काठमाडौं उपत्यका उपप्रमुख/उपाध्यक्ष सञ्जाल गठन

काठमाडौं । स्थानीय तहमा उपप्रमुख र उपाध्यक्षहरूका अधिकार, प्राप्त अधिकारको प्रभावकारी कार्यान्वयन, आपसी सहकार्य, समन्वय, सम्बन्ध र साझा कार्यक्रमका विषयमा विगत अभ्यासलाई वृहत र सुक्ष्म समीक्षा गर्ने निर्णय भएको छ । कीर्तिपुर नगरपालिकाले शनिबार आयोजना गरेको ‘काठमाडौं उपत्यका उपप्रमुख/उपाध्यक्ष सञ्जाल’को वैठकले विगतको प्रारम्भिक समीक्षा गर्दै यस्तो निर्णय गरेको हो । हरेक बैठकमा उपप्रमुखको कार्य क्षेत्रसँग […]

May 5, 2025 - 01:55
 0
काठमाडौं उपत्यका उपप्रमुख/उपाध्यक्ष सञ्जाल गठन

काठमाडौं । स्थानीय तहमा उपप्रमुख र उपाध्यक्षहरूका अधिकार, प्राप्त अधिकारको प्रभावकारी कार्यान्वयन, आपसी सहकार्य, समन्वय, सम्बन्ध र साझा कार्यक्रमका विषयमा विगत अभ्यासलाई वृहत र सुक्ष्म समीक्षा गर्ने निर्णय भएको छ ।

कीर्तिपुर नगरपालिकाले शनिबार आयोजना गरेको ‘काठमाडौं उपत्यका उपप्रमुख/उपाध्यक्ष सञ्जाल’को वैठकले विगतको प्रारम्भिक समीक्षा गर्दै यस्तो निर्णय गरेको हो ।

हरेक बैठकमा उपप्रमुखको कार्य क्षेत्रसँग सम्बन्धित एउटा विषयमा विज्ञको प्रस्तुतीकरणसहित छलफल गर्ने गरिएको छ । यसरी गरिएको छलफलको प्रभावकारिता र अधिकारको प्रयोगसँगै आगामी वर्षको बजेट, नीति तथा कार्यक्रमका साझा विषय बैठकमा छलफल हुनेछ । त्यो बैठक काठमाडौं महानगरपालिकाले आयोजना गर्नेछ ।
२०७९ फागुन ३० गते काठमाडौं महानगरपालिकाले आव्हान गरेको पहिलो बैठकबाट प्रारम्भ भएको सञ्जालले शनिबार प्रारम्भिक समीक्षासहितको १० औँ बैठक सम्पन्न गरेको छ । हरेक महिना फरक पालिकाका उपप्रमुख/उपाध्यक्षको अध्यक्षतामा बैठक आयोजना हुने गरेको छ ।

हरेक बैठकले आगामी बैठक आयोजना गर्ने पालिका र बैठकमा छलफल गर्नुपर्ने विज्ञ प्रस्तुतिसहितको विषय निर्धारण गर्ने गरेको छ । यस क्रममा शनिबारको बैठकको अध्यक्षताका लागि गोकर्णेश्वर नगरपालिकाकी उपप्रमुख सान्नानी लामाले कीर्तिपुर नगरपालिकाका उपप्रमुख शुभलक्ष्मी शाक्यलाई बैठकको निर्णय पुस्तिका हस्तान्तरण गरेकी थिइन् ।

कानुनले उपप्रमुख/उपाध्यक्षलाई दिएका अधिकारका बारेमा समान बुझाइ निर्माण गर्ने, कार्य प्रणालीमा एकरुपता ल्याउने, साझा सवालमा सहकार्य तथा समन्वय गर्ने, समस्या र चुनौतीलाई साझा संयन्त्रमार्फत समाधान गर्ने, असल अभ्यास र सिकाइ आदान प्रदान गर्ने सञ्जाल गठनको उद्देश्य हो ।

बैठकमा कीर्तिपुर नगरपालिकाका प्रमुख कृष्णमान डङ्गोलले, सञ्जालमा आपसी ज्ञान, सीप र क्षमता आदान प्रदान गरेपछि अधिकारको व्यवस्थित प्रयोगलाई पूर्ण बनाउने मद्दत हुने धारणा राखे ।

उपत्यकाको एकीकृत र समन्वयात्मक विकासका लागि साझा बुझाइ निर्माण गर्न, उपप्रमुख र उपाध्यक्षहरूलाई निक्षेपण गरिएको अधिकारबाट नगरबासीलाई अधिक लाभ दिने क्षमता विकास गर्ने कार्यका लागि सञ्जालको प्रयोग गर्नुपर्ने महानगरपालिकाकी उपप्रमुख सुनीता डङ्गोलले धारणा राखिन् ।

यस्तै उपप्रमुख शुभलक्ष्मी शाक्यले नगर विकास र सेवाका लागि समान दृष्टि निर्माणका लागि सञ्जालले काम गरिरहेको धारणा राखिन् । अघिल्लो बैठकका अध्यक्ष गोकर्णेश्वर नगरपालिकाकी उपप्रमुख लामाले नेपाल भाषा र तामाङ भाषालाई कामकाजी भाषाका रुपमा प्रयोग गर्ने विषयमा अघिल्लो बैठकले दिएको पृष्ठपोषण लाभदायक भएको उल्लेख गरिन् । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामदत्त भट्टले उपत्यकाको एकीकृत विकासका लागि सञ्जालमा गरिने छलफलले नतिजामा योगदान दिने धारणा राखे ।

अवलोकनपछि वरिष्ठ अधिकृत सुजिन्द्र महर्जनले कीर्तिपुरका विकास पद्धति, धार्मिक, सामाजिक सम्पदा, पर्यटन तथा अन्य सहकार्यका सम्भावना, काठमाडौं महानगरपालिकाको सहकार्यमा निर्माण भइरहेको युद्ध स्मारक पार्कका विषयमा प्रस्तुतीकरण गरेका थिए ।

त्यस क्रममा उपत्यकाका पालिकाहरुका राजस्वको दरमा समानता प्रदान गर्ने सम्भावना, पर्यटन प्रवर्धन र व्यवस्थापनका साझा कार्यक्रम, जात्रा–पर्व सञ्चालनका लागि फरक फरक पालिकामा भएका सम्पदा स्थलहरूको सम्बन्धलाई उजागर गरेर आन्तरिक धार्मिक तथा सांस्कृतिक पर्यटनको प्रवर्धनलाई महसुस योग्य नतिजामा रुपान्तरण गर्नुपर्नेमा जोड दिइएको थियो ।

बैठकअघि टौदह, चोभारको मञ्जुश्री गुफा, बाघ भैरवलगायत स्मारकहरूको स्थलगत अवलोकन भ्रमण गरिएको थियो । सञ्जालमा उपत्यकाका २ वटा महानगरपालिकासहित १८ वटा नगरपालिका र ३ वटा गाउँपालिका गरी २१ वटा स्थानीय तहका उपप्रमुख/उपाध्यक्ष सञ्जालका सदस्य हुन् ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register