भारत-पाकिस्तान तनाव : स्पष्ट आधिकारिक धारणा खोज्दै सांसद, मौनतामा सरकार

काठमाडौं । भारत पाकिस्तान तनावबारे सरकारको स्पष्ट धारणा सार्वजनिक गर्न संसद्‌मा माग बढेपनि ४८ घण्टा बित्दासम्म सरकार मौन बसेको छ । पहलगाम घटनाको जवाफमा पाकिस्तानविरूद्ध भारतले ‘अपरेसन सिन्दुर’ चलाएसँगै दुई मुलुकबीचको तनाव उत्कर्षमा पुगेका बेला सरकार मौन बसेको हो । सांसदहरूले दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन सार्क राष्ट्रको अध्यक्षको हैसियतमा र तनावले युद्धको परिस्थिति निम्तिए […]

May 8, 2025 - 11:12
 0
भारत-पाकिस्तान तनाव : स्पष्ट आधिकारिक धारणा खोज्दै सांसद, मौनतामा सरकार

काठमाडौं । भारत पाकिस्तान तनावबारे सरकारको स्पष्ट धारणा सार्वजनिक गर्न संसद्‌मा माग बढेपनि ४८ घण्टा बित्दासम्म सरकार मौन बसेको छ ।

पहलगाम घटनाको जवाफमा पाकिस्तानविरूद्ध भारतले ‘अपरेसन सिन्दुर’ चलाएसँगै दुई मुलुकबीचको तनाव उत्कर्षमा पुगेका बेला सरकार मौन बसेको हो ।

सांसदहरूले दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन सार्क राष्ट्रको अध्यक्षको हैसियतमा र तनावले युद्धको परिस्थिति निम्तिए नेपाललाई समेत असर पर्ने भएकाले नेपालले आधिकारिक धारणा सार्वजनिक गर्नुपर्ने आवाज संसद्‌मा उठाइरहेका छन् ।

बिहीबार  बसेको प्रतिनिधि सभाको शून्य समयमा सांसद मीना तामाङले भारत र पाकिस्तानको तनाव उत्कर्षमा रहेकाले नेपाली नागरिकको सुरक्षाको पहलको सुरूवात सरकारले गर्नुपर्ने माग गरेकी छिन् । तनाव युद्धमा परिणत भएको अवस्थामा गोरखा सैनिकलाई पहिलो पंक्तिमा पठाउन सक्ने भन्दै नेपालीहरूको ज्यान सुरक्षित गर्ने सन्दर्भममा सरकारले पहल गर्नुपर्ने माग गरिन् । यो मामिला सरकारले आधिकारिक धारणा सार्वजनिक गर्नुपर्ने उनको भनाइ छ ।

‘पाकिस्तान र भारतमा भएको सांघातिक हमलाले मानवीय क्षती र आतंक बढेको छ । पाकिस्तानले लक्षित गरेको भारतीय सहरमा काम गर्न गएका नेपालीहरू जोखिममा छन् । उनीहरूको संरक्षण र उद्दारसँगै दुई देशबीचको लडाइँमा नेपालीहरू रहेको गोरखाली सेनाको पहिलो प्रयोगको अवस्था आउन नदिन भारत सरकारसँग गम्भीर छलफलसाथै निकासका लागि सभामुख मार्फत सरकारको ध्यानाकर्षण गराउन चाहान्छु,’ तामाङले भनिन्।

यस्तै, सांसद मुक्ताकुमारी यादवले दुई मुलुकबीचको तनावको असर नेपालमा पर्ने भन्दै राष्ट्रिय एकता र मेलमिलाप प्रदर्शन गर्दै नागरिकको सुरक्षा ध्यान दिन सरकार र राजनीतिक दलको ध्यानाकर्षण गराइन् । नेपालको विदेशी नीति असंलग्नता रहेपनि आतंकवादविरूद्ध सरकारले स्पष्ट धारणा सार्वनजनिक गर्नुपर्ने उनको मत छ । ‘भूराजनीतिक संवेदनशीलता र खुला सीमाना भएकाले भारत-पाकिस्तान तनावको प्रभाव नेपालमा पनि पर्ने भएकाले राष्ट्रिय एकता र मेलमिलाप प्रदर्शन गर्दै नागरिको सुरक्षामा ध्यान जाओस् । असंलग्न विदेश नीति  भएपनि  आतंकवादविरूद्ध स्पष्ट धारणा खुलाउन जरूरी छ,’ उनको भनाइ छ ।

