रतिक्रियाले मात्र पुग्दैन । यी विकृतिको कठोरताका साथ अन्त्य गर्ने युद्धस्तरीय कार्यक्रमले मात्र सम्भव छ,’ उनले भने ।

बैठकमा नेता बलबहादुर केसीले राजनीतिमा ध्रुवीकरण देखिएको भन्दै व्यवस्थाविरूद्धका चुनौती सामानका लागि काङ्ग्रेसले नेतृत्व लिनुपर्ने सुझाव दिएका छन् । पार्टी एक ढिक्का भएर संकट समाधानको नेतृत्व लिनुपर्ने उनको मत छ । ‘देशको राजनीति  गणतन्त्रवादी र राजावादी कित्तामा ध्रुवीकृत भएको छ । राष्ट्रिय राजनीतिमा देखापरेको संकट सम्हाल्ने जिम्मेवारी नेपाली काङ्ग्रेसको काँधमा भएको छ । यसलाई पुरा गर्नुपर्छ,’ बैठकमा उनको भनाइ थियो ।

बैठकमा नेता एनपी साउदे परिस्थिति गम्भीर बनिरहेको भन्दै राजनीतिक घटनामा प्रतिकारको बाटोतर्फ सरकारलाई केन्द्रित नगराउन ध्यानाकर्षण गराएका थिए । ‘अहिलेको राजनीतिक घटनाक्रम हेर्दा प्रतिकारको बाटोतर्फ अग्रसर भइरहेको देखिन्छ । सरकारलाई प्रतिकारमा केन्द्रित गराउनु हुँदैन । यो घटनाक्रमलाई  वार्ता र छलफलमार्फत सम्बोधन गर्नुपर्छ,’ बैठकमा उनले भने,’पार्टीले नेपाली जनताले उत्सर्ग गरेर ल्याएको संविधान रक्षाको नेतृत्व लिनुपर्छ ।’

महामन्त्री विश्वप्रकाश शर्माले सरकारको गति बढाउन र संविधानको रक्षासहित वर्तमान राजनीतिमा देखापरेका परिस्थिति समाधानको नेतृत्व लिन सुझाव आएको बताए । बैठकमा बोल्ने अधिकांश नेताहरूले मुलुकको वर्तमान परिस्थितिप्रति ध्यानाकर्षण गराउँदै सरकारलाई जनभरोसा जित्ने गरी अग्रसर गराउन सुझाव दिएको उनले बताए । ‘काङ्ग्रेसले ती सुझावहरूलाई मनन गर्दै राजनीतिलाई संविधानको परिधी बाहिर जान नदिएर संविधानको रक्षामा दृढतापूर्वक उभिने निर्णय लिएको छ,’ उनले भने ।

सदस्यहरूको धारणा सुनेपछि सभापति शेरबहादुर देउवाले राजसंस्था नफर्किने र संवैधानिक राजा बन्न ज्ञानेन्द्र शाह योग्य पात्र नभएको बताएका थिए । उनले संविधानको रक्षामा पार्टी दृढतापूर्वक उभिने बताए । ‘संविधान बाहिर मुलुक जाँदैन । म फेरि भन्न चाहान्छु ज्ञानेन्द्र संवैधानिक राजा बन्न योग्य पात्र होइनन् नि,’ उनको भनाइ उद्दृत गर्दै नेता बलबहादुर केसीले नेपालभ्युजसँग भने ।

काङ्ग्रेस बैठकले अन्य के- के निर्णय गर्‍यो ?

केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संविधानको रक्षाको पक्षमा पार्टीलाई दृढतापूर्व उभ्याउने निर्णय गरेको छ । संविधानको संरक्षण, सम्वर्द्धन र कार्यान्वयनमार्फत जनताका अपेक्षा पूरा गर्ने निर्णय काङ्ग्रेसको छ । बैठकको निर्णयमा लेखिएको छ,’नेपाली काङ्ग्रेस यो संविधान र संविधानमा आधारित संघीय लोकतान्त्रिक गणतन्त्रप्रति निरन्तर र पूर्ण प्रतिबद्ध रहेको र रहिरहने दृढता व्यक्त गर्दछ । संविधानको संरक्षण, सम्वर्द्धन र कार्यान्वयनमार्फत मुलुकलाई विसंगतिबाट मुक्त गराउँदै जनताको निरन्तर प्रगतिको अपेक्षा र आवश्यकता सम्बोधन गर्न सकिन्छ भन्ने कुरामा काङ्ग्रेस दृढ छ ।’

