यस्तो छ दुर्गा प्रसाईंको बयान…

झापा, १२ जेठ । तीनकुनेमा चैत १५ गते भएको प्रदर्शनको नेतृत्व गरेका दुर्गा प्रसाईंसहित ६१ जनाविरुद्ध आइतबार जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ। प्रसाईंलाई राज्यविरुद्धको कसुरसँगै आपराधिक उपद्रव, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र संगठित अपराधको कसुरमा सजाय माग गरिएको छ। अरुलाई भन्दा प्रसाईंलाई बढी कसुरमा प्रतिवादी बनाइएको छ। प्रसाईंले भने बयानका क्रममा त्यसदिन आफ्नो [...] The post यस्तो छ दुर्गा प्रसाईंको बयान… appeared first on Jhapa Online.

May 26, 2025 - 02:52
 0
यस्तो छ दुर्गा प्रसाईंको बयान…

झापा, १२ जेठ । तीनकुनेमा चैत १५ गते भएको प्रदर्शनको नेतृत्व गरेका दुर्गा प्रसाईंसहित ६१ जनाविरुद्ध आइतबार जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ। प्रसाईंलाई राज्यविरुद्धको कसुरसँगै आपराधिक उपद्रव, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र संगठित अपराधको कसुरमा सजाय माग गरिएको छ।

अरुलाई भन्दा प्रसाईंलाई बढी कसुरमा प्रतिवादी बनाइएको छ। प्रसाईंले भने बयानका क्रममा त्यसदिन आफ्नो प्रत्यक्ष संलग्नता नरहेको दाबी गरेका छन्। अनुसन्धानका क्रममा गरेको बयानमा उनले आन्दोलनलाई हिंसात्मक बनाउने उदेश्य नभएको बताएका छन्।

उनले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भने राम्रो चिनजान भए पनि सम्बन्ध भने राजा र जनताको जस्तो भएको बताएका छन्। ५ वर्ष पहिलेदेखि नै ज्ञानेन्द्रलाई पटकपटक भेटेको प्रसाईंको बयान छ। उनले ज्ञानेन्द्रका निजी सचिवमार्फत भेट हुने गरेको बयानमा खुलाएका छन्।

उनले आफू पहिले माओवादीमा लागेर गणतन्त्र ल्याउन भूमिका खेले पनि यो व्यवस्था ठिक नलागेर संवैधानिक राजसंस्थाको बाटोमा लागेको जिकिर गरेका छन्।

उनले ज्ञानेन्द्रलाई फर्किन पटक–पटक भेटेर आग्रह गरेको बताएका छन्। ज्ञानेन्द्रलाई २०८१ चैत १४ गते निजी सचिवमार्फत महाराजगन्जमा रहेको निर्मल निवासमा भेटेको बयान दिएका छन्।

नवराज सुवेदीसहित सबै राजावादीको उपस्थितिमा छलफल गरेर राजसंस्था फर्काउनका लागि जनआन्दोलन समिति नै बनाएको बताएका प्रसाईंले यसको परिचालन तथा व्यवस्थापनको जिम्मा भने राप्रपाका महामन्त्री धवलशमशेरको भएको बताएका छन्।

आफू धवलशमशेर मातहत रहेर जनआन्दोलन परिचालन गर्ने भूमिकामा रहेको र उक्त भूमिका नवराज सुवेदीले दिएको उनको बयान छ। चैत १५ गतेको कार्यक्रम पनि ज्ञानेन्द्र पोखराबाट फर्किंदा विमानस्थलबाट निवाससम्म लैजाँदाको र्‍यालीकै निरन्तरता भएको बताएका छन्।

तीनकुने प्रदर्शनलाई हिंसात्मक बनाउने योजना नरहेको दाबी गर्दै एक हप्ताको अल्टिमेटम दिएर माग सम्बोधन गर्न अपिल गर्ने र २१ गतेदेखि विभिन्न आन्दोलनका कार्यक्रम घोषणा गर्ने कार्यक्रम रहेको दाबी उनको छ। नेपाल बन्दसम्मका कार्यक्रम अगाडि सार्ने योजना रहेको उनले बताएका छन्।

कार्यक्रमका लागि रकम कसैबाट पनि संकलन नगरेको दाबी गरेका प्रसाईंले आफूले र आफ्नो अभियानका साथीहरुबाट रकम जुटाएको बयान दिएका छन्।

