‘नो’ राजतन्त्र, ‘नो’ नेतातन्त्र ?

के आजको युगमा पनि आफ्ना सारा दुःख, निराशा, अन्योल र असन्तुष्टि एकजना राजाको पाउमा समर्पित गरेर कोही ढुक्कले निदाउन सम्भव छ ? हामी लोकतन्त्रमा छौँ र आफ्नो भाग्यको निर्माता हामी आफैँ हौँ । हामीलाई कुनै पालनहार र ख्वामित चाहिएको छैन ।

Mar 28, 2025 - 05:57
 0
‘नो’ राजतन्त्र, ‘नो’ नेतातन्त्र ?

मेरो मनमा अहिले केही प्रश्नहरू निर्माण र विनिर्माण भइरहेका छन् । जस्तो, सडकमा आजकल जो राजा आउ देश बचाउ भनेर नारा लगाइरहेका छन्, उनीहरू को हुन् ? उनीहरूलाई राजा किन चाहियो ? हिजो नेपाली नागरिक किन लोकतान्त्रिक गणतन्त्रका लागि लडे ? र, आज फेरि किन कोही राजा चाहियो भनेर नाराबाजी गर्दैछन् ? समय कसरी यसरी उल्टो घुम्न थाल्यो ? के मान्छे बौलाएका हुन् ? कि साँच्चै मान्छेलाई राजा चाहिएको हो ?

मलाई लाग्छ, मान्छेलाई राजा चाहिएको होइन । मान्छेलाई चाहिएको हो, नेतातन्त्रको बिदाई । अहिले मान्छेलाई नेतासँग झ्वाँक चलेको छ । नेतासँग चौपट्टै रिसाएका छन् मान्छेहरू । त्यही रिसको झ्वाँकमा मान्छेहरू नेताविरुद्ध चर्को नाराबाजी गरिरहेका छन् र एउटा यस्तो बहादुर मान्छे खोजिरहेका छन् जसले आफ्नो रिसको प्रतिनिधित्व गरेर नेतालाई ठेगान लगाओस् ।

त्यसोभए राजाको पक्षमा देखिएको भीड के हो त ? अहिले नेताहरू जो स्वयं राजाको अवतारमा यत्र तत्र देखिँदैछन्, आम मान्छेलाई लागेको छ कि, नक्कली राजाभन्दा त सक्कली पुर्वराजा नै ठीक । जसलाई सिंहासनमा विराजमान गराएर नेतातन्त्रको सेखी झार्न सकियोस् ।

यसरी हेर्दा, आम मान्छे लोकतन्त्रसँग हैन, नेतातन्त्रसँग बिच्किएका छन् । उनीहरूले राजा मन पराएका होइनन्, नेतालाई घृणा गरेका हुन् । र, त्यही घृणाको आगोमा पूर्व राजावादीहरू आफ्नो स्वार्थको रोटी सेकिरहेका छन् । 

को हुन् राजावादी ?

नियाली हेर्दा, मोटामोटी पाँच खालका मान्छे राजावादीको भीडमा देखिन्छन् । पहिलो खाले मान्छेहरू तिनै हुन्, जोसँग राजाको वरिपरि बसेको पुस्तैनी अनुभव, विरासत र स्वाद छ । हिजो उनीहरूसँग मान सम्मान थियो । आफ्ना चाकर, सेवक र प्रजा थिए । जागिर थियो । बिर्ता थियो । आज त्यो रजगज अर्कैले खोसेको छ र उनीहरू गुहार माग्दै राजाको शरणमा पुगेका छन् ।

यी तिनै मान्छेहरू हुन्, जसका पितापुर्खाले हिजो यो देश र नागरिकमाथि सत्ताको उन्मत्त घोडा कुदाए । आज त्यही घोडामा सवार हुन उनका सन्तान दरसन्तान अनेक तानाबाना बुन्दैछन् । र, उनीहरूसँगै उभिएका छन्, राप्रपा लगायतका दल र उनी निकट अभियन्ताहरू ।

दोश्रो खाले मान्छेहरू अलिक फरक छन् । उनीहरू जो हिजो गणतन्त्रको नेतृत्वमा थिए तर, अनेक कारणले सत्ताको स्वादबाट बञ्चित भए । कसैको पार्टी फुट्यो । कसैले चुनाव हारे । कसैको गणित मिलेन । उनीहरू कम्युनिष्ट पनि हुनसक्छन्, काङ्ग्रेस पनि । उनीहरू माओवादी पनि हुनसक्छन् र मधेसवादी पनि । उनीहरू जो जे भएपनि हिजो गणतन्त्रवादी थिए, तर अहिले राजावादी भएका छन् । र, राजाको ओत लागेर उनीहरू पुनः आफ्नो राजनीतिक महत्वाकाङ्क्षाको शिखरमा पुग्न चाहन्छन् ।

