क्यारेक्टर सर्टिफिकेटकै १० हजार, कलेजहरुको मनपरी, पाइला पाइलामा कमिसन ! (भिडियो ब्रिफिङ) 

काठमाडौँ । कलेज, अर्थात विद्याको मन्दिर । भविष्य उज्ज्वल बनाउन जाने कलेज पछिल्लो समय कलेजहरुका लागि दलालीको अखडा बनेको छ भन्दा अव कति पनि फरक नपर्ला । कारण कलेजले विद्यार्थीबाट तोकिएको फी उठाएर, पढाउने काम मात्र गर्नुपर्ने थियो । पढाईका लागि आवश्यक अरु चीजलाई न्यूनतम शुल्कमा उपलब्ध गराउनुपर्ने थियो । तर अहिले त कलेजहरुमा विद्यार्थीहरुको […]

May 23, 2025 - 03:12
 0
क्यारेक्टर सर्टिफिकेटकै १० हजार, कलेजहरुको मनपरी, पाइला पाइलामा कमिसन ! (भिडियो ब्रिफिङ) 

काठमाडौँ । कलेज, अर्थात विद्याको मन्दिर । भविष्य उज्ज्वल बनाउन जाने कलेज पछिल्लो समय कलेजहरुका लागि दलालीको अखडा बनेको छ भन्दा अव कति पनि फरक नपर्ला । कारण कलेजले विद्यार्थीबाट तोकिएको फी उठाएर, पढाउने काम मात्र गर्नुपर्ने थियो । पढाईका लागि आवश्यक अरु चीजलाई न्यूनतम शुल्कमा उपलब्ध गराउनुपर्ने थियो । तर अहिले त कलेजहरुमा विद्यार्थीहरुको फीको हिसाब कम, र दलालीको हिसाब बढी गरिने गरिएको छ । विद्यार्थीको कपडामा कमिसन, विद्यार्थीले पढ्ने किताबमा कमिसन, विद्यार्थी पठाएबापत दलाललाई कमिसन, विद्यार्थी ल्याइदिएबापत शिक्षकलाई कमिसन, एक्सकर्सन भन्यो, ट्राभलबाट कमिसन, क्यान्टिन चलाउने भन्यो उनीहरुबाट कमिसन । यस्तो लाग्छ नेपालका कलेजहरु कलेज होइनन्, कमिसनखोर भएका छन् ।

कमिसनका नाममा दलाली गर्ने मात्र होइन, नेपालका कलेजहरुले लिने फी बाहेकका शुल्क पनि लुटेरा शैलीका छन् ।आफूकहाँ पढेको विद्यार्थीको क्यारेक्टर ठिक छ भनेर एक पन्ना कागजमा लेखेर दिँदा पनि १० हजारसम्म लिने कलेजलाई लुटेरा नभनेर के भन्ने ? अनि त्यो १० हजार लिएपछि रेस्टिकेट नै भएको विद्यार्थीलाई पनि क्यारेक्टर ठिक छ भनेर लेखेर दिने भएपछि यो बिजनेश नभएर के भयो ? के विद्यार्थीको क्यारेक्टरको मूल्य हुन्छ ? यदि हुँदैन भने त्यो १० रुपैयाँ पनि नपर्ने कागजको मूल्य किन महँगो ? सस्तो नै छ भन्दा पनि १५०० देखि ३००० सम्मको शुल्क एउटा मामुली क्यारेक्टर सर्टिफिकेटका लागि लिन मिल्छ ? नुनको त भाउ तोक्ने सरकारले यसको भाउ तोक्नुपर्दैन ? कलेजले फी चाहिँ सस्तो भन्ने अनि क्यारेक्टर सर्टिफिकेट, ड्रेस, फिल्ड भिजिटका नाममा भइरहेको लुटतिर ध्यान दिनुपर्दैन ? प्रश्न गम्भीर छ ।

