उमेरले रोक्दैन पढ्ने चाहना : साधना विद्यालयको कक्षामा हजुरआमादेखि नातिनीसम्म

बुटवल ।  रूपन्देहीको बुटवलस्थित आर्दशनगरकी विष्णु रायमाझीको पारिवारिक, सामाजिक तथा आर्थिक अवस्थालगायत व्यक्तिगत दैनिकी सहजै छ । छोराबुहारी र नातिनातितासँगै रहेर ‘सुखी जीवन’ जिइरहेकी उनलाई चार वर्षअगाडि एउटा कुराको अपूर्ण महसुस भयो । एक किसिमको छट्पटी नै भयो । ‘हामी सानो हुँदा छोरीले पढ्नु पर्दैन, घरको काम गर्न सिके पुग्छ भन्ने मान्यता थियो । यही […]

Jun 13, 2025 - 05:58
 0
उमेरले रोक्दैन पढ्ने चाहना : साधना विद्यालयको कक्षामा हजुरआमादेखि नातिनीसम्म

बुटवल ।  रूपन्देहीको बुटवलस्थित आर्दशनगरकी विष्णु रायमाझीको पारिवारिक, सामाजिक तथा आर्थिक अवस्थालगायत व्यक्तिगत दैनिकी सहजै छ । छोराबुहारी र नातिनातितासँगै रहेर ‘सुखी जीवन’ जिइरहेकी उनलाई चार वर्षअगाडि एउटा कुराको अपूर्ण महसुस भयो । एक किसिमको छट्पटी नै भयो । ‘हामी सानो हुँदा छोरीले पढ्नु पर्दैन, घरको काम गर्न सिके पुग्छ भन्ने मान्यता थियो । यही कारण स्कुल गई पढ्न पाइनँ । पढ्न नपाएकोमा मलाई एक किसिमको छट्पटी नै भयो,’ उनी भन्छिन् ।

त्यतिबेला ६३ वर्षमा हिँडिरहेकी विष्णुले आफूमा भएको पढ्ने इच्छा श्रीमान्‌लाई व्यक्ति गरिन् । अनि श्रीमान्‌कै सहमति र सल्लाहअनुसार स्कुलमा भर्ना हुने निधो भयो । यसपछि उनी बुटवलकै साधना महिला विद्यालयमा भर्ना भइन् । विद्यालयले उनलाई एकैपटक कक्षा ६ मा भर्ना दियो । अहिले ६७ वर्षकी भएकी विष्णु कक्षा १० मा पुगेकी छिन् । अत्यावश्यक कामबाहेक नियमित विद्यालय जान्छिन् । धर्मकर्म गर्ने बेलामा विद्यालय गएको भनेर कतिपयले भनेको पनि उनी सम्झिन्छिन् । यद्यपि बूढेकालमा शिक्षित हुन पाउँदा आत्मसन्तुष्टि मिलेको उनी बताउँछिन् ।

‘अरुले धर्मकर्म भजनकीर्तन गर्ने बेला बूढेसकालमा पनि किन पढ्न गएको भने पनि पढ्ने चाहाना भएर होला मलाई केही फरक परेको छैन । अरुले के भन्छन् भन्दा पनि विद्यालय आएर मैले आत्मसन्तुष्टि प्राप्त गरेकी छु । उमेरमा पाको भएर होला सहपाठीका लागिसमेत उदाहरणीय बनेकी छु ’ उनले भनिन् ।

बुटवलको बेलबासकी ३४ वर्षीया सरस्वती अर्याल पनि कक्षा १० मा पढ्छिन् । उनले विगतमा निमावि तहको पढाइ पूरा गर्न पाएकी थिइनन् । विवाहपछि छोराछोरी जन्माउने, हुर्काउनेसँगै परिवार व्यवस्थापनमै  उनको दिन गयो । सरस्वतीकी छोरी अहिले प्लस टू पढ्ने भएकी छिन् । छोरी हुर्किएपछि मात्रै आफूलाई स्कुल जाने मौका मिलेको उनको भनाइ छ । उमेर घर्केपछि पनि पढ्न पाएर हौसिएकी सरस्वतीको अझ धेरै पढ्ने धोको छ । ‘सकेसम्म धेरै पढ्न् र पढाइअनुसारको जागिर खाने धोको छ,’ उनले थपिन् ।

