के अमेरिकी बी–२ बम्बरले इरानमा खसालेको बमले लक्ष्य पूरा गरेन ? (भिडिओ)

काठमाडौं । इरानले परमाणमु हतियार बनाउन लागेको भन्दै १३  जुनमा इजरायलले इरानमा हमला गरेको थियो । इजरायली हमलाले लक्ष्य पूरा गर्न नसकेको भन्दै अमेरिकाले २२ जुनमा इरानका तीन परमाणु केन्द्र लक्षित गर्दै हमला गर्‍यो । अमेरिकाले बी-टू बम्बरबाट बंकरभेदी बम प्रहार गरेको थियो ।  इरानका मुख्य तीन परमाणु केन्द्रमा अमेरिकी हमलापछि इरानको परमाणु कार्यक्रम ध्वस्त […]

Jun 25, 2025 - 14:16
 0
के अमेरिकी बी–२ बम्बरले इरानमा खसालेको बमले लक्ष्य पूरा गरेन ? (भिडिओ)

काठमाडौं । इरानले परमाणमु हतियार बनाउन लागेको भन्दै १३  जुनमा इजरायलले इरानमा हमला गरेको थियो । इजरायली हमलाले लक्ष्य पूरा गर्न नसकेको भन्दै अमेरिकाले २२ जुनमा इरानका तीन परमाणु केन्द्र लक्षित गर्दै हमला गर्‍यो । अमेरिकाले बी-टू बम्बरबाट बंकरभेदी बम प्रहार गरेको थियो ।  इरानका मुख्य तीन परमाणु केन्द्रमा अमेरिकी हमलापछि इरानको परमाणु कार्यक्रम ध्वस्त भएको प्रचार गरियो । तर, फोर्डो, नतान्ज  र इस्फहान लक्षित अमेरिकी हमलाले पनि इरानको परमाणु कार्यक्रममा असर पुर्‍याउन नसकेको खुलासा भएको छ ।

अमेरिकी रक्षा मन्त्रालयको गुप्तचर विभागले तयार पारेको पाँच पृष्ठ लामो प्रतिवेदनलाई उद्दृत गर्दै अमेरिकी सञ्चारमाध्यमहरूले समाचार प्रकाशित गरेका छन् । सीएनएन र न्युयोर्क टाइम्सले प्रतिवेदनमा आधारित रहँदै अमेरिकी हमलाले इरानी परमाणु केन्द्रमा अपेक्षित क्षति पुर्‍याउन नसकेको खुलासा गरेका छन् ।

२२ जुनमा फोर्डो, नतान्ज र इस्फहानमा ३० हजार पाउन्डको बंकरभेदी बम खसालिएको थियो । तर पनि त्यस हमलाले इरानको संवर्धित युरेनियममा कुनै असर नपुगेको खुलासा भएको हो । हमलाअघि, अमेरिकाले इरानले परमाणु बम बनाउन चाहे तीन महिनाभित्र बनाइसक्ने दाबी गरेको थियो ।

यदि, इरानले परमाणु बम बनाउन चाहेको खण्डमा अब उसलाई ६ महिनाको  समय लाग्ने अमेरिकी रक्षा मन्त्रालयको गुप्तर संस्थाको प्रतिवेदन छ । अमेरिकी रक्षा मन्त्रालयको गुप्तर संस्थाले अमेरिकी हमलाअघि नै इरानले संवर्धित युरेनिमयलाई सुरक्षित भण्डारण गरेको उल्लेख गरेको छ ।

इजरायली अधिकारीहरूले समेत इरानले मुख्य परमाणु केन्द्रमा हमला हुँदा पनि परमाणु कार्यक्रममा कुनै असर नपर्ने गरी गोप्य स्थानमा युरेनियम संवर्धन गरिरहेको जिकिर गरेका छन् ।  अमेरिकी रक्षा मन्त्रालयको प्रतिवेदन अनुसार फोर्डो, नतान्ज र इस्फहानमा सामान्यदेखि गम्भीर क्षति पुगेको छ । अमेरिकी हमलाबाट सबैभन्दा बढी नजान्तमा क्षति पुगेको प्रतिवेदन छ ।

जानकारहरूले पहाडमूनि रहेको फोर्डो एकै दिनको हमलाबाट नष्ट हुन नसक्ने बताएका छन् ।  सैन्य अधिकारीहरूका अनुसार २५० फिट जमिनमूनि रहेको फोर्डो नष्टका लागि एकै निशानामा  शृंखलावद्ध हवाई हमला आवश्यक पर्दछ । पूर्व जेनरल जोसेफ एल भोटेलले न्युयोर्क टाइम्ससँग भनेका छन्,’प्रहार गरिएको हतियार प्रमाणलीमाथि निकै विश्वस्त हुनसकिन्छ । तर, केही तत्वहरूमा क्षति नपुगेको सवालले म आश्चर्यमा छैन । सबै कुराहरू योजनाअनुसार अघि बढे पनि कुनै न कुनै कुराले असर पुर्‍याइरहेको हुन्छ । त्यसैले त हमलापछिको क्षति मूल्यांकन गरेर सुधारका योजना बनाइन्छ ।’

