ठूला बियर उत्पादकको कोपभाजनमा ‘माइक्रो ब्रुअरी’

काठमाडौं । मापदण्ड पुगेका रेस्टुराँहरूले आफ्नो लागि आफैं बियर उत्पादन गर्ने ‘माइक्रो ब्रुअरी’को अवधारणा एक दशकअघि ल्याइएको भए पनि ठूला बियर उद्योगहरूको दबाब र प्रभावमा सरकारले लाइसेन्स रोकेर राखेको छ । अदालतको आदेश, अध्ययन समितिको प्रतिवेदन, स्पष्ट मापदण्ड हुँदा पनि स्वार्थ समूहको अवरोधका कारण विश्वव्यापी प्रचलनमा रहेको माइक्रो ब्रुअरीको अवधारण नेपालमा भने वर्षांैदेखि अड्किएर बसेको […]

Jun 25, 2025 - 01:58
 0
ठूला बियर उत्पादकको कोपभाजनमा ‘माइक्रो ब्रुअरी’

काठमाडौं ।

मापदण्ड पुगेका रेस्टुराँहरूले आफ्नो लागि आफैं बियर उत्पादन गर्ने ‘माइक्रो ब्रुअरी’को अवधारणा एक दशकअघि ल्याइएको भए पनि ठूला बियर उद्योगहरूको दबाब र प्रभावमा सरकारले लाइसेन्स रोकेर राखेको छ । अदालतको आदेश, अध्ययन समितिको प्रतिवेदन, स्पष्ट मापदण्ड हुँदा पनि स्वार्थ समूहको अवरोधका कारण विश्वव्यापी प्रचलनमा रहेको माइक्रो ब्रुअरीको अवधारण नेपालमा भने वर्षांैदेखि अड्किएर बसेको छ ।

माइक्रो ब्रुअरी सञ्चालनको अनुमति दिन उच्च अदालत पाटनले परमादेश दिएको तीन वर्षसम्म कार्यन्वयनमा आउन सकेको छैन । न्यायधीशद्वय राजेन्द्र खरेल र रमेश ढकालको संयुक्त इजलासले २०७९ सालको असारमा सरकारलाई परमादेश दिएको थियो । पैसा विदेशिनबाट रोक्न, पर्यटन प्रवद्र्धन, कर संकलनमा विस्तार, रोजगारी सिर्जना र पारखीलाई मौलिक स्वाद दिने यस्तो अभ्यास धेरै देशमा सफल भएको छ । नेपालमा भने आफ्नो बजार खोसिने डरमा ठूला बियर उत्पादकले सरकारी अधिकारीलाई प्रभावित बनाउँदा १० वर्षदेखि अगाडि बढ्न सकेको छैन ।

विशेषगरी पर्यटकीय क्षेत्रका रेस्टुराँले आफैं बियर उत्पादन गरी ग्राहकलाई बिक्री गर्न दिने उद्देश्यका साथ २०७२ सालमा तत्कालीन उद्योगमन्त्री महेश बस्नेतले माइक्रो ब्रुअरीको अवधारणा अगाडि सार्नुभएको थियो । सोहीअनुरूप उद्योग मन्त्रालयका तत्कालीन सहसचिव ऋषिप्रसाद कोइरालाको संयोजकत्वमा गठित अध्ययन समितिले माइक्रो ब्रुअरी सञ्चालन गर्न दिन सिफारिस समेत ग¥यो । तर, स्वार्थ समूहको दबाबका कारण प्रक्रिया अगाडि बढ्न सकेन ।

पछि अर्का उद्योगमन्त्री लेखराज भट्टले २०७७ सालमा मापदण्ड बनाउने निर्णय गरेको तीन वर्षपछि बल्लतल्ल २०८० सालको माघमा माइक्रो ब्रुअरी सञ्चालनको मापदण्डसमेत बन्यो । यसरी मापदण्ड बनेको दुई वर्ष हुन लाग्दासमेत उद्योग विभागले अझै लाइसेन्स जारी गर्न सकेको छैन ।

