शिवसताक्षीमा रोजगार संवाद

शिवसताक्षी, ३ असार । झापाको शिवसताक्षी नगरपालिका रोजगार सेवा केन्द्रले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम निर्माणका लागि सरोकारवाला निकायसँग ‘रोजगार संवाद’ गरेको छ । नगरपालिकाको सभाहलमा आयोजित संवादमा नगर भित्र न्यूनतम रोजगारी सिर्जना, स्थानीय स्रोत साधनको परिचालन, निजी क्षेत्रको सहभागिता र कृषिमा प्राथमिकता दिने विषयमा छलफल गरिएको थियो । संवादका सहभागीहरुले कृषिलाई नगरको मुख्य [...] The post शिवसताक्षीमा रोजगार संवाद appeared first on Jhapa Online.

Jun 17, 2025 - 02:56
 0
शिवसताक्षीमा रोजगार संवाद

शिवसताक्षी, ३ असार । झापाको शिवसताक्षी नगरपालिका रोजगार सेवा केन्द्रले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम निर्माणका लागि सरोकारवाला निकायसँग ‘रोजगार संवाद’ गरेको छ ।

नगरपालिकाको सभाहलमा आयोजित संवादमा नगर भित्र न्यूनतम रोजगारी सिर्जना, स्थानीय स्रोत साधनको परिचालन, निजी क्षेत्रको सहभागिता र कृषिमा प्राथमिकता दिने विषयमा छलफल गरिएको थियो ।

संवादका सहभागीहरुले कृषिलाई नगरको मुख्य रोजगार स्रोतका रुपमा विकास गर्न जोड दिएका थिए । कृषकले उत्पादन गरेका वस्तुहरुको मूल्य निर्धारण, बजारीकरण, युवा पुस्तालाई कृषि पेशामा आकर्षित गर्न प्रोत्साहन कार्यक्रम ल्याउनुपर्ने सुझावहरु आएका छन् ।

तालिम प्राप्त व्यक्तिहरुका उत्पादनहरुलाई बजारीकरणको ग्यारेन्टी दिनुपर्ने र तालिमहरुलाई अझ व्यवस्थित बनाउनुपर्नेमा समेत सहभागीहरुले जोड दिएका थिए ।

रोजगार संयोजक विदुर तिम्सिनाले संकलित सुझावहरु रोजगार रणनीति निर्माणमा उपयोगी हुने बताए । उनका अनुसार निजी क्षेत्रबाट रोजगारी सिर्जना भएको भए तापनि उपयुक्त श्रमिक नपाएको गुनासो व्यवसायीहरुले गरेका छन् ।

संवादमा नेकपा एमाले नगर अध्यक्ष मेदनी दंगालले कृषि क्षेत्रमा प्रविधिको प्रयोग र जैविक मल उत्पादनमा जोड दिँदै मल उत्पादनबाट पनि रोजगारी सृजना गर्न सकिने बताए । नेपाली कांग्रेसका महासमिति सदस्य भक्ती सिटौलाले धानको मुल्य सुनिश्चित गरी किसानलाई खेतीतर्फ प्रोत्साहित गर्नुपर्ने धारणा राखे । अहिलेको अवस्थामा किसानले लगानी उठाउन नसकेकोले कृषि पेशामा निराशा छाएको उनले बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टी नगर सभापति गंगाराम कडरियाले नगरका श्रमिकहरुको योग्यता पहिचान गरी रोजगारीको बाँडफाँट गर्नुपर्ने बताए । साथै सीपमूलक शिक्षा प्रारम्भिक तहदेखि दिनुपर्ने र वैदेशिक रोजगारी न्यूनीकरण गर्न स्थानीय रोजगारीको व्यवस्था गर्नु पर्नेमा जोड दिए ।

कार्यक्रममा बोल्दै नगर प्रमुख मेगाहाङ थोप्राले रोजगार तथ्यांक संकलनका लागि श्रमिक डेस्क स्थापना गर्ने प्रक्रिया अगाडि बढेको जानकारी गराए । आगामी आर्थिक वर्षमा १ विघा जमिनमा खेती गर्ने समूह वा व्यक्तिलाई १ लाख रुपैयाँ अनुदान दिने योजना रहेको उनले बताए । नगरभित्रका श्रमिकका लागि बीमा कार्यक्रम सञ्चालनमा रहेको र घाइते भए १ लाख र मृत्यु भएमा ७ लाख रुपैयाँसम्मको राहत व्यवस्था रहेको जानकारी समेत दिए ।

कृषकले उत्पादन गरेका धानलाई सुकाउन निजी क्षेत्रसँग साझेदारीमा ड्रायर मेसिन जडानको काम अगाडि बढाइएको समेत नगर प्रमुखले जनाएका छन् ।

कार्यक्रममा बेनु कार्की, चन्द्रप्रसाद खनाल, रुद्रमणि भट्टराई, चिरञ्जिवी लुइँटेल, राजीव घिमिरे, प्रकाश पोखरेल लगायत २२ जनाले मौखिक तथा लिखित सुझाव दिएका थिए । प्रमुख प्रशासकीय अधिकृत सुनिता तुम्बाहाङ्फे, लेखा शाखा प्रमुख प्रकाश योङ्गहाङ, योजना अधिकृत प्रकाश चौधरी, शिक्षा शाखा प्रमुख छवि ढकाललगायतको उपस्थिति रहेको संवाद कार्यक्रम नगरप्रमुख मेगाहाङ थोप्राको अध्यक्षतामा सम्पन्न भएको थियो ।

The post शिवसताक्षीमा रोजगार संवाद appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register