मुस्ताङ, अहो ! मुस्ताङ –२

थकाली भान्छा घरको पहिलो प्रयास ‘टुकुचे किचेन’ थियो रे ! २०४० को दशकतिर काठमाडौंको लाजिम्पाट छेउछाउ कतै खुलेको थियो रे यो भान्छा घर ! को थिए ती अग्रणी, जसले ‘टुकुचे किचेन’मार्फत ‘थकाली भान्छा घर’ देशैभरि ब्रान्डिङ गरे ? तिनको कथा खोज्न पाए हुन्थ्यो भन्ने मनमा लागि रह्यो तर, सकिएन । टुकुचेको चर्चा भने मानिसले कवि […]

May 17, 2025 - 10:00
 0
मुस्ताङ, अहो ! मुस्ताङ –२

थकाली भान्छा घरको पहिलो प्रयास ‘टुकुचे किचेन’ थियो रे ! २०४० को दशकतिर काठमाडौंको लाजिम्पाट छेउछाउ कतै खुलेको थियो रे यो भान्छा घर ! को थिए ती अग्रणी, जसले ‘टुकुचे किचेन’मार्फत ‘थकाली भान्छा घर’ देशैभरि ब्रान्डिङ गरे ? तिनको कथा खोज्न पाए हुन्थ्यो भन्ने मनमा लागि रह्यो तर, सकिएन ।

टुकुचेको चर्चा भने मानिसले कवि भूपि शेरचनको जीवनी र कविताबाट त्यसभन्दा धेरै अगाडि नै सुनेका थिए । नेपाली कविता पढ्ने बिरलैले ‘घुम्ने मेचमाथिको अन्धो मान्छे’ नपढेका होलान् ।

भूपि शेरचन मुस्ताङको टुकुचेमा जन्मिए । टुकुचेमा भूपिको पैत्रिक मूल घर, जो यद्यपि छ, उनी त्यसमा पनि हैन, त्यो घर बन्नुभन्दा अघि अलिक पर्तिर, छेउकुनाको पुरानो गाउँमा जन्मिएका रहेछन, हामी उनको ‘मूल घर ’पुग्यौं, तर ‘जन्म घर’ पुगेनौं ।

टुकुचे पुग्नुअघि हामीले केही चरण भूपिका कविताबारे चर्चा गरिसकेका थियौं । गोपालप्रसाद रिमालले नेपाली साहित्यमा आधुनिक गद्य कविताको जुन परम्परा स्थापित गरे, भूपि शेरचन त्यसका सबैभन्दा अग्ला शिखर थिए भन्ने निष्कर्षमा हामी एक मत थियौं । आजसम्म पनि यो उच्चाइ कसैले भेट्न सकेको छ वा छैन, कुन्नि !

तर, टुकुचेमा कवि शेरचनका स्मरणलाई जीवन्त बनाउने कुनै संस्था वा पूर्वाधार भने रहेनछन् । बरु कोबाङमा भूपि स्मृति पुस्तकालयको एउटा सानो भवन र त्यसअगाडि उनको शालिक देखिएको थियो । हामीले भूपिको घर हेर्‍यौँ । फोटो खिच्यौं ।

भूपिको घर सोध्दै आउने मान्छे र तिनले उठाउने प्रश्नप्रति उनले एक प्रकारको बेवास्ता र दिग्दारी व्यक्त गरिन् ।

‘घर कुरिया’ महिलाले भनिन्– ‘कति धेरै मान्छे सोध्दैखोज्दै आउँछन् यहाँ । घरलाई एक झल्को हेर्न खोज्छन् । फोटो खिच्छन् । ठूलै काम गर्नु भएको रहेछ उहाँले जस्तो लाग्छ तर खै के हो, हामीलाई नै त्यति धेरै केही थाहा छैन ।’

भूपिको घर सोध्दै आउने मान्छे र तिनले उठाउने प्रश्नप्रति उनले एक प्रकारको बेवास्ता र दिग्दारी व्यक्त गरिन् ।

टुकुचे मुस्ताङका पुराना बस्तीमध्ये ‘सर्वाधिक सम्भ्रान्त’ जस्तो थियो । तिब्बती ‘साल्ट रुट’ अर्थात् ‘नुन मार्ग’को सबैभन्दा गुल्जार बजार थियो यो कुनै बेला । अझ तिब्बतको नुन आयात र बिक्रीमा टुकुचेको एक प्रकारको एकाधिकार थियो । यो एकाधिकार कोतपर्वपछि सत्ता हत्याएका जंगबहादुर राणाले खोसिदिएका रहेछन् ।

