नेपालमय बन्यो स्कटल्याण्डको राजधानी एडिनबरा

लन्डन । ऐतिहासिक सम्पदा, सांस्कृतिक उत्सव र जीवन्त कला दृश्यका लागि परिचित स्कटल्याण्डको राजधानी एडिनबरा सोमबार नेपालमय बन्यो । विश्वको सबैभन्दा ठूलो कला महोत्सव एडिनबरा फ्रिन्ज आयोजना गर्ने प्रसिद्ध स्कटिस शहरमा हजारौं नेपाली र विदेशी नेपाली कला संस्कृतिसंग झुमे । विश्व प्रतिष्ठित धरोहर एडिनबरा क्यासल र रोयल माइलका पर्यटक समेत ‘डाइभर्ट’ गर्ने गरि वेष्ट प्रिन्सेस […]

Jun 25, 2025 - 10:17
 0
नेपालमय बन्यो स्कटल्याण्डको राजधानी एडिनबरा

लन्डन । ऐतिहासिक सम्पदा, सांस्कृतिक उत्सव र जीवन्त कला दृश्यका लागि परिचित स्कटल्याण्डको राजधानी एडिनबरा सोमबार नेपालमय बन्यो ।

विश्वको सबैभन्दा ठूलो कला महोत्सव एडिनबरा फ्रिन्ज आयोजना गर्ने प्रसिद्ध स्कटिस शहरमा हजारौं नेपाली र विदेशी नेपाली कला संस्कृतिसंग झुमे ।

विश्व प्रतिष्ठित धरोहर एडिनबरा क्यासल र रोयल माइलका पर्यटक समेत ‘डाइभर्ट’ गर्ने गरि वेष्ट प्रिन्सेस स्ट्रिट गार्डेन्स् एडिनबरामा भएको पहिलो नेपाली मेलाले सिंगो नेपाल झल्कायो ।

व्यस्त शहरमा पन्च कन्या अगाडि लगाएर पन्चेबाजा घन्काउंदै करिब ४५ मिनेट लामो झांकीसहितको परेडले सांच्चिकै नेपाल बिर्सायो ।

ऐतिहासिक स्थलमा नेपाली आदिवासी समुदायका आफ्नै भेषभूषा र मौलिक पहिचान पनि प्रस्फुटन भयो ।

मेलामा नेपाली मौलिक खाना र हस्तकला सामग्रीका स्टलहरु एवं भजन कीर्तनदेखि नाचगानले बेग्लै रौनक थपेको थियो ।

दूतावासले २३ जुन सोमबार एनआरएनए स्कटल्याण्डसहित झण्डै दुई दर्जन नेपाली संघसंस्थाको प्रत्यक्ष सहभागितामा मेला गरेको हो ।

‘मेला गर्नुको मुख्य उद्देश्य नै नेपाल चिनाउनु, युवा पुस्तालाई नेपाली मौलिक कला संस्कृतिबारे जानकारी एवं नेपाली–स्कटिससंग नेटवर्किङ हो’, राजदूत घिमिरेले भने, ‘मेलाले नेपाली र स्कटिस समुदायबीच एकता एवं सद्भाव समेत उजागर गरेको छ ।’


प्रमुख अतिथी स्कटल्याण्डकी क्याबिनेट सेक्रेटरी फर सोसल जस्टिस सिर्ले एन्नी समरभिलले आफ्नो शहरमा नेपाली बहुसांस्कृतिक मेला देख्न पाउंदा खुशी लागेको बताइन् । मेलाले संयुक्त अधिराज्य र नेपालबीचको ऐतिहासिक सम्बन्ध थप प्रगाढ बन्ने विश्वास पनि उनले व्यक्त गरिन् ।

बिहान १० देखि सांझ ६ बजेसम्म भएको मेलामा रोयल बोटानिकल गार्डेनका वैज्ञानिकदेखि स्थानीय काउन्सिलरहरु, विदेशी पर्यटक, स्कटिस तथा नेपाली नागरिकसहित तीन हजार बढीको सहभागिता थियो ।

‘नेपालको झण्डामुनी सबै गोलवद्ध भएर पहिलोपटक मेला गर्नुको पछाडि पर्यटन प्रवर्धन नै हो’, उपनियोग प्रमुख विपिन दुवाडीले भने, ‘दशौं हजार विदेशी आवतजावत गर्ने ऐतिहासिक महत्वको क्यासल नजिक भएको मेलामा विदेशीहरु दंग देखिन्थे ।’

संयुक्त अधिराज्यको अन्य राज्यमा समेत यस खालका मेला गर्न सकारात्मक सन्देश जाने आशा उनको थियो ।

मेलाका दौरान दूतावासले राहदानीलगायत कन्सुलर विषयसंग सम्बन्धित सेवा पनि उपलब्ध गराएको उनले जनाए ।

सो अवसरमा नेपालबाट आएका गायक गायिका सुनिता दुलाल, धिरज राई, भूमिका शाह एवं स्थानीय कलाकारले बेजोड सांस्कृतिक प्रस्तुति दिएका थिए ।

लन्डनस्थित नेपाली दूतावास यतिखेर नेपाल पर्यटन प्रवर्धनमा समेत क्रियाशील बनेको छ । दूतावासले हालै पर्यटन बोर्डसंगको सहकार्यमा पर्यटन प्रवर्धन सम्बन्धि विशेष कार्यक्रम ‘नेपाल नाइट’ गरेको थियो ।

नेपाली र बेलायती आरोही, नेपाल घुमेका बेलायती एवं विदेशी ट्राभल, टुर अपरेटर्स सहभागी उक्त कार्यक्रममा वृत्तचित्रमार्फत नेपालको लोभलाग्दो प्राकृतिक सौन्दर्य प्रस्तुत गरिएको थियो । आरोही र नेपाल घुमेका पर्यटकहरुले आ–आफ्नो अनुभव समेत साटासाट गरेका थिए ।

तस्विर- प्रकाशराज कंडेल 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register