एमालेमा क-कसले दिन सक्छन् ओली छोडेर विद्या भण्डारीलाई साथ ?

नेकपा एमालेभित्र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी समूहको समानान्तर गतिविधि बढ्दै गएपछि आन्तरिक शक्ति संरचना र सम्भावित भावी समीकरणको विश्लेषण सुरु भएको छ । २०५४ सालको छैटौँ महाधिवेशनयता करिब ३० वर्षदेखि ओली–भण्डारी एउटै गुटमा मात्र होइन, एकर्काका दृढ सहयोगी थिए । दुवै राज्यका उच्च पदमा पुगे । ओली ४ पटक प्रधानमन्त्री भए भने, भण्डारी २ पटक राष्ट्रपति […]

Jun 20, 2025 - 08:49
 0
एमालेमा क-कसले दिन सक्छन् ओली छोडेर विद्या भण्डारीलाई साथ ?

नेकपा एमालेभित्र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी समूहको समानान्तर गतिविधि बढ्दै गएपछि आन्तरिक शक्ति संरचना र सम्भावित भावी समीकरणको विश्लेषण सुरु भएको छ । २०५४ सालको छैटौँ महाधिवेशनयता करिब ३० वर्षदेखि ओली–भण्डारी एउटै गुटमा मात्र होइन, एकर्काका दृढ सहयोगी थिए । दुवै राज्यका उच्च पदमा पुगे । ओली ४ पटक प्रधानमन्त्री भए भने, भण्डारी २ पटक राष्ट्रपति भइन् ।

भण्डारीको विरासतले ओलीलाई पार्टी सत्ता कब्जा गर्न निक्कै ठूलो मद्दत गरेको थियो भने, ओलीकै प्रस्ताव, अडान र लबिङको कारण भण्डारी दुईपटक राष्ट्रपति हुन सम्भव भयो । तर, यी दुई नेताबीच अब विभाजनको मोड आएको छ । ओलीमाथि दुई ठूला नैतिक दबाब र पाबन्दी छन् । बुढ्यौलीतिर पुगेको र दुई कार्यकाल पूरा गरेको । एमालेले ७० बर्से उमेर हद हटाए पनि ‘दुई कार्यकाल अध्यक्ष’ को प्रावधान विधानमा छँदै छ ।

त्यसो त भण्डारी पनि संवैधानिक राष्ट्रपति दलीय राजनीतिमा फर्किएको नैतिक आरोप खेपिरहेकी छन् । तर, भण्डारीको पार्टी अध्यक्ष हुने र ओलीको अध्यक्षमा तेहरिने चाहनाबीच अहिलेसम्म कुनै मिलनबिन्दु देखिएको छैन । कि त दुईमध्ये एक कसैले आफ्नो इरादा परिवर्तन गर्नुपर्नेछ ।

अन्यथा लामो समयदेखि एउटै गुटमा रहेर दुवै नेतालाई साथ दिइरहेका अन्य नेता–कार्यकर्ताले भने दुईमध्ये कुनै एकलाई रोज्नुपर्नेछ । त्यसमध्ये पनि उच्च पदस्थ पदाधिकारी कता लाग्ने छन् भन्ने कुराले धेरै ठूलो अर्थ राख्दछ । हारजितलाई नै प्रभावित गर्न सक्दछ ।

एमालेमा अहिले १९ सदस्सीय उच्च पदस्थ नेतृत्व छ । केपी शर्मा ओली अध्यक्ष, ईश्वर पोख्रेल वरिष्ठ उपाध्यक्ष र शङ्कर पोखरेल महासचिव छन् ।

६ जना उपाध्यक्ष छन्– युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा बादल, विष्णु पौडेल, सुरेन्द्र पाण्डे र गुरु बराल ।

