बिचौलियासँगको सामीप्यले चट भयो मन्त्री पद

काठमाडौं । बिचौलियासँगको न्यायो र हार्दिकतापूर्ण सम्बन्धका कारण संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको मन्त्री पद चट भएको छ । आफ्नै क्वाटरमा बोलाएर बिचौलियासँग सामीप्यता गाँसेका मन्त्री गुप्तालाई त्यही सामीप्यता घाँडोमात्रै भएन, बल्लबल्ल पाएको मन्त्री पद नै चट भएको छ भने राजनीतिक क्यारिएर नै चौपट भएको छ । उहाँले मंगलवार मन्त्री पदबाट राजीनामा दिँदै […]

Jul 16, 2025 - 02:49
 0
बिचौलियासँगको सामीप्यले चट भयो मन्त्री पद

काठमाडौं ।

बिचौलियासँगको न्यायो र हार्दिकतापूर्ण सम्बन्धका कारण संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको मन्त्री पद चट भएको छ । आफ्नै क्वाटरमा बोलाएर बिचौलियासँग सामीप्यता गाँसेका मन्त्री गुप्तालाई त्यही सामीप्यता घाँडोमात्रै भएन, बल्लबल्ल पाएको मन्त्री पद नै चट भएको छ भने राजनीतिक क्यारिएर नै चौपट भएको छ ।

उहाँले मंगलवार मन्त्री पदबाट राजीनामा दिँदै नखाएको विष लागेको दाबी गर्नुभएको छ । तर, अडियोका सबै घटनाक्रम सुन्दा मन्त्री गुप्ताले बिचौलियासँग सामीप्यता गाँस्दै घुस प्रकरणमा संलग्न रहेको सहजै निष्कर्ष निकाल्न सकिन्छ । मन्त्री गुप्ताले मन्त्री पदबाट राजीनामा दिएर मात्रै नहुने र उहाँमाथि भ्रष्टाचारमा कारबाही गर्नुपर्ने माग सर्वत्र उठिरहेको छ । मन्त्री गुप्तामाथि मालपोत कार्यालय कास्कीका तत्कालीन प्रमुखको सरुवा रोक्नका लागि ५३ लाख र भूमि आयोग कास्कीका जिल्ला अध्यक्ष नियुक्तिका लागि २५ लाख गरी ७८ लाख रुपियाँ लेनदेन गरेको अडियो सार्वजनिक भएको थियो । तर, मन्त्री गुप्ताले अडियो नक्कली रहेको दाबी गर्दै आउनुभएको छ ।

सार्वजनिक भएको अडियोका अनुसार मन्त्री गुप्ताले आफ्नै क्वाटरमा ती बिचौलियासँग घुस रकम डिल गर्दै गर्दा बिचौलियासँग दोस्ती कायम गर्दै पटकपटक रक्सी र मासुको अफर गर्नुभएको छ । तर, ती बिचौलियाले क्वाटरमा रक्सी खान इन्कार गर्दै अनियमित कार्य सम्पन्न भएपछि पोखरामा नै गएर भव्य पार्टीसहित माछा खानुपर्छ भन्दै मन्त्री गुप्तालाई थप हौसाएका छन् । बिचौलियाको काम फत्ते पार्नकै लागि मन्त्री गुप्ताले सचिव नै परिवर्तन गरेर नयाँ ल्याउनुपरेको खुलासा गर्नुभएको छ ।

तर, नयाँ सचिव ल्याए पनि आफूलाई ती सचिवसँग पनि काम गर्न असहज भएको मन्त्रीले बिचौलियासँग बताउनुभएको छ । ‘यो सचिव त झन् पहिलाको भन्दा पनि बाउ रहेछ’ –बिचौलियाको काम समयमा हुन नसकेको स्पष्टीकरण दिँदै मन्त्रीले भन्नुभएको छ । बिचौलियासँग मन्त्रीले पशुपति र आफ्नो छोराको कसमसमेत खानुभएको छ । मन्त्रीसँग बिचौलियाको रूपमा डिल गरेका व्यक्तिको साथीका रूपमा पूर्वभूमिसुधार मन्त्री तथा नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ रहेको बताइएको छ । मन्त्री भएको व्यक्ति बिचौलियाको रूपमा प्रस्तुत हुनुलाई विडम्बनाका रूपमा लिइएको छ ।

गठबन्धन परिवर्तन भएसँगै मन्त्री पद गुमाएकी पूर्वमन्त्री श्रेष्ठले त्यसपछि पनि मन्त्री पद हत्याउन पार्टीभित्र ठूलै बबण्डर मच्चाउनुभएको थियो । सम्भवतः उहाँ फेरि भूमि व्यवस्था मन्त्री हुने र बिचौलियाको काम फत्ते गरी करोडौं रुपियाँ कुम्लाउने योजनामा रहेको सहजै अनुमान गर्न सकिन्छ ।

संघीय मामिला तथा सामान्य प्रशासनजस्तो अति महत्वपूर्ण जिम्मेवारीमा रहेका मन्त्रीलाई मन्त्रालयगत सुधारमा खासै ध्यान गएन । मन्त्रालयको कार्यगत जिम्मेवारी र कामका बारेमा जानकारी लिन जाने र सुधारका सुझावहरू लिएर भेट्न जान खोज्नेहरूसँग मन्त्रीले प्रायः आज मिटिङ छ भोलि भेटौंला है भन्दै सधैं पन्छाउने गरेको सेवाग्राहीको गुनासो छ । साथै मन्त्री गुप्तालाई मन्त्रालयगत रूपमा केही सुझाव दिन फोन गर्दा प्रायः उहाँको मोबाइल रिसिभ नहुने र रिसिभ भए पनि मिटिङमा भएको रेडिमेड जवाफ आउने गरेको थियो । तर, उनै मन्त्रीलाई बिचौलियासँग घण्टांै गफिने तथा रक्सी र मासुको अफर गर्ने समय प्रसस्तै मिल्ने गरेको थियो ।

यसै अडियो प्रकरणमा राजीनामा दिएका मन्त्री गुप्ताले भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले पनि पैसा खाएर काम गर्ने गरेको आरोप लगाउनुभएको छ । यसै अडियोमा बिचौलियाले आफ्नो काम पत्ते पार्न तत्कालीन भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव अर्जुन पोखरेललाई नयाँपुलस्थित होटलबाट २ वटा वनकुखुरा, १० हजार बराबरका विभिन्न सामान, भीआईपी ग्लेनफिडिच रक्सी र ५ लाख रुपियाँ लिएर उहाँको घरमा नै पु¥याउन गएको बताएका छन् । यस प्रकरणमा तत्कालीन सचिव पोखरेल माथिसमेत छानबिन हुनुपर्ने माग उठेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register