यी तिनै असफल मान्छेहरू हुन्, जो आफ्नै सहयात्री कमरेडहरू (मित्र) प्रधानमन्त्री र मन्त्री बनेको आँखै अगाडि देखेर आरिसले जलेका छन् । आफू चुनाव हार्ने र जिल्लिँदै जाने, उता आफूसँगै हिजो सडकमा नारा लगाउने र लोकल ठर्रा पिउनेको यत्रो सान ? यही प्रश्नले उनीहरूको तन मन जलेको छ र त्यो जलेको तनमनलाई शीतल बनाउन उनीहरू गणतन्त्रवादीबाट राजावादी भएका छन् ।

हिजो चप्पल पड्काउँदै राजधानी छिरेका नेताले आज उनीहरूको जत्रै घर बनाएको र राजा बनेर आफ्नै अगाडि छाति तन्काएको उनीहरूलाई पटक्कै मनपरेको छैन । त्यसैले उनीहरू पनि नक्कली राजाको (नेताको) चाकरी छोडेर खानदानी राजाको दलानमा उभिन आइपुगेका छन् ।

तेश्रो खाले मान्छेहरू चै अलिक सम्भ्रान्त छन् । उनीहरू गणतन्त्र आएपछि पनि सत्तामै थिए । जस्तो पूर्व प्रशासक, सेना र प्रहरीका हाकिम, गैससका परामर्शदाता, अन्तराष्ट्रिय संस्थाका जागिरे, पत्रकार, बुद्धिजीवी लगायत एकखाले उच्चवर्ग यो समूहमा पर्दछन् ।

हिजो चप्पल पड्काउँदै राजधानी छिरेका नेताले आज उनीहरूको जत्रै घर बनाएको र राजा बनेर आफ्नै अगाडि छाति तन्काएको उनीहरूलाई पटक्कै मनपरेको छैन । त्यसैले उनीहरू पनि नक्कली राजाको (नेताको) चाकरी छोडेर खानदानी राजाको दलानमा उभिन आइपुगेका छन् ।

चौथो नम्बरमा राप्रपा बनि नसकेको तर, एमाले, काङ्ग्रेस र माओवादी पनि मन नपराउने अर्को जमात छ । जो अहिलेको शासकीय संरचना, चरित्र र ढाँचासँग असन्तुष्ट छ । जो सङ्घीयतालाई सुन्न पनि चाहँदैन । उ सडकमा दैनिक निस्कने अधिकारका आन्दोलनलाई झर्को मानेर सुन्छ र समयलाई धिक्कार्छ । उ पनि राजावादी भएको छ ।

पाँचौ नम्बरमा यस्तो समूह राजाको लाइनमा छ, जसलाई इतिहास थाहा छैन । विगतमा भएका आन्दोलनहरू थाहा छैन । हिजो सत्ताले दिएका दुःख, कष्ट थाहा छैन । जो दन्तेकथा झैँ लाग्ने दरबारका किस्सा सुनेर आनन्दित हुन्छ र त्यस्तै राजा आउने अपेक्षामा राजावादी हुन पुग्छ ।

यो राजावादीहरूको मोटामोटी वर्गीकरण हो । यी सबैको साझा विशेषता के छ भने यिनीहरू सबै समयसँग असन्तुष्ट र निराश छन् । कोही सत्तासँग निराश छन् । कोही व्यवस्थासँग निराश छन् । कोही दलसँग निराश छन् । कोही सरकारसँग निराश छन् । कोही चुनावसँग निराश छन् ।

र, मुख्यतः यिनैमध्येका आम मान्छेहरू नेतासँग निराश छन् । यत्रतत्र लागेको निराशाको कालो बादल हट्ने कुनै सम्भावना उनीहरूले देखेका छैनन् । त्यसैले उनीहरू भन्छन्– राजा आउ देश बचाउ ।

राजाका कुरा 

के राजा आउनासाथ सबैकुराको समाधान हुन्छ ? धेरै विगततिर नलागौँ र कुरा राजा महेन्द्रबाटै सुरु गरौँ । पूर्व पञ्चहरू महेन्द्रलाई दूरदर्शी राजा मान्दछन् । सोचौँ त, दूरदर्शी हुनु भनेको के हो ? के लोकतन्त्रलाई मासेर, जनमतलाई कैद गरेर तानाशाही सत्ताको पुनःउत्थान गर्ने राजालाई दूरदर्शी भनिन्छ ?