यस्तै, सांसद रामहरी खतिवडाले पनि आतंकवादका विरूद्ध सरकारले स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने माग गरेका छन् ।’भारत र  पाकिस्तानको तनावका कारण हामी जोखिमयुक्त अवस्थामा छौं भन्ने हामीलाई लागेको छ। यो समयको जटिलताको सामना गर्न सरकार तयारी रहोस् भनेर अनुरोध गर्न चाहन्छु। साथै आतंकवादविरुद्धको लडाइँमा हामीले जुनसुकै देशलाई पनि साथ दिनुपर्छ,’ उनले भने ।

बुधबार बसेको प्रतिनिधि सभा बैठकमा पनि सांसदहरूले सरकारको स्पष्ट धारणा सार्वजनिक गर्न माग गरेका थिए ।  खुला सीमाका कारण नेपालमा समेत चुनौती देखापर्न सक्ने भन्दै सांसदहरूले सचेत रहन सरकारको ध्यानाकर्षण गराएका थिए ।  पूर्व परराष्ट्रमन्त्रीसमेत रहेका एनपी साउदले पहलगाममा नेपाली नागरिक आतङ्कवादको शिकार भएको र छिमेकमा युद्धको आगो सल्किरहेको समयमा सरकारले कूटनीतिक जिम्मेवार बोध गर्नुपर्ने सुझाव दिए ।

काङ्ग्रेस सांसद सञ्जयकुमार गौतमले भारत–पाकिस्तान युद्धले पार्ने प्रभावबारे नेपाल सरकार समयमै गम्भीर बन्न सुझाएका थिए । ‘भूराजनीतिक संवेदनशीलता र खुला सिमानाका कारणले गर्दा भारत पाकिस्तानका बीचमा जुन युद्ध सुरु भएको छ । यसले हामीलाई पार्ने अल्पकालीन र दीर्घकालीन दुवै किसिमका प्रभावहरूको विषयमा नेपाल सरकार समयमै गम्भीर बनोस्,’ सांसद गौतमको भनाइ थियो ।

यस्तै, सांसद सर्वेन्द्रनाथ शुक्लले पहलगाम घटनाको भर्त्सना गर्दै आतङ्कवादविरूद्ध प्रष्ट धारणा सार्वजनिक गर्न र संवेदनशील बन्न माग गरेका थिए ।

स्वतन्त्र सांसद अमरेशकुमार सिंहले सरकारले सीमानामा मिहीन निगरानी बढाउन सरकारको ध्यानाकर्षण गराएका थिए । । यस्तै, कूटनीतिलाई चुस्त बनाउन उनको माग थियो । सरकारले आफ्नो धारणा सार्वजनिक नगरेकोमा आक्रोशित हुँदै उनले भनेका थिए,’ सरकारलाई अलिकति पनि अन्तर्राष्ट्रिय सम्बन्धको ज्ञान छैन । मनोविज्ञान पढेको मान्छे परराष्ट्रमन्त्री हो । त्यसकारण परराष्ट्रमन्त्रीलाई कूटनीति के हो भन्ने थाहा छैन,’ उनको आरोप थियो ।

२२ अप्रिलमा पहलगाममा भएको आतङ्कवादी आक्रमणमा भारतले जवाफी प्रतिकार सुरु गरेको छ । पाकिस्तानविरूद्ध उसले ‘अपरेसन सिन्दुर’मार्फत क्षेप्यास्त्र प्रहार गर्दा ३६ जनाले ज्यान गुमाएका छन् भने ४६ जनाभन्दा बढी घाइते भएका छन् । पाकिस्तानले पनि भारतलाई जवाफ दिने बताइसकेको छ । दुई मुलुकबीच अहिले वास्तविक नियन्त्रण रेखा र त्यसभन्दा पर गोलाबारी जारी छ । तनावकाबीच भारत र पाकिस्तानका राष्ट्रिय सुरक्षा सल्लाहकारबीच संवाद भएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register