प्रधानमन्त्री ओलीबाट श्रृंखलाबद्ध असहयोग र अपमानपछि शिक्षा मन्त्रीको राजीनामा

काठमाडौं । प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीबाट श्रृंखलाबद्ध  असहयोग र अपमानपछि विद्या भट्टराईले शिक्षा मन्त्रीबाट राजीनामा दिएकी छन् । शिक्षक आन्दोलन उत्कर्षमा रहेका बेला उनको राजीनामा आएको हो । शैक्षिक सुधारका एजेन्डा र शिक्षक आन्दोलनका सवाल सम्बोधनका प्रयासमा असहयोग र अपमानपछि राजीनामा दिन बाध्य भएको भट्टराई निकट सांसद र एमाले पदाधिकारीहरूले बताएका […]

Apr 21, 2025 - 15:22
 0
प्रधानमन्त्री ओलीबाट श्रृंखलाबद्ध असहयोग र अपमानपछि शिक्षा मन्त्रीको राजीनामा

काठमाडौं । प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीबाट श्रृंखलाबद्ध  असहयोग र अपमानपछि विद्या भट्टराईले शिक्षा मन्त्रीबाट राजीनामा दिएकी छन् । शिक्षक आन्दोलन उत्कर्षमा रहेका बेला उनको राजीनामा आएको हो ।

शैक्षिक सुधारका एजेन्डा र शिक्षक आन्दोलनका सवाल सम्बोधनका प्रयासमा असहयोग र अपमानपछि राजीनामा दिन बाध्य भएको भट्टराई निकट सांसद र एमाले पदाधिकारीहरूले बताएका छन् ।

सतहमा राजीनामाको कारण शिक्षक आन्दोलनको पृष्ठभूमि देखिए पनि यसमा विविध विषयका शिलशिला जोडिएका छन् ।

एमाले नेतृ भट्टराई शैक्षिक सुधारका एजेन्डामा सक्रिय थिइन् । विश्वविद्यालयलाई स्वायत्त बनाउनुपर्ने, त्रिवि उपकुलपतिको राजीनामा फिर्ता गर्नुपर्ने, त्रिभुवन विश्वविद्यालयका हिनामिना भएका जग्गाहरूमा अनुसन्धान गर्नुपर्ने, शैक्षिक सुधारका लागि शिक्षामा बजेट बढाउनुपर्ने लगायतका विषयमा उनले बल गर्दै आएकी थिइन् । एमाले उपाध्यक्ष युवराज ज्ञवाली शैक्षिक सुधारका सवालमा मन्त्रीका रूपमा भट्टराईले निकै राम्रो पहल र काम गरेको बताउँछन् ।

उनको आकस्मिक राजीनामाले आफू आश्चर्य भएको उनले बताए । ‘शैक्षिक सुधारका एजेन्डामा भट्टराईले निकै कुशल तरिकाले अघि बढिरहनुभएको थियो । निकै सह्रानीय काम गरिरहनुभएको उहाँको आकस्मिक राजीनामाले म आश्चर्यमा छु,’ उनले भने ।

एमाले उपमहासचिव प्रदीप ज्ञवालीले शिक्षकहरूको माग सम्बोधनमा अहोरात्र खटिँदा पनि शिक्षकहरूले नै साथ नदिएपछि भट्टराई नैतिक दबाब परेको हुनसक्ने बताए । यो बीचमा शैक्षिक सुधारका लागि उहाँले निकै सह्रानीय काम गर्नुभएको थियो । शिक्षकहरूको माग सम्बोधनका सवालमा पनि उहाँ विधेयक निर्माणमा अहोरात्र खटिनुभयो । उहाँको प्रयत्नमा शिक्षकहरूले नै साथ नदिएर आन्दोलन चर्काएपछि राजीनामाका लागि उहाँ नैतिक दबाबमा पर्नुभएको हुनसक्छ,’ ज्ञवालीले नेपालभ्युजसँग भने ।

शैक्षिक सुधारका लागि प्रयत्नशील भट्टराईलाई प्रधानमन्त्रीले साथ नदिएको एमाले नेताहरू बताउँछन् । त्रिविको उपकुलपतिबाट केशरजंग बरालको राजीनामा फिर्ता गर्नुपर्ने विषय,  काठमाडौं विश्वविद्यालयमा उपकुलपति नियुक्ति प्रकरण र अन्य शैक्षिक सुधारका मुद्दामा प्रधानमन्त्रीले भट्टराईलाई निरन्तर असहयोग गरेको एमालेका एक पदाधिकारीले नाम उल्लेख नगर्ने सर्तमा बताए । ‘मन्त्रीका हिसाबले उहाँले शैक्षिक सुधारका धेरै प्रयत्न अघि बढाउनुभएको थियो । प्रधानमन्त्रीले उहाँलाई सहयोग गरेको देखिएन । भेट माग्दा भेट नदिने, शैक्षिक आन्दोलन समाधानका छलफलमा उहाँलाई बाइपास गर्ने काम भइरहे । शिक्षक आन्दोलन साम्य पार्ने भट्टराईको योजना थियो । प्रधानमन्त्रीले शिक्षकहरूलाई झनै उग्र बनाउने काम गर्नुभयो । निरन्तर अपमान र असहयोगपछि उहाँ राजीनामा दिन बाध्य हुनुभएको हो,’ ती पदाधिकारीले भने ।