बैठकले भ्रातृ संगठनका रोकिएका अधिवेशनबारे केन्द्रीय कार्य समितिबाट निर्णय लिने भनेको छ । बैठकले स्ववियु निर्वाचनमा नेविसंघबाट निर्वाचितहरूलाई बधाइ ज्ञापन गरेको छ । यस्तै, सिरहामा महायज्ञका नाममा दलित परिवारको घर भत्काउने घटनामा दोषीलाई कारबाहीको माग गर्दै काङ्ग्रेसले भनेको छ- ‘विष्णु महायज्ञ आयोजना गर्ने सन्दर्भमा दलित समुदायका दीपक मरिकको घर भत्काउने कार्य सामाजिक रूपमा निन्दनीय र कानूनी रूपमा दण्डनीय अपराध हो । उक्त घटनाप्रति काङ्ग्रेस पार्टी घोर भर्त्सना गर्दै दोषिमाथि कारबाहीका लागि सरकारसँग माग गर्दछ ।’

बैठकले क्रियाशील सदस्यता नवीकरणको कुल संख्याको २५ प्रतिशत नयाँ सदस्य थपको प्रस्तावलाई संशोधन गर्दै आवश्यकता अनुसार नयाँ क्रियाशील सदस्य थप गर्ने सैद्धान्तिक सहमति गरेको नेता बलबहादुर केसीले जानकारी दिए । ‘यसअघि हामीले नवीकरण भएका कुल क्रियाशील सदस्य संख्याको २५ प्रतिशत सदस्य थप गर्ने भनेकोमा अब आवश्यकता अनुसार थप गर्ने सैद्धान्तिक सहमति जुटाएको छ,’ उनले भने ।

यस्तै अनुशासन कमिटीलाई पनि यथासिघ्र पूर्णता दिने विषयमा बैठकमा सहमति भएको केसीको भनाइ छ ।

गणतान्त्रिक मोर्चाको आवश्यकता छैन : काङ्ग्रेस

संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि भन्दै गणतान्त्रिक मोर्चा निर्माणको पहललाई काङ्ग्रेसले आवश्यक नरहेको भनेको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रका नेताहरूले काङ्ग्रेसलाई समेत सहभागी गराउँदै गणतान्त्रिक मोर्चा निर्माणको तयारी भइरहेको बताउँदै आएका छन् । उक्त मोर्चा आवश्यक नरहेको काङ्ग्रेसको निष्कर्ष छ ।

महामन्त्री विश्वप्रकाश शर्माले गणतान्त्रिक मोर्चाबारे कतैबाट पनि काङ्ग्रेसलाई औपचारिक प्रस्ताव नआएको बताए । ‘गणतान्त्रिक मोर्चाबारे कतैबाट पनि काङ्ग्रेसलाई औपचारिक प्रस्ताव अहिलेसम्म आएको छैन । आयो भने पनि काङ्ग्रेस मोर्चाबन्दीको पक्षमा छैन,’ उनले नेपालभ्युजसँग भने ।

मोर्चामार्फत रेसलिङ्को पक्षमा काङ्ग्रेस नरहेको उनले बताए । अहिले सबै गणतन्त्रवादी दलहरू जिम्मेवार ढंगले अघि बढ्नुपर्ने बेला पक्कै आएको छ तर, मोर्चा बनाएर रेसलिङ्मा उत्रिने पक्षमा काङ्ग्रेस छैन । यो व्यवस्थाप्रति गणतन्त्रवादी दलहरू प्रतिवद्ध छन् त्यसैले छुट्टै मोर्चा बनाएर प्रतिवाद गरिरहनुपर्ने कुनै आवश्यकता छैन,’ उनले भने ।

बैठकमा ठूला सहरमा सभा आयोजनाका विषयमा समेत छलफल भएको थियो । यद्यपि, तत्काललाई शक्ति प्रदर्शनको आवश्यकता नरहेको निष्कर्ष बैठकको रहेको प्रवक्ता प्रकाशशरण महतले बताए । संविधानको पक्षमा आम जनता उभिएकाले काङ्ग्रेसले शक्ति प्रदर्शनको आवश्यकता ठानेको छैन,’ उनले भने ।

कुनै पनि मोर्चामा आवद्ध नभइकन संविधानको सबल कार्यान्वयनमार्फत आम जनतामा देखिएका निरासा चिर्न काङ्ग्रेस अब अग्रसर हुने उनले बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register