शिक्षकहरूलाई ‘भालुको कन्पट’ जस्तै भइरहेको छ आन्दोलन (भिडिओसहित)

काठमाडौं । विद्यालय शिक्षा ऐन जारी गर्न माग राखेर २४ दिनदेखि सडकमा आन्दोलनरत शिक्षक सरकारले पटक-पटक गरेको वार्ता प्रयासका बावजुद पनि टसमस भएका छैनन् । नयाँ वर्षको शैक्षिक सत्रको सुरु, एसइई परीक्षाका उत्तरपुस्तिका जाँच र कक्षा १२ को परीक्षा सम्पन्न गर्नुपर्नेलगायतका बाध्यतामा यतिबेला शिक्षकहरू सडकमा छन् । नयाँ शैक्षिक सत्र सुरु भएपछि निजी विद्यालयमा धमाधम […]

Apr 25, 2025 - 10:55
 0
शिक्षकहरूलाई ‘भालुको कन्पट’ जस्तै भइरहेको छ आन्दोलन (भिडिओसहित)

काठमाडौं । विद्यालय शिक्षा ऐन जारी गर्न माग राखेर २४ दिनदेखि सडकमा आन्दोलनरत शिक्षक सरकारले पटक-पटक गरेको वार्ता प्रयासका बावजुद पनि टसमस भएका छैनन् ।

नयाँ वर्षको शैक्षिक सत्रको सुरु, एसइई परीक्षाका उत्तरपुस्तिका जाँच र कक्षा १२ को परीक्षा सम्पन्न गर्नुपर्नेलगायतका बाध्यतामा यतिबेला शिक्षकहरू सडकमा छन् ।

नयाँ शैक्षिक सत्र सुरु भएपछि निजी विद्यालयमा धमाधम पढाइ हुन थालेको छ भने सरकारी विद्यालय शिक्षकहरूको आन्दोलनका कारण ठप्प छन् । तर, यता सरकारसँग वार्तासमेत हुन नसक्दा शिक्षकहरू न आन्दोलन छाडेर विद्यालय फर्किन सकेका छन् न सडकमै बसेर निरन्तर आन्दोलन गरिरहन सक्ने अवस्थामा छन् ।

कतिपय शिक्षकहरूलाई विद्यार्थी र अभिभावकले फोन गरेरै चासो राख्न थालेपछि तनाव बढ्न थालेको आन्दोलनमा सहभागी शिक्षकहरूको गुनासो छ ।

उदयपुरको बेलका नगरपालिकास्थित श्री कोशी माविका प्रधानाध्यापक तुलसी खड्का गाउँबाट अभिभावकका यस्ता फोन आउने गरेको बताउँछन् ।

‘अब त थाकिसक्यौँ । बुढो शरीर यो घाममा कति कराओस्, कति उफ्रियोस् । यतिका दिनसम्म पनि माग पूरा गरिदिने छाँट छैन,’ खड्का सुनाउँछन्, ‘अभिभावकहरू फोन गरेर हेडसर हाम्रो बच्चाको के दोष थियो र पढ्न नपाएको भन्नुहुन्छ ।’

प्रधानाध्यापक खड्का यतिबेला यतिका दिनसम्म गरेको आन्दोलन यसै छाडेर जान पनि नसकेको र विद्यार्थीको गुनासो सम्बोधन पनि गर्न नसकेको भन्दै असमञ्जस्यता व्यक्त गर्छन् । ‘शिक्षक आन्दोलन भालुको कन्पटजस्तै भइसक्यो । छोडे आफैँलाई खान्छ, नछोडे कहिलेसम्म समाति राख्ने ?,’ उनी भन्छन् ।

प्रधानाध्यापक तुलसी खड्का

विद्यालय प्रधानाध्यापकको जिम्मेवारीमा भएकाले विद्यार्थीको पढाइ बिग्रने हो कि भन्ने चिन्ताले खड्का पिरोलिएका छन् । तर, आन्दोलनले विद्यार्थीलाई भइरहेको शैक्षिक क्षति जसरी पनि पूर्ति गर्ने योजना उनको छ ।

अभिभावक र विद्यार्थीलाई प्रधानाध्यापक खड्काको सन्देश छ, ‘तपाईंहरू नआत्तिनु, हामी विद्यार्थीको पढाइ बिग्रिन दिने छैनौँ । बिदा कटाएर हुन्छ कि, शुक्रबार पूरा समय पढाएर हुन्छ कि हामी यो शैक्षिक क्षतिको भरपाइ गर्छौँ ।’

बिहीबार मात्रै सर्वोच्चले तीन दिनभित्र शिक्षकहरूलाई विद्यालय फर्किने वातावरण बनाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई आदेश दिएको छ । यद्यपि, शिक्षक तीन दिनभित्र शिक्षा ऐन पाउने आशमा छैनन् ।

उनीजस्तै २४ दिनदेखि आन्दोलनमा रहेका अन्य शिक्षकहरूको पनि यस्तै गुनासो छ ।

सर्वोच्चको आदेशअनुरूप नै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट तीन दिनभित्रमा शिक्षकमा जायज मागहरू पूरा नभए आन्दोलन झनै सशक्त बनाउने मनस्थितिमा शिक्षकहरू छन् ।

तर, प्रधानमन्त्री केपी शर्मा ओलीका सार्वजनिक अभिव्यक्तिले आफ्ना मागहरू पूरा हुन्छन् भन्ने शिक्षकहरूलाई विश्वास छैन ।

उदयपुरस्थित श्री नारायण देवजी चौधरी माविका शिक्षक रोहितकुमार बानियाँ समाजकै अग्रणी वर्गमा पर्ने शिक्षकहरूका मागलाई प्रधानमन्त्री ओलीले नै नाजायज माग भनेकोप्रति असन्तुष्ट छन् ।

‘समाजको एउटा शिक्षित वर्गले नाजायज माग लिएर २४ दिनदेखि आन्दोलन गर्लान् त ? राज्यसत्ताले नै हामीलाई विभिन्न खालको विभेद गरेको छ,’ उनको भनाइ छ ।

सरकारले नै शिक्षकहरूलाई थरीथरीको वर्गमा राखिदिएको भन्दै शिक्षकहरूको माग एउटा बास्केट बनाएर पूरा गर्नुपर्ने उनको भनाइ छ ।

शिक्षक रोहितकुमार बानियाँ

सरकारले शिक्षकहरूको मागलाई बेवास्ता गरेर लापरबाही गरिरहेको उनको अनुभव छ । ‘हामी त श्रमजीवी मान्छे न हौँ । जब हामी हाम्रो कामप्रति गर्व गर्छौँ, सन्तुष्ट हुन्छौँ तब मात्र हजारौँ, लाखौँ विद्यार्थीलाई सही मार्ग देखाउन सक्छौँ,’ उनले भने ।

भिडिओ – 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register