दक्षिण छिमेकमा हुर्कंदै गरेको लोकतन्त्रलाई नदेख्ने, विश्वभर फष्टाउँदै गरेको उदारता र न्यायको उज्यालो नदेख्ने, मानवअधिकारका आधारभुत सिद्धान्तहरूबाट बेखबर एक पूर्वाग्रही र अलोकतान्त्रिक तानाशाहलाई दूरदर्शी भनिन्छ ?

औद्योगिकरण, आधुनिक शिक्षा, विज्ञान, कला र साहित्यको प्रवर्द्धनका लागि विश्वस्तरमा के भइरहेका छन्, त्यसको ख्याल नगर्ने र आफ्नै नाम र सत्ताको गुणगानलाई नैतिक आदर्श बनाउने के एक लहडी राजालाई दूरदर्शी भनिन्छ ?

जतिबेला चीन, भारत, सिङ्गापुर, मलेसियाहरू अन्योल, अस्थिरता र गरिबीबाट उठेर विकासको सगरमाथा चढ्दै थिए, राजा महेन्द्रको शाही सवारीले हामीलाई अक्करमा झार्दै थियो । जतिबेला संसारले स्वतन्त्रताको ढोका खोल्दै थियो, राजा महेन्द्र यता ढोका बन्द गर्दै थिए ।

लोकतन्त्रको कुरा छोडौँ, पञ्चायती सत्ता स्वयं षड्यन्त्र, राज्य दोहन र अस्थिरताको जननी थियो । भयो यस्तो कि पञ्चायत लगभग तीस वर्ष चल्यो र ती तीस वर्षमा सोह्रवटा सरकार बने । दरबार स्वयंले गुट र गिरोह चलायो ।

महेन्द्रले निर्माण गरेको राज्य पञ्चहरूका लागि लुटको स्वर्ग थियो, तर नागरिक बोल्न पाउँदैनथे । आलोचना राज्यद्रोह हुन्थ्यो । परिणाम, हामीले समय छँदै ज्ञान, विज्ञान, चेतना र सभ्यताको आफ्नै स्वतन्त्र आकास बनाउन सकेनौँ । हामी अब्बल हुन सकेनौँ । हाम्रो क्षमता औसत स्तरमै खुम्चियो ।

मेरो अनुभव सुनाउँछु । ०४०-४२ सालतिर हामी बिहान बेलुका तीन घण्टा हिँडेर स्कुल पढ्थ्यौ । त्यति नै हिँडेर स्वास्थ्य चौकी पुगिन्थ्यो, जहाँ जुकाको औषधि पनि पाइदैनथ्यो । मान्छेहरू औलो र दादुराबाट मर्थे ।

शाही कालमा दरबार, उसका नातेदार, भूमिगत गिरोहका मालिक र पञ्चहरू कानुनभन्दा माथि थिए । उनीहरूलाई ज्यान मार्न छुट थियो । राजाका आसेपासे समेत सत्ताको उन्मत्त घोडामा चढेर सडकमा निस्कन्थे र जात्रा गर्थे । सत्ताको संरक्षणमा मूर्ति चोरिन्थे, वन फाँडिन्थ्यो र सर्पको छाला बेचिन्थ्यो ।

मेरो गाउँका अधिकांश युवा असम, मेघालय र सुख्खिम काम गर्न जान्थे । स्वयं मेरा बाहरू पनि त्यतै काम गर्थे । गाउँका लगभग ७० प्रतिशत घरमा धानको भात खान दशैं आउनु पर्थ्यो । मधेस झर्ने र झोडा फाँड्नेको ताँती थियो । जिल्लामा एक किमि सडक थिएन । एउटा कलेज थिएन । चार दिन भारी बोकेर धरानबाट नुन ल्याउनु पर्थ्यो ।

शाही कालमा दरबार, उसका नातेदार, भूमिगत गिरोहका मालिक र पञ्चहरू कानुनभन्दा माथि थिए । उनीहरूलाई ज्यान मार्न छुट थियो । राजाका आसेपासे समेत सत्ताको उन्मत्त घोडामा चढेर सडकमा निस्कन्थे र जात्रा गर्थे । सत्ताको संरक्षणमा मूर्ति चोरिन्थे, वन फाँडिन्थ्यो र सर्पको छाला बेचिन्थ्यो ।