क्यारेक्टर सर्टिफिकेटमा मात्र होइन, कलेजले अन्य थुप्रै ठाउँबाट पनि कमिसन असुल्छ । बनाउनेले ७००० मा बनाएर दिने ड्रेसलाई १० हजार लिन्छ, तीन हजार त्यहीँ झ्वाम । फिल्ड भिजिट भन्छ, ट्राभलबाट विद्यार्थीका टाउका गनेर पैसा असुल्छ, हजारौं त्यहीँ दलाली । यतिसम्म त ठिक थियो, नेपाली बोले पनि फाइन, विद्यार्थी एबसेन्ट भए पनि फाइन, विद्यार्थी पार्क तिर डेटिङ्ग गएको देखे पनि क्यारेक्टर सर्टिफिकेट लिने बेला फाइन । बारतिर विद्यार्थी गएको देखे, चुरोट तानेको देखे भोलिपल्टै फाइन । विद्यार्थीलाई सम्झाउनु बुझाउनु, सुधार्नु त कता हो कता, फाइन नै फाइनको भारीका नाममा कलेजले गर्ने मनपरीले हद नाघिसकेको छ । र यो हदप्रति सरकारको ध्यान जान जरुरी छ ।

अव तपाईं सोध्नु होला यो क्यारेक्टर सर्टिफिकेटको १० हजार रुपैयाँ लियोचाहिं कसले ? हो, कलेजले १० हजार रुपैयाँ लिएका छन् क्यारेक्टर सर्टिफिकेटको । त्यो पनि सामुदायिक विद्यालयले । यस्तो बिजोग रमाइलो कहाँ भएछ भन्नुहोला । कहाँ हुनुनि यहीं पर काभ्रेमा । काभ्रेको पनि पिछडिएको जिल्लामा । जो होचो, उसको मुखमा घोचो भनेजस्तो शहर आएर पढ्न नसक्नेहरु धेरै पढ्ने विद्यालयले नै यो हदसम्मको अत्याचार गरेको छ ।

राजधानीबाट नजिक भएर पनि निकै पिछडिएको ठाउँ काभ्रे जिल्लाको खानीखोला गाउँपालिकाको केन्द्रमा रहेको एक मात्र माध्यमिक विद्यालय तालढुङ्गाको जन विकास माविले प्रति विद्यार्थी क्यारेक्टर सर्टिफिकेटको मात्र १० हजार रुपैयाँ लिने गरेको पाइएपछि यति बेला अभिभावक जागेका छन् । क्यारेक्टर सर्टिफिकेट लिने बेलामा सहयोग भन्ने, चन्दा भन्ने अनि अनि रसिदसमेत नदिएर १० हजार शुल्क असुल गरेको पाइएपछि अभिभावक जागेका हुन् ।

अतिसम्म त ठिकै थियो, अत्याचार नै हुन थालेपछि विद्यालयमा अध्ययनरत विद्यार्थीका सबै अभिभावकहरूले मिलेर पालिका, शिक्षा समिति तथा जिल्ला शिक्षा समन्वय इकाई काभ्रेमा कलेजको मनपरी रोकिनुपर्ने माग सहित ज्ञापनपत्र बुझाएका थिए । सो कलेजमा अभिभावकहरुले तालासमेत लगाएको थियो । तर विद्यालय प्रशासनले केहि थान गुण्डाहरु प्रयोग गरेर सो ताला फुटाएको थियो ।

अभिभावक जागेपछि खानीखोला गाउँपालिकाले वैशाख २२ गते संविधानअनुसार अनिवार्य तथा निःशुल्क शिक्षा सुनिश्चित गर्न सामुदायिक विद्यालयहरूलाई कुनै शुल्क नलिन भनेको थियो ।त्यसपछि पनि विद्यालयले टेरेन । अनि त धक्कामुक्का भयो, विद्यालय रणमैदानजस्तो भयो । विद्यालयले प्रहरी लगायो, अनि त हुलमुलमा के के भयो भयो ।
क्यारेक्टर सर्टिफिकेटको मूल्य पनि सो कलेजले त विद्यार्थी हेरेर लिँदो रहेछ । जो गरिब छ , बोलिदिने कोहि छैन, उसलाई झन् बढी शुल्क लिने रहेछ । बुझाएको रकमको रसिद पनि आधा मात्र आउने रहेछ । अनि बाँकीको हिसाब छैन । अनि यस्तो मनपरी बढेपछि के गरुन् अभिभावकहरुले पनि ।