सन् १९६२ तिरको टुकुचेको एक भिडिओ पाइन्छ – युट्युबमा । त्यसमा भारी बोकेका घोडा र घोडचडीहरूको भीड देखिन्छ । चामल, पिठो र नुन साटेका दृष्य देखिन्छन ।

टुकुचेमा कवि भूपि शेरचनको नाममा कुनै संस्था वा स्मारक भए त्यसले बौद्धिक तथा साहित्यिक क्षेत्रबाट सायद पर्यटनमा थप योगदान गर्ने थियो । नेपाली ‘कविताप्रेमी’को त त्यो तीर्थस्थल नै बन्न सक्थ्यो ।

टुकुचेबाट ‘१३ गाउँले’ क्षेत्र सकिन्छ, साथै अहिलेको ‘थासाङ’ गाउँपालिकाको सीमाक्षेत्र पनि । घासादेखि टुकुचेसम्मको गाउँपालिकाको नाम–‘थासाङ’ छ अहिले जसको अर्थ ‘थाक ७०० क्षेत्र’ वा ‘थकाली भूमि’ हुने रैछ ।

जिल्ला सदरमुकाम जोमसोम वरिपरिको क्षेत्र भने परम्परागत ५ गाउँले क्षेत्र हो । ती परम्परागत ५ गाउँ कुन-कुन होलान ? कसैले प्रमाणिक वा आधिकारिक तथ्यमा बताउन सकेनन् । जोमसोम पक्कै हैन, किनकी यो नयाँ बस्ती हो ।

‘५ गाउँले’ क्षेत्रका परम्पराग गाउँ मार्फा, स्याङ, थिनी, छैरो र चिमाङ हुन सक्ने सम्भावना धेरै देखिन्छ । यिनको नयाँ केन्द्र भने अब जोमसोम बनेको छ । यो पालिकाको नाम अहिले ‘घरपझोङ’ छ ।

‘झोङ’को अर्थ तिब्बती मूलका भाषामा ‘किल्ला’ वा ‘गढी’ हुँदो रहेछ । थिनी गाउँ नजिक करिब ७०० वर्ष पुरानो एक किल्ला छ रे ! त्यसैको नामबाट यसलाई ‘घरपझोङ’ नाम दिइएको रहेछ ।

‘जोमसोम’ भने ‘झोङसोम’को अपभ्रंश– अर्थ हो– ‘नयाँ किल्ला’ । पुराना १३, ५ र १२ गाउँभन्दा अहिले जोमसोमको रणनीतिक महत्व बढी छ । एक त जिल्लाको सदरमुकाम यहाँ बस्यो । प्रशासनिक सेवा, सुविधाका लागि सबै क्षेत्रका मान्छे यहाँ आउन पर्ने भयो ।

अर्को विमानस्थल यही छ । बाटो नखुलुन्जेल विकल्पहीन यातायात साधन यही थियो । बाटो खुलेको त मुस्किलले ३–४ वर्ष न भयो ।

तेस्रो– जोमसोम वरिपरिका काली गण्डकी बगरमा पनि मार्फामा जस्तै स्याउ खेती छन् । स्याउँ खेतीको झल्को अब जोमसोमले दिन सक्दछ, जबकी कुनै बेला मार्फा पुग्न अनिवार्य थियो । सिधै विमानस्थलमा उत्रिनेहरू पनि हिडेरै वा घोडा चडेर मार्फा जान्थे रे ।

चौथो कुरा– जोमसोममा अन्य गाउँका भन्दा राम्रै र आधुनिक होटल भइसकेका छन् । त्यस्ता होटल अरु गाउँमा बरु भर्खरै फैलिँदै छन् । आधुनिक शहरीकरणको गतिमा जोमसोम र मुक्तिनाथ अगाडि देखिन्छ ।

पोखरा–जोमसोम उडान २० मिनेटको मात्र हो । बाटो खुल्नु अधिकांश पर्यटक तथा प्रशासक पैदल मार्गको साटो यही विमानस्थलको प्रयोग गर्थे । कम समयका लागि जहाजमा मुस्ताङ पुग्ने धेरैको गन्तव्य जोमसोम, मार्फा मात्र हुन्थे ।

