तत्कालीन कार्यकारी निर्देशकसहित ९ विरुद्ध भ्रष्टाचार मुद्दा

–परिषद्कै कोषबाट श्रीमतीको नाममा स्कारपियो गाडी–मिलेमतोमा घुसरकम बाँडफाँट काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का तत्कालीन कार्यकारी निर्देशक बलराम ठाकुरलगायतले गैरकानुनी रूपमा परिषद्को रकम खर्च गरेको, परिषद्को कोषबाट स्कारपियो गाडी खरिद गरी बिक्री गर्दा अनियमितता गरेको र विभिन्न समयमा घुस रकम बुझ्ने गरेको पाइएपछि उनीहरूविरुद्ध बिहीबार भ्रष्टाचार मुद्दा दायर गरेको छ […]

Jun 20, 2025 - 02:40
 0
तत्कालीन कार्यकारी निर्देशकसहित ९ विरुद्ध भ्रष्टाचार मुद्दा

–परिषद्कै कोषबाट श्रीमतीको नाममा स्कारपियो गाडी
–मिलेमतोमा घुसरकम बाँडफाँट

काठमाडौ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का तत्कालीन कार्यकारी निर्देशक बलराम ठाकुरलगायतले गैरकानुनी रूपमा परिषद्को रकम खर्च गरेको, परिषद्को कोषबाट स्कारपियो गाडी खरिद गरी बिक्री गर्दा अनियमितता गरेको र विभिन्न समयमा घुस रकम बुझ्ने गरेको पाइएपछि उनीहरूविरुद्ध बिहीबार भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले ठाकुरसहित विकास परिषद्का लेखापाल सवित्री गिरी, प्रशासकीय अधिकृत चिरञ्जीवी शर्मा, कम्प्युटर अधिकृत कृष्णमुरारी सिंह, परिषद्का सवारी चालक विक्कीकुमार चौधरी, उपभोक्ता समितिका अध्यक्ष विजयकुमार यादव र कोषाध्यक्ष बबितादेवी साह, धनुषा जनकपुरधामका स्थानीय जितेन्द्रकुमार यादव र बलराम ठाकुरकी श्रीमती इन्दुलेखा कुमारी ठाकुरविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अख्तियारले तत्कालीन कार्यकारी निर्देशक ठाकुुरसँग ५१ लाख ७१ हजार ८ सय ४४ रुपियाँ बिगो र भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ९ बमोजिमको कैदसजाय माग गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको हो ।अख्तियारका अनुसार ठाकुरले बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्को कार्यकारी निर्देशकको पदमा वि.सं. २०७५ मंसिर ५ देखि वि.सं. २०७९ मंसिर ४ गतेसम्मको कार्यरत अवधिमा अन्य प्रतिवादीहरूसँगको आपसी मिलेमतो तथा योजनामा निजी प्रयोगको लागि बा १३ च २०३७ नम्बरको स्कारपियो गाडी खरिदको लागि बैना दिएको एक वर्षपश्चात निजले श्रीमती इन्दुलेखा कुमारी ठाकुरको नाममा उक्त गाडी यातायात कार्यालयबाट नामसारी गरी गाडी नं. बा.१६ च ६४७ को गाडी धनी मुकेश यादवसँग गाडी भाडामा लिन सम्झौता गरेको देखाई गाडी भाडा भुक्तानीको लागि निवेदन, सम्झौतालगायतको गलत लिखत तयार गरी मुकेश यादवको नाममा १० लाख रुपियाँको चेक काटेको पाइएको थियो ।

ठाकुरले श्रीमतीको नाममा खरिद गरेको गाडीका लागि बिक्रेताको बैंक खातामा गैरकानुनी रूपमा १० लाख रुपियाँ भुक्तानी गराई अनियमितता गरेको पुष्टि भएको थियो ।यात्री निवासको मर्मतसम्भारको लागि मधेस प्रदेश सरकारबाट आ.व. २०७५\०७६ मा ९० लाख रुपियाँ प्राप्त भएकोमा सार्वजनिक खरिद ऐन÷नियमावली पालना नगरी योजना सम्झौता गरिएको थियो । यसै गरी योजनाको कुल लागतको ५० प्रतिशत रकम अर्थात ४५ लाख रुपियाँ बलराम ठाकुरको सिफारिसमा उपभोक्ता समितिलाई चेकमार्फत निकासा गराई अनियमितता भएको थियो । सो क्रममा उपभोक्ता समिति अध्यक्ष विजयकुमार चौधरी र कोषाध्यक्ष बबिता देवी साहले सो रकमबाट बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का कम्प्युटर अधिकृत कृष्णमुरारी सिंहको नाममा १४ लाख ९९ हजार र सोही परिषद्का सवारी चालक विक्कीकुमार चौधरीको नाममा ४ लाख रुपियाँ भुक्तानी गराएको पाइएको थियो ।

उक्त रकममध्ये कृष्णमुरारी सिंहमार्फत १२ लाख ५० हजार कार्यकारी निर्देशक ठाकुरकी श्रीमती इन्दुलेखाको नाममा खरिद गरिएको स्कारपियो गाडीको भुक्तानीबापत गाडी बिक्रेताको बैंक खातामा गैरकानुनी रूपमा रकम दाखिला गरिएको पाइएको थियो ।

सरकारबाट आ.व.२०७६।७७ मा यात्री निवासको सौन्दर्यीकरणमा १७ लाख र गेट निर्माणको लागि १० लाख रुपियाँ प्राप्त गरेकोमा दुई फरक योजनाको लागि एउटै उपभोक्ता समिति गठन गरी सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ९७ मा उपभोक्ता समितिलाई काम गराउने कार्यविधिलगायतको कानुनी व्यवस्था रहेकोमा उक्त कानुनी व्यवस्थाको पालना नगरी अनियमितता गरिएको थियो ।

यसै गरी इन्दुलेखाको नाममा खरिद गरिएको स्कारपियो गाडीको भुक्तानीबापत २ लाख दाखिला गरेको देखिँदा निज बलरामले अन्य प्रतिवादीहरूसँग मिलेमतो गरी आफ्नो जिम्मामा रहेको सार्वजनिक संस्था÷बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्कोे हिनामिना भएको रकम मध्ये २४ लाख ५० हजार इन्दुलेखाकै नाममा खरिद भएको स्कारपियो गाडीको भुक्तानीबापत गाडी बिक्रीकर्ताको बैंक खातामा दाखिला गरी अनियमितता गरिएको अख्तियारले जनाएको छ ।

यसै गरी तत्कालीन कार्यकारी निर्देशक ठाकुरले आ.व. २०७६।७७ देखि आ.व. २०७९।८० सम्म बा१३च २०३७ नं.को आफ्नो निजी स्कारपियो गाडीमा इन्धन र मोबिलबापत गैरकानुनी तवरबाट ९ लाख २६ हजार र आ.व. २०७६।७७ देखि आ.व. २०७७।०७८ सम्म उक्त गाडी मर्मतबापत गैरकानुनी तवरबाट ४ लाख २६ हजार र सो निजी स्कारपियो गाडी भाडामा लिएको देखाई गैरकानुनी तवरबाट ७ लाख २० हजार रुपियाँ भुक्तानी लिई अनियमितता गरेको अनुसन्धानबाट देखिएको अख्तियारले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register