झापामा पर्याप्त वर्षा नहुँदा रोपाइँ प्रभावित, विकल्प खोज्दै किसान

सन्तोष शर्माझापा, २१ असार । झापामा पर्याप्त वर्षा नहुँदा बर्खे धान रोपाइँ प्रभावित भएको छ । असारको तेस्रो साता बित्न लाग्दा समेत पर्याप्त वर्ष नहुँदा धान रोपाइँ प्रभावित भएको हो । हल्दिबारी–६ का कृषक रतनकुमार भुलेलले गत वर्ष यतिबेला धान रोपाइँ गरिसकेको बताउनुभयो । “अघिल्लो वर्ष रोपाइँ सकेर खसिया (रोपाइँ गरेर पुनः उखेलेर रोप्ने) पनि [...] The post झापामा पर्याप्त वर्षा नहुँदा रोपाइँ प्रभावित, विकल्प खोज्दै किसान appeared first on Jhapa Online.

Jul 5, 2025 - 08:23
 0
झापामा पर्याप्त वर्षा नहुँदा रोपाइँ प्रभावित, विकल्प खोज्दै किसान

सन्तोष शर्मा
झापा, २१ असार ।
झापामा पर्याप्त वर्षा नहुँदा बर्खे धान रोपाइँ प्रभावित भएको छ । असारको तेस्रो साता बित्न लाग्दा समेत पर्याप्त वर्ष नहुँदा धान रोपाइँ प्रभावित भएको हो ।

हल्दिबारी–६ का कृषक रतनकुमार भुलेलले गत वर्ष यतिबेला धान रोपाइँ गरिसकेको बताउनुभयो । “अघिल्लो वर्ष रोपाइँ सकेर खसिया (रोपाइँ गरेर पुनः उखेलेर रोप्ने) पनि सारिसकेको थिएँ”, उहाँले भन्नुभयो, “छ्र्यार–छ्र्यार पानी पर्छ, पानी नभएर रोपाइँ गर्न सकिएको छैन ।”

डेढ बिघामा खेती गर्दै आउनुभएका उहाँले सिञ्चाइका लागि वैकल्पिक स्रोत समेत नभएकाले समस्या भएको बताउनुभयो । उहाँले धानको बिउ समेत पहेंलिन थालेको बताउनुभयो ।

गत वर्ष यति बेला जिल्लामा करिब २५ प्रतिशत रोपाइँ सकिएको थियो भने यो वर्ष १४ प्रतिशतको हाराहारीमा रोपाइँ भएको छ । कृषि ज्ञान केन्द्रका प्रसार अधिकृत चेतराज भण्डारीले पर्याप्त वर्षा नभएपछि पानी तान्ने मोटर वैकल्पिक प्रयोग गर्न थालेकाले रोपाइँ बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

मल अभाव
झापामा गत वर्षझैं यस वर्ष पनि मल अभाव देखिएको छ । कृषकले मल नपाएको गुनासो गरिरहेको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले बताउनुभयो ।

झापामा बर्खे धान खेतीका लागि डीपीए १२ हजार मेट्रिक टन र युरिया १४ हजार मेट्रिक टन आवश्यक पर्ने प्रमुख विष्टले जानकारी दिनुभयो । तर, माग अनुसारको मल आपूर्ति हुन सकेको छैन । गत वर्ष मागको आधारमा १० प्रतिशत मात्र मल आपूर्ति भएको उहाँले बताउनुभयो । गोबर मल र अग्र्यानिम मलको प्रयोग बढाउन सके ४० प्रतिशत रासायनिकको प्रयोग घटाउन सकिने प्रमुख विष्टले बताउनुभयो ।

झापामा बर्खे धानको उत्पादकत्व वर्षेनि बढ्दै गएको छ । जिल्लामा आर्थिक वर्ष २०७८/०७९ मा धानको उत्पादकत्व चार दशमलव ८५, आव २०७९/०८० मा चार दशमलव ८९ र गत आव २०८०/०८१ मा ५ दशमलव ०५ पुगेको कार्यालयले जनाएको छ ।

जिल्लामा धान खेतीको क्षेत्रफल ८७ हजार पाँच सय हेक्टरबाट घटेर ७५ हजार चार सय ६९ हेक्टर भए पनि उत्पादकत्व भने बृद्धि भइरहेको कृषि ज्ञान केन्द्र झापाका प्रमुख विष्टले बताउनुभयो ।

झापामा सबैभन्दा धेरै गौरादह नगरपालिकामा धान खेती हुने गरेको छ भने सबैभन्दा कम दमक नगरपालिकामा हुने गर्दछ । त्यस्तै, गौरीञ्जग र कचनकवलमा समेत धान खेती धेरै हुने गरेको कार्यालयले जनाएको छ ।

The post झापामा पर्याप्त वर्षा नहुँदा रोपाइँ प्रभावित, विकल्प खोज्दै किसान appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register