नीति तथा कार्यक्रममा सत्तारुढ सांसदकै प्रतिक्रिया : टेबुल ठोक्नेगरी आएन

नीति तथा कार्यक्रम पेस गरेपछि टेबुल ठोक्ने अभ्यास भएपनि यसपटक त्यो दृश्य संसदमा देखिएन ।

May 2, 2025 - 12:25
 0
नीति तथा कार्यक्रममा सत्तारुढ सांसदकै प्रतिक्रिया : टेबुल ठोक्नेगरी आएन

काठमाडौं । सरकारले संसद्‌मा पेस गरेको नीति तथा कार्यक्रममा सत्तारुढ दलका सांसदले नै असन्तुष्ट व्यक्त गरेका छन् ।

संविधान संशोधनलाई प्राथमिकतामा राखेर सरकारले नीति तथा कार्यक्रम ल्याएपनि प्राथमिकतामा राख्ने आधार र कारण नदेखिएको भन्दै नेपाली काङ्ग्रेसका सांसदले असन्तुष्टि व्यक्त गरेका छन् ।

सरकार गठन भएको १० महिनासम्म पनि संविधान संशोधन प्राथमिकतामा नपरेकाले नीति तथा कार्यक्रममा पनि उक्त विषय प्राथमिकतामा पर्ने आधार नदेखिएको काङ्ग्रेस सांसद अर्जुननरसिंह केसीले बताए । ‘संविधान संशोधनको कुरालाई उल्लेख गरिए पनि यसको प्राथमिकताबारे विश्वासिलो आधार अटाएन,’ उनले भने ।

नीति तथा कार्यक्रम पेस गरेपछि टेबुल ठोक्ने अभ्यास भएपनि यसपटक त्यो दृश्य संसद्‌मा देखिएन । यस विषयमा केसीले भने,’गम्भीरतापूर्वक नीति तथा कार्यक्रम सुन्दा टेबुल ठोक्ने परिस्थिति देखिएन ।’

सुशानका सवालमा नीति तथा कार्यक्रम कमजोर देखिएको उनको प्रतिक्रिया छ । ‘सामाजिक गतिशीलताका आधारमा परिवर्तित वातावरणमा विश्वास सृजना गरी नीति कार्यक्रम आएन । यो नीति कार्यक्रम उत्कृष्ट आएन,’ उनले भने ।

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सरकारको नीति तथा कार्यक्रम उत्साह जगाउन असफल भएको बताए । ‘यो नीति तथा कार्यक्रमले सुशासन, भ्रष्टाचार नियन्त्रण र भूमीसुधार र आर्थिक वृद्धिबारे केही पनि उत्साह जगाएन,’ उनले भने ।

यस्तै, प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले बदलिँदो भूराजनीतिक परिस्थिति सामानाका लागि नीति कार्यक्रममा कुनै विषय समावेश नभएको प्रतिक्रिया दिएका छन् । ‘नीति कार्यक्रममा खासै नयाँपन देखिएन । थाकेर, हारेर कल्पनाशीलता गुमाएर नीति तथा कार्यक्रम ल्याएको देखिन्छ,’ उनले भने । सरकारले विगतमा असफल भएका धेरै विषयलाई नीति तथा कार्यक्रममा निरन्तरता दिएको उल्लेख गरे ।

यस्तै, आम जनता पार्टीका अध्यक्ष प्रभु साहले सरकारले विगतकै असफल विषयलाई नीति तथा कार्यक्रममा निरन्तरता दिएको उनले बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register