तिलोत्तमा : फोहोर व्यवस्थापनमा उदाहरणीय, नगरबासिन्दालाई आम्दानीको बाटो

लुम्बिनी । ‘जथाभावी फोहोर फाल्ने बानी नगरौं, घर आगनको फोहोरलाई व्यस्थापन गरौं …’ सुरेश सेन्चुरी र सरिता पन्थीको स्वरमा बज्ने यही गीतले एकाबिहानै तिलोत्तमा नगरबासिन्दालाई ब्युँझाउँछ । टाढैबाट बजेको यो गीतसँगै ब्युँझिएका नगरबासिन्दाले संकलित फोहोर उठाउन हतारो सुरु गर्छन् । यस्तै दैनिकी तिलोत्तमा नगरपालिका वडा न. १ की पदमकुमारी पन्थको पनि छ । उनी यो […]

May 24, 2025 - 09:23
 0
तिलोत्तमा : फोहोर व्यवस्थापनमा उदाहरणीय, नगरबासिन्दालाई आम्दानीको बाटो

लुम्बिनी । ‘जथाभावी फोहोर फाल्ने बानी नगरौं, घर आगनको फोहोरलाई व्यस्थापन गरौं …’

सुरेश सेन्चुरी र सरिता पन्थीको स्वरमा बज्ने यही गीतले एकाबिहानै तिलोत्तमा नगरबासिन्दालाई ब्युँझाउँछ । टाढैबाट बजेको यो गीतसँगै ब्युँझिएका नगरबासिन्दाले संकलित फोहोर उठाउन हतारो सुरु गर्छन् ।

यस्तै दैनिकी तिलोत्तमा नगरपालिका वडा न. १ की पदमकुमारी पन्थको पनि छ । उनी यो गीतसँगै आफ्नो घरमा जम्मा गरिराखेको फोहोर बाहिर ल्याउँछिन् । उनले मात्रै होइन वडा न. ८ की सोना बस्यालको समेत दैनिकी यस्तै छ । उनी भन्छिन्, ‘म त गीतको धुन सुन्नेबित्तिकै अन्य काम छोडेर घरभित्र भएको फोहोर बटुल्न थालिहाल्छु ।’

पदमकुमारी र सोना त प्रतिनिधि पात्र मात्रै हुन् । फोहोर सङ्कलनका लागि आह्वान गर्ने गीतसँगै आउने गाडीमा सुरक्षित रुपमा फोहोर राख्ने बानी नै बसिसक्यो तिलोत्तमाबासीहरूलाई । ‘ल है फोहोर ल्याउनुस् , नपोखी ल्याउनुस्’ भन्दै नगरपालिकाले फोहोर सङ्कलनको आव्हान गर्छ । प्रत्येक हप्ता दुई पटक नागरिकको घरमा गाडि पठाउने गरेको छ ।

सहरीकरणसँगै फोहरमैला व्यस्थापनको चुनौती बढ्दै गएरहेका बेला तिलोत्तमा नगरपालिकाले भने ‘ग्रिन तिलोत्तमा, क्लिन तिलोत्तमा’ भन्ने नारासहित फोहोरमैला व्यवस्थापन गर्दै आएको छ । तिलोत्तमाले फोहोर मात्रै व्यवस्थापन गरेको छैन, यसबाट नगरबासिन्दालाई आम्दानीको बाटोसमेत दिएको छ । योजनाबद्ध ढंगले फोहर सङ्कलन, प्रशोधन र पुनः प्रयोगको प्रक्रिया अपनाउँदै पालिकाले उदाहरणीय कार्य गरिरहेको छ ।

विसं २०७४ सालको स्थानीय तहको निर्वाचनपछि तिलोत्तमा नगरपालिकाले फोहोरमैला सङ्कलनलाई व्यवस्थित बनाउन थालेको हो । नगरपालिकाभित्र रहेका घर, उद्योग तथा प्रतिष्ठानबाटै कुहिने र नकुहिने फोहर छुट्याएर सङ्कलन गर्दै आइएको छ । संकलित फोहोरलाई नगरपालिकाले अत्याधुनिक मेसिनरी औजारको प्रयोग गरेर फोहोर प्रशोधन केन्द्र सञ्चालन गरिरहेको छ । नगरपालिकाले कुहिने फोहोरबाट जैविक मल उत्पादन गर्ने तथा नकुहिने फोहोरबाट ब्रिकेट (पर्यावरणमैत्री दाउरा) र पुनः प्रयोगयोग्य सामग्री उत्पादन गर्दै आएको छ ।

साथै कवाड सामग्रीलाई बिक्री गरी आर्थिक आम्दानी गर्ने गरेको नगर प्रमुख रामकृष्ण खाँणले बताए । उनले फोहोर व्यवस्थापनमा आधुनिक प्रविधिको प्रयोग र अन्य निजी संस्थासँग सहकार्य गर्दै आएको बताए । नगरपालिकाले संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम नेपाल र जनसहभागिता वास स्वास्थ्य सहकारी संस्थासँग सहकार्य गर्दै फोहोर सङ्कलन, प्रशोधन र पुनः प्रयोगमा ध्यान दिएको नगरप्रमुख खाँणले बताए ।