३ उपमहासचिव छन्– प्रदीप ज्ञवाली, विष्णु रिमाल र पृथ्वी सुब्बा गुरुङ ।

७ सचिव छन्– रघुवीर महासेठ, गोकर्ण विष्ट, लेखराज भट्ट, योगेश भट्टराई, छविलाल विश्वकर्मा, पद्माकुमारी अर्याल ।

यीमध्ये आगामी महाधिवेशनमा को कता लाग्लान् ? को-को ओलीकै खेमामा रहलान् र क-कसले ओलीलाई छोडेर विद्या भण्डारीलाई साथ देलान् ? के ओलीका अहिलेसम्मका निकटस्थ सहयोगी भनिएकाहरू अगामी एघारौँ महाधिवेशनमा पनि ओलीसँगै रहलान् कि साथ छोडेर भण्डारीतिर लाग्लान् ?

खेमा परिवर्तनको प्रवृत्ति

एमालेको इतिहास नै त्यस्तै छ– निकटस्थ सहयोगीहरूले साथ छोडेपछि पार्टीमा नेतृत्व परिवर्तन र नयाँ नेताको उदय हुने गरेको छ ।

२०३१ सालमा ‘कम्युनिस्ट कोअर्डिनेसन केन्द्र’ बन्दा झापा विद्रोहको लहर थियो । झापाली नेताका रूपमा सीपी मैनालीले व्यापक लोकप्रियता र स्वीकार्यता पाएका थिए । २०३५ सालमा भूमिगत रूपमा नेकपा (माले) गठन हुँदा जजसले मैनालीलाई साथ दिए, तिनै सहयोगी टाढिएपछि २०३९ सालमा झलनाथ खनालको उदय भयो । मैनालीको साटो खनाल मालेको महासचिव बने ।

माधव नेपाल, मोदनाथ प्रश्रित, जीवराज आश्रित, वामदेव गौतम, प्रदीप नेपाल, मुकुन्द न्यौपाने आदिले सीपी मैनालीलाई नेता बनाएका थिए । पछि मैनालीलाई छोडेर झलनाथ खनाललाई साथ दिने पनि यिनै भए । २०४२ पछि यिनै सहयोगी खनालसँग असन्तुष्ट हुन थाले र नयाँ नेताको खोजी हुन थाल्यो ।

खनालको साटो मदन भण्डारीलाई अघि सारियो । माधवकुमार नेपाल, जीवराज आश्रित, मोदनाथ प्रश्रित, मुकुन्द न्यौपाने, प्रदीप नेपाल, ईश्वर पोख्रेल, अशोक राई आदि मदन भण्डारीका मुख्य सहयोगी बने । २०४५ सालमा सिराहाको सर्रे अब्बासमा भएको चौथो महाधिवेशनले खनाललाई प्रतिस्थापित गर्दै मदन भण्डारीलाई महासचिव बनायो ।

यतिन्जेलसम्म केपी शर्मा ओलीको भूमिका आन्तरिक पार्टी जीवनमा खासै महत्त्वपूर्ण थिएन । उनी लामो जेल जीवनपछि भर्खरै छुटेको हुँदा उच्च पार्टी नेतृत्वका लागि भर्खरै लाइन लाग्दै थिए ।

यो प्रचलन सँगसँगै एमालेमा अर्को समानान्तर संस्कृति पनि छ । मूल पदबाट हटाइएको पूर्व नेताले कि पार्टी छोड्छ, कि पार्टी फोड्छ कि सदाबहार गुनासो र गनगन गर्छ वा नयाँ नेतृत्वलाई भित्रभित्रै असहयोग गर्दछ ।

महासचिवबाट हटाइएका सीपी मैनाली बाँकी जीवनभरि पार्टीसँग कहिल्यै सन्तुष्ट हुन सकेनन् । उनले झलनाथ खनाल र मदन भण्डारीलाई कहिल्यै साथ, सहयोग गरेनन् । अहिले उनी एउटा भिन्नै सानो समूह बनाएर बसेका छन् ।