त्यो यस्तो समय थियो, जतिबेला कविता, कथा र नाटक कस्तो लेख्नुपर्छ सीडीओले सिकाउँथ्यो । गीत कस्तो गाउनुपर्छ, अञ्चलाधिशले आदेश दिन्थ्यो । समाचारहरू प्रहरीले सम्पादन गर्थ्यो । प्रश्न, आलोचना निषेध थियो । कुन किताब पढ्ने, कुन नपढ्ने अरुले नै निर्णय गर्दथ्यो । न पूर्वाधार, न आर्थिक समृद्धि । न मानव अधिकार, न त सामाजिक न्याय । न त गतिलो विश्वविद्यालय, न त राम्रो स्कुल ।

पूर्वपञ्चहरू तर्क गर्दछन्– ‘त्यो अहिले जस्तो सजिलो समय थिएन’ । अवश्य नै, तर त्यति नै बेला भारतमा रेल गुड्थे । भारत शिक्षाको केन्द्र थियो । बनारस, कलकत्ता । त्यही समयमा भारतले औद्योगिक र कृषि क्रान्तिको बिगुल फुकिसकेको थियो । तर हामीसँग गतिलो कुलो थिएन ।

हामी देख्नसक्छौँ, संसारका अनेक विश्वविद्यालयहरू एक हजार वर्षको इतिहास बोकेर उभिएका छन् । शाहहरूलाई कसले रोक्यो दुई सय वर्ष अगाडि विश्वविद्यालय बनाउन ? अस्पताल बनाउन । रेल ल्याउन । कुलो, पैनी खन्न ।

विकास क्षेत्रै पिच्छे बडेबडे दरबार बनाउने शाहहरूलाई कसले रोक्यो, त्यहाँ नाट्याशाला, पुस्तकालय र सांस्कृतिक केन्द्र बनाउन । चोक चोकमा आफ्नो सालिक राख्न लगाउने राजाहरूलाई कसले रोक्यो नगरमा सुन्दर पार्क बनाउन ? 

संसारका प्राचिनतम सहरहरू हजार वर्षको इतिहास बोकेर भव्यतापूर्वक उभिएका छन् । ठूला सडक, खुला ठाउँ, भव्य आवास, व्यवस्थित बनोट । तर, हाम्रा सहरहरूलाई सुकुम्बासी बस्ती जस्तो अव्यवस्थित र साँघुरा बनाउने काम कसले गर्‍यो ?

यो सबै हेर्दा लाग्छ, राजतन्त्रमा देश स्वर्ग थियो भन्नु फगत सेवकहरूको भ्रम हो । सत्य यो हो कि राजतन्त्रले हामीलाई विश्व प्रतिस्पर्धाको महान अवसरबाट सङ्कुचित गर्‍यो र हामी गरिब, पछौटे, सीमान्त र लाचार रहन बाध्य भयौँ ।

त्यसो त, राजावादीहरू अन्य मुलुकका राजाको उदाहरण दिँदै भन्छन्– ‘नर्वे, इङ्ल्यान्ड, जापान आदी हेर, के ती देशका मान्छे मूर्ख छन्’ ? अवश्य नै ती देशमा राजा छन् । त्यसो त चीनमा कम्युनिष्ट पार्टी सत्तामा छ । अरबमा छ- धर्मिक सत्ता । अर्थात, अन्यत्र जे छ, त्यो उसको कुरा हो । हामीलाई के चाहिन्छ, त्यो हाम्रो छनोट हुनुपर्छ ।

विचार गरौँ त के हामी नर्वे वा इङ्ग्ल्याण्ड जस्तो परिवेशमा छौँ ? के हाम्रो देशमा अरबको जस्तो धार्मिक सत्ता सम्भव छ ? के हामी चीनकै जस्तो कम्युनिष्ट व्यवस्था चाहन्छौँ ?