तर विद्यालयको तर्क भने बेग्लै छ । विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार उठाइएको शुल्क अतिरिक्त विषय सञ्चालन तथा प्रशासनिक खर्चमा प्रयोग हुने गरेको विद्यालयका प्रधानाध्यापक देश ब. वाइबाको दाबी छ । थोरै विद्यार्थी पास हुन्छन् । अनि पास हुने विद्यार्थीबाट ८/८ हजार अतिरिक्त शुल्क र २ हजार सर्टिफिकेटको गरेर कुल १० हजार क्यारेक्टर सर्टिफिकेट लिने बेला उठाइएको उनको भनाई छ । थाहा छैन, के खानेहरुलाई यस्तो बुद्धि आउँछ ? सो ठाउँमा पढ्ने विद्यार्थीका बा आमा महिनाको ८ हजार समेत नकमाउनेहरु पनि छन् । शहरमा पढ्न पठाउन नसकेका परिवारले पढाउने कलेजमा यो हदसम्मको मनपरी छ ।

यो त प्रतिनिधि उदाहरण मात्र भयो, देशभरका विद्यालयमध्ये अधिकांशमा क्यारेक्टर सर्टिफिकेटका नाममा लुट धन्दा चलिरहेको छ । काठमाडौँका कलेजहरुमा यो शुल्क १५०० देखि ५ हजार रुपैयाँसम्म छ । कलेज नियमित नआउनेलाई छुट्टै रेट छ, विभिन्न बहानामा रेस्टिकेट भएकाहरुको हकमा ५० हजार सम्म पैसा लिएर क्यारेक्टर सर्टिफिकेट लिने गरेको पाइएको छ । यो हदसम्मको मनपरी अव रोक्ने बेला भएन र ?

देशभरका विद्यालयहरुमा यो हदसम्मको मनपरी हुँदा पनि अभिभावकको अधिकारका लागि भनेर खोलिएका संगठनहरु बोलिरहेका छैनन् । अभिभावक एक्लैको बोली कसले सुन्ने ? भर्ना गर्ने बेला मुसो जस्तो बनेर विद्यार्थी गुहार्ने कलेजले पछि शुल्कको कुरा उठाउँदा अफ्ट्यारो पारिहाल्छन् । न सरकारले सुन्छ, न शैक्षिक अभियानता नामधारीहरुलाई यसको चिन्ता छ । विद्यार्थीका नाममा खुलेका संगठनहरुलाई निजी कलेजको मतलव छैन, किनकि चन्दा मागी खाने भाँडो त्यहि हो । त्यहीँ पढेका विद्यार्थीहरुमध्ये धेरै यस विषयमा बोल्न चाहादैनन्, किनकि त्यहाँ पनि पढ्ने भन्दा पनि जोडी खोज्नेहरुको बिगबिगी छ । राम्रा विद्यार्थीहरु कुरा उठाउँछन् तर उनीहरु थोरैको कुरा कसले सुन्ने ?

सांसदहरु चर्को कुरा गर्छन्, शिक्षामन्त्रीको कुरा शिक्षाबारे झनै चर्को हुन्छ । तर गरिबका छोराछोरीहरुबाट क्यारेक्टर ठिक छ भनेर लेखेर दिंदा १० हजार लिने सामन्ती पाराबारे कोहि बोल्दैनन् । तर, अव बोल्नैपर्ने भएको छ । तपाईं हामी बोल्न आवश्यक भईसकेको छ । तपाईंको कलेजले पनि यस्तो हुने नहुने शुल्क के के लिईरहेको छ ? इनबक्स वा कमेन्ट गर्नुहोला । हुन त बोलेर मात्र हुने होइन, तर परिवर्तनका लागि आवाज उठाउन जरुरी छ । (भिडियो)

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register