ठीक त्यसै गरी झलनाथ खनालले पनि मदन भण्डारीलाई खुलेर सहयोग गरेनन् । उनले बरु ‘शत्रुको शत्रु मित्र हुन्छ’ भन्ने सिद्धान्तलाई लागू गर्दै २०४९ को पाँचौँ महाधिवेशनमा मदन भण्डारीविरुद्ध मोर्चा कस्न सीपी मैनालीलाई साथ दिए । र, भण्डारीले प्रतिपादन गरेको भनिएको ‘जनताको बहुदलीय जनवाद’ लाई ‘दक्ष प्रजापतिको टाउको’ भने ।

२०५० साल जेठ३ गते जब विवादास्पद् दासढुँगा जिप दुर्घटनामा मदन भण्डारीको निधन भयो, भण्डारीको गुट सर्लक्कै माधव नेपालतिर सर्‍यो । भण्डारीको निधनले मैनाली र खनाललाई नेतृत्वमा पुनर्स्थापित हुने अवसर दिएन ।

नेपालको नेतृत्व करिब १५ वर्ष एकछत्र रह्यो । तर, उनले बारम्बार आन्तरिक चुनौतीको सामना भने गर्नुपर्‍यो । २०५४ को छैटौँ महाधिवेशनमा वामदेव गौतम–सीपी मैनालीले भिन्नै गुट बनाएर बलियो चुनौती मात्र दिएनन्, पार्टी नै विभाजित गरिदिए । २०५४ सालको माले–एमाले विभाजन पार्टी इतिहासको सबैभन्दा ठूलो विभाजन थियो । ठीक त्यही बेला केपी ओली–विद्या भण्डारी गुटको जग बस्न थालेको थियो । माधव नेपाल गुटभित्रबाट यी नेता समानान्तर हुर्किएका थिए ।

२०६४ को संविधानसभा निर्वाचनमा काठमाडौं–२ र रौतहट–४ दुवै निर्वाचन क्षेत्रबाट पराजित भएका माधव नेपालले नैतिकताको आधारमा राजीनामा दिए । केपी ओली, विद्या भण्डारी र प्रदीप नेपाललाई छोडेर माधव नेपालको गुट सर्लक्कै झलनाथ खनालतिर सर्‍यो । २०६५ को आठौँ महाधिवेशनमा झलनाथ खनालले अध्यक्षमा जिते ।

२०७० नवौँ महाधिवेशनमा केपी ओलीको जित त्यतिखेर मात्र सम्भव भयो जब वामदेव गौतम, ईश्वर पोख्रेल र भित्रभित्रै झलनाथ खनालले समेत केपी ओलीलाई सहयोग गरे । भनिन्छ–‘ओलीले खनाललाई राष्ट्रपति बनाउने प्रलोभनमा फकाएपछि अन्तिम बेलामा सहयोग लिएका थिए।  अन्यथा ओलीको उदय नै नहुन सक्दथ्यो।’ तर, ओलीले खनाललाई राष्ट्रपति भने बनाएनन् । त्यसपछिका दिनमा खनाल ओलीसँग सधैँ असन्तुष्ट रहे ।

माधव नेपाल र झलनाथ खनालको ओलीसँगको असन्तुष्टि खासमा पार्टी नेतृत्व परिवर्तनपछिको मैनालीको असन्तुष्टिजस्तै थियो । ओलीले गरेका दुईपटकका असंवैधानिक प्रतिनिधिसभा विघटनले त्यसलाई विभाजनको अवसर थियो । अन्ततः त्यो असन्तुष्टि सीपी मैनालीकै जस्तो फुटसम्म पुग्यो ।

अब ककसले छोड्न सक्दछन् ओलीको साथ ?

आठौँ र नवौँ महाधिवेशन यताको गुटबन्दी र आन्तरिक समीकरण अगामी एघारौँ महाधिवेशनमा अन्त्य हुने सम्भावना प्रबल भएको छ । करिब ३ दशक एउटै गुटमा मिलेर बसेका र एकर्काका बलियो सहयोगी भएका ओली–भण्डारी अब दुई गुट हुँदै छन् । यसको सरल अर्थ हो कि अहिलेसम्म ओलीलाई साथ दिँदै आएका नेता, कार्यकर्ताले अब ओली र विद्या भण्डारीमध्ये कुनै एकलाई छान्नुपर्ने बेला आएको छ ।

विद्याको जित त्यतिखेर मात्र सम्भव हुने छ, जब महाधिवेशन छेकसम्म अहिलेका ओली निकटस्थहरूको एउटा ठूलो समूह विद्यातिर लग्नेछ । यीमध्ये केहीले यस्तो संकेत दिइसकेका छन् ।

एमालेको उच्च नेतृत्वमध्ये शङ्कर पोखरेल, गुरु बराल, विष्णु रिमाल र प्रदीप ज्ञवाली अहिलेसम्म ओलीकै पक्षमा खुलेको देखिन्छ । अरू भने बिस्तारै टाढिन थालेका छन् । ओलीको ‘म झोले हो’ अभियानलाई पदाधिकारीभित्रकै धेरैले साथ दिएनन् ।

यीमध्ये पनि पोखरेल र बरालले अन्तिम बेलामा ओली छोडेर भण्डारीलाई साथ दिने सम्भावना इन्कार गर्न सकिँदैन । यी दुवै मदन भण्डारीले ‘ग्रुम’ गरेका नेता हुन । बराल मदन भण्डारीले विराटनगर आधारित भएर पार्टी काम गर्दा उनका निकट सहयोगी थिए । पोखरेललाई मदन भण्डारीले भारतबाट बोलाएर देशभित्र अखिलको नेता बनाएका थिए । कुनै न कुनै रूपमा विद्या भण्डारीप्रति यिनको सहानुभूति रहन्छ ।

वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल ओली खेमामा हुर्किएका नेता होइनन् । उनी लामो समय माधव नेपालनिकट रहे । आठौँ महाधिवेशनमा झलनाथ खनालको प्यानलबाट महासचिव जितेका थिए । उनी नवौँ महाधिवेशनदेखि मात्र ओली गुटमा लागेका हुन् ।

१९ पदाधिकारीमध्ये ३ पूर्वमाओवादी छन् । रामबहादुर थापा बादल, लेखराज भट्ट र टोपबहादुर रायमाझी । रायमाझी निलम्बित र नक्कली भुटानी शरणार्थी प्रकरणमा जेलमा भएको हुँदा उनको प्रभाव सीमित हुनेछ । रामबहादुर थापा ‘बादल’ एमालेमा कार्यकर्ता आधार नभएका नेता मानिन्छन् । उसको समर्थन–आधार माओवादीकै विभिन्न खेमामा फर्किसकेको हुँदा उनी जता लागे पनि खासै फरक पर्ने छैन ।

तर, सुदूरपश्चिम प्रदेशमा ठीकै जनाधार भएका भट्ट कता लाग्लान् भन्ने कुराले गुटबन्दीमा अर्थ राख्दछ । भट्ट ओली र भण्डारीमध्ये कता लाग्लान् वा एमालेभित्रको शक्ति समीकरणमा असान्दर्भिक भएर माओवादीमै फर्केलान्, कसैले अनुमान गर्न सकेको छैन ।

१० बुँदे समूहका युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट यसै पनि ओलीसँग सन्तुष्ट छैनन् । यिनले पार्टी विभाजनको बेला माधवकुमार नेपाललाई छोडेर ओलीलाई साथ दिएका थिए । ओलीको दुई कार्यकाल अध्यक्ष पूरा भएको र विद्या भण्डारी बाहेक ओलीसँग साहसिक प्रतिस्पर्धा गर्ने सम्भावनाको अर्को व्यक्तित्व नभएको हुँदा यिनले भण्डारीलाई साथ दिने सम्भावना प्रबल हुन्छ ।

यही समूहका योगेश भट्टराई ओलीप्रति अलिक बढी नै भक्ति देखाइरहेका छन् । तर, यो कृत्रिम हुन सक्दछ । भट्टराईको ट्र्याक रेकर्ड हेर्दा उनी गुट परिवर्तनका लागि माहिर मानिन्छन् । उनी मदन भण्डारी र माधव नेपाल गुटबाट वामदेव–सीपी गुटमा उछिट्टिएका थिए । २०५६ पछि माधव नेपाल गुटमा लागे । झलनाथको उदयपछि खनाललाई नै साथ दिए ।

नेकपा ( नेकपा) विभाजनको समयमा भट्टराई माधव–प्रचण्डतिर लागे । तर, लगत्तै ओली गुटमा फर्किए । भट्टराई त्यतैतिर लाग्न सक्दछन्, जता पल्लाभरि हुन सक्ने सम्भावना रहन्छ । वामदेव–सीपी गुटमा लाग्दा अवसर नपाएको हुँदा बाँकी जीवन बहुमत गुटलाई साथ दिने उनले सिद्धान्त नै बनाएका छन् ।

रघुवीर महासेठ, छविलाल विश्वकर्मा र पद्माकुमारी अर्यालले क्रमशः मधेसी, दलित र महिलाका क्षेत्रको नेतृत्व गर्दछन् । यी ३ जना कै आआफ्नो ठाउँमा उल्लेखनीय भूमिका रहन्छ । यीमध्ये पनि रघुवीर महासेठ कता लाग्छन् भन्ने कुराले ठूलो अर्थ राख्दछ । किनकि उनले पार्टीभित्र मधेशका कार्यकर्ताको ठूलो पङ्क्तिलाई आफूतिर आकर्षित गर्न सक्दछन् ।

बाँकी रहे– विष्णु पौडेल र पृथ्वीसुब्बा गुरुङ । यी दुवै अहिले ओली सरकारको मन्त्री छन् । तसर्थ तत्काल यी खुल्न सक्ने छैनन् ।

तर, भण्डारीनिटक स्रोतका अनुसार यी दुवै नेता महाधिवेशन छेक पुगेर भण्डारीतिर लाग्ने सम्भावना छ । किनकि दुवै ओलीको कार्यशैलीसँग भित्रभित्रै असन्तुष्ट छन् । ओलीको नेतृत्वकालममा पार्टी अनावश्यक धेरै विवादमा फसेको, जनमत गुमाएको र कमजोर भएको यिनको बुझाइ छ ।

बदलिँदो आन्तरिक शक्ति समीकरणलाई हेर्दा आगामी एघारौँ महाधिवेशनसम्म ओलीले भण्डारीसँग नयाँ सम्झौता गर्ने सम्भावना पनि छ । त्यो भनेको दुई कार्यकाल अध्यक्षको वैधानिक प्रावधानलाई पालना गर्दै अगामी अध्यक्षका रूपमा भण्डारीलाई सहयोग गर्नु र राष्ट्रपति हुँदै राजनीति जीवनबाट क्रमशः निवृत्त हुनु हो ।

भण्डारीले जितेमा नयाँ अध्यक्षसँग असन्तुष्ट हुने वा पार्टी विभाजन गर्ने आधार भने ओलीका लागि कमजोर भइसकेका हुनेछन् । सीपी मैनाली, माधव नेपाल वा झलनाथ खनालको नियतिभन्दा राष्ट्रपति हुनु ओलीका लागि सहज बर्गिहमनको बाटो हो ।

भण्डारीनिकट स्रोत भन्छ, ‘ओलीले यस्तो प्रस्ताव गरेका भण्डारीले सहजै स्वीकार गर्ने छिन् । दुई नेताबीच महाधिवेशनको हलसम्म पुग्दा सम्झौता हुन सक्ने सम्भावना अन्त्य भएको छैन ।’

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register