इङ्ग्ल्याण्ड वा नर्वेमा आफ्नै विशेषताका राजतन्त्र छन् । अरबको आफ्नै विशेषता छ, चीनको आफ्नै र नेपालको आफ्नै । हरेक देशका आफ्नै विशेषता हुन्छन् र राम्रो मौलिक विशेषताले भन्छन् – नेपालमा राजतन्त्र फर्किन असम्भव छ । त्यसका मोटामोटी छ वटा कारण छन् ।

पहिलो, हामीसँग लामो राजनीतिक आन्दोलनको इतिहास छ । त्यो आन्दोलन मुख्यतः सामन्तवाद विरुद्ध थियो र जसको नायक थियो स्वयं राजतन्त्र । नेपाली जनता र राजतन्त्रबीचमा जुन अनवरत अन्तरविरोध चल्यो, त्यो अर्थमा राजतन्त्र नागरिकको आसा र अपेक्षाको केन्द्र कहिल्यै भएन र छैन ।

जगजाहेर छ कि, हाम्रो राजसंस्था नेपाली जनताको विशाल जनआन्दोलनबाट विस्थापित भएको हो । कुनै षड्यन्त्रबाट होइन । न त सैनिक विद्रोहबाट हो, न त कसैको जालझेलबाट । जुन चिज विशाल आन्दोलनको बलमा फालिन्छ, त्यो फेरि फर्किएर आउँदैन ।

दोश्रो हाम्रो राजतन्त्रले देशको बहुलता, विविधता र सामूहिकताको कहिल्यै प्रवर्द्धन गरेन । यो जातीय, भाषिक र धार्मिक कट्टरताको नेता बन्यो । त्यसैले हाम्रो विविधताले भन्छ राजसंस्था हाम्रो मौलिक विकल्प होइन ।

तेश्रो, हाम्रो राजतन्त्रसँग कुनै ओज र गरिमा छैन । न त ऋषि मन छ, न त निष्ठा र नैतिकता । न त ज्ञान छ, न त उदारता । अतः पृथ्वीनारायणलाई देखाएर राजसंस्थाको पुजा गर्नुपर्छ भन्नु नागरिक शक्तिको अपमान मात्र हो । यो हाम्रो समाधान होइन ।

तथ्य के हो भने, जसलाई राजावादीहरू पुनर्स्थापित गर्न खोज्दैछन्, त्यहाँ ज्ञान, इमान र अनुभवको थोरै पनि उज्यालो छैन । के कारणले राजसंस्था आएपछि देश बन्छ ? न त त्यहाँ योजना छ, न त अनुभव छ, न त इमान, जसलाई हेरेर आश्वस्त हुन सकियोस् ।

मानौँ राजावादीहरूले पूर्वराजा ज्ञानेन्द्रलाई नै पुनर्स्थापित गर्न चाहेका हुन् भने पनि, उनको परिवार, पारिवारिक प्रतिष्ठा, छोरा छोरीको क्षमता र चरित्रले के त्यो गरिमा बोक्छ ? राजतन्त्र फर्किनका लागि त्यो परिवारमा जुन नैतिक मूल्य र प्रतिष्ठा आवश्यक हुन्छ, त्यो नभएको राजसंस्था कसरी फर्किन्छ ?

लोकतन्त्र यस्तो अद्भूत चिज हो, जसले राजावादीलाई नारा लगाउन छुट त दिन्छ । तर, जनमतले उल्टो हिँड्न अनुमति दिँदैन । यदि लोकतन्त्रमा सङ्कट छ भने, यसले स्वयं आफ्ना सङ्कट, कमजोरी करेक्सन गर्छ र त्यसका लागि अझ अगाडि बढ्छ । तर पछाडि फर्कदैनँ ।

चौथो, जुन शाही लिगेसी राजा वीरेन्द्रको वंश हत्यासँगै टुट्यो त्यो शाहवंश अब कसैसँग छैन । अतः न त वीरेन्द्र पछि नेपालमा राजसंस्था थियो, न त अहिले त्यसको कुनै अवशेष छ । हुँदै नभएको संस्थालाई राजसंस्था भन्नु र त्यसलाई फर्काउने कल्पना गर्नु राजनीतिक रुपमा अर्थहीन र उल्टो कुरा हो ।

पाँचौ, लोकतन्त्र यस्तो अद्भूत चिज हो, जसले राजावादीलाई नारा लगाउन छुट त दिन्छ । तर, जनमतले उल्टो हिँड्न अनुमति दिँदैन । यदि लोकतन्त्रमा सङ्कट छ भने, यसले स्वयं आफ्ना सङ्कट, कमजोरी करेक्सन गर्छ र त्यसका लागि अझ अगाडि बढ्छ । तर पछाडि फर्कदैनँ ।

छैटौँ, कुनै पनि देशमा परिवर्तनले धकेलेर किनारमा पुर्‍याएको एउटा शक्ति हुन्छ । जो आन्दोलनपछि बन्ने नयाँ व्यवस्थाले निर्माण गरेको शासकीय प्रवन्धन्, नयाँ सत्ता र शासकसँग त्यसै त्यसै जलिरहन्छ । यदि नयाँ व्यवस्थाले काम गर्‍यो भने त्यो परम्परागत शक्ति तीन चार प्रतिशतमा स्थिर हुन्छ । अन्यथा त्यो आठ दश प्रतिशत पुग्छ ।