अब यो स्थिति बद्लिएको छ । अब यहाँ आइपुग्ने अधिकांशको गन्तव्य मुक्तिनाथ, दामोदर कुण्ड, लोमान्थाङ र कोरलासम्मै हुन्छ । जोमसोम पुगेर अब मुस्ताङ यात्रा आधा पनि हुँदैन, अपुरै रहन्छ । अझ यसो भन्दा हुन्छ – ५ गाउँले क्षेत्रमै सीमित रहन्छ । बाँकी मुस्ताङ धेरै भिन्न छ ।

१७ गते बिहान मार्फामा नास्ता खाएर हामी जोमसोम उक्लियौं । स्याउका बोटहरू भर्खरै फूल्न थालेका थिए । फलेको दृष्य भने देख्न पाइएन ।

जोमसोमका आफ्नै कथा र ‘नोस्टाजिया’ छन् । ‘खुदा गवाह’ को सुटिङदेखि निरन्तर ९ दिन हिउँ परेका स्मरणसम्म । बजारको बीचमा काठको अनौठो इन्जिनियरिङ भएको पुल । विमानस्थलको जोखिम आदि । अनौठो कुरा– मुस्ताङ जिल्लाभरि अहिलेसम्म पेट्रोल पम्प रहेनछ । गाडीमा गिलेनबाट तेल भर्नु पर्दो रहेछ । यहाँसम्मकी जिल्ला सदरमुकाम जोमसोममा समेत ।

‘माथितिर नपाइएला’ भनेर हामीले गाडीमा गिलेनको खुला तेल भर्‍यौँ । तर, यस्ता खुला तेल पसल त लोमान्थाङसम्मै पाइने रहेछन् ।

जोमसोम पुगेपछि नेपथ्य ब्राण्डको चर्चित ‘जोमसोमै बजार, १२ बजे हावा सरर’ गुगलले पनि सम्झाउँदो रहेछ । रोशनजी भन्छन्–‘गीतमा ‘सरर’ भने पनि खासमा हावा यहाँ ‘हुरुरु’ चल्छ । १२ बज्नु अघि जोमसोम कट्नुपर्छ ।’

पोखरा–जोमसोम उडान १२ बजे अगाडि बिहानै भइसक्दो रहेछ । बिहान ७ बजेदेखि नै आकाशमा जहाजको ताँती देखिन थालेका थिए । ती १५– ३० मिनेटभित्र ‘अनबोर्ड–बोर्ड’ गररे उडिसक्दा रहेछन् ।

सन् १९९२ को ‘खुदा गवाह’ त्यो समयको एक सुपरहिट ‘मुम्बईया’ सिनेमा थियो । अमिताभ बच्चन र श्रीदेवीको मूल भूमिका र अभियान भएको । सिनेमाको कथा नेपालसँग जोडिँदैन । ‘खुदा गवाह’ को ‘प्लट’ भारत–अफगानिस्तान बीचको कथा हो । तर, ‘सुटिङ स्पट’ जोमसोम रोजियो । त्यसका कारण थिए होलान् । कारणवश टोलीलाई अफगानिस्तान जान असहज भएको थियो होला ।

‘खुदा गवाह’को द्वन्द्व दृष्य खिचिएको स्याङ खोला बगरमा अहिले स्याउबारी छ । मरुभूमिबाट त्यो हरियालीमा परिणत भएको छ । जोमसोमका मान्छे अझै अभिताभ बच्चन ‘ओम्स होम’ मा बसेको सम्झिन्छन् ।

स्याङका बगरलाई यो सिनेमामा अफगानिस्तानको कथासँग जोडेर देखाइन्छ । मुस्ताङ संसारकै दुलर्भ हिमाली वृष्टि छाया क्षेत्र (रेन स्याडो एरिया ) हो । मुस्ताङको भूबनोट भारत, पाकिस्तान र अफगानिस्तानका हिमाली क्षेत्रसँग मिल्नु स्वाभाविक हुन्छ । अझ लद्दाखसँग झन् बढी मिल्नुपर्छ । यस्ता क्षेत्रलाई ‘हिमाली मरुभूमि’ भन्ने गरिन्छ ।

