लुम्बिनी प्रदेशमा बढ्दै साइबर अपराध : ठगी र चरित्रहत्याका उजुरीमा वृद्धि

साइबर अपराधका अधिकांश मुद्दा यौन र चरित्र हत्यासँग सम्बन्धित रहेको प्रदेश प्रहरी कार्यालय दाङका सुचना अधिकारी जनार्दन जिसीको भनाइ छ ।

May 16, 2025 - 11:46
 0
लुम्बिनी प्रदेशमा बढ्दै साइबर अपराध : ठगी र चरित्रहत्याका उजुरीमा वृद्धि

लुम्बिनी । रूपन्देहीकी शान्ति बराल टिकटक चलाउँदै बसिरहेको बेला उनको साथीको फोन आयो । ‘फेसबुकमा तिमीले कस्तो फोटो राखेको ?’ सुरूमै साथीले सोधिन् ।

‘यस्तो फोटो पनि फेसबुकमा राख्ने हो ?’ साथीले झपार्दै फोन काटिन् ।

साथीको प्रश्न र हप्कीबाट अत्तालिएकी बरालले तुरून्तै आफ्नो फेसबुक खोलिन् । बरालको आधिकारीक फेसबुकमा साथीका जिज्ञासाझैँ त्यस्ता कुनै फोटा थिएनन् । फेक आइडीबाट बरालका आपत्तिजनक तस्वीर राखिएको पत्तो लागेसँगै उनी तुरून्तै प्रहरी कार्यालय पुगिन् । प्रहरीकोमा उजुरी दिएको पनि १ वर्ष कटिसक्यो तर हालसम्म पनि अपराधी पत्ता लागेको छैन ।

‘चरित्र हत्या गर्ने अपराधीलाई कारबाहीका लागि मैले १ वर्ष पहिले नै उजुरी दिएको थिएँ । अहिलेसम्म पनि अपराधी पत्ता लागेको छैन,’ उनले भनिन् ।

फेसबुक ह्याक हुँदा बुटवलकै सौरभ भुसालले पनि हैरानी खेप्नुपर्‍यो । उनको फेसबुकबाट नजिकका साथीभाई र आफन्तसँग पैसा मागेर विभिन्न खातामा पैसा हाल्न लगाइयो । ठगीमा परेका भुसाल निकै समयसम्म मानसिक तनावमा थिए ।  यता, नेपालगञ्जकी प्रिती मानन्धर ह्वाट्सएपमा चिठ्ठाको प्रलोभनमा परिन् । उनलाई डेलिभरीका लागि ६० हजार पठाउन भनियो । परिवारसँग परामर्श नै नगरी उनले पैसा पठाइन् । पछि मात्रै आफु ठगिएको मेसो पाइन् । ‘चिठ्ठाको प्रलोभनमा पैसा पनि गयो । पारिवारिक बेमेल पनि सुरू भयो । प्रहरीकोमा उजुरी दिएँ ठग पत्ता लागेको छैन,’ उनले भनिन् ।

लुम्बिनी प्रदेश प्रहरीको तथ्याङ्का अनुसार साइबर अपराधको घटना बढ्दो छ । विद्युतीय माध्यमको दुरुपयोगबाट हुने अपराधको ग्राफ बढ्दै गएको जिल्ला प्रहरी कार्यालयहरुमा पर्ने उजुरीले देखाएको हो । चालु आर्थिक वर्ष २०८१ ।०८२ को १० महिना साउन देखि बैशाख सम्मको अवधिमा लुम्बिनी प्रदेशमा ८७३ वटा साइबर अपराधका उजुरी दर्ता भएका छन् । सबैभन्दा धेरै दाङमा २०६ र सबैभन्दा कम रुकुम पूर्वमा ७ वटा उजुरी परेका छन् ।

नवलपरासी ९३, रुपन्देहीमा १८७ , कपिलबस्तु ६१, गुल्मी ४५, पाल्पा २४, अर्घाखाची १३, प्युठान २०, रोल्पा १८, बाँके १०५ र बर्दियामा ९४ वटा उजुरी परेका छन् । प्रहरीमा परेका ८७३ उजुरी मध्ये १२ वटा मात्रै दर्ता भएका छन् भने ती सबै मुद्दा फर्स्यौट भएका छन् ।

२०८०।०८१ मा १ हजार ३७३ वटा उजुरी परेका मध्ये नवलपरासी ८२, रुपन्देही ४९२, कपिलबस्तु ५३, गुल्मी २५, पाल्पा ६८ ,अर्घाखाची ५८, दाङ्ग १४९, प्युठान ३४, रुकुम पुर्व ५, रोल्पा ४५, बाँके ३३७ र बर्दियामा २५ वटा उजुरी परेका थिए भने ती मध्ये २८ वटा मात्र मुद्दा दर्ता भएका थिए ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७८/०७९ मा ४०५ वटा उजुरी परेका थिए । जसमा नवलपरासी २९,रुपन्देही १२,कपिलबस्तु १८ ,गुल्मि ३१ ,पाल्पा २३ ,अर्घाखाची २२, दाङ्ग ६७, प्युठान १८, रुकुम पूर्व २, रोल्पा ७, बाँके १४४ र बर्दियामा ३२ वटा उजुरी परेका थिए ।

त्यस्तै आर्थिक वर्ष २०७९/०८० मा ६६२ वटा उजुरी परेका थिए । जसमा नवलपरासी ८६ ,रुपन्देही १२२ ,कपिलबस्तु ३४ ,गुल्मि ५, पाल्पा २७, अर्घाखाची २९, दाङ ११९, प्युठान १६, रुकुम पुर्व ४, रोल्पा १४, बाँके १८२ र बर्दियामा २४ वटा उजुरी परेका थिए ।

साइबर अपराधका अधिकांश मुद्दा यौन र चरित्र हत्यासँग सम्बन्धित रहेको प्रदेश प्रहरी कार्यालय दाङका सुचना अधिकारी जनार्दन जिसीको भनाइ छ । ‘यौन र चरित्र हत्यासँग जोडिएका मुद्दा धेरै आउँछन् । कतिपय फेक आइडीका उजुरी लिएर आउँछन् भने कतिपय अनलाईन ठगीको मुद्दा लिएर आउँछन्,’ उनले भने ।

उनले प्रलोभन सम्बन्धि कुनैपनि विवरण म्यासेन्जर, ह्वाट्सएप वा भाइबरमा आए तुरून्त प्रहरीलाई खबर गर्न आग्रह गरेका छन् । यस्तै, सामाजिक सञ्जालको आफ्नो पासवर्ड अरूलाई उपलब्ध नगराउन उनले सचेत गराएका छन् ।  साइबर अपराध न्युनीकरणका लागि  सचेतना कार्यक्रम पनि प्रहरीले सञ्चालन गरिरहेको उनले बताए । कसैले चरित्र हत्या गर्न खोजेमा विवरण सहित प्रहरीकोमा तुरून्तै उजुरी दिन उनले आग्रह गरेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register