हमलालगत्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने इरानका मुख्य परमाणु केन्द्र ध्वस्त भएको जिकिर गरेका थिए । उनको यस  अभिव्यक्ति अतिशयोक्तिपूर्ण देखिएको छ ।

इरानमा हमला र परमाणु केन्द्रमा क्षतिबारे अमेरिकी संसद्‌मा छलफलसमेत तोकिएको थियो । सांसदहरूले हमलाको क्षतिबारे यकिन प्रतिवेदन माग गर्ने तयारी गरेका थिए । संसद्को बैठक धकेलिएपछि यो कुरा संभव भएन ।

हमलापछि इरानी परमाणु केन्द्रमा पुगेको क्षतिबारे यकिन प्रतिवेदन नआएको भन्दै चौतर्फी आलोचना बढेको छ । यहीबीच अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले ट्रम्पको भनाइ सही रहेको जिकिर गरेका छन् । रक्षा मन्त्रालयबाट वक्तव्य जारी गर्दै उनले भनेका छन्-‘देखिएका सबै दृश्य र हाम्रो हतियारको क्षमता र सही निसानाका कारण परमाणु हतियार बनाउने इरानी क्षमता नष्ट भएको छ । हाम्रो भयानक क्षमताको बमले सही निसानामा सफलतापूर्वक प्रहार गरेको छ ।’

रक्षा मन्त्रालयका अधिकारीहरूले पाँच पृष्ठको गोप्य प्रतिवेदन प्रारम्भिक मूल्यांकन मात्रै रहेको र अन्य विषयमा थप अध्ययन भइरहेको बताएका छन् । रक्षा मन्त्रालयको गुप्तचर संस्थाको प्रतिवेदनमा अमेरिकी हमलाले अपेक्षित क्षति पुर्‍याउन नसकेको उल्लेख रहेको न्युयोर्क टाइम्सले समाचार प्रकाशित गरेको छ । यस्तै, प्रतिवेदनमा इरानले परमाणु सामाग्री निकै सुरक्षित तरिकाले राखेको र उसले परमाणु हतियार बनाउन चाहे तुलानात्मक रूपमा छिट्टै बनाउनसक्ने उल्लेख छ ।

गोप्य प्रतिवेदन सार्वजनिक भएपछि ह्वाइट हाउस निकै आक्रोशित छ । ह्वाइट हाउसकी प्रवक्ता क्यारोलाइन लिभिटले राष्ट्रपति ट्रम्पलाई बदनाम गराउने उद्देश्यले गोप्य प्रतिवेदन सार्वजनिक भएको बताएकी छिन् । यो प्रकरणले, बहादुरीपूर्वक हमला गरेका पाइलटहरूको पनि अपमान भएको लिभिटको भनाइ छ । ’ सही निशानामा १४ वटा अतिशक्तिसाली बम बर्साउँदाको क्षति सबैले अनुमान गर्नसक्छन् । यो प्रतिवेदन राष्ट्रपति र हमलामा संलग्न बहादुर पाइलटहरूको बदनाम गराउने ढंगले बाहिरिरहेको छ ।’

हमलाअघि अमेरिकी गुप्तचर संस्थाहरूले इरानले तत्कालै परमाणु हतियार बनाउन नखोजेको तर, बनाउन चाहे इरानसँग  संवर्धित युरेनियमको कुनै  खाँचो नरहेको ब्रिफिङ गरेका थिए । अमेरिकी गुप्तचर संस्थाहरूले इरानमाथि हमला गरिए परमाणु हतियार बनाउनका निम्ति इरान उक्सिने उल्लेख गरेका थिए ।

सञ्चारमाध्यममा सार्वजनिक रक्षा मन्त्रालयको गुप्तचर संस्थाको गोप्य प्रतिवेदनमा राष्ट्रपति ट्रम्पले ‘फेक न्युज’ भनेका छन् । मध्यपूर्वमा अमेरिकी वार्ताकार स्टीफ विटकफले खुफिया प्रतिवेदनको आकलनलाई ‘देशद्रोह’ भनेका छन् ।

इरानको परमाणु केन्द्रमा क्षतिबारे विभिन्न अड्कलबाजी भइरहे पनि यकिन क्षतिको स्वतन्त्र पुष्टि भइसकेको छैन ।

(यो सामाग्री अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूको विवरणमा आधारित रहेर शिशिर ढकालले तयार पारेका हुन् ।)

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register