‘खुदा गवाह’को द्वन्द्व दृष्य खिचिएको स्याङ खोला बगरमा अहिले स्याउबारी छ । मरुभूमिबाट त्यो हरियालीमा परिणत भएको छ । जोमसोमका मान्छे अझै अभिताभ बच्चन ‘ओम्स होम’ मा बसेको सम्झिन्छन् । सुटिङका लागि गाउँलेले घोडा संकलन गरेको र बगरमा घोडा लडाएका दृष्य सम्झना गर्दछन् ।

जोमसोम नियाल्न हामी ढुम्बा ताल र कुछप तेरङ गुम्बाको डाँडोतिर लाग्यौँ। यहाँबाट पूरै जोमसोम, स्याङ गाउँ र मार्फा देखिन्छ । छैरो, थिनी, चिमाङको ‘लोकेसन’ अनुमान गर्न सकिन्छ । पोखराबाट आएका जहाजले कालीगण्डकीको खोजमा पखेटाले डाँडा छोएछोएजस्तो गरी गिरान र उडान गरेको जोखिमपूर्ण लाग्ने दृष्य देखिन्छ ।

कोबाङबाट धौलागिरि नजिक देखिन्थ्यो र निलगिरि टाढा । यहाँबाट भने ठीक उल्टो हुन्छ । पूर्वपट्टी निलगिरि हिमाल नजिकै आउँछ ।

मुस्ताङका गाउँमा गुम्बा, बाटोमा ‘म्हाने’ र ‘छोर्तेन’ अनिवार्यजस्तै रहेछन् । भज्याङहरूमा ढुंगा चढाएर बनाइएका ससाना पिरामिडजस्ता दृष्य, ठाउँठाउँमा टाँगिएका लुङ्गदाले हावासँग जुझेर विचित्रको संगीतमय आवाज निकालिरहेका हुन्छन् । तर, अधिकांश साइन बोर्डमा मैले ‘गुम्बा’ हैन ‘गोम्पा’ लेखिएको देखेँ । ‘गुम्बा’ र ‘गोम्पा’ बीच कुनै भाषिक भेद हुन्छ कि यो उच्चारण अपभ्रंश मात्र हो – थाहा भएन ।

१२ बजेको हावा सुरु हुनुअघि नै हामीलाई जोमसोम छोड्नु थियो । तर, छर्लङ घाम लागे पनि मध्य वैशाखमै तापक्रम ६ डिग्री सेल्सियसतिर झरिसकेको थियो । काठमाडौंमा समेत गर्मी चर्केको बेला मुस्ताङ हानिएका हामीले रुप्से र दानाबाटै जाडो खप्न सुरु गरेका थियौँ ।

जाडोलाई कम आँकेकामा हामीलाई पश्चाताप भइरहेको थियो । मैले जाडोको लुगा खासै बोकेकै थिइनँ । कोबाङका दुई रात माघ महिनाको काठमाडौंमा जस्तो जाडो भएको थियो ।

टुकुचे मुनिसम्म सल्लाका अग्ला रुख र जंगल देखिन्थे । जोमसोम वरपर धुपीका थोप्रा मात्र देखिन्छन् । जति माथि चड्दै गयो– ‘रेन स्याडो एरिया’ उत्ति नै सघन हुँदै जान्छ । भूपरिदृष्य निरन्तर बद्लिँदै जान्छ ।

जोमसोममा उपल्लो मुस्ताङ जानेका लागि उच्च हिमाली क्षेत्रको जानकारी दिने साइन बोर्डहरू छन् । ‘लेक लाग्ने’ लक्षण कसरी बुझ्ने र के गर्ने भनेर सुझाइएको छ । मलाई लोमान्थाङमा बाहेक अन्यत्र लेक लागेजस्तो अनुभूति भएन ।

प्रहरीले सुरक्षा अभिलेख पनि यहीँबाट कडा बनाउँदो रहेछ । हरेक गाडीलाई प्रहरीले सोध्ने प्रश्न ‘विदेशी छन् कि छैनन्’ हुने रहेछ । त्यसो त घासामै यस्तो सोधीखोजी भइसकेको हो । जोमसोम, छुक्साङ, चरङ, लोमान्थाङ र नेचुङसम्मै यो क्रम चलिरहँदो रहेछ ।