त्यसो त साधना विद्यालयमा आमा र हजुरआमा मात्र होइन, औपचारिक शिक्षाबाट बञ्चित भएका नातिनी (साना बालिका)सम्म पढ्न जाने गरेका छन् । तीमध्ये एक हुन १३ वर्षीया सुमन जैसवाल । कक्षा ३ मा भर्ना भएकी उनी अहिले कक्षा ६ मा पुगेकी छिन् । पारिकारिक र आर्थिक अवस्था नाजुक भएकी सुमन पढाइमा निकै मिहेनेती र अनुशासित भएको उनका सहपाठी बताउँछन् । उनी नियमित स्कुल जान्छिन् । गृहकार्य मात्रै होइन अन्य अतिरिक्त क्रियाकलापमा पनि सक्रिय छिन् ।

विष्णु, सरस्वती र सुमन मात्रै होइन, अहिले बुटवलमा बीचमै पढाइ छोडेका, औपचारिक शिक्षाबाट बञ्चित भएका पाँच वर्षका बालिकादेखि ७० वर्ष सम्मका महिलाहरूमा पढ्ने जागर बढेको छ । ‘शिक्षालाई उमेरले छेक्दैन, अधुरो शिक्षा पूरा गरौं’ भन्ने उद्देश्यका साथ २०६३ सालमा विद्यालय उमेर समूहका शिक्षाबाट बञ्चित बालिका, युवती तथा महिलाका लागि बुटवलमा साधना महिला विद्यालयको स्थापना भएको हो । यो विद्यालय २७ जना शिक्षाप्रेमी महिलाले संगठन बनाई बुटवलको वडा नम्बर ६ मा खोलेका हुन् ।

विद्यालय शिक्षा लिएका, तर विभिन्न कारणले औपचारिक रूपमा शिक्षा पूरा गर्न नसकेका तथा पढ्नै नपाएका बालिका तथा महिलाले यो विद्यालयमा पढ्ने गरेको प्रधानाध्यापक विष्णु गौतम घिमिरेले बताइन् । सूचना प्रविधिको विकाससँगै आमाहरूले पढाइलाई महत्व दिएको उनको बुझाइ छ । ‘पाको उमेरमा सिकाइमा हुने कठिनाइबीच आमाहरूले पढाइमा दिएको मिहिनेतले मलाई काम गर्न ऊर्जा मिलेको छ,’ उनी भन्छिन् ।

साधनाले बालबालिका तथा महिलालाई निःशुल्क शिक्षा दिँदै आएको छ । ‘शिक्षा नि:शुल्क छ । तर, कुनै अभिभावक, विद्यार्थी वा कसैले दान दिएको खण्डमा भने लिने गरेका छौँ,’ प्रधानाध्यापक गौतमले थपिन् ।

गुठीदेखि सामुदायिकसम्मको यात्रा

कक्षा ६ देखि १० सम्म गुठी विद्यालयको रूपमा स्थापना भएको साधनामा २०६९ सालदेखि कक्षा १ देखि ५ सम्म कक्षा सुरु गरिएको थियो । यो विद्यालय गुठीबाट सुरु भए पनि अहिले सामुदायिक विद्यालयको रूपमा विकास भएको छ । २१ जना विद्यार्थीबाट पढाउन सुरु गरिएको विद्यालयमा अहिले २५० जनाले अध्ययन गर्दै आएका छन् । यो अवधिमा १५० भन्दा धेरै महिलाले एसईई पूरा गरिसकेका छन् । चालु शैक्षिक सत्र २०८२ मा २४ जना बालिका तथा आमाहरू विधार्थीका रूपमा भर्ना भएका छन् । यहाँ पढ्न बुटवलसँगै तिलोत्तमा, सैनामैना, देवदह र छिमेकी जिल्ला नवलपरासीबाट समेत आउने गरेका छन् ।