आफू कार्यक्रमस्थलमा पुग्नुपहिले नै प्रहरीले अश्रुग्यास र गोली चलाएको बताउँदै प्रसाईंले भनेका छन्, ‘जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी हुन्। निजले आन्दोलनको जनकमान्डर मलाई घोषणा गरेका हुन्। आन्दोलन परिचालन कमिटीका संयोजक धवल शमशेर मातहत रही मैले यो आन्दोलनको नेतृत्वलाई सहयोग गर्ने हो। मेरो भूमिका आन्दोलन अगाडि बढाउने हो। अरु मिलाउने भूमिका धवलशमशेरको हो।’

तीनकुने प्रदर्शनमा आउँदा आफू साइत हेराएर र आमाको हातबाट दही खाएर पुगेको प्रसाईंले बताएका छन्। तर तीनकुने पुग्दा स्थिति असामान्य भएको, आफ्नै गाडीमा पनि अश्रुग्यास प्रहार भएको र गोली कानको नजिकबाट गएको दाबी उनको छ।

कार्यक्रमस्थल आसपासका घरमा हतियारसहितका मान्छे देखेपछि आफूलाई मार्ने योजना बनाएको लागेपछि गाडीको अगाडि गई आफै चलाउन थालेको उनले भनेका छन्।

‘गाडी चलाइरहेको ड्राइभरलाई बाहिर निकाली चालक सिटमा आफै बसी आफ्नो ज्यान जोगाउन आओ, आओ भन्दै आफू पनि बाँच्न र अरुलाई पनि बचाउन भनी प्रहरीको घेराभित्र जान गाडी अगाडि बढाएको हुँ। गाडी तीव्र गतिमा कुदाएको छैन। प्रहरीलाई घाउ चोट हुने गरी गाडीले पेलेर लगेको छैन। बरु सो समयमा मेरो गाडी फुटाइएको छ। म आफू सुरक्षित हुनका लागि मात्र प्रहरीको घेराभित्र हतारहतार गएको हुँ।’

उनले आफूले सरकारी तथा निजी सम्पत्तिमा तोडफोड तथा आगजनी नगरेको दाबी गरेका छन्। ती आगो लगाउने र तोडफोड गर्ने मान्छे आफूले नचिन्ने बताएका छन्। भीडभाडमा, आन्दोलनमा साधारण घाइते हुनु स्वाभाविक भएको पनि उनको बयान छ। त्यसदिन उक्त क्षेत्र निषेधित हो कि होइन भन्ने पनि परिस्थितिका कारण सोच्न नसकेको प्रसाईंले भनेका छन्। आन्दोलनकारीलाई उत्तेजित बनाउने काम प्रहरीले नै गरेको आरोप पनि उनले लगाएका छन्।

सुरक्षा घेरा तोडेर अगाडि बढेपछि प्रहरीले नै आफूलाई मञ्चसम्म पुर्‍याइदिएको पनि प्रसाईंले बताएका छन्। प्रहरीले कार्यक्रम हुनै नदिने गरी बल प्रयोग गरेपछि आवेगमा आएर संसद् भवन र एयरपोर्ट कब्जा गर्नपर्छ भनेको उनको जिकिर छ।

अपरिचित व्यक्ति हातमा पेस्तोल बोकेर आफूतिर आउँदै गरेको सूचना पाएपछि १० मिनेटभन्दा बढी मञ्चमा नबसेको बताए पनि कसले त्यस्तो सूचना दियो भन्ने बताउन चाहेका छैनन्।

त्यसपछि आफू सटरभित्र पसेको र आफू पुग्नुपहिले नै पुष्कर खतिवडा लगायत त्यहाँ बसिरहेको उनले बताएका छन्। त्यहाँबाट साढे ४ बजेतिर मुकुन्द रिजालले गाडी झिकाएपछि खतिवडा र आफ्ना सहयोगीसहित इमाडोल पुगेको बताएका छन्।

उनको घरमा बसिरहँदा कर्फ्यु लागेको जानकारी पाएपछि अब बस्न ठिक छैन भनेर भक्तपुर, काभ्रे, सिन्धुली, हुँदै भारततर्फ भागेको बताएका छन्। घुसपैठ गरी कार्यक्रम नै काबुभन्दा बाहिरको बनाइदिएकाले यसको जिम्मेवारी आफूले नलिने प्रसाईंले बताएका छन्। आफूभन्दा पहिले धवल र रवीन्द्र पुगेकाले आन्दोलन कसरी भड्कियो उनीहरुलाई थाहा हुनु पर्ने प्रसाईंको बयान छ। उनले आफूले अगाडि बढाएको आन्दोलन सत्ता पल्टाउनका लागि नभई राजाका लागि स्पेस खोजेको जिकिर गरेको नेपाल खबरमा उल्लेख छ ।

The post यस्तो छ दुर्गा प्रसाईंको बयान… appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register