अन्नपूर्ण संरक्षण क्षेत्र परियोजना (एक्याप ) मा प्रवेश गर्न विदेशी पर्यटकले नेपाल सरकारलाई ५०० डलर र एक्यापलाई रु ३ हजार जनही तिर्नु पर्दो रहेछ । प्रशान्तजीले जोक गरे–‘नेपाली नागरिक हुनुका फाइदा करिब ५६ हजार बराबर हामीलाई भइसक्यो ।’ सम्भवत: यो शुल्क उठाउने दृष्टिकोणले पनि सुरक्षा जाँच कडाइ गरिएको हो ।

एक्यापभित्र पर्ने जिल्लाको प्रशासनिक प्रक्रिया देशका अन्य भागको भन्दा केही भिन्न हुँदो रहेछ । एक्यापको अधिकार क्षेत्र ७ हजार ६२९ वर्गकिमी छ । मुस्ताङ जिल्ला पूरै यसभित्र पर्दछ । मुस्ताङको क्षेत्रफल ३,६७३ वर्गकिमी हो । थप भूभाग मनाङ, लमजुङ, कास्की र म्यादीबाट एक्यापको क्षेत्राधिकारमा तानिएको छ ।

मुस्ताङ क्षेत्रफलमा डोल्पा, हुम्ला, ताप्लेजुङ, गोर्खापछि देशकै पाँचौं ठूलो जिल्ला हो । तर, जनसंख्यामा भने मनाङपछि दोस्रो सानो । जिल्लाको कुल जनसंख्या करिब १४ हजार छ । पुराना बासिन्दा पलायन हुँदै छन् । नयाँ ‘घरकुरिया’ थपिँदो छन् । सडक निर्माणपछि सायद अब मुस्ताङको जनसंख्या नहट्ला ।

मुस्ताङे जनताका बाह्य–सम्बन्धका कडी बढो रोचक छन् । मुस्ताङ– पोखरा–काठमाडौं र विदेश । भैरहवा र गोरखपुर अब साखै सान्दर्भिक रहेन । थकालीहरू मूलतः जापान जान्छन् । गुरुङ–लोवाहरू पोखरा–काठमाडौं हुँदै युरोप अमेरिकातिर ।

म्याग्दी, बागलुङ, रोल्पा र रुकुमका मान्छेलाई ‘घरकुरिया’ मात्र हैन, पयर्टन, होटल, व्यवसायले रोजगारको नयाँ अवसर दिँदै छ । मुस्ताङको जनशक्ति अभावलाई यी जिल्लाले पूरा गर्दै छन् ।

मुस्ताङे जनताका बाह्य–सम्बन्धका कडी बढो रोचक छन् । मुस्ताङ– पोखरा–काठमाडौं र विदेश । भैरहवा र गोरखपुर अब साखै सान्दर्भिक रहेन । थकालीहरू मूलतः जापान जान्छन् । गुरुङ–लोवाहरू पोखरा–काठमाडौं हुँदै युरोप अमेरिकातिर ।

थकालीको जापान सम्बन्धको लहरो भने जगत गौचनले जोडिदिएका रहेछन् । तिनै जगत गौचन जो पञ्चायतकालमा पत्रकार पद्म ठकुराठीमाथि भूमिगत गिरोहका लागि गोली हानेबापत् बदनाम भएका थिए । उनी जापानी कराँते ‘क्योकुसिन’ का खेलाडी थिए । बारम्बार जापान गइरन्थे । उनले केही मान्छेलाई जपानसँग जोडिदिएको सम्बन्धको लहरोपछि थकाली समुदायमा फैलिए छ । कतिपयले त जापानीसँगै बिहे गरे घरबार जमाएका छन् ।

एक्यापको क्षेत्राधिकारभित्र अहिले चतुर्कोणात्मक मनोवैज्ञानिक शक्ति संघर्षको भान हुन्छ । पालिकाहरू संविधानले दिएको अधिकार प्रयोग गर्न चाहन्छन् । स्थानीय समुदायले र परम्परागत मुखिया प्रणालीले पनि कतिपय अधिकारको उपयोग गर्न खोजिरहेकै छन् । अर्कोतिर केन्द्रीय वा प्रदेश सरकारका जिल्लास्तरीय कार्यालय छन् । चौथो पक्ष– राष्ट्रिय प्रकृति संरक्षण कोष र यस अन्तर्गतको अन्नपूर्ण संरक्षण क्षेत्र परियोजना छ ।