विद्यालयमा धेरैजसो आमा भइसकेकाहरू विद्यार्थी छन् । कोही आमाहुँदै हजुरआमा बनेका पनि पढ्न आउँछन् । आमाहरूको काँधमा घरव्यवहार चलाउने जिम्मेवारी छ । तैपनि उनीहरूले जसोतसो समय निकालेर पढ्न भ्याएका छन् । विद्यालयमा बिहान १० देखि दिउसो ४ बजेसम्म पढाइ हुन्छ । पढाउँदा आमाहरूले ढिलो बुझे पनि बुझेपछि नभुल्ने गरेका प्रधानाध्यापक गौतम बताउँछिन् । ‘आमाहरूले ढिलो बुझ्नुहुन्छ । बुझेपछि फेरि भुल्नुहुन्न । गणित र अंग्रेजी बुझाउन भने बढी समस्या हुन्छ । हामीले कति काम छोडेर सिक्न आएका छौँ । समय खेर जान दिनुहुन्न । जसरी हुन्छ सिक्ने हो भन्नेतिर ध्यान दिनुहुन्छ,’ उनले भनिन् ।

प्रधानाध्यापक गौतमका अनुसार यहाँबाट पास भएका धेरै महिला अहिले क्याम्पस पढ्ने भएका छन् । कोही स्टाफ नर्स त कोही कानुन, शिक्षा र व्यवस्थापन समूहमा पढ्दै छन् । कतिपय सरकारी तथा गैरसरकारी संस्थाहरूका जागिरेसमेत भएका छन् । साधनाका विधार्थीले क्याम्पसहरूमा पढ्दा राम्रो अंक ल्याएर उर्त्तीण भएको गौतमले बताइन् ।

सुरुवाती दिनमा विद्यालय सञ्चालन गर्न गाहे भए पनि गुठीबाट सामुदायिकमा गएपछि धेरै सहज भएको सरोकारवालाहरूको भनाइ छ । सहयोगी दाताहरूले मन खोलेर सहयोग गर्ने गरेको प्रधानाध्यापक गौतम बताउँछिन् । विद्यालय सञ्चालनका लागि बुटवल उपमहानगरपालिकाले प्रत्येक वर्ष बजेटको सुनिश्चता गरेको छ ।

चालु आर्थिक वर्षमा पनि १० लाख रूपैयाँ आर्थिक सहयोग गरेको पाइएको छ । शिक्षा मन्त्रालयको धार्मिक तथा वैकल्पिक विभागले वार्षिक १८ लाख रूपैयाँ दिने गरेको छ । विद्यालयमा दुई जनाको मात्र दरबन्दी छ । तर, १२ जना शिक्षक, एक कार्यालय सहयोगी रहेकाले अन्य शिक्षकलाई निजीबाट तलब व्यवस्थापन गरिएको छ । ‘हामीले जति पनि शिक्षक राखेका छौँ, उहाँहरूलाई सरकारी तलब स्केल दिन सकिएको छैन, न्यूनतम दिएरै राखेका छौँ’, विद्यालयकी प्रधानाध्यापक गौतमले भनिन् । उचित स्रोत–साधनको व्यवस्थापन नहुँदा काम गर्न कठिनाइ भए पनि आवाजविहीनको आवाज बन्न हरदम प्रयासरत रहेको उनको भनाइ छ ।

विद्यालयकी पूर्वअध्यक्ष तथा बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालले शिक्षा नहुँदा आत्मनिर्भरता रोजगारी र अवसरका धेरै बाटो बन्द भएको देखेपछि महिला विद्यालय खोल्न प्रेरणा जागेको बताइन् । ‘महिलाहरूले विद्यालय खोल्ने योजना सुनाउँदा सुरुमा मागी खाने भाँडो बनाउन लागे भन्दै धेरैले गिज्याएका थिए । विद्यालय सञ्चालनको स्वीकृति जुटाउन शिक्षा विभाग र मन्त्रालयमा समेत निकै मिहिनेत गर्नुपर्‍यो ,’ उनले भनिन् । यसैले विद्यालयलाई दिगोरूपमा सञ्चालन गर्न सबै क्षेत्रको साझा प्रयास जरुरी रहेको उपप्रमुख अर्यालले बताइन् ।

उनी विद्यालय सञ्चालनमा लागि बुटवल उपमहानगरले वार्षिक रूपमा निरन्तर बजेट विनियोजन गर्दै आएकाले आगामी दिनमा पनि बजेटको सुनिश्चता गर्ने प्रतिबद्धता जनाउँछिन् । साधना विद्यालयले विगतमा हस्ताक्षर गर्न औँठाछाप लगाउन विवश महिलालाई शिक्षित बनाएकोमा उपप्रमुख अर्याललाई गर्व महसुस हुन्छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register