ती पदाधिकारीका अनुसार पछिल्लो समय प्रधानमन्त्रीको नम्बरमा फोन गर्दा समेत स्वकीय सचिव राजेश बज्राचार्यमार्फत कुरा राख्न मन्त्री भट्टराईलाई भनिएको थियो । ‘आफ्ना कुरा राख्न उहाँले प्रधानमन्त्रीको नम्बरमा फोन गर्दा राजेश ब्रजाचार्यले फोन उठाएर आफूले कुरा सुनेर प्रधानमन्त्रीलाई खबर गर्ने कुरा भयो । प्रधानमन्त्रीसँग सिधै कुरा गर्छु भन्दा उहाँलाई कुरा गर्न समेत दिइएन । यो जस्तो अपमान के हुन्छ ?,’ ती पदाधिकारीले भने ।

बालुवाटारमा शिक्षक आन्दोलन सम्बोधनका लागि बैठक हुँदासमेत मन्त्री भट्टराईलाई आमन्त्रण गरिएको थिएन । शिक्षकहरूको माग सम्बोधनका लागि मन्त्री भट्टराईकै अग्रसरतामा सात बुँदे मस्यौदा तयार भएको थियो । सात बुँदे प्रस्तावमा स्थायी प्रकृतिका शिक्षकलाई स्थायी गर्ने, बिरामी बिदाको पैसा दिने, निजामती अस्पतालमा उपचार गराउन छुट दिने, राहत शिक्षकलाई दुर्गम भत्ता दिने, बाल विकासका शिक्षकको तलब बढाउने, शिक्षकको मर्यादाक्रम वृद्धि गर्ने र आवश्यकता अनुसार ग्रेड वृद्धि गर्ने उल्लेख छ । यी सबै विषय सम्बोधनका लागि स्रोत सुनिश्चित गर्न उनले अर्थमन्त्री विष्णु पौडेलसँग पनि छलफल गरेकी थिइन् ।

तर मन्त्री पौडेलले बजेट दिन नसक्ने जवाफ दिएपछि मन्त्री पौडेल र भट्टराईबीच भनाभनको परिस्थिति समेत सृर्जना भएको एमालेका एक सांसदले बताउँछन् । ‘सहमतिको मस्यौदा तयार गरेपछि स्रोत सुनिश्चित गरेर मन्त्रिपरिषद्मा औपचारिक प्रस्ताव लाने उहाँको तयारी थियो । तर त्यसका लागि बजेट नदिने जवाफ आएपछि उहाँहरूबीच भनाभनको परिस्थिति पनि भयो । समस्या समाधानको सट्टा समस्या बल्झाउने काम भयो । काम गर्न नदिएपछि मन्त्री पद मात्रै ओगटेर बस्नु उचित नहुने निष्कर्षमा उहाँ पुग्नुभएको हो,’ ती सांसदले भने ।

शिक्षा मन्त्रीबाट विद्या भट्टराईले राजीनामा दिनुपर्ने परिस्थिति सृर्जना हुनु निकै दुःखद रहेको एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले बताइन् । विषयमा विज्ञता भएको नैतिक चरित्र भएकी भट्टराईले राजीनामा दिनुपर्ने परिस्थिति सिर्जना हुनु प्रधानमन्त्री स्वयमका लागि पनि सुखद नभएको उनको भनाइ छ । ‘सक्षम विज्ञ मान्छेहरू सरकारमा भए न सरकार सफल हुने हो । विद्याले राजीनामा दिनुपर्ने परिस्थिति निम्तिनु प्रधानमन्त्री स्वयमका लागि पनि राम्रो होइन,’ उनले भनिन् ।

स्वाभिमानी र नैतिकवान् विद्यालाई केही दबाब भएको हुनसक्ने आकलन उपाध्यक्ष शाक्यको छ । ‘भित्र के भएको हो त मैले सम्पर्क गर्न पाएको छैन । तर विद्या निकै स्वाभिमानी मान्छे हो । उसलाई सक्दो सहयोग गरेर सफल बनाउनुपर्थ्यो,’ उनले भनिन् ।

विद्या भट्टराईले राजीनामा दिएसँगै उनको स्थानमा अन्जान शाक्यलाई मन्त्री बनाउने तयारी छ । शाक्य राष्ट्रियसभा सदस्य हुन् ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register