पञ्चायतकालमा वि.स. २०३९ सालमा श्री ५ महेन्द्र प्रकृति संरक्षण कोषको नाममा यो प्रबन्धन गरिएको थियो । यसका हर्ताकर्ता तत्कालीन अधिराजकुमार ज्ञानेन्द्र शाह थिए । ज्ञानेन्द्र शाहको शासनकालमा राजकुमार पारश शाह केही समय यसको संरक्षक भए । २०६३ सालमा यसको नाम परिवर्तन गरी ‘राष्ट्रिय प्रकृति संरक्षण कोष’ राखियो । संरक्षक राजपरिवार सदस्यको साटो प्रधानमन्त्री हुने व्यवस्था भयो । वनमन्त्री अध्यक्ष हुन्छन् । कार्यकारी निर्देशक सरकारले नियुक्त गर्दछ ।

जावलाखेलको सदर चिडियाखानादेखि सौराहाको बाघ संरक्षणसम्म थुप्रै काम र क्षेत्राधिकार यो संस्थाले पाएको छ । अन्नपूर्ण, गौरीशंकर, मनास्लु, कञ्चनजंगा आदि संरक्षण क्षेत्र यसअन्तर्गत छन् । यही संस्थाको कारण पूर्वराजा ज्ञानेन्द्र शाह गैंडासँग जोडिएर विवादास्पद बनेका थिए । तर, नयाँ संविधान र संघीयतापछि यस्तो प्रबन्धनको भविष्यबारे शंका उत्पन्न भएका छन् ।

प्रशान्तजीले डब्ल्यूडब्ल्यूएफमा काम गर्दा यी प्रक्रियालाई नजिकबाट नियाल्ने र सहयोग गर्ने अवसर पाएका थिए । रोशनजी त कुनै बेला एक्यापको कर्मचारी नै थिए । बारम्बार चर्चा सुने पनि यसको सन्दर्भ र प्रक्रिया भने मलाई राम्रो ज्ञान थिएन ।

यसपटक हाम्रो टोलीमा बारम्बार घुन्सा हेलिकप्टर दुर्घटनाको चर्चा भइरह्यो । २०६३ असोज ७ गते ताप्लेजुङको घुन्सामा श्री एअरलाइन्सको हेलिकप्टर दुर्घटना हुँदा डा. हर्क गुरुङलगायत २४ जनाको दुखद् निधन भएको थियो । मृत्यु हुनेमा वन राज्यमन्त्री गोपाल राई, वनसचिव दामोदर पराजुली, वातावरणविद् डा.तीर्थमान मास्केलगायत थिए । डब्ल्यूडब्ल्यूएफका डा. चन्द्र गुरुङ र मिङ्मा शेर्पा आदि यो दुर्घटनामा परेका थिए ।

नेपालको वातावरण संरक्षणको क्षेत्रमा यो निक्कै ठूलो क्षति र बलिदान थियो । वन तथा वातावरणको क्षेत्रमा ती विश्वले नै ‘रिकोनाइज’ गरेका व्यक्तित्व थिए । ती कञ्चनजंगा संरक्षण क्षेत्र परियोजनाको साँचो स्थानीय समुदायलाई हस्तान्तरण गर्न त्यहाँ पुगेका थिए ।

डा. हर्क गुरुङ, डा. तीर्थमान मास्के, डा. चन्द्र गुरुङहरूको आफ्नै सोच, सपना र प्रारुप थियो होला तर मुस्ताङे जनता भने एक्यापका पछिल्ला गतिविधिसँग त्यति सन्तुष्ट सुनिएनन् । लोमान्थाङका आम्ची ग्याल्चो विष्टले त नामै लिएर भनेका थिए – ‘एक्याप अब समाप्त जस्तै भइसक्यो ।’

१२ बजेको हावा चल्न सुरु हुनुअघि नै प्रहरी र एक्यापको चेकपोष्ट प्रक्रिया पूरा गरी हामी लुप्रातिर हानियौं । बाटोमा हामीले जति पनि ट्रेकिङ टोली, टुरिष्ट गाइड र होटलवालासँग कुरा गर्‍यौँ– ती सरकारले लिने ५०० डलर शुल्कप्रति असन्तुष्ट थिए । त्यसले विदेशी पर्यटकको संख्या सीमित गरेको र तिनको खर्च गर्ने क्षमता कमजोर बनाएको उनीहरूको तर्क थियो । मुस्ताङमा पैसा उठाएर ठूलो रकम काठमाडौं लाने, स्थानीय पेसा, व्यवसायमा त्यसको योगदान नहुने प्रचलन जनतालाई मन परेको थिएन ।

