साविक विजेता ललितपुरले जित्यो एनएसएलको उपाधि

काठमाडौं । तेस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताको उपाधि साविक विजेता ललितपुर सिटी एफसीले जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा शनिबार सम्पन्न फाइनल भिडन्तमा ललितपुरले पोखरा थन्डर्सलाई २–१ गोलअन्तरले पराजित गर्दै उपाधि जितेको हो । ललितपुरले उपाधिसहित रु ८० लाख प्राप्त गर्यो भने पोखराले ३० लाख पायो । ललितपुरलाई जित दिलाउन इमोह इजाकियल […]

Apr 27, 2025 - 02:11
 0
साविक विजेता ललितपुरले जित्यो एनएसएलको उपाधि

काठमाडौं । तेस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताको उपाधि साविक विजेता ललितपुर सिटी एफसीले जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा शनिबार सम्पन्न फाइनल भिडन्तमा ललितपुरले पोखरा थन्डर्सलाई २–१ गोलअन्तरले पराजित गर्दै उपाधि जितेको हो । ललितपुरले उपाधिसहित रु ८० लाख प्राप्त गर्यो भने पोखराले ३० लाख पायो ।

ललितपुरलाई जित दिलाउन इमोह इजाकियल र पापा इबाउ केबेले गोल गरे । ललितपुरले खेलको ४२औँ मिनेटमा अग्रता बनायो । उसका लागि इमोह इजाकियलको गोल गरे । पहिलो हाफमा ललितपुरले १–० को अग्रता बनायो ।

खेलको ६४औँ मिनेटमा भने सुदील राइले पोखरालाई खेलमा फर्काए । स्टेफन समीर बिनोङले हेडरमार्फत प्रहार गरेको बललाई ललितपुरका गोलकिपर जेफ्री बाल्टुसले बचाएका थिए तर रिबाउन्डमा आएको बललाई सुदीलले गोलमा परिणत गरे ।

त्यसपछि खेलको ७४औंँ मिनेटमा पोखराका डिफेन्डरले क्लियर गर्न नसकेको बलमा इमोहको क्रसमा पापा इबाउले बक्सभित्रबाट गोल गरे । ललितपुर प्रतियोगितामा अपराजित रहँदै अङ्क तालिकाको शीर्षस्थानमा रहेर पहिलो क्वालिफायरमा दुई पटकको उपविजेता धनगढी एफसीलाई पराजित गरेको थियो ।

ललितपुरले लिग चरणको सुरूआतमा काठमाडौंसँग २–२ को बराबरी खेलेको थियो । त्यसपछि पोखरामाथि ३–२ को जित निकाल्यो । धनगढीसँग गोलरहित बराबरी, चितवनमाथि २–१, बुटवलविरुद्ध २–० को जित र झापासँग १–१ को बराबरी खेल्दै प्रतियोगितामा अपराजित रह्यो ।

यस्तै, ३ जित र ३ बराबरीसहित १२ अङ्क जोड्दै ललितपुरले अङ्क तालिकाको शीर्ष स्थानमा रहँदै पहिलो क्वालिफायरमा पुगेको थियो । ललितपुरले धनगढीलाई २–१ ले हराउदै फाइनल यात्रा तय गरेको थियो ।

पोखराले लिग चरणको सुरुआत चितवनसँग २–० को हारबाट गरेको थियो । त्यसपछि ललितपुरसँग ३–२ ले पराजित भयो । काठमाडौंमाथि २–० को जितले पुनरागमन गर्दै धनगढीसँग गोलरहित बराबरी र झापासँग १–१ गोलको बराबरी खेलेपछि बुटवलमाथि २–० को जित निकालेको थियो । २ जित, २ बराबरी र २ हारसहित पोखराले ८ अङ्क जोड्दै गोलअन्तरको आधारमा काठमाडौंलाई पछि पार्दै प्ले अफमा पुग्ने चौँथो टोली बनेको थियो । इलोमिनेटरमा चितवनसँग लिग चरणमा भोगेको हारको बदला लिँदै ३–० को जित निकाल्यो ।

दोस्रो क्वालिफायरमा धनगढीलाई १–० ले हराउँदै पोखराले फाइनलमा स्थान सुरक्षित गरेको थियो ।

ललितपुरले लगातार दोस्रोपटक एनएसएलको उपाधि जितेको हो । ललितपुरले दुई वर्षअघि भएको दोस्रो संस्करणको उपाधि पनि जितेको थियो ।

पहिलो संस्करणको उपाधि भने काठमाडौंले जितेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register