सात महिनापछि फुकुवा भयो विन्दा पाण्डे र उषाकिरणको निलम्बन

काठमाडौं । नेकपा एमालेले स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सेनाको निलम्बन फुकुवा गरेको छ । ६ महिनाका लागि उनीहरूलाई निलम्बन गरिए पनि सातौँ महिनामा पार्टीले निलम्बन फुकुवा गरेको हो । बुधबार बसेको नेकपा एमाले सचिवालय बैठकले उनीहरूको निलम्बन फुकुवा गर्ने निर्णय गरेको छ । उनीहरूलाई गत पुस १० गते बसेको पार्टी […]

Jun 25, 2025 - 14:16
 0
सात महिनापछि फुकुवा भयो विन्दा पाण्डे र उषाकिरणको निलम्बन

काठमाडौं । नेकपा एमालेले स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सेनाको निलम्बन फुकुवा गरेको छ । ६ महिनाका लागि उनीहरूलाई निलम्बन गरिए पनि सातौँ महिनामा पार्टीले निलम्बन फुकुवा गरेको हो । बुधबार बसेको नेकपा एमाले सचिवालय बैठकले उनीहरूको निलम्बन फुकुवा गर्ने निर्णय गरेको छ ।

उनीहरूलाई गत पुस १० गते बसेको पार्टी सचिवालय बैठकले निलम्बन गर्ने निर्णय गरेको थियो । त्यस दिन नेता भीम रावललाई पार्टीको साधारण सदस्यसमेतबाट निष्कासित गरिएको थियो । त्यसपछि रावल छुट्टै राजनीतिक अभियान बनाएर हिँडिरहेका छन् ।

नेत्रीद्वय पाण्डे र तिम्सेनालाई पार्टीको नीतिविरुद्ध बोलेको भन्दै त्यतिबेला निलम्बन गरिएको थियो । भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले एमालेको पार्टी कार्यालय बनाउनका लागि कीर्तिपुरमा जग्गादान गरेको विषयलाई लिएर नेत्री पाण्डे र तिम्सेनाले पार्टी अध्यक्ष केपी शर्मा ओलीको सार्वजनिक आलोचना गरेका थिए । पाण्डेले त्यतिबेला भनेकी थिइन, ‘जग्गा दिनेले किन र कसरी दिए उनैलाई थाहा होला । तर, स्वीकार गर्नेले पार्टीको निर्णायक तहमा छलफल र निर्णय त परको कुरा जानकारीसमेत नहुने गरी गरिएको यो निर्णय दीर्घकालमा आत्मघाती सावित हुनेछ ।’

उनले गुरुङले जग्गा दिने र उनैले भवन बनाइदिने कुराले पार्टीका पाँच लाख कार्यकर्ताको शिर निहुरिएको बताएकी थिइन् । भाटभटेनी सुपर मार्केटका सञ्चालक गुरुङ र उनकी श्रीमती सावित्री गुरुङले कीर्तिपुरमा १० रोपनी १४ आना जग्गादान गरेका छन् ।

अध्यक्षकै आलोचनापछि पाण्डे र तिम्सेनालाई कात्तिकमा पार्टी सचिवालयको बैठकबाटै स्पष्टीकरण सोध्ने निर्णय भएको थयो । स्पष्टीकरण सोधेको दुई महिनापछि उनीहरूलाई निलम्बन गरिएको थियो ।

पार्टीले निलम्बन गरेपछि स्थायी कमिटी सदस्य पाण्डेले त्यतिबेला सामाजिक सञ्जालमा एउटा बैठकमा सहभागी भएको तस्वीहरूसहित लेखेकी छिइन्, ‘हामी त पार्टी काममै थियौँ, नेताले ६ महिना छुट्टी दिएको खवर सुनियो । यो अवधिलाई रचनात्मक र सिर्जनात्मक रुपमा प्रयोग गर्नुपर्नेछ ।’

यस्तै तिम्सेनाले पनि सामाजिक सञ्जालमार्फत निलम्बनबारे प्रतिक्रिया दिएकी थिइन् । उनले त्यतिबेला लेखेकी थिइन्, ‘आजै पनि आफ्नो जिम्मेवारी भएको नुवाकोट निर्वाचन क्षेत्र नं १ अन्तरगत शिवपुरी गाँउपालिका कमिटीको शपथग्रहण कार्यक्रम थियो । उक्त कार्यक्रम सकेर भर्खर घर आइपुगेको छु । तल्लो तहका आमकार्यकर्ता, तिनको लगाब, मेहनत र चासोको अगाध माया लाग्छ । यता ६ महिना निलम्बनको निर्णय भएछ । पञ्चायतविरुद्ध लडेर आउनुभएको नेतृत्वगणले पञ्चकै नक्कल नगर्नु भएको भए हुन्थ्यो ।’

निलम्बनमा परेपछि नेत्री तिम्सेनाले सार्वजनिक रूपमा पार्टी नेतृत्वको आलोचना गरिरहे पनि नेत्री पाण्डेले भने पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेकी थिइन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register