महँगो पर्यटक शुल्क काठमाडौंको शासक वर्गले मुस्ताङलाई शोषण गरेको अर्थमा लिइन्छ यहाँ । तर, काठमाडौंका शासक वर्गलाई यो यथार्थ कस्ले बताइ दिओस् ।

गाइडहरू सरकारसँग आक्रोशित थिए कि महँगो शुल्कको कारण उनीहरूलाई ग्राहक पाउन गाह्रो हुन्छ । सरकारले १०० डलर मात्र प्रवेश शुल्क लिने र न्यूनतम ५०० डलर स्थानीय क्षेत्रमा खर्च गर्नु पर्ने नियम बनाइदिए पर्यटन व्यवसायलाई राम्रो फाइदा पुग्ने उनीहरूको धारणा थियो ।

महँगो पर्यटक शुल्क काठमाडौंको शासक वर्गले मुस्ताङलाई शोषण गरेको अर्थमा लिइन्छ यहाँ । तर, काठमाडौंका शासक वर्गलाई यो यथार्थ कस्ले बताइ दिओस् ।

लुप्रा पुग्दा ढाडमा दुईतिर करालो ढोको बाँधेका एक हुल घोडालाई गोठालो धपाउँदै थिए । ती कतै ढुंगा ओसार्न गइरहेका थिए । माथि नै चर्चा भइसक्यो– लुप्रा मुस्ताङको १४ घरे एक मात्र बोन गाउँ हो । यहाँका बासिन्दाले आफूलाई ‘गुरुङ’ भन्दा रहेछन् ।

तर, तिनले ‘लोवा’ जस्तै बख्खु लगाएका थिए । भाषा, नश्ल र पहिरनले यहाँका ‘गुरुङ’ वा ‘लोवा’ छुट्ट्याउन गाह्रो छ । बरु, ‘थकाली र अन्य’ सजिलै चिनिन्छन् ।

मनाङबाट हिँडेर थोराङ पास छिचोलेका पैदल यात्री लुप्रा ७–९ दिनमा आइपुग्दा रहेछन् । मुक्तिनाथबाट हिँडेका ५–७ घन्टामा । लुप्राको बाटोमा दुवै खाले टोली भेटिए । तर, लुप्राबाट यात्रा गर्ने हो भने निरन्तर उकालो पर्ने र दोब्बर समय लाग्ने रहेछ ।

लुप्रामा होटल चलाएर बसेकी यार्सेलिङ गुरुङ काठमाडौंमा पढेकी रैछन् । विवाहअघि उनी बौद्धिष्ट थिइन्, अहिले बोन धर्म मान्छिन् । लुप्राको होटल व्यवसायसँग उनी खुशी देखिन्थिन् । दुर्लभ बोन गुम्बाको किम्वदन्ती सुनेर यहाँ धेरै विदेशी पर्यटक आउँदा रहेछन् ।

हामी उनको होटलमा चिया खान पस्दा एक जोडी फ्रान्सेली पैदल यात्री त्यही थिए । बाटोभरि मनाङ र मुक्तिनाथतिरबाट आएका विदेशीहरूको टोली देखिन्थ्यो ।

बोन तिब्बतको ‘प्रि–बुद्धिष्ट’ प्राकृतिक धर्म हो । यसको कुनै आधिकारिक ग्रन्थ, गुरु र शिक्षा पद्धति हुँदैन । धामी झाक्रीतन्त्रको प्रभाव हुन्छ । बुद्धिज्ममा भने शाक्यमुनि बुद्ध र महागुरु पद्मसंभवको शिक्षा पद्धतिलाई आदर्श मानेर अवलम्बन गरिन्छ ।

दुवै धर्मको अभ्यास गरेकी गुरुङलाई हामीले सोध्यौं– बोन र बुद्धिज्ममा के फरक हुन्छ ? उनले भनिन– ‘कतिपय नियम उल्टा हुन्छन् । जस्तो कि गुम्बा बुद्धिष्टले दाइनेतिरबाट घुम्छन्, बोनले देब्रेतिरबाट । त्यति धेरै फरक त हुँदैन ।’

उनले यस्ता केही सामान्य भिन्नता मात्र बताउन सकिन् ।

मुस्ताङ, अहो मुस्ताङ !

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register