हामीकहाँ अहिले तिनै असन्तुष्टहरूको आवाज प्रखर भएको हो । जो हल्ला गर्न त काफी छ, तर व्यवस्था उल्टाउन काफी छैन ।

यसरी हेर्दा अहिले राजाको वरिपरि जुन भीड देखिन्छ, त्यो राजाको क्षमता विश्वसनीयता र योग्यताबाट जम्मा भएको भीड होइन । न त त्यसको राजनीतिक अर्थ छ, न त ऐतिहासिक र नैतिक जग । त्यो भीड राजा असल र योग्य छन् भनेर जम्मा भएको पनि होइन । त्यो भीड जम्मा हुनुको कारण हो गणतन्त्रवादी नेताहरूको नालायकी । नेतातन्त्रको जगजगी र त्यसले सृजना गरेको आम निराशा ।

अतः यो नेतातन्त्रले निर्माण गरेको ‘फ्रष्टेसन’ हो । यो आवेग हो । यो सुविचारित राजनीति होइन ।

त्यसोभए के हो त सुविचारित कुरा ? सुविचारित कुरा के हो भने, गणतन्त्रभन्दा राजतन्त्र किमार्थ उन्नत व्यवस्था होइन । के आजको युगमा पनि आफ्ना सारा दुःख, निराशा, अन्योल र असन्तुष्टि एकजना राजाको पाउमा समर्पित गरेर कोही ढुक्कले निदाउन सम्भव छ ? हामी लोकतन्त्रमा छौँ र आफ्नो भाग्यको निर्माता हामी आफैँ हौँ । हामीलाई कुनै पालनहार र ख्वामित चाहिएको छैन ।

एउटै विकल्प 

अतः राजा आफ्नै कारणले फर्किन असम्भव छ । त्यो न त योग्यताका कारणले सम्भव छ, न त आवश्यकताका कारणले । कथमकदाचित राजा फर्किन सम्भव छ भने तिनका कारणले सम्भव छ जो गणतन्त्रको शिरमा बसेर यसको जग भत्काइरहेका छन् ।

को हुन् ती गणतन्त्रको शिरमा बसेर यसको जग भत्काउनेहरू ? ती हुन् नेतातन्त्रका ख्वामितहरू । जो नयाँ बादशाहको अवतारमा उपस्थित भइ, बाँसुरी बजाइरहेका छन् । सत्ता, शक्ति र सम्पत्तिको तिर्सनाले भरिएका तिनै मान्छेहरू आज लोकतन्त्रको नाममा स्वयं यसको हुर्मत काढिरहेका छन् ।

यसरी हेर्दा, आजको हाम्रो आवश्यकता न त राजतन्त्र हो, न त नेतातन्त्र । हाम्रो आवश्यकता हो लोकतन्त्रको सबलिकरण र सबैखाले राजतन्त्र (नेताराज) को अन्त्य ।

त्यसैले अब भन्नुपर्छ– ’नो’ राजतन्त्र, ’नो’ नेतातन्त्र ।

अर्थात, आजको विकल्प हो लोकतन्त्रको पूर्ण लोकतान्त्रिकरण । नेतातन्त्रको अन्त्य । सुशासन, समृद्धि र विकास । किनभने, लोकतन्त्रको विकल्प राजतन्त्र हुनै सक्दैन न त नेतातन्त्र नै हुन्छ । अतः आजको आवश्यकता हो, सबल लोकतन्त्र । बन्धनरहित लोकतन्त्र । अग्रगामी र समावेशी लोकतन्त्र ।

अन्त्यमा, दल र दरबार दुवैतिरका राजावादी मित्रहरूलाई एउटा अनुरोध गर्छु । मित्रगण, राजतन्त्र (नेतातन्त्र)लोकतन्त्रबीचमा त्यति नै फरक छ जति अँध्यारो र उज्यालोमा फरक छ । तपाईं अँध्यारोलाई प्रेम गर्नुहुन्छ कि उज्यालोलाई ? यो तपाईंको छनोट हो । म मात्र यति अनुरोध गर्छु, अँध्यारो उज्यालोको कहिल्यै विकल्प हुन सक्दैन ।

dahal.keshab@gmail.com

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register