तिलोत्तमा नगरपालिकामा १७ वटा वडा रहेका छन् । ती वडालाई तीन तहमा विभाजन गरी फोहोर व्यवस्थापन गर्ने काम भइरहेको छ । नगरपालिकाले तीनवटा निजी कम्पनीलाई फौहोरमैला व्यवस्थापनको जिम्मा दिएको छ । जसमध्ये वडा नं. १, ३, ४, ५ र ६ मा ‘सुन्दर नेपाल’ संस्था सँगको सहकार्यमा फोहर व्यवस्थापन भइरहेको छ । वडा नं. २ मा स्थानीय फोहोरमैला व्यवस्थापन उपभोक्ता समितिबाट र वडा नं. ७ देखि १७ सम्ममा जनसहभागिता वास स्वास्थ्य सहकारी संस्थाबाट व्यवस्थापनको काम भइरहेको छ ।

वातावरण सुन्दर नेपाल संस्थाले पाँचवटा वडाको फोहोर संग्कलन गरेर तिनाऊ नदी छेउमा ड्रम्पिङ्ग गर्ने गरेको छ । यस्तै वडा नं. २ का स्थानीय फोहोरमैला व्यवस्थापन उपभोक्ता समितिले संकनगर सामुदायिक बनको निश्चित क्षेत्रमा खाडल खनेर र तार जाली लगाएर व्यस्थापन गर्ने गरिरहेको छ । साथै कवाडको काम गर्ने व्यक्तिहरूमार्फत फोहोरको वर्गीकरण गर्ने काम निरन्तर भइरहेको छ ।

यस्तै, ११ वटा वडाको फोहोरमैला सङ्कलन गरिरहेको जनसहभागिता वास स्वास्थ्य सहकारी संस्थाले भने करैया सामुदायिक वन क्षेत्रमा पर्ने सुखौरा नदीको उकास क्षेत्रको ६ बिगाहा जग्गामा फोहोरमैलाको व्यवस्थापन गरिरहेको छ । अहिले उक्त क्षेत्रमा नगरपालिकाले संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम नेपाल र जनसहभागिता वास स्वास्थ्य सहकारी संस्थाको सहकार्य चलिरहेको छ । करिब चार करोड रुपैयाँको लागतमा फोहोर सङ्कलन, प्रशोधन र पुनः प्रयोगका लागि आवश्यक पर्ने भौतिक संरचना निमार्ण कार्य अन्तिम चरणमा पुगेको छ । अहिले फोहोर वर्गीकरण, प्रशोधन गरेर जनसहभगिता वास सहकारीले मासिक तीन लाख रुपैयाँ आम्दानी गरिरहेको छ ।

नगरभित्र दैनिक झण्डै २० टन फोहोर सङ्कलन हुने गर्छ । फोहोरमैला व्यवस्थापन तथा वातावरण सरसफाइका लागि मात्रै पालिका र तीनवटा निजी कम्पनीका गरी १३० जना कर्मचारी खटाइएको छ । साथै प्रत्येक महिनाको १ र १५ गते सबै वडा तथा टोलमा सरसफाइ अभियानसमेत सञ्चालन भइरहेको छ ।

नगरपालिकाले आर्थिक ऐन कार्यविधि तयार पारी मूल्य निर्धारण गरेर स्थानीय नागरिकको घर, कार्यालय, कलकारखाना, होटल, अस्पतालबाट निस्कने फोहोरमैलाको व्यवस्थापन गर्दै आएको त्यहाँका वातावरण शाखा हरियाली प्रवद्र्धन अधिकृत गोरखनाथ खनालले बताए ।

‘नगरपालिकाले निजी क्षेत्रसँगको सहकार्य, नवीन सोच र प्रविधिको प्रयोगमार्फत काम गरेका कारण छिमेकी पालिका तथा अन्य जिल्लाबाट पनि तिलोत्तमाको फोहरमैला व्यवस्थापनको अभ्यास हेर्न तथा अध्ययन भ्रमणमा आउने गरेका छन्’ खनालले भने ।

नगरले फोहोरमैला जथाभावी फ्याक्ने तथा अन्य केमिकलजन्य पदार्थ नदीमा मिसाउने वा खुल्ला ठाउँमा छाड्नेलाई कार्यविधिअनुसार कारबाही गर्ने गरेको छ । समुदाय, सहकारी, निजी क्षेत्र र स्थानीय सरकारको सहकार्यमा स्वच्छ र व्यवस्थित नगर निर्माणको सफल उदाहरण बन्नु नै आफूहरू उद्देश्य रहेको नगरका वातावरण शाखा हरियाली प्रवद्र्धन अधिकृत गोरखनाथ खनालको भनाइ छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register