उद्योग मन्त्रालय र विभागबीच माइक्रो ब्रुअरीको लाइसेन्स खुलाउने विषयमा अनौपचारिक छलफल हुँदै आए पनि औपचारिक निर्णय भने हुन सकेको छैन । उद्योग विभागमार्फत औद्योगिक तथा लगानी प्रवद्र्धन बोर्डमा प्रस्ताव लैजाउनुपर्नेमा अहिलेसम्म बोर्डमा यससम्बन्धी प्रस्ताव नै नलगिएको मन्त्रालय स्रोतले नेपाल समाचारपत्रलाई जानकारी दियो ।

उद्योगको मापदण्ड तयार भए पनि माइक्रो ब्रुअरीबाट उत्पादित बियरको मूल्य र अन्तःशुल्ककोे टुंगो लागिसकेको छैन । तथापि, ठूला उद्योगको बियरभन्दा धेरै सस्तो पर्ने जानकारहरू बताउँछन् । भारतको बैंग्लोर र गोवामा माइक्रो ब्रुअरीबाट उत्पादित बियर अन्य बियरको तुलनामा निक्कै सस्तो रहेकाले नेपालमा पनि त्यस्तै हुने व्यवसायीहरूको दाबी छ । अर्कोतर्फ माइक्रो ब्रुअरी सञ्चालनमा आए होटल, रेस्टुराँ तथा पबको व्यापारमा क्रान्ति आउने व्यवसायीहरूको भनाइ छ ।

उनीहरूका अनुसार अहिलेको तुलनामा व्यापार कयौं गुणा बढ्छ । व्यापार वृद्धि भएपछि अन्तःशुल्क र अन्य करबापत ठूलो रकम राजस्व खातामा जान्छ । तर, सरकारी अधिकारीहरूले माइक्रो ब्रुअरीको नियमन र अनुगमन गर्न कठिन हुने, राजस्व छलीको जोखिम रहेको र वातावरणसम्बन्धी कानुनी अवरोधका कारण अनुमति दिन अप्ठ्यारो परेको तर्क गर्दै आएका छन् ।

मापदण्ड के छ ?

माइक्रो ब्रुअरीसहितको रेस्टुराँ स्थापनाका लागि उद्योग विभागले २०८० माघ २५ गते मापदण्ड जारी गरेको थियो । उक्त मापदण्डमा २ सय सिट क्षमताको रेस्टुराँको अंगको रूपमा वार्षिक ३ हजार हेक्टोलिटरसम्म बियर उत्पादन गरी आफ्नै रेस्टुराँमा उपभोग गर्ने उद्योगलाई ‘माइक्रो ब्रुअरी’को परिभाषा गरेको छ ।

त्यस्तै, विभागले माइक्रो ब्रुअरीबाट उत्पादन हुने बियरमा अल्कोहलको मात्रा अधिकतम् ६ प्रतिशतसम्म हुनुपर्ने र बियर उत्पादन गर्दा अल्कोहल टेक्नोलोजिस्ट वा फुड टेक्नोलोजिस्टले फुड एसोरेन्स गर्नुपर्नेछ । यसबाट उत्पादित बियर बोटलिङ तथा अन्यत्र बिक्री वितरण गर्न पाइने छैन भने यसको कर अर्थ मन्त्रालयले निर्धारण गरेबमोजिम हुनेसमेत मापदण्डमा उल्लेख छ ।

साथै लाइसेन्सका लागि कम्तीमा २ सय सिट क्षमताको रेस्टुराँ हुनुपर्ने, रेस्टुराँ सञ्चालनको लागि सम्बन्धित नियामक निकायबाट अनुमति लिएको हुनुपर्ने, रेस्टुराँसहितको माइक्रो ब्रुअरीकोे क्षेत्रफल २ हजार ४ सय वर्गफिट (न्यूनतम), ब्रुअरी हाउसको क्षेत्रफल १ हजार २ वर्ग फिट तथा युटिलिटिजको लागि ९ सय वर्गफिट न्यूनतम क्षेत्रफल हुनुपर्ने छ । उसले वार्षिक ३ हजार हेक्टोलिटरसम्म बियर उत्पादन गर्न पाउनेछ ।

यसै गरी ब्रुअरी आरसीसी भवनमा हुनुपर्ने, सबै प्रकारका फोहोरको वातावरणमैत्री विसर्जन गर्ने व्यवस्था हुनुपर्ने, कच्चा पदार्थको भण्डारण, उत्पादन क्षेत्र तथा उत्पादित वस्तुको भण्डारण छुट्टाछुट्टै गर्ने व्यवस्था मिलाउनुपर्ने र प्रमाणीकरण भएको माल्टको मात्रै प्रयोग गर्नुपर्नेछ । नेपाली माल्टको प्रयोग हुने भएमा उत्पादकको गुणस्तरीय माल्ट उत्पादनको प्रमाणपत्र भएको हुनुपर्ने मापदण्डमा उल्लेख छ । साथै ‘क्लिन इन पिस’ सुविधाको प्रयोगशाला निर्माण भएको हुनुपर्छ ।

माइक्रो ब्रुअरीमा प्रयोग हुने ट्यांक एवम् पाइपलाइन स्टिनेस स्टिल प्रयोग हुनपर्ने र बोइरलले इन्धनका रूपमा बिजुलीमात्रै प्रयोग गर्नुपर्ने मापदण्डमा उल्लेख छ । माइक्रो ब्रुअरीको उत्पादनमा प्रयोग गर्ने पानी खाद्य तथा गुण नियन्त्रण विभागले तोकिएको खानेपानीको मापदण्डअनुरूपको पानीको चारित्रिक गुण हुनुपर्ने र उत्पादित बियरको चारित्रिक गुण ने.गु २३ को नेपाल गुणस्तर मापदण्डअनुरूपको हुनुपर्ने र चिनी मिसाउन नपाइने मापदण्डमा उल्लेख छ ।

उद्योग स्थापनका लागि १० लाख रुपियाँ धरौटी राख्नुपर्ने छ । सो रकम उद्योगले इजाजत नपाएमा वा व्यावसायिक उत्पादन शुरू गरेपछि मात्रै फिर्ता हुनेछ । साथै अनुमति लिएको दुई वर्षभित्र उत्पादन गरिसक्नुपर्नेछ । उद्योग स्थापनापछि व्यावसायिक रूपमा २ वर्षसम्म सञ्चलान तथा दर्ता गर्ने व्यक्तिको नाममा ५० प्रतिशत सेयर हुनुपर्ने छ ।

तर, प्रत्यक्ष विदेशी लगानी गर्न पाइने छैन । प्रत्यक्ष कानुनमा अन्य ब्रुअरी उद्योगले जस्तै पालना गर्नुपर्ने छ भने माइक्रो ब्रुअरी स्थापनापूर्व प्रचलित कानुनबमोजिम प्राम्भिक वातावरणीय प्रभाव (आईईई) स्वीकृत गर्नुपर्ने छ । ब्रुअरीबाट निस्कने तरल पदार्थ पूर्ण रूपमा ट्रिमेन्ट गरी विसर्जन गर्नुपर्ने छ भने ठोस पदार्थलाई पनि विसर्जन गर्न उपयुक्त संयन्त्र अलम्बन गर्नुपर्ने छ ।

विश्वमा माइक्रो ब्रुअरी
विश्वमा माइक्रो ब्रुअरी अर्थात थोरै परिमाणमा बियर उत्पादन गर्ने क्राफ्ट ब्रुअरीको सुरुआत सन् १९७० मा बेलायतबाट भएको हो । निश्चित क्षमताका होटल तथा रेस्टुराँ आफैंले बियर उत्पादन गरी आफ्ना ग्राहकलाई मात्रै बेच्न पाउँछन् । माइक्रो ब्रुअरीलाई स्वाद, गुणस्तर र उत्पादन गर्ने प्रविधिका आधारमा वर्गीकरण गरिन्छ । संसारकै पहिलो माइक्रो ब्रुअरी मेट्यागले सञ्चालन गरेको मानिन्छ ।

अहिले अस्ट्रेलिया, अमेरिका, फ्रान्सलगायतका देशले माइक्रो ब्रुअरी सञ्चालन गरिरहेका छन् । ग्राहकहरुले ताजा र इच्छाअनुसारको फ्लेवरका बियरको स्वाद लिन पाउँछन् । स्वादमा अब्बल, ताजा तथा विविधतासमेत हुनाले पारखीहरूको रोजाइमा यस्तो बियर पर्छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register