सुरु भयो बिहारमा विधानसभा चुनावको सरगर्मी

काठमाडौं । नेपालसँग सीमा जोडिएको भारतको उत्तरी राज्य बिहारमा नयाँ विधानसभा निर्वाचनको सरगर्मी सुरु भएको छ । यो वर्षको नोभेम्बरभित्र त्यहाँ निर्वाचन हुनुपर्ने छ । तर, राजनीतिक दलहरुका चुनावी योजना, रणनीति र क्रियाकलाप भने अहिलेबाटै सुरु भइसकेको छ । बिहारमा सन् २००५ यता २० वर्षदेखि जनता दल युनाइटेड (जेडियू) का नेता नीतिश कुमार निरन्तर मुख्यमन्त्री […]

Apr 10, 2025 - 09:35
 0
सुरु भयो बिहारमा विधानसभा चुनावको सरगर्मी

काठमाडौं । नेपालसँग सीमा जोडिएको भारतको उत्तरी राज्य बिहारमा नयाँ विधानसभा निर्वाचनको सरगर्मी सुरु भएको छ ।

यो वर्षको नोभेम्बरभित्र त्यहाँ निर्वाचन हुनुपर्ने छ । तर, राजनीतिक दलहरुका चुनावी योजना, रणनीति र क्रियाकलाप भने अहिलेबाटै सुरु भइसकेको छ ।

बिहारमा सन् २००५ यता २० वर्षदेखि जनता दल युनाइटेड (जेडियू) का नेता नीतिश कुमार निरन्तर मुख्यमन्त्री छन् । उनी फरक-फरक प्रकारका गठबन्धन सरकारको नेतृत्व गर्दै ९ पटक मुख्यमन्त्री भइसकेका छन् । गठबन्धन फेर्ने कलामा पोख्त मानिएका नीतिश कुमारलाई भारतीय राजनीतिमा ‘पल्टु राम’ भन्ने गरिन्छ ।

अहिले उनी भाजपासहित ‘एनडीए’ गठबन्धन सरकारको नेतृत्व गरिरहेका छन् । जेडियू केन्द्रका प्रधानमन्त्री नरेन्द्र मोदीको मुख्य सहयोगी दल हो । बिहार राजनीतिको सत्ता समीकरणमा फेरबदल भए केन्द्रीय सरकारसमेत धरापमा पर्ने हुँदा भाजपा यस्तो जोखिम उठाउन सक्ने अवस्थामा छैन ।

यसको सिधा अर्थ फेरि एकपटक नीतिश कुमारलाई राजनीतिक लाभ हुनेछ । भाजपा नीतिश कुमारलाई १०औं पटकका लागि मुख्यमन्त्री अघि सारेर चुनावी अभियानमा जान बाध्य हुनेछ । भाजपाले नीतिशकै गठबन्धन नेतृत्वमा आगामी विधानसभा निर्वाचन लड्ने छ ।

नीतिशको जेडियू भाजपा र राष्ट्रिय जनता दल (आरजेडी) पछि बिहार राजनीतिको तेस्रो ठूलो दल हो । तेस्रो स्थानमा भएर पनि यो पार्टीले दुई दशकभन्दा बढी समयदेखि सत्ताको नेतृत्व गर्ने अवसर पायो ।

केन्द्रीय सत्ता गठबन्धनबाट सृजित बाध्यताको कारण बारम्बार पहिलो ठूलो दल बनेर पनि भाजपाले बिहारमा प्रदेश सरकारको नेतृत्व गर्ने अवसर अहिलेसम्म पाएको छैन ।

कतिपयको चर्चा छ कि आगामी निर्वाचनबाट नीतिशले आफ्ना छोरा निशान्त कुमारलाई अघि सार्ने सम्भावना छ । नीतिश समर्थकले पार्टी कार्यक्रममा ‘ बिहारकी माग, सुनो निशान्त’ को नारा लगाउने गरेका छन् ।

नीतिशका छोरा निशान्त अहिलेसम्म सक्रिय राजनीतिमा देखिएका थिएनन् । यस निर्वाचनबाट उनी पार्टी र चुनावी राजनीतिमा सक्रिय हुने र भविष्यमा उत्तराधिकार सम्हाल्ने चर्चा चल्न थालेको छ । ४९ वर्षीय निशान्त नीतिशका एक्ला सन्तान हुन् ।

बिहार राजनीतिमा परिवारवाद कुनै नयाँ कुरा हैन । उमेरले वृद्ध, शारिरिक मानसिक रुपमा शिथिल हुँदै गएका नीतिशले यथोचित समयमा छोरा निशान्तलाई अघि सारे कुनै आश्चर्य हुने छैन ।

बिहार राजनीतिमा तेजस्वी यादव र चिराग पासवानले पनि विरासतकै राजनीति गरिरहेका छन् ।

केन्द्रको विपक्षी दल भारतीय राष्ट्रिय काङ्ग्रेस सन् १९९० यता ३५ वर्षदेखि निरन्तर बिहारको सत्ताबाहिर छ । स्वतन्त्रतापछि सन् १९९० को दशकसम्म काङ्ग्रेस बिहारको सबैभन्दा प्रमुख दलमध्ये एक थियो । काङ्ग्रेसले बारम्बार बिहार सरकारको नेतृत्व गरेको थियो । सन् १९९० को दशकमा लालु यादवको उदयसँगै काङ्ग्रेस कमजोर भएको हो ।

केही चुनावयता काङ्ग्रेस लालु यादव नेतृत्वकै राष्ट्रिय जनता दल (आरजेडी) सँग मिलेर कनिष्ठ साझेदारका रुपमा चुनाव लडिरहेको छ । गत विधानसभा चुनावमा गठबन्धनबाट ७० सीटको उम्मेदवारी पाएको काङ्ग्रेसले १९ सीटमा मात्र विजय हासिल गर्न सकेको थियो ।

आरजेडीको नेतृत्व अहिले पूर्वमुख्यमन्त्रीहरु लालु यादव–रावडीदेवी यादवका छोरा तेजस्वी यादवले गरिरहेका छन् । उनी बिहार विधान सभामा प्रमुख विपक्षी दलका नेतासमेत हुन् ।

भाजपा र आरजेडीलाई बिहार राजनीतिका मुख्य दुई ठूला दल मानिन्छ । भाजपाले जेडियूलाई गठबन्धन साझेदार बनाउदा आरजेडीले काङ्ग्रेस र अन्य साना दलहरुसँग मिलेर गठबन्धन बनाउने गरेको छ । आगामी निर्वाचनमा पनि ठीक यही प्रकारको ध्रुवीकरण र गठबन्धन दोहोरिने सम्भावना छ ।

काङ्ग्रेससँग यसपटक पप्पु यादव र कन्हैया कुमारजस्ता लोकप्रिय र प्रदेश राजनीतिलाई प्रभावित गर्न सक्ने अनुहार छन् । लोकसभा निर्वाचनमा स्वतन्त्र उम्मेद्वारी दिएर जितेका पप्पु यादव काङ्ग्रेस प्रवेश गरेका छन् । पप्पुको प्रभाव र पार्टी प्रवेशले बिहार राजनीतिमा काङ्ग्रेसको हैसियत वृद्धि गरेको छ ।

कन्हैया कुमार सन् २०१९ को लोकसभा चुनावमा भारतीय कम्युनिष्ट पार्टीको तर्फबाट बेगुसराय निर्वाचन क्षेत्रमा उम्मेदवार थिए । निर्वाचन जित्न नसके पनि उनी राम्रो मतसहित प्रतिस्पर्धी भएका थिए । त्यसपछिका दिनमा उनी काङ्ग्रेस प्रवेश गरे । गत आम निर्वाचनमा दिल्लीबाट लोकसभा सदस्यको उम्मेदवार बनेका कन्हैया कुमारले यसपटक पनि जित हासिल गर्न भने सकेनन् ।

उनी फेरि बिहार राजनीतिमा सक्रिय हुन खोज्दैछन् । बेगुसराय क्षेत्रमा उनले ‘पलायन रोको, नोकरी दो जनअभियान’ चलाइरहेका छन् । राहुल गान्धी पछिल्ला केही महिना यता बारम्बार बिहार पुगेका छन् ।

काङ्ग्रेसले प्रदेश राजनीतिमा पुनर्स्थापित हुन सम्भव सबै प्रयत्न गरिरहेको छ ।

बिहार राजनीतिमा नयाँ परिदृष्य भने चर्चित राजनीतक रणनीतिकार डा. प्रशान्त किशोरको प्रवेशलाई मानिएको छ ।

प्रशान्त किशोर जन सुराज पार्टी गठन गरी बिहार राजनीतमा सक्रिय भएका छन् । सन् २०२३ को अगष्टमा पार्टी गठन गर्नुअघि उनले केही वर्ष जन सुराज अभियान चलाएका थिए । तर, प्रशान्त किशोर आफैँ पार्टी अध्यक्ष नभएको र भावी मुख्यमन्त्रीको दाबी गर्न नसकेको सन्दर्भमा उनको अभियान कमजोर हुन सक्ने विश्लेषण गरिँदैछ ।

प्रशान्त किशोरको अभियान र नयाँ पार्टीलाई बिहारका जनताले कस्तो प्रतिक्रिया गर्लान् ? त्यसको परिक्षण पनि आगामी विधानसभा निर्वाचनमा हुनेछ ।

दुई ठूला गठबन्धनका बीच प्रशान्त किशोरको नयाँ जन सुराज पार्टीको उपस्थिति निक्कै पेचिलो हुनेछ । भलै कि प्रशान्त किशोरले कसैसँग गठबन्धन नगरीकन पार्टीले कुल २४३ सीटमै उम्मेदवार खडा गर्ने घोषणा गरेका छन् ।

बिहार भारतको सबैभन्दा गरिब र कम प्रतिव्यक्ति आय भएको प्रदेश हो । करिब १३ करोड जनसङ्ख्या भएको बिहारले भारतीय राजनीतिमा भने महत्वपूर्ण भूमिका गर्दछ ।

सन् १९७० को दशकको जेपी आन्दोलनबाट निर्मित भारतीय जनता पार्टीको मुख्य राजनीतिक प्रभाव रहेको प्रदेश पनि हो बिहार । लालु यादव नेतृत्वको आरजेडी र नीतिश कुमार नेतृत्वको जेडियू दुवै दल जेपी आन्दोलनका उत्पादन हुन ।

कम्युनिष्ट समूहमध्ये भने बिहार राजनीतिमा भाकपा ( माले–लिवरेशन ) बलियो छ । यसले आरजेडी–काग्रेस गठबन्धनबाट